धनगढी न्यूज

कथा भनेर समाजको उपचार खोज्ने डाक्टर

एकचोटि कल्पना गर्नुहोस् त — एक आमाले नवजात शिशुलाई स्तनपान गराउने प्रयास गर्दैछिन्। तर यो संसारमा अहिलेसम्म जति आमाहरूले स्तनपान गराएका छन्, ती सबैभन्दा यो घटना फरक छ।

कारण — बच्चाका ओठ खुल्दैनन्। उसको मुटु चल्दैन, फोक्सो फुल्ने–सुक्ने गर्दैन। उसको शरीर निलो भइसकेको छ।

अनि सबभन्दा महत्त्वपूर्ण कुरा — डाक्टरले शिशुलाई पहिल्यै मृत घोषणा गरिसकेका छन्।

शिशु जन्मेर बितेको पनि होइन, बितेरै जन्मेको छ। यो सब बुबालाई थाहा छ, आमालाई पनि थाहा छ।

तर नौ महिनासम्म जसलाई आफैभित्र राखेर हुर्काएकी थिइन्, त्यसलाई बिना प्रयास सधैंका लागि गुमाउन आमा तयार छैनन्। उनको हृदयमा कतै एउटा धमिलो आशाको बत्ती बलिरहेको छ — कतै चमत्कार भई पो हाल्छ कि? जुन दूधको धाराको आशामा बच्चा पेटमा हुर्केको थियो, त्यो पाएपछि मृत भनिएको उसको शरीर पनि बौरिन्छ कि?

त्यही झिनो आशमा उनी शिशुका ओठ आफ्ना औंलाले खोलेर स्तन झोसिदिन्छिन्। उनको भक्कानो छुट्छ, मुटु फुट्ला जस्तो हुन्छ तर पनि प्रयास जारी राख्छिन्।

२०८० सालमा मेरो हातमा एउटा किताब आइपुग्यो — शून्यको मूल्य।

लेखक हुन् बालरोग विशेषज्ञ डाक्टर नवराज केसी। त्यसमा समेटिएको यो कथाले मेरो मथिंगल हल्लायो।

त्यो दृश्यमा ढोकामा उभिएर स्तब्ध हुँदै आमाको असम्भव आशामाथि तुषारापात हुँदै गरेको हेरेका डा. केसीले त्यहाँ एउटा अमूल्य पाठ सिके र त्यसलाई शब्दमा उतारे — संसारमा धेरै काम मानिसले सुख वा खुसीका लागि गर्छ। तर अरू धेरै काम पीडाको भयानकतालाई अलिकति भए पनि घटाउने आशामा गर्छ। दुःख पार गर्ने वा खुसी हासिल गर्ने उसको यत्न नै हुँदैन किनकि दुःखको उसपार जाने ऊ सम्भावनै देख्दैन। उसको जीवनको मुख्य चुनौती हुन्छ पाइलैपिच्छे आउने पीडालाई असहनीयबाट सहनीय तुल्याउने, आफ्नो पीडा बेहोर्ने क्षमता अलिकति भए पनि बढाउने। र, कसैगरी विक्षिप्त नभई दिन काट्ने, जीवन गुजार्ने।

ती विवश आमा, जसका श्रीमानको एउटा जँड्याहा लात्तीका कारण शिशुले जन्मिने सँघारमा ज्यान गुमाएको थियो, त्यो कथा नभनीकन यतिभन्दा हतपत त्यस्तो दुःख भोग्नु नपर्ने तपाईं, हामी धेरैका लागि त्यो कोरा दार्शनिक कुरा जस्तो लाग्न सक्थ्यो। तर त्यो एउटै कथाले पाठकलाई जीवनको निकै गहिरो सत्यसम्म सजिलै पुर्‍याउने क्षमता राख्छ।

‘शून्यको मूल्य’ पढ्दैखेरि कथा खोज्ने र भन्ने डा. केसीको शैली मलाई इर्स्यालायक लागेको थियो। किताब पढ्दै गर्दा यस्तो कथा भन्ने मान्छेसँग दोस्ती गर्न पाए कस्तो होला भन्ने पनि लागिरह्यो। डाक्टरी पढाइको प्राविधिक पाटोले मानवीय संवेदना बुझ्ने र खोतल्ने मेरो आफ्नै क्षमता ह्रास भएको वा विकसितै नभएकोमा थकथकी पनि लागिरह्यो।

मैले उक्त किताब पढेयता हाम्रो दोस्ती निकै झाँगिएको छ। भरतपुरमा त्यो पुस्तकमाथि छलफल भएको केही महिनामा मेरो आफ्नै पुस्तक ‘नुन–तेल’ प्रकाशित भयो। म डा. केसीको गृहनगर सुर्खेत गएँ र त्यहाँ मेरो किताबमाथि गहिरो विमर्शसहित भव्य कार्यक्रम भयो।

सुर्खेत छेउको अग्लो डाँडाको टुप्पामा बसेर हाडे काफलको स्वाद लिँदै हामी हाम्रा पेासगत जीवन, लेखनको अनुभव अनि समग्रमा जीवन र जगतबारे राती अबेरसम्म गफिएर बस्यौं।

त्यो २०८० सालको कुरा थियो।

म त्यहीँ छँदा उनले भनेका थिए, ‘युवा मनोविज्ञानमा आधारित नयाँ किताबमा काम गर्दैछु।’

त्यो किताब पक्कै उम्दा हुनेछ भन्ने मेरो विश्वास थियो। तर हालसालै प्रकाशित किताब ‘स्वस्पर्श’ मा जुन गहिराइमा पुगेर उनले कथाहरूको खोजी गरेका छन्, अनि आधुनिक शोधहरूको उत्तिकै गहिराइमा पुगेर तिनको अर्थ खोजी गरेका छन्, त्यो कल्पना गर्न पनि कठिन कुरा थियो।

