काठमाडौंको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रका फुटपाथ पैदलयात्रीका लागि सास्ती बनेको छ।

फुटपाथमा जताततै निर्माण सामग्री असरल्ल छाडिँदा पैदलयात्रीलाई सकस भएको छ।
विद्युत प्राधिकरणले विद्यूती तार भूमीगत गर्न भनेर विभिन्न ठाउँमा खनेको छ।
कतिपय ठाउँमा खनिएका सडक त्यसै छाडिएका छन्। त्यसले थोरै पानी परे हिलाम्य हुन्छ। यसले पैदलयात्री थप सास्ती खेप्न बाध्य छन्।
ठूला-ठूला पाइपका क्वाइलहरू पनि सडकपेटीमै राखिएको देखिन्छ। सडकपेटीमा छापिएका ब्लकहरू हटाएर किनारामा त्यसै छाडिएका छन्।
चाडवाड नजिकिँदै गर्दा ग्राहकहरू भीड पनि यही क्षेत्रमा बढ्छ।
यसरी सडकमै निर्माण सामग्री थुपारेर राख्दा अवरोध त हुन्छ नै शारीरिक अपांगता भएका व्यक्तिहरूलाई अझै चुनौती बढेको देखिन्छ।
दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न त्राहीत्राही छ।
हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीबासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ।सेतो पाटी बाट साभार






