
धनगढीस्थित सुदूर पश्चिमाञ्चल क्याम्पस(एसपीए कलेज)मा स्नातक तह प्रथम वर्षका नवप्रवेशी विद्यार्थीहरूको स्वागतका लागि स्नातक दोस्रो वर्षका विद्यार्थीहरूको आयोजनामा आज स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्नातक तहका विभिन्न वर्षमा अध्ययनरत विद्यार्थी तथा शिक्षक कर्मचारीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम उत्साहपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सञ्चालन गरिएको थियो।
कार्यक्रमको सभाध्यक्षता बिएड दोस्रो वर्षमा अध्ययनरत छात्रा दिपा गिरीले गर्नुभएको थियो । क्याम्पसका क्याम्पस प्रमुख बुधराम चौधरी को प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख रघनाथ जोशी तथा प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायर विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै क्याम्पस प्रमुख चौधरीले विद्यार्थीहरूलाई अनुशासन, निरन्तर मेहनत र लक्ष्यप्रति प्रतिबद्ध रहन आग्रह गर्दै शिक्षालाई जीवन परिवर्तन गर्ने प्रमुख आधारको रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, प्रमुख प्रशासनिक अधिकृत प्रकाश बलायरले नैतिकता, परिश्रम र सहकार्यको महत्त्व उल्लेख गर्दै यिनै गुणहरूले सफल र जिम्मेवार नागरिक निर्माण गर्ने बताउनुभयो। वक्ताको रुपमा आफ्नो भनाइ राख्दै बिए, बिएड तथा एमएड कार्यक्रम संयोजक डा. देवेन्द् भट्टले विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिसँगै नेतृत्व क्षमता, समालोचनात्मक सोच र सामाजिक उत्तरदायित्व विकास गर्न प्रेरित गर्नुभयो।
यसै गरी कार्यक्रममा आफ्नो भनाइ राख्दै क्याम्पसका पूर्व क्याम्पस प्रमुख हेमराज जोशीले क्याम्पसको ठूलो हिस्सामा प्रथम वर्षका विद्यार्थीहरु पनि समाविष्ट भएको जनाउँदै आफ्नो ४ वर्षै शैक्षिक यात्रा सफलतापूर्वक सम्पन्न गर्ने गहन जिम्मेवारी अब विद्यार्थीको काँधमा आएको बताउनुभयो ।

कार्यक्रमलाई अझ आकर्षक बनाउँदै विद्यार्थीहरूले नृत्य तथा गायनजस्ता सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। प्रतिभावान विद्यार्थीहरूको प्रस्तुतिले कार्यक्रमस्थललाई उल्लासमय बनाएको थियो भने सहभागी विद्यार्थीहरूबाट उत्साहपूर्ण प्रशंसा प्राप्त भएको थियो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एसपीए कलेजले बिबिएस , बिआइटीएम , बिएचएम , बिए, बिएड लगायतका विभिन्न स्नातक तहका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस स्वागत कार्यक्रमको सफल आयोजनाले एसपीए कलेज शैक्षिक उत्कृष्टतासँगै सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापको विकासमा समेत प्रतिबद्ध रहेको स्पष्ट गरेको छ।
धनगढीस्थित रिद्धिसिद्धि पार्टी प्यालेसमा सम्पन्न उक्त स्वागत कार्यक्रम केशव घराला एवम् पुष्पा धामीले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।






