Skip to main content

धनगढी न्यूज

च्याम्पियन क्लाइम्बर स्वस्तिकाको अन्तर्राष्ट्रिय पदक जित्ने लक्ष्य

Advertisement

राष्ट्रिय च्याम्पियन बन्नका लागि उनले लागि धेरै संघर्ष र मिहिनेत पनि गरेकी छन् । त्यसैले उनको मन पहिलो सफलतामै रोकिन चाहन्न ।

च्याम्पियन क्लाइम्बर स्वस्तिकाको अन्तर्राष्ट्रिय पदक जित्ने लक्ष्य

‘पहिलो पटक क्लाइम्बिङ स्पोर्टको राष्ट्रिय च्याम्पियन बन्दा एकदम गर्वको क्षण थियो’ नवलपरासी रामग्राम-१३ की स्वस्तिकाले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘एउटा नेशनल च्याम्पियनसिप जित्ने सपना पूरा भयो तर अझ धेरै गर्न बाँकी छ । जितेपनि अझै सन्तुष्ट भएको छैन किनभने यो सुरुवात जस्तै हो।’

च्याम्पियन बन्नका लागि उनले धेरै संघर्ष र मिहिनेत पनि गरेकी छन् । त्यसैले उनको मन पहिलो सफलतामै रोकिन चाहन्न । ‘सन् २०१६ देखि नै सुरु गरेको हो । स्टेप बाई स्टेप प्रोग्रेस भइरहेको थियो । सिधै च्याम्पियन भएको होइन दोस्रो, तेस्रो हुँदै अहिले पहिलो भएको हो’ स्वस्तिका भन्छिन्, ‘सुरुवात देखि नै धेरै संघर्ष गरेको थिएँ । मेरो मिहिनेत कति छ धेरैलाई थाहा छ । त्यसैले अहिले उपलब्धि हात पार्दा खुशी छु।’

अन्य खेल जस्तै क्लाइम्बिङ स्पोर्टको पनि नेपालमा संघ छ । तर साहसिक खेलकुद विधामा पर्ने र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने यो खेलको चर्चा खासै भएको छैन ।

तर स्वस्तिकालाई भने यस्तै कम चर्चा भएको खेलमा रूचि बढेकोले उनी यसतर्फ आकर्षित भएकी हुन् । ‘एज अ स्पोर्ट सबै छुट्टै गेम हो । हरेक खेलको आफ्नै विशेषता हुन्छ । यो खेल धेरै थाहा थिएन थाहा नपाएको गेम भएर त्यसैले पनि मलाई रूचि बढ्यो’ उनले भनिन्, ‘सुरुमा जे नयाँ हुन्छ त्यसमा रमाइलो हुन्छ । देखिरहेको खेलभन्दा यसमा रमाइलो भयो । जे नयाँ छ त्यसमा झन् उत्साह हुन्छ।’

अहिले विस्तारै क्लाइम्बिङ खेलको बारेमा पनि चर्चा हुन थालेको भन्दै स्वस्तिकाले यसलाई अझै चर्चा गराउने रहर रहेको बताउँछिन् । ‘क्लाइम्बिङलाई अझ अगाडि बढाउन मन छ । पहिला कसैलाई थाहा थिएन । अहिले अलि थाहा छ । यो खेल हो भनेर मलाई फिल गराउन मन छ । क्लाइम्बिङ खेल अब बिस्तारै चिनिन थालेको छ । यो खेल अझ धेरै ग्रो होस् सबैले थाहा पाउनुपर्छ भन्ने लाग्छ’ उनले भनिन् ।

यसरी लागिन् क्लाइम्बिङमा

घर नवलपरासी भएपनि स्वस्तिका काठमाडौंमै जन्मिइन्, यतै हुर्किइन् बढिन् अनि पढाई गरिन् । उनले सन् २०१५ मा पहिलो पटक क्लाइम्बिङ स्पोर्ट बारेमा सुनेकी थिइन् । जतिखेर उनी स्काउटमा थिइन् ।

