धनगढी न्यूज

नयाँ वर्षको एउटा नयाँ तस्बिर

कर्मकल्चर

नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा तीन लोकप्रिय अनुहारहरू एउटै निर्वाचन चिह्नको फ्रेमभित्र अटाए। तिनका शुभेच्छुकहरूको खुसियालीले सामाजिक सञ्जाल पूरै उज्यालो भएको छ।

रवि लामिछाने अध्यक्ष रहने गरी बालेन्द्र शाह र कुलमान घिसिङबीच भावी सत्ता बाँड्ने सहमतिले देशलाई नयाँ सम्भावनाको पात्रो दिएको छ।

राजनीतिमा यस्ता घुम्तीहरू अस्वाभाविक हुँदैनन्, जस्तो कवि तुलसी दिवस लेख्छन् —

हिँड्दा हिँड्दै हिँडेको बाटो नै मोडिएपछि

हिँड्नेको पनि केही लाग्दो रहेनछ

तेर्सिँदा तेर्सिँदै तेर्सो बाटो नै उक्लिएपछि

तेर्सिनेको पनि केही लाग्दो रहेनछ!

नेतात्रयको यो सहमतिको चाखलाग्दो संयोजन अन्तिम क्षणमा जेनजी आन्दोलनकारीका तर्फबाट हरेकजसो गतिविधिमा सक्रिय सुदन गुरूङले गरिदिए।

त्यस हिसाबले भदौ २३–२४ को जेनजी आन्दोलन, नवयुवाको शहादत र आम विध्वंशपछि नयाँ संक्रमणकालमा पसेको नेपालले बल्ल निर्वाचनको दिशा समातेको छ। निर्वाचनको वातावरण बनाएको छ। अन्योलहरू धेरै हटाएको छ।

रवि धरौटीमा रिहा हुनु, बालेनसँग बाक्लो उठबस हुनु र नमिलिरहेका कुलमानलाई जेनजीका जुझारू अगुवाले मिलाइदिनु छोटो समयकै उपलब्धि हुन्।

निर्वाचनको तालिकाप्रति प्रतिबद्ध सरकारका लागि संक्रमणकाल छोटिने राजनीतिक वातावरण बन्नु सन्तोषको विषय हो भने जेनजी आन्दोलनको भावना प्रतिनिधित्व गर्ने एउटा निर्वाचन शक्ति बन्नु त्यो आन्दोलनको एउटा तार्किक निष्कर्ष पनि हो।

सामाजिक सञ्जालका हस्तीहरूको तालमेल र तिनसँग घनिष्ठ जेनजी प्रतिनिधिहरूले सुशासनको व्यग्र चाहनालाई अब राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यभार बनाउन सक्नेछन्।

रास्वपाले जेनजी आन्दोलनको हिस्सा आफूमा समाहित गरेपछि त्यस आन्दोलनका मूर्त/अमूर्त आकांक्षाहरू अलपत्र पर्न दिन पाउने छैन।

पहिलाको रास्वपा मुख्य तीन दलको विकल्प भन्दै उदाएको थियो। अबको रास्वपा गत भदौको जेन–जी आन्दोलनलाई मुख्य रूपमा अर्थ्याउने र प्रतिनिधित्व गर्ने जिम्मेवारीसहितको हुनेछ— हुन सक्छ।

राजनीतिक प्रतिनिधित्व नपाउने आन्दोलन नितान्त टुहुरो हुन पुग्छ। त्यस हिसाबले जेनजीहरूलाई पनि सन्तोष मिलेको हुनुपर्छ।

नेतात्रयमध्ये मधेसी र जनजाति पृष्ठभूमिका दुई नेताको शीर्ष भूमिका महत्वपूर्ण अंग हो। भलै बालेन र कुलमान दुवैको राजनीतिक पहिचान छैन, तर उनीहरूमार्फत् आफ्नो प्रतिनिधित्व हुन्छ भन्ठान्नेहरूको ठूलो संख्या सञ्जालमा देखिन्छ।

यी तीनजनै अनुहारले देशबाहिर रहेका नेपाली युवाको ठूलो आशा प्रतिनिधित्व गर्ने हुनाले पनि यिनको गठजोडबाट राजनीतिक पार्टी बलियो भयो भने देशका कठिन मुद्दाहरूप्रति देशभित्र र बाहिरको आम चासो आकर्षित गर्न सजिलो हुनेछ।

