Skip to main content

धनगढी न्यूज

‘स्वर्ग जाने बाटो’ को यात्रामा जे देखियो

Advertisement

चीनले तिब्बत स्वायत्त क्षेत्रलाई सिचाङ स्वायत्त क्षेत्र भन्न थालेको छ। तिब्बतलाई चिनियाँ भाषामा ‘सिचाङ’ भनिन्छ। चिनियाँ भाषामा ‘सि’ को अर्थ पश्चिम र ‘चाङ’ को अर्थ तिब्बत हो।

 

तिब्बती भाषाको ‘त्साङ’ बाट ‘चाङ’ शब्दको विकास भएको पाइन्छ जुन तिब्बतको एक प्रमुख भूगोलबाट आएको हो।

तसर्थ चीनले प्रयोगमा ल्याएको ‘सिचाङ’ ले ‘तिब्बती भूभाग’ भन्ने बृहत् अर्थ बोकेको छ। यो शब्द चीनको छिङ राजवंश (१६४४–१९१२) को समयमै प्रचलनमा आएको थियो। नयाँ चीन स्थापना भएपछि चिनियाँ भाषामा तिब्बतलाई सिचाङ नै भनिन्थ्यो भने अंग्रेजी भाषामा तिब्बत भनिएको थियो। अहिले तिब्बतको सट्टा सिचाङलाई नै व्यापक रूपमा प्रयोगमा ल्याइएको छ।

सिचाङका सडकलाई स्वर्ग जाने बाटो भनिन्छ।

चिनियाँ भाषामा निकै लोकप्रिय पदावली ‘थिआनलु’ छ। चिनियाँ भाषामा ‘थिआन’ भनेको स्वर्ग हो भने ‘लु’ भनेको बाटो हो। अंग्रेजी भाषामा अनुवाद गरिएको ‘हेभन्ली वे’ को भन्दा चिनियाँ भाषाको ‘थिआनलु’ को गहन अर्थ छ।

मैले भर्खरै सिचाङको सुदूरपूर्वदेखि सुदूर पश्चिमसम्म यात्रा गर्ने अवसर पाएँ। यात्रा क्रममा अधिकांशतः सडक यात्रा प्रयोग गरिएकाले पनि स्वर्ग जाने बाटो कस्तो छ भनेर नजिकबाट नियाल्ने मौका मिल्यो। हुन त यसअघि पनि मैले दुई पटक सिचाङको यात्रा गरिसकेको छु।

बेइजिङदेखि विमानमा ल्हासा पुगेको चौथो दिनमा रेल चढेर लिन्ची जानुपर्ने भयो। पूर्वनिर्धारित कार्यतालिकामा समावेश थिएन लिन्ची जाने यात्रा। ५ हजार २ सय मिटरको उचाइबाट रेलमार्ग पार हुने भएकाले आकस्मिक रूपमा तय भएको यो यात्रा थप रोचक हुने भइहाल्यो।

CA-kailash5-1753282266.jpg
ल्हासाको रेलवे स्टेसन

लिन्ची सिचाङको तुलनात्मक रूपमा कम उचाइमा रहेको सरदर (३ हजार मिटर) लिन्ची म्यानमारको सिधा उत्तरतिर पर्छ। त्यहाँ एक रात बसेर भोलिपल्ट ल्हासा फर्किने रेलको टिकट थियो। तर नयाँ अनुभव लिने हिसाबले फर्किँदा मैले रेल नचढेर कूटनीतिक गाडी प्रयोग गरेँ। ल्हासाका लागि महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला सोही दिन लिन्चीबाट ल्हासा फर्किँदै हुनुहुन्थ्यो। म उहाँकै गाडीमा ल्हासा फर्किएँ।

बेइजिङबाट ल्हासा जाँदा चिनियाँ सहकर्मीहरू साथमा थिए। ल्हासा जाने क्रममा छङ्तूमा नेपाली साथीहरू प्रकाशबाबु पौडेल, जिवेश गुरुङ, रितिकसिंह ठकुरी, सुजन श्रेष्ठ र उपमा पौडेल थपिए।

एक साताको ल्हासा घुमाइपछि हामी विमानबाट सिचाङको पश्चिम उत्तरमा पर्ने आली क्षेत्र प्रस्थान गर्‍यौं। बेइजिङ र काठमाडौंका साथीहरूसँगै ल्हासाका लागि महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र उहाँकी श्रीमती बिमला निरौला पनि हामीसँग थपिनुभयो।

ल्हासाको उचाइ ३६ सय ५६ मिटर छ। हामी आली विमानस्थलमा ओर्लिँदा एकैचोटि ४२ सय मिटरको उचाइमा थियौं। त्यसपछि सुरू भयो हाम्रो ९ दिने आली क्षेत्रको भ्रमण।