उनी चाबहिलको न्यु इंग्लिस बोर्डिङ स्कुलमा पढ्दा नै स्कुलमा हुने अतिरिक्त क्रियाहरूमा रूचि राख्थिन् । यस्तै विभिन्न खेलहरू पनि खेल्थिन् । ‘मलाई स्कुल देखि नै खेलमा रुची थियो । एथ्लेटहरू मन पर्थ्यो । म जे जे गेम पाउँथे सबै खेल्ने । स्कुलमा साना-साना इसीए हुन्थयो त्यसमा म एक्टिभ नै हुन्थें’ स्वस्तिकाले भने ।

त्यसैबला सन् २०१५ मा रंगशालमा स्काउटको ट्रुपहरूको क्लाइम्बिङ प्रतियोगिता भएको थियो । जहाँ सुरुमा स्वस्तिका छनोट भइनन् । तर उनले रिक्वेस्ट गरेपछि उनलाई पनि त्यहाँ सहभागी हुन दिइयो । ‘मैले रहर गरेपछि जान पाएँ अनि खेलें । त्यसपछि अचानक मलाई त्यसतर्फ रूचि बढ्यो’ स्वस्तिका भन्छिन् ‘मुख्य कुरा रूचि हो । रूचि नभए स्पोर्ट्समा छिर्न गाह्रो हुन्छ।’

त्यही उनको रूचिले उनलाई क्लाइम्बिङको खेलाडी नै बनायो । अनि उनी क्लाइम्बिङतिर नै निरन्तरता दिन थालिन् । ‘एथ्लेट भएर अघि बढ्न मन छ भनेर मेरो यात्रा यसमै सुरु गरेँ’ उनले भनिन् ।

उनले खेलेको पहिलो प्रतियोगिता बालाजुमा थियो । जहाँबाट उनले क्लाइम्बिङको आधारभुत कुराहरू सिक्न पाइन् । ‘दोर्जे खत्री मोमेरिय लिड कम्पिटिसन थियो । त्यसपछि मनसुन म्याडनेस लगायत प्रतियोगिता खेलेँ । तर कहिले पनि पोडियममा नपुग्ने । तर त्यसैबाट धेरै कुराहरू सिकेर अघि बढेँ’ स्वस्तिकाले भनिन् ।

लगत्तै उनले सन् २०१६ मा ठमेलस्थित एस्ट्रेक वालमा भएको एक प्रतियोगितामा भाग लिइन् । त्यसमा सिनियर जुनियर सबै सहभागी थिए । युवातर्फ स्वस्तिकाले नै उपाधि जितिन् । अनि झन् यसमा उनको रूचि बढेर गयो । ‘मलाई यही खेल खेलेर एथ्लेट हुनुथियो । तर के को लागि चढिरहेको थिएँ मलाई थाहा थिएन तर यसमै निरन्तरता दिने रमाइलो भइरहेको छ भन्ने लाग्यो’ उनले थपिन् ।

सुरुमा क्लाइम्बिङ जाँदा उनलाई आर्थिक स्रोत जुटाउन कठिन थियो । आवश्यक सामाग्रीहरू पनि थिएन । त्यसमा उनलाई लामा वर्क्सले सहयोग गरेको थियो । यस्तै एकपटक पञ्चमाया तामाङले दिएको हार्नेस लगाएर पनि उनले क्लाइम्बिङ गरेकी थिइन् ।

‘आर्थिक रुपमा राम्रो थिएन । लामा वर्क्स (राजेश लामा दाई)ले सुरुमा सहयोग गर्नुभयो। सुरुवाती दिनमा क्लाइम्बरहरू सबै ठमेलको एस्ट्रेकमा जान्थेँ’ उनले भनिन् । त्यसैले उनले धेरैलाई भेट्ने सिक्ने मौका त्यहीँ पाइन् ।

अन्तर्राष्ट्रिय सहभागिता

स्वस्तिकाले क्लाइम्बिङमा लागेको छोटो समयमै युथतर्फ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । जसले गर्दा उनले सुरुमै अनुभव बटुल्ने मौका पाइन् ।

सन् २०१६ मै इरानको तेहरानमा भएको एसियन युथ च्याम्पियनसिप (बोल्डर एण्ड लिड)अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले सहभागी हुने अवसर पाइन् । त्यसमा प्रतिस्पर्धा भन्दा पनि एक्सपोजरको हिसावले उनलाई राम्रो भयो ।