हरेक दशकमा हरेक नयाँ शक्ति उदाउने र लोकतान्त्रिक आचरणको अभावमा अविश्वसनीय तवरले अस्ताउने हाम्रो समकालीन स्मृति हो। पुराना तस्बिरहरू धमिला हुँदै जान्छन्। तस्बिर बन्दाको क्षणका उत्साह र उमंग ओइलाउँदै जान्छन्। किनभने, हामीले हाम्रो लोकतन्त्रका कठोर प्रश्नहरू सामना गर्न सकेका छैनौं। हामीले लोकतन्त्र सफल पार्न सिकेकै छैनौं। लोकतन्त्र के हो भन्ने पनि बुझेकै छैनौं।

बुझेको भए नेपाली कांग्रेस यसरी ट्वाल्ल पर्ने थियो? एमाले यति प्रतिक्रियात्मक हुने थियो? माओवादी यति लथालिंग हुने थियो?

नेताको चक्रव्यूहमा पार्टी फस्ने र फसेको पार्टीले आफू उदाएको आन्दोलनको कार्यभारको बोझ थाम्न नसक्ने — यही हाम्रो शिक्षा हो।

रास्वपाले नयाँ वर्षको संघारमा धेरै ठूलो तस्बिर दिएको छ। धेरै मतदातालाई पुलकित गर्ने छाँट देखाएको छ।

नेतात्रयको सबभन्दा ठूलो समस्या आन्तरिक समीकरण नै हुनेछ। आपसी समझदारी कुनै मुद्दाले भन्दा पनि निर्वाचन जित्ने हुटहुटीले बनाएको छ। पार्टी कसरी चल्छ, अन्तरविरोधहरू कसरी हल हुन्छन्, लोकतान्त्रिक अभ्यास कसरी गरिन्छ— प्रस्ट छैन। शक्तिको हानथाप हुने मुद्दासँगै व्यक्तिगत मान–सम्मानको विषय जोडिन्छ। उसमाथि तीनजनै कोभन्दा को कम खाले व्यक्तित्व भएकाले तिनको सन्तुलन र तालमेल कसरी, कसले मिलाउँछ? कि हरेकपल्ट सुदन गुरूङलाई नै तम्तयार राखिरहनुपर्ने हुन्छ?

कांग्रेसमा कुनै बेला बीपी कोइरालाले आफ्नो शेषपछिका लागि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको ‘ट्रोइका’ बनाइदिएका थिए।

त्यसरी चल्दो रहेनछ भन्नलाई गणेशमानले भनेका थिए — तीन तिक, महा विक!

किनभने आपसमा मिलेर चल्ने संस्कार, शिक्षा, सहअस्तित्वको भावना र मूल्य–मान्यताहरू हामीले प्रवर्द्धन गरेकै छैनौं। हामी कम सामाजिक, कम लोकतान्त्रिक, कम सुशासित छौं। इतिहासले सिकाउँदैन। सिकाउने भए हरेक आन्दोलनपछि ‘अब बदलिन्छौं’ भन्नुपर्ने थिएन। कोही त हामी किन बदलिने भन्ने अड्डी नै कस्छन्।

हामीले तीन जना लोकप्रिय अनुहारहरूको फ्रेमसामु उभिएर सोध्नुपर्छ — तपाईं ‘नेपाल हाँसेको’ हेर्न चाहनुहुन्छ भने नेपाल कसरी हाँस्छ भन्ने तपाईंले भन्न सक्नुहुन्छ? म नेपाललाई यसरी हँसाउन चाहन्थेँ तर अर्कोले अर्कै तरिकाले हँसाउन चाह्यो— हाम्रो कुरा मिलेन। तीन जनामध्ये तीनै जनाको बुझाइमा नेपाल कसरी हाँस्छ भन्ने फरक सोचाइ होला। ती फरक सोचाइहरूबीच तालमेल कसरी मिलाउने?

त्यसो त राजनीतिमा चाहिने सबभन्दा ठूलो योग्यता व्यक्तिगत लोकप्रियता हो। त्यसैले अहिले नै धेरै आशंका किन गरिहाल्ने?

बरू सबै नयाँ–पुरानालाई नयाँ वर्ष २०२६ को शुभकामना दिऔं! सेतोपाटी बाट साभार

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×