Skip to main content

धनगढी न्यूज

तिज गीतमा विकृतिको डङ्गुर

Advertisement

काठमाडौँ, साउन ३१ गते । नेपाली गीति परम्परामा तिज गीतको बेग्लै महत्व छ । तिजका बेला माइतीमा भेला भएका महिलाले चोक, चौतारी, देउराली हुँदै घरआँगनमा नाचगान गर्दै तिज गीत गाउने परम्परा हाम्रो हो तथापि तिज गायनमा व्यावसायिक सङ्गीतको प्रवेश भएपछि तिज गीतमा समेत परिवर्तन देखा पर्न थाल्यो ।

रेडियो, क्यासेट प्लेयर, टेलिभिजन हुँदै अहिले युट्युब च्यानलबाट दर्शक/श्रोतासम्म तिज गीत पुग्न थालेको छ । विश्वव्यापी युट्युब सञ्जालमा तिज आउनु एक महिनाअघि नै अनेक रङ्गढङ्गका गीत ‘अपलोड’ गरिएका छन् । तिनै गीत अहिले चोक, चौतारी र घरआँगनमा घन्किन थालिसकेका छन् ।

युट्युबमाथि दर्शक/श्रोताको सिधा पहुँच छ । दर्शकले रोजेको जुनसुकै गीत हेर्न सक्छन् । कलाकारले पनि दर्शक तान्ने र ‘ट्रेन्डिङ’ मा पार्ने होडबाजीमा ‘दर्शक/श्रोताकै रुचि अनुसार’ भन्दै द्विअर्थी शब्द प्रयोग र वयस्कले मात्र हेर्न मिल्ने खालका दृश्य राखेर तिज गीत भिडियो बनाउने क्रम बढ्दो छ । युट्युबमा भ्युअर्स तान्ने, आफ्नो गीत ‘ट्रेन्डिङ’ मा ल्याउने होडबाजीले कलाकारले गीतमा उच्छृङ्खलता र अश्लीलता प्रयोग गर्न थालेका छन् ।

पछिल्लो समय अन्य गीतभन्दा तिजका भाका गाएर स्थापित हुने कलाकारको सङ्ख्या पनि बढेको छ । अहिले बजारमा आएका कविता खत्री र भागीरथ चलाउनेको ‘दिउँला बरिलै’, प्रीति आलेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरी विमर्शीको ‘बिस्ताराले पोल्यो’ र प्रीति आले र प्रकाश शर्माको ‘चियर्स बियर’ गीतले नेपालको धर्म, संस्कृति र सिङ्गो सङ्गीत क्षेत्रमाथि नै प्रश्न छाडेको भन्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले पूर्ण बहिष्कार गर्ने निर्णय गरेको छ । यस तथ्यले पनि पछिल्ला समय आएका तिज गीतको अवस्था प्रस्ट हुन्छ यद्यपि गायकगायिका आफ्नो गीतमा कसरी ‘भ्युअर्स’ तान्न सकिन्छ र ‘नम्बर वान टे«न्डिङ’ मा पार्न सकिन्छ भन्ने होडबाजी गरिरहेका छन् ।

आफ्ना थुप्रै गीत ट्रेन्डिङमा पार्न सफल गायिका प्रीति आले आफ्ना गीतले विकृति फैलिएको मान्न तयार हुनुहुन्न । उहाँ आफ्ना गीत ‘भ्युअर्स’ र ‘ट्रेन्डिङ’ मा रहेकोमा गर्व गर्नुहुन्छ । उहाँका अनुसार तिजमा केलाई विकृति भन्ने र केलाई संस्कृति भन्नेमै अन्योल छ । समय अनुसार विकृति र संस्कृतिको बुझाइमा परिवर्तन हुँदै जाने उहाँको ठम्याइ छ ।

कुनै बेला केटा मान्छेले पनि तिज गीत गाए र विकृति ल्याए भन्थे तर अहिले के तिज गीत के रत्यौली, केटाले पनि गाउन थालेका छन् । उहाँले भन्नुभयो, “राम्रो गीतको विषयमा कसैले कुरा गर्दैन, खालि विकृति भयो भनेर मात्र आरोप लगाउन जानेका छन् ।”

उहाँले भन्नुभयो, “पत्रकारले नै सबै कुरा बिगारिरहेका छन् । जे चिज बाहिर ल्याउन हुन्न भन्यो, त्यसैलाई उचालिरहेका हुन्छन् । मेरो गीत बहिष्कार गरेको भन्दा पनि ‘ट्रेन्डिङ’ मा कुन स्थानमा छ, त्यो हेर्न जरुरी छ ।”

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले सामाजिक मर्यादा र मान्यताविपरीत तिज गीत गाउने कलाकारलाई सचेत गराइएको र सार्वजनिक प्रसारण माध्यममा बन्देज गर्न आग्रह गरिएको बताउनुभयो ।

गायिका हरिदेवी कोइराला, कोमल वली, सुनिता दुलाल, सिन्धु मल्ल, राधिका हमाल, शर्मिला गुरुङ, रामचन्द्र काफ्ले, बद्री पङ्गेनीलगायतका कलाकारले गाएका तिज गीति गेडामा मिठास पाइन्छ तर अहिलेका कतिपय गीतका शब्द सुनेर नाक खुम्च्याउनुपर्ने अवस्था आएको छ ।

गायिका हरिदेवी कोइराला तिज भनेको संस्कृतिमूलक पर्व हो भनेर अहिलेका कलाकारले बुझ्न जरुरी भएको बताउनुहुन्छ । उहाँका अनुसार तिजको सम्बन्ध माइतीसँग भएपछि माइतीमा बुवाआमा, दाजुभाइ, काकाकाकी हुन्छन् भन्ने बुझ्नु पर्छ । ती ठाउँमा के प्रस्तुत हुन्छ भन्ने कुरा सामान्य कलाकारले बुझ्न जरुरी हुन्छ ।

उहाँले भन्नुभयो, “पुरुषले तिज गीत गाउँदा १५ वर्षअघि नै मैले विरोध गरेकी थिएँ । अहिले यो उही धमिलो खोलामा माछा मार्ने जस्तै नै होला । गीतको ‘भ्युअर्स’ बढाएर र ‘ट्रेन्डिङ’ मा पारेर त्यो कलाकारले के पायो त ?” उहाँले भन्नुभयो, “खालि एउटा सस्तो लोकप्रियता मात्र होइन ? यो अत्यन्त घातक चिज हो । संस्कृतिमा यसमा एकदमै नराम्रो प्रभाव पार्ने छ ।”

राजनीतिमा सक्रिय भएपछि गायिका कोमल ओलीले तिज गीत ल्याउन छाड्नुभयो । तिज गीतमा विकृति भित्र्याउने गायिकाका रूपमा समेत कतिपयले कोमल ओलीलाई लिन्छन् । उहाँले भन्नुभयो, “तिजको घेराभित्र रहेर तिज गीत गर्ने मान्छे हुँ । मेरा हरेक तिज गीतमा तिज शब्द हुन्छ । भाका तिजको हुन्छ । वेशभूषा सबै तिजको हुन्छ । मेरो नृत्यको पारा तिजी हुन्छ अनि कसरी म तिज गीत बिगार्ने गायिका भएँ ?”

उहाँले भन्नुभयो, “गीतको दृष्टिबाट हेर्दा तिज गीत धेरै नै बिग्रिँदै गएको छ । अन्य कुरामा त तिज रहेकै छ रहन्छ तर गीतका हिसाबले खस्किएको छ ।”

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...