एस्ट्रेकमा भएको प्रतियोगितामा युथतर्फ टप भएर उनले त्यो अवसर पाएकी थिइन् । ‘त्यसपछि मैले इरान जाने मौका पाएँ । मैले सबैभन्दा एक्सपोजर पाको भनेको २०१६ सेप्टेम्बरमा बाहिर गएर खेलेको थिएँ । इरान जाँदा थाहा पाए स्पोर्ट्स क्लाइम्ब भनेको के हो भनेर । पेम्बा र म गाको । एनएमएले सहयोग गरेको थियो’ त्यसबेला नेपाल पर्वतारोहण संघले नै अन्तर्राष्ट्रिय क्लाइम्बिङ प्रतियोगिताहरूमा सहभागी गराउने गरेको उनले बताइन् ।

विदेशमा गएर प्रतिस्पर्धा गरेपछि स्वस्तिकाले क्लाइम्बिङ बारे अझ धेरै बुझ्न पाइन् । ‘त्यो खेलेपछि बल्ल थाहा पाएँ स्पोर्ट्स क्लबइम्ब भनेको के हो भनेर । किनकी बाहिरको क्लाइम्बरहरू के हो ? कस्तो हुन्छ प्रतिस्पर्धा के हो त्यसपछि थाहा भयो । यहाँको त सामान्य लाग्यो । बाहिरको मान्छे कति संघर्ष गरेर पोडियममा आएर, स्पोर्ट्सको भ्यालु देखायो । त्यसपछि मैले झन् यो खेलको भ्यालु देखेँ ।’ सुरुवाती क्षणबारे उनले भनिन् ।

त्यसपछि उनले सन् २०१७ जुनमा भारतमा भएको आईएफएससी क्लाइम्बिङ वर्ल्ड कप (बोल्डरिङ) र २०१७ मै सिंगापुरमा भएको एसियन युथ च्याम्पियनसिप (बोल्डर एण्ड लिड) मा सहभागी हुने मौका पाइन् । जसले गर्दा उनको कला अझ निखारिने अवसर मिल्यो ।

उनले विदेशमा गएर खेलेको यही तीन अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । जसबाट अनुभव एक्सपोजर लिन पाइन् । ‘अन्तर्राष्ट्रिय ठूला क्लाइम्बर देखेपछि मोटिभेसन भयो मलाई पनि उनीहरू जस्तै बन्न मन लाग्यो । हामी सानो देशबाट गएर उनीहरूसँग प्रतिस्पर्धा गर्न पाउनु पनि ठूलो कुरा हो । उनीहरूलाई देख्दा इन्सपायर हुने मोटिभेसन हुने भएको थियो’ उनले भनिन् ।

सन् २०१७ मा सिंगापुरमा भएको एसियन युथ च्याम्पियनसिपमा नेपालबाट स्वस्तिकासँगै ३ महिला र एक पुरुष खेलाडी सहभागी भएका थिए । जसमा नेपालकी पञ्चमायाले कांस्य पदक जितिन् । त्यो एकदमै गर्वको क्षण भएको स्वस्तिका बताउँछिन् । ‘पञ्चमाया तेस्रो भएर पदक जितेको थियो । त्यो एकदम प्राउड मोमेन्ट । पोडियममा नेपालको झण्डा थियो । आफूले नजितेपनि पोडियममा नेपालको खेलाडी र झण्डा देख्दा अर्कै खालको फिलिङ हुने रैछ’ उनले भनिन् ।

यसबाहेक स्वस्तिकाले सिंगापुर र भारतमा प्रशिक्षण समेत गरेकी छिन् । उनले पछिल्लो पटक भारतमा भएको टाटा स्टिल स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिप खेलेकी थिइन् । जसमा उनी फाइनलसम्म पुगेकी थिइन् ।

क्लाइम्बिङमा एक दशकको संघर्ष

स्वस्तिकाले क्लाइम्बिङमा लागेर यसलाई निरन्तरता दिएको एक दशक बितिसकेको छ । उनले यस अवधिमा धेरै उतारचढाव व्यहोरेकी छन् । यो बीचमा उनले क्लाइम्बिङमा पनि धेरै परिवर्तन देखेकी छन् । ‘क्लाइम्बिङ कम्युनिटीमा केही न केही परिवर्तन आछ जस्तो अनुभव हुन्छ’ स्वस्तिका भन्छिन्, ‘२०२० अघि जस्तो थियो त्यसपछि चेन्ज भएको छ ।’

नेपालमा धेरै खेलका खेलाडीको लागि खेलेरै भविष्य सुनिश्चित गर्न कठिन छ । कमजोर आर्थिक अवस्था भएको पृष्ठभूमिबाट आएकी स्वस्तिकाले यो अवस्थासम्म आउन धेरै मिहिनेत र संघर्ष गरेकी छिन् । क्लाइम्बिङ खेल उनको रूचिको विषय थियो त्यसैले उनले यसलाई छाड्न सकिनन् । ‘करियर के हुन्छ भन्ने भाथ्यो । हबी लिन्छु भन्ने थियो तर छाड्ने सोचेको थिएन । कतिपटक हार खाएको थिएँ तर हिम्मत हारिनँ । त्यसैले छाड्न सकिनँ’ उनले भनिन् ।

तर जिन्दगी चलाउनका लागि उनले ट्रेकिङ गाइड गर्ने, क्लाइम्बिङ इन्स्ट्रक्टरको रुपमा काम गर्ने देखि मार्केटिङमा सम्म काम गरिन् । ‘क्लाइम्बिङले खान पुग्दैन । त्यसैले यसको साइडमा ट्राभल एण्ड टुरिजम पढेँ । ट्रेकिङ गाइडको लाइसेन्स पनि निकालें । उमेर बढ्दै गएपछि जिम्मेवारी पनि बढ्दै जाने रैछ । त्यसैले यस क्षेत्रमै केही गर्न लक्ष्यसहित विकल्पहरू खोज्दै काम गरें’ उनी भन्छिन्, ‘क्लाइम्बिङ त गर्छु तर मलाई पनि खान लाउन बाँच्न पर्‍यो । आफूलाई लागेको सोख पूरा गर्न पर्‍यो । त्यसले गर्दा ट्रेकिङ गर्न थालेँ ।’

कोभिड १९ को असरपछि क्लाइम्बिङ ठप्प हुँदा लेडिज माउन्टेन लिग (एलएमएल) मा पनि संलग्न भएर स्वस्तिकाले काम गरिन् । जसले आर्थिक रुपमा साथ नपाएका दु:ख पाएकाहरूका साथ सपोर्ट गर्ने काम गरेको थियो । सुरुमा स्विडेनकी हानाले सुरु गरेको यस अभियानमा सरिना राईले साथ दिइन् । हाना छाडेर गएपछि अहिले स्वस्तिकाले पनि यसमा नेतृत्वमा रहेर काम गरिरहेकी छन् ।

नयाँ आउन चाहने खेलाडीहरूका लागि यो टिमले हरेक शुक्रबार केएससीसीमा क्लाइम्बिङ गराउने काम गर्छ ।

‘खेलको विकास र ग्रासरुट डेपलपमेन्टका लागि महिला क्याटेगोरीमा कसरी अघि बढाउने भनेर लागिराछौं’ आफूले नै सिकाएहरू अहिले प्रतिस्पर्धा गर्ने स्थानसम्म पुगेको र त्यो देख्दा खुशी लाग्ने स्वस्तिकाले बताइन्, ‘खुशी लाग्छ उहाँहरू अघि बढेको देख्दा । सानो अवसरले गर्दा उहाँहरू यो यात्रामा अघि बढ्नुभएको छ।’

अबको लक्ष्य : अन्तर्राष्ट्रिय पदक जित्ने

स्वस्तिकाले राष्ट्रिय च्याम्पियन बन्नेदेखि अन्तर्राष्ट्रिय सहभागिता जनाउने सम्मको अनुभव लिइसकेकी छन् । क्लाइम्बिङलाई निरन्तरता दिने उनको सोच छ । प्रतिस्पर्धा मात्र नभएर यसमा सिकाउने देखि प्राविधिक रुपमा पनि काम गर्ने अवसर हुनेछ ।

