रौतहट : भदौ ७ गते शनिबार, साँझ साढे ६ बजे आमा मिथिलेस देबीलाई रूबीले आफू ब्युटीपार्लर हिँडेको र घरमा केही सामान ल्यानुपर्छ कि पर्दैन भनेर फोन गरेकी थिइन्। आमा-छोरीबीचको त्यो संवाद नै अन्तिम बन्न पुग्यो।
साढे ६ आउँछु भनेकी छोरी नआएपछि ५९ वर्षीया आमा मिथिलेसले करिब ७ बजे रूबीलाई फोन गरिन्। सुरुमा फोन उठेन। पछि स्वीच अफ भएको मोबाइल हालसम्म पनि फेला परेको छैन। यसैबीच प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेसँगै केही तथ्य बाहिर आयो। गौर-५ स्थित घरमा डेरा गरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो।
गौर नगरपालिका-९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबीको हत्या प्रकरणमा संलग्न भएको आरोप लागेका व्यक्ति बुधबार बिहान जलेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले तत्कालै उनको उद्धार गरे पनि साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भयो।
आरोपित लक्ष्मण पासवानले फेसबुकमा ‘कुमारी ज्योती’ नामको आइडीबाट करिब ९ मिनेटको भिडियो सार्वजनिक गरेका थिए। त्यसको केही घण्टामै मट्टितेल छर्केर आफैंलाई आगो लगाएको प्रहरीको अनुमान छ।
उनले रुबीको हत्या आफैंले गरेको स्वीकारेका छन्। उनले आफूहरू पहिल्यैदेखि प्रेममा रहेको र भागेर विवाह गर्दासमेत घर-परिवारले अलग बनाइदिएकाले यस्तो निर्णयमा पुगेको बताएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्।
रुबी र लक्ष्मणको प्रेम सम्बन्ध
लक्ष्मण र रुबीबी गहिरो प्रेम रहेको खुलेको छ। लक्ष्मणले आफ्नो छातीमा रुबीको फोटो र हातमा ‘माई हार्ट रुबी कुमारी’ लेखेको ट्याटु खोपेका थिए। उनीहरू स्कुल पढ्दादेखि नै प्रेममा रहेको बताइन्छ। १० कक्षामा पढदै गर्दा घरबाट भागेर सितामढीको डुमरामा बिहे गरेको भए पनि रुबीको आमाले अलग बनाएको आरोप लक्ष्मणले लगाए।
त्यसपछि लक्ष्मण मलेसिया गए। रुबीको विवाह भारत मुजफ्फरपुरस्थित रोक्साटोलका शिव सागरसँग भएको थियो। उनको चार वर्षीय छोरा छन्। विदेशमा रहँदासमेत दुबै जनाको कुराकानी हुन्थ्यो। नेपाल फर्किएपछि रुबी उनको डेरामा पुगेकी थिइन्। त्यसबेला अलग-अलग बस्न नसक्ने भएकाले मर्नेसम्मको कुरा दुबै जनाले गरेका थिए। त्यसपछि घटना घटेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ।
लक्ष्मणको भिडियो बयान
कोही कसैले त्यतिकै कसैलाई मार्दैन, हत्या गर्दैन। म धेरै रोएँ, आफ्नै रुबीलाई मार्न म मजबुर भएँ। म रुबीलाई मार्न चाहँदैनथे।
रुबीको आमा निकै लोभि छिन्। अरुको धनसम्पत्ति देखेर उनलाई धेरै डाह हुन्छ। सखुअवाका राजन महतोले रुबीलाई धेरै लोभ देखाउँछ। रुबी जान मान्दिन तर उसको आमाले नै त्यो केटासँग जान भन्छिन्। अर्को एउटा छ, राजु भन्ने राजा नामको एउटा केटा, जसले रुबीलाई गाडी दिन्छु भन्छ र आफूसँग सम्बन्ध बनाउन भन्छ।
रुबीको देवरले पनि उनी नुहाइरहेका बेला लुकेर उसको भिडियो बनाएको छ र आफूसँग सम्बन्ध बनाउन बाध्य बनाएको छ। रुबी र मेरो ६-७ कक्षादेखि नै प्रेम थियो, १० कक्षामा पढ्दै गर्दा हामी घरबाट भागेर गयौं। सितामढीको डुमरामा बिहे पनि गर्यौं। तर, उसको आमाले हामीलाई अलग बनायो।
रुबीको आमाले हामी दुवैलाई धेरै सतायो, धेरै गाली दियो। जीवनमा यति दुःख कसैलाई दिन हुँदैन। रुबी त्यो दिन ब्युटी पार्लर जान भन्छु भनेर मेरो डेरामा आयो। त्यो दिन बसेर हामी धेरै बेर कुरा गर्यौं, त्यसपछि हाम्रो झगडा भयो। झगडा भएपछि रुबीले आफूलाई मारिदेउ भन्यो। तर, मैले म आफू मर्छु भने तर त्यो दिनको झगडामा रुबीलाई मारे, अहिले पनि मेरो हात कामिरहेको छ। पागल भएको छु।
हामीले सोचेका थियौं कि कोठा लिएर अलग्गै बस्छु। तर, हामी डिप्रेसनमा पुगिसकेका थियौं। रुबीको आमाले हामीलाई धेरै मानसिक यातना भयो। यस्तो आमालाई भगवानले अब नबनाउन। रुबीको आमाले मलाई गाली दिन्छ, मेरो बुबा-आमाले रुबीलाई गाली दिन्छ। यति तनाव कसैलाई नदेऊ।
कानुनले धेरै गरे मलाई कुट्छ, ५ या १० वर्ष जेल हाल्छ तर त्यो मलाई मन्जुर छैन। म आफूलाई आफैं सजाय दिन्छु। म अब बाँच्न सक्दिनँ, आफूलाई आजै आगो लगाउँछु। प्रेम के हो भनेर सावित गर्न म आफू मर्छु अनि दुनियाँले पत्याउँछ। रुबी मलाई कुरेर बसिरहेकी छन्। म पनि रुबीनिर जाँदैछु।
मलाई प्रहरीले पक्राउ गर्छ भन्ने डर छैन। कानुनलाई म सम्मान गर्छु। त्यो रिक्सावालाको कुनै गल्ती छैन, त्यसलाई केही नगर्नू, छोडिदिनु। त्यसलाई मैले बोलाएको थिएँ, त्यो निर्दोष छ।
भिडियो बनाइसकेपछि लक्ष्मणले माधव नारायण नगरपालिका-६ स्थित नहर अगाडि बिहान आफूलाई आगो लगाएका थिए।
प्रहरीसँग पनि रुबीको हत्या गरेको स्वीकारे
लक्ष्मणले प्रहरीलाई पनि इन्कारी बयान दिएनन्। उनले रुबीको हत्या आफैँले गरेको स्वीकार गर्दै आफू रुबी बिना बाँच्न नसक्ने बताए। बयानका क्रममा पटक-पटक पानी माग्दै लक्ष्मणले टेन्सन भएर घाँटी थिचेर मारेको स्वीकारेको प्रहरीको भनाइ छ।आन्नपूर्ण पोस्ट बाट साभार






