Skip to main content

धनगढी न्यूज

त्रिविमा फेरि किचलो

Advertisement

काठमाडौँ, भदौ ६ गते । नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ । बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले पदाधिकारी कार्यालयमै छिर्न नसक्ने अवस्था निम्त्याएको हो ।

समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की दिएका छन् । जसका कारण केसीसहित रजिस्ट्रार प्राडा केदार रिजाल पछिल्लो समय सहज रूपमा कार्यालय प्रवेश गर्नसमेत सक्नुभएको छैन ।

तथापि सरकारले डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरेपछि उहाँहरू बुधबारदेखि नियमित काममा फर्कनुभएको छ । उपकुलपति प्राडा केशरजङ्ग बराल भने बिरामी भएर घरमै आराम गरिरहनुभएको छ ।

विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार आफूले भने अनुसारको व्यक्तिलाई विभागीय प्रमुख बनाउन दबाब दिँदै केही विद्यार्थी सङ्गठनका नेताले पदाधिकारी तथा प्राध्यापकलाई आक्रमणको धम्की दिएका छन् ।

बुधबार बिहानै मन्त्री भट्टराईले फेसबुकमार्फत त्रिविमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्ने र प्राध्यापकलाई फोन गर्दै धम्की दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको जानकारी दिनुभएको थियो । साथै गुन्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै विश्वविद्यालयको सुरक्षाको प्रबन्ध गर्न उहाँले गृहमन्त्रीसँग माग गर्नुभएको थियो ।

मन्त्री भट्टराईको आग्रहपछि बुधबार प्रहरीले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा सुरक्षा दिएको थियो । त्रिविमा पछिल्लो समयदेखि समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद आफू मातहतका निकायमा पदाधिकारी नियुक्ति गर्दा अनुभवी र वरिष्ठलाई मात्रै अघि सार्ने उद्देश्यले त्रिवि कार्यकारी परिषद्ले केही समयअघि तयार गरेको मापदण्डसँग सम्बन्धित हो ।

तर विश्वविद्यालय स्रोतका अनुसार विभागले कार्यविधि अनुसार वरिष्ठताका आधारमा सिफारिस गरेको नामावलीलाई मानविकी तथा सामाजिक शास्त्र डिन कार्यालयले उल्ट्याउँदै दोस्रो नम्बरमा रहेका सहप्राध्यापक टीका गौतमलाई सिफारिस गरेपछि विवाद भएको हो । ३२ साउनमा तत्कालीन विभाग प्रमुख प्राडा युवराज लुइटेलको पदावधि सकिनुअघि लुइटेलले नै नयाँ विभागीय प्रमुख नियुक्तिका लागि सहप्राध्यापकहरू पासाङ शेर्पा, टीका गौतम र मनहरि ढकालको नाम सिफारिस गर्नुभएको थियो । तर डिन प्राडा कुसुम शाक्यले दोस्रो नम्बरमा रहेको गौतमलाई विभागीय प्रमुख नियुक्तिका लागि शिक्षाध्यक्षसमक्ष सिफारिस गरेको आरोप लागेको छ ।

उक्त सिफारिसलाई शिक्षाध्यक्षले कार्यकारी परिषद्को बैठकमा पेस गर्नुपर्ने हुन्छ । तर को वरिष्ठ भन्ने विषयमा विवाद भएपछि शिक्षाध्यक्ष कार्यालयले समाजशास्त्र विभागमा कार्यरत सम्पूर्ण प्राध्यापकको विवरण पठाउन हालै मात्र डिन कार्यालयलाई लिखित निर्देशन दिएको छ । उक्त निर्देशनको जवाफ आइसकेको छैन । समाजशास्त्र विभाग साउन ३२ गतेदेखि नै प्रमुखविहीन छ ।

तर त्रिविका एक पदाधिकारीले भने डिन कार्यालयबाट आएको नामावली अनुसार नियुक्ति गर्न आफूलाई विद्यार्थीबाट धम्की आएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक जना विद्यार्थीले बुधबार बिहान मात्रै फोन गरेर आफूले भनेको व्यक्तिलाई डिन नियुक्त नगरे जहाँ भेट्यो त्यहीँ सिध्याइदिने धम्की दिएका छन् । यस्तो अवस्थामा विश्वविद्यालयभित्र बसेर कसरी काम गर्ने ?”

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...