
सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख २२ हजार २२२ सहयोग गरेको छ।
विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीले आफ्नो एक महिनाको तलबबाट तीन दिन बराबरको ८९ हजार ९ सय ६९ रुपैयाँ, विद्यार्थीहरूले खाजाबाट बचाएको ३९ हजार ५० रुपैयाँ, विद्यालयमा गठित जुनियर रेडक्रस कोषबाट १८ हजार २ सय ३ रुपैयाँ र विद्यालयको तर्फबाट ७५ हजार रुपैयाँ सहयोग गरिएको विद्यालयका निर्देशक नरेश बलायरले बताए।
विद्यालयका तर्फबाट उक्त रकम प्रमुख जिल्ला अधिकारीमार्फत कोषमा हस्तान्तरण गरिएको छ।

प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला विद्यालयले राहत कार्यमा योगदान गरेको हो। पछिल्ला दिनमा बाढीपहिरोबाट विद्यालय, घर तथा सार्वजनिक संरचनासमेत प्रभावित भएका विवरण सार्वजनिक भइरहेका छन्।
विद्यालयले आर्थिक सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको अभिव्यक्ति भएको बताएको छ।