पठारभूमिको अनकन्टार दृश्य उदेकलाग्दो थियो। आँखाले भ्याएसम्म कुनै घर र वनस्पति नदेखिने। त्यति अग्लो भूभागमा पहाडी अथवा हिमाली शृंखला होइन, विमानस्थल जस्ता समतल फाँटहरू मात्र लमतन्न देखिन्थे। मानव वस्ती नदेखिए पनि सडक र बिजुली जताततै पुर्‍याएको रहेछ चीन सरकारले। अनि सबैतिर कम्तीमा फोर–जी र कतैकतै त फाइभ–जीकै इन्टरनेट सुविधा देखाउँथ्यो मोबाइलले।

यात्रा अवधिका सबै कुरा वर्णन गर्न थाल्दा सिंगै किताब सिर्जना हुन सक्छ। त्यस कारण यस आलेखमा चाहिँ स्वर्ग जाने बाटोका बारेमा मात्र केही चर्चा गर्न चाहन्छु।

चीनको सिचाङ स्वायत्त क्षेत्र हिमालयको उच्च पठारमा छ। समुद्री सतहदेखि निकै उचाइमा रहेकाले त्यहाँको भौगोलिक अवस्था निकै कठिन छ।  कठिन भूभाग र अक्सिजनको मात्रा कम हुने भएकाले उक्त क्षेत्रमा यातायात सञ्जालको विकास चुनौतीपूर्ण हुनु स्वाभाविक हो।

पछिल्लो समयमा चीन सरकारले सिचाङको यातायात विकासमा ठूलो सुधार गरेको छ। सिचाङको सडक सञ्जाल उक्त क्षेत्रको आन्तरिक तथा बाह्य यातायातको मुख्य आधार हो। ल्हासादेखि खासा तातोपानी जोड्ने सडकलाई चीन–नेपाल मितेरी राजमार्ग नाम दिइएको छ।

यो सिचाङको पुरानोमध्ये एक राजमार्ग हो। आठ सय किलोमिटर लामो राजमार्गले ल्हासालाई काठमाडौंसँग जोडेको छ। यसलाई सिचाङको सबभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सडक पनि मानिन्छ।

त्यसैगरी चीनको सिचुवान प्रान्तको सदरमुकाम छङ्तूदेखि ल्हासा जोड्ने २,१४२ किलोमिटरको अर्को राजमार्गले सिचाङको आपूर्ति व्यवस्थालाई सहज बनाएको छ। सिचाङको अर्को छिमेकी प्रान्त छिङहाईसँग जोड्ने छिङहाई तिब्बत राजमार्गले सिनिङ र ल्हासालाई जोडेको छ। यो राजमार्ग उच्च हिमाली भूभागलाई पार गर्दै बनाइएको छ।

सिचाङमा एक लाख १० हजार किलोमिटरभन्दा बढी पक्की सडक बनेका छन्। यी सडकले सिचाङका ९० प्रतिशतभन्दा बढी गाउँलाई आपसी सञ्जालमा जोडेर आदानप्रदान सहज बनाएका छन्।

सिचाङमा सन् २००६ मा पहिलो पटक छिङहाई तिब्बत रेल सेवा सञ्चालनमा आएको हो। ल्हासा पुगेको रेलमार्गलाई सन् २०१४ मा ल्हासादेखि पश्चिम २४८ किलोमिटर पश्चिममा पर्ने सिगाच्छे सहरसम्म विस्तार गरिएको छ। त्यसैगरी ल्हासादेखि पूर्वदक्षिणमा चार सय किलोमिटरभन्दा बढी दुरीमा रहेको लिन्चीसम्म सन् २०२१ देखि रेल सेवा सञ्चालनमा छ।

अहिले सिचुआन–तिब्बत रेलवे निर्माणाधीन अवस्थामा छ। चाँडै सम्पन्न हुने यो रेलवेले सिचाङलाई चीनको मध्य भागबीच यातायात सञ्जालमा जोडेर अझै सहज बनाउनेछ।

सिचाङको पश्चिमी क्षेत्रमा रहेको आली क्षेत्र चीनको भौगोलिक दृष्टिबाट सबभन्दा दुर्गम र अप्ठ्यारो हो। सरदर ४५ मिटरभन्दा बढीको उचाइ, विशाल पठारभूमि, वनस्पति र पानीको अभाव, कोसौंसम्म शून्य मानवबस्ती आदिका कारण यस क्षेत्रमा सडक सञ्जालको विकासले प्रतिव्यक्ति उपभोगमा सम्भवतः विश्वकै सबभन्दा महँगो पर्न जान्छ।

यात्रामा गाडीबाट देखिने बाहिर दृश्यमा न त बजार देखिए नि मानवबस्ती। बीस–तीस किलोमिटरको यात्रापछि कतै कतै केही झुरूप्प घर देखिन्छन्। नत्र अलिक ओसिलो र केही झारपात पलाएको ठाउँमा चरिरहेका चौंरी र च्यांग्राका बथानहरू। ठाउँ ठाउँमा जंगली गधा र तिब्बती जरायो देखिन्थे।

समतल फाँटमा डोरी टाँगिए जस्ता सडकमा हामी चढेको कार १२० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिँदा पनि गाडी कुदे जस्तो नलाग्ने। जब नागबेली सडक आउँथ्यो, अनि बल्ल दायाँ र बायाँ ढल्किने हुँदा गाडीको गति थाहा हुने।

यात्रा क्रममा हामीले सबैभन्दा उच्च ५४ सय मिटरको भूभाग पार गरेका थियौं। सरदर ४५ मिटरको उच्च भूभागमा यात्रा गर्दा अक्सिजनको कमी लगायत अन्य भौगोलिक कारणले हामीलाई निकै असहज महसुस भयो। सुविधासम्पन्न गाडी, साथमा अक्सिजन सिलिन्डर तर पनि मनमा डर अडिरहने!

CA-kailash2-1753282265.jpg
कैलाश पर्वत्

केही घन्टा यात्रापछि हामी होटलमा गएर आराम गर्न सक्थ्यौं। होटलको कोठामा अक्सिजनका सिलिन्डरदेखि एउटा बटन दबाउँदा पूरै कोठाभरि अक्सिजन फैलिने प्रणाली थियो। मानसिक कमजोरीले अथवा शारीरिक थकानले राति त्यति राम्ररी सुत्न नसकिने। टाउको भारी हुने र निदाएको केही बेरमै झल्याँस्स भइहाल्ने। दिउँसो निधारको नजिकैबाट लागेको घामले अनुहार विरूप बनाइसकेको अवस्थामा राति राम्ररी निदाउन नसकेपछि हाम्रा अनुहार हेर्न लायकका थिए!

निकै उच्चाइ भएकाले त्यहाँको सडक निर्माण र यातायात चुनौतीपूर्ण छ। तथापि, हालका वर्षहरूमा चीनले सिचाङको आली प्रिफेक्चरको सडक सञ्जालमा ठूलो विकास गरेको रहेछ।

चीनको सिन्चियाङदेखि सिचाङको आली हुँदै युन्नान जोड्ने राजमार्ग चीनको सबैभन्दा लामो र उच्च हिमाली राजमार्ग हो। यो राजमार्गले आली क्षेत्रको रूतोग, गार, सिगात्से लगायत क्षेत्रहरूलाई आपसमा जोडेर नजिक बनाएको छ। त्यसैगरी सिचुआनदेखि आली हुँदै भारतको लद्दाख नजिकै पुग्ने अर्को राजमार्ग पनि छ। जसले आलीको गार काउन्टीलाई केन्द्र मानेर चारैतिर यातायात विकास गरेको छ।

आली सिगाच्छे राजमार्गले कैलाश र मानसरोवर जस्ता तीर्थस्थललाई जोडेको छ। आलीदेखि नै उत्तरतिर सिन्चियाङको कास्गर जोड्ने अर्को राजमार्ग पनि छ।

यी राजमार्ग बाहेक अन्य थुप्रै पक्की सडकहरूले सिचाङका गाउँलाई आपसमा जोडेका छन्। ती सडकले यातायातसँगै पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पशुपालन, व्यापार, ढुवानी, ऐतिहासिक सम्पदाको पनि प्रवर्द्धन गरेका छन्।

आली क्षेत्रमा नौ दिनको भ्रमणपछि हामी ल्हासा फर्कियौं। आफूले देखेको र भोगेको कुरासँग केक ति मिल्छ भनेर मैले ल्हासामा केही स्थानीयलाई स्वर्ग जाने बाटोबारे प्रश्न सोधेँ। यसको बहु अर्थ रहेको उनीहरूले बताए।

सिचाङलाई विश्वको छानो भनिन्छ। छानोमाथि हिँड्नु भनेको धर्तीभन्दा माथि हुने भएकाले सिचाङका सडकलाई स्वर्ग जाने बाटो भनिएको यसको भौगोलिक कारण रहेछ। सिचाङका सडकहरूमा विश्वकै सबभन्दा अग्ला सडक मार्गहरूमध्ये पर्ने भएकाले यी सडकलाई ‘स्वर्गसम्म पुग्ने बाटो’ जस्तो अनुभव गराउने ल्हासाका स्थानीयले बताए।

सिचाङभरिको प्राकृतिक सौन्दर्य नै स्वर्गजस्तो अर्थात् अद्वितीय छ। