
धनगढीस्थित कृति गंगा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (KGIST) ले नव आगन्तुक विद्यार्थीहरुको भव्य स्वागत सम्पन्न गरेको छ ।
असोज ३० र ३१ गते गरी दुई दिनसम्म सम्पन्न उक्त कार्यक्रम नेपालगंजका तारे होटलमा सञ्चालन गरिएको थियो । पहिलो दिन ३० गते विद्यार्थीहरुले नेपालगंजस्थित ४ तारे सिद्धार्थ होटलको होटल भिजिट गरेका थिए भने दोस्रो दिनको कार्यक्रम पाँच तारे होटल सोल्टी प्रिमियरमा सम्पन्न भएको थियो ।
केजिस्ट इन्स्टिच्युटका सल्लाहकार प्रकाश बहादुर बलायरको सभाध्यक्षतामा सम्पन्न उक्त भव्य स्वागत कार्यक्रमका प्रमुख अतिथि सोल्टी प्रिमियर होटलका HR & Admin Head खुम्ब जंग शाह रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै केजिष्ट इन्स्टिच्युटका शैक्षिक संयोजक विकाश सि.के.ले हरेक वर्ष नयाँ विद्यार्थीहरुलाई यसरी नै तारे होटलमा स्वागत कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सुदूर पश्चिम प्रदेशमा हस्पिटालिटी क्षेत्रमा केजिष्ट इन्स्टिच्युटको आफ्नै पहिचान रहेको र आफूहरुले पनि डिप्लोमा तहको होटल व्यवस्थापनको पढाईका लागि यसै संस्थाको उदाहरण दिने गरेको बताउनुभयो ।
सभापतिको रुपमा बोल्दै केजिष्टका सल्लाहकार बलायरले सुदूर पश्चिमबाट मध्य पश्चिमको सोल्टी होटलमा आएर विद्यार्थीहरुले धेरै कुरा सिक्ने मौका पाएको उल्लेख गर्दै यहाँ सिकेका कुरा आफ्नो व्यवहारमा लागु गर्दै विभिन्न् दृष्टिकोणबाट आफूलाई परिष्कृत गर्दै लैजानुपर्ने जिम्मेवारी बोध गर्न पनि निर्देशन दिनुभयो ।

सोही कार्यक्रममा नियमित चौमासिक रुपमा प्रदान गरिने अवार्ड पनि नगद धनराशी तथा प्रमाणपत्र सहित प्रथम , द्धितिय र तृतिय स्थान हासिल गर्न सफल गणेश शाहु , कुशल बम तथा दिपीका जोशीलाई क्रमशः प्रदान गरिएको थियो भने सोही कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितामा पहिलो , दोस्रो तथा तेस्रो हुने टिमलाई पनि पुरस्कृत गरिएको थियो ।

सो स्वागत कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भेषभूषा झल्किने नृत्य तथा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । कार्यक्रम केजिष्टका पि.आर. म्यानेजर प्रज्वल रावलले सञ्चालन गर्नुभएको थियो ।