तर त्यसअघि स्वस्तिका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर पदक जित्न चाहन्छिन् । ‘म २५ वर्ष भएँ । अझै केही समय छ । मैले मेरो चाहनाहरु अहिले नै पूरा गर्नुपर्छ । मलाई अन्तर्राष्ट्रिय स्तरमा पोडियममा पुगेर पदक ल्याउन मन छ । पोडियममा बसेर नेपालको झण्डासहित जुनै पदक भएपनि ल्याउने इच्छा छ’ स्वस्तिकाले अबको लक्ष्य सुनाइन् ।

यो कठिन र चुनौतीपूर्ण हो भन्ने पनि उनले बुझेकी छन् । तर त्यसलाई पूरा गर्न आफ्नो मिहिनेतका साथै अरुको साथ र सहयोग पनि चाहिने उनी बताउँछिन् । ‘मलाई थाहा छ यो तत्काल हुँदैन तर मैले निरन्तर ट्रेनिङ गरिहेँ र अरुको पनि साथ पाएँ भने सम्भव छ । यहाँ प्रोपर ट्रेनिङ नहुँदा हामीले क्षमता भएर पनि त्यसलाई राम्रोसँग प्रयोग गर्न सकिनरहेको छैनौँ । त्यसैले बाहिरै गएर प्रशिक्षण गर्न मन छ । यसमा स्पोनरहरु, सरकारको साथ भयो भने सहज हुन्छ भन्ने लाग्छ’

नेपाल र बाहिरको प्रशिक्षण शैली देखि क्लाइम्बिङको रुट सेटिङहरु नै फरक हुने भएकोले बाहिर नै गएर प्रशिक्षण गर्नुपर्ने उनले बताइन् । ‘बाहिरको कोच नेपाल आउँदा नेपालका हरेक क्लाइम्बरसँग क्षमता छ तर त्यसलाई युटिलाइज गर्न नपाएको भन्नुभयो । त्यो सुन्दा हामी एउटै तरिकाले मात्र चढिराछौँ भन्ने लाग्छ । बाहिरतिर व्यापक परिवर्तन भइराछ । हामीले बाहिरका कोचहरुसँग सिक्नुपर्छ’ स्वस्तिकाले पनि बाहिर गएर प्रशिक्षण गर्ने तयारी गरिरहेको बताइन् ।

त्यसो भएमा अझै अगाडि बढ्न सक्ने उनको भनाई छ । यस्तै भविष्यमा अझ राम्रो गर्दै ओलम्पिकसम्म पुग्ने स्वस्तिकाको सपना छ । ‘अन्तर्राष्ट्रिय पदकपछि ओलम्पिक जान मन छ । थाहा छ छनोट हुन समय लाग्छ । एकै पटक माथि पुग्न धेरै संघर्ष गर्नुपर्छ’ उनी भन्छिन्, ‘त्यसको लागि संस्थाको सहयोग चाहिन्छ । सरकारको पनि सहयोग चाहिन्छ । मेरो पनि मिहिनेत चाहिन्छ । सबैको साथ र सहयोग भयो भने ओलम्पिक पुग्न सकिन्छ खेल्न सकिन्छ र मेडल ल्याउन सकिन्छ भन्ने विश्वास छ।’

एउटा सफलतापछि अर्को लक्ष्य बन्दै जाने भएकोले ड्रिम पनि बढ्दै जाने स्वस्तिका बताउँछिन् । देशको झण्डा बोकेर खेल्ने भएपछि आफूलाई पनि सहयोग गरोस् भन्ने आशा हुने स्वस्तिकाले बताइन् ।

‘ओलम्पियन बन्न मन छ । देशको झण्डा बोक्न मन छ देशले पनि हामीलाई सहयोग गरोस् भन्ने हो । क्लाइम्बिङ खेलमा धेरै पोटेन्सियल छ तर अझै एक्सप्लोर हुन बाँकी छ । सबैको साथ पाए त्यो काम गरेर देखाउन मन छ’ स्वस्तिकाले भनिन् ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...