‘स्वस्पर्श’ को स्वाद दिन म यहाँ तपाईंहरूलाई त्यहाँ समेटिएका दुई कथाको झलक दिन्छु।

एकः

पहिले जस्तै यहाँ पनि एक बच्चा गुमाएकी भावविह्वल आमा छिन्। तर उनी स्तनपान गराउँदै छैनन्, बच्चालाई एक हातले छातीमा च्यापेर अर्का हातका नंग्राले भत्केको घरको भग्नावशेष कोतर्दै छिन्।

भुइँचालोले घरसँगै बच्चाको ज्यान पनि लगेसँगै उनको सर्वस्व हरण भएको छ।

तर यो असहनीय दुःख सहनीय बनाउने उनको अन्तिम प्रयास छ — वर्षौंपछि छोरालाई तिहारका लागि भनेर किनिदिएको नयाँ लुगा निकाल्ने र त्यसैमा उसलाई बिदाइ गर्ने।

त्यही लुगा निकाल्न उनी नङबाट रगत आउन्जेल घरको भग्नावशेष कोपरिरहेकी छन्।

बच्चाका लागि हरियो बाँसको नापो लिन आएका छिमेकीहरूलाई उनले जुन संवाद बोल्छिन्, त्यसले पाठकलाई भक्कानो छुटाएर रूवाउँदैन मात्रै, जीवन र दुःखको आधारभूत मेलबारे एउटा गहिरो बोध पनि गराउँछ।

नयाँ लुगामा भैलो खेल्नुछ भनेर नलगाई राखेको छोरालाई आमाले त्यही लुगामा सदाका लागि बिदा गरेपछि कथाको लेन्स ‘जूम आउट’ हुन्छ र त्यहाँ देखिन्छ एउटा शोकाकुल गाउँ जहाँ लाशहरूको जुलुस लागेको छ।

दुईः

कर्णालीको एक ‘दुःखी मान्ठ’ भारतमा रोजगार खोज्न विवश छ। एक दिन उसलाई काम गर्दै गर्दा हाई–भोल्टेज करेन्ट लाग्छ र बेहोस हुन्छ। होस आउँदा अस्पतालाको बेडमा ऊ एक्लै छ। एउटा हात काटिएको छ।

डाक्टर भन्छन्, ‘ज्यान जोगाउने हो भने एउटा खुट्टा पनि काट्नुपर्छ।’

मान्ठलाई यो कुरा मन पर्दैन र खुट्टा काट्ने कुराको विरोध गर्छ।

डाक्टरसँग नोकझोक हुँदा आवेशमा आएर ऊ भन्छ — मेरो मासु खाने हो र?

डाक्टर क्रुद्ध भएर ‘यसलाई नालीमा फालिदेऊ’ भनेर फन्किँदै निस्किन्छन्।

त्यही व्यक्ति दशकौंपछि भारी बोकेर दुइटै खुट्टाले ठमठम हिँड्दै डाक्टर नवराज केसीलाई भनिरहेका छन् — मेरो पनि फोटो खिचिदिनुस् न!

मन्दिरे बयलकोटी नामक यी पात्रको जीवन यदि कसैलाई आख्यान भनेर पढाउने हो भने ‘लेखकले कस्तो उडन्ते कल्पना गर्न सकेको होला’ भन्ने खालको छ। तर यी जिउँदाजाग्दा मान्ठले जीवनमा जे भोगेका छन्, दुःखबारे, सुखबारे, सम्बन्ध र आत्मीयताबारे जति सिकेका छन्, अनि जीवन र जगतबारे जुन बोध विकास गरेका छन्, त्यो सबै पढ्दा मैले झल्झली गौतम बुद्धलाई सम्झिरहेँ।

यिनको आजीवन तपस्या गौतम बुद्धको आठ वर्षे तपस्याभन्दा कम छैन।

नालीमा फालिन लागेको आफ्नो जीवनलाई कोल्टे फर्काउने क्रममा मन्दिरेले जे गरेका छन् र उनको जीवन बदल्ने क्रममा डाक्टरको आफ्नै जीवन जसरी बदलिएको छ, त्यो एउटै कथामा नयाँ पुस्ताले मानव जीवनको इन्साइक्लोपेडिया भेट्न सक्छ भन्ने लाग्छ मलाई।

मन्दिरे र उनीजस्ता पात्रका कथाहरू पढ्ने हो भने युवाहरूले हाम्रो औपचारिक शिक्षाबाट छुटेका नैतिक र व्यावहारिक शिक्षाका असंख्य अमूल्य पाठहरू सिक्न सक्छन्।

अनि जीवनभर सुख, सुविधा र खुसी मात्रै खोजी गर्न सिकेको आजको पुस्ताले जीवनभर अरूलाई दिइराखेर असाधारण कथा बाँचेका भुइँमान्छेहरूका जीवनबाट केही बिल्कुल नवीन कुराहरू सिक्न सक्छन् — जीवनमा अरूलाई खुसी कसरी दिने वा बाँड्ने? के त्यही त आफूले पनि खुसी पाउने असली बाटो होइन? प्रेमको असली अर्थ र विशालता के हो? प्रेम कसरी गर्ने? लगाव र संघर्ष भनेको के हो? कठिनाइ पार गर्नु भनेको के हो? आदि।सेतोपाटी बाट साभार

प्रस्तुत छ यी दुवै पुस्तकको सेरोफेरोमा रहेर मैले जीवन र जगतबारे डा. नवराज केसीसँग गरेको कुराकानीको पूरा भिडिओ-

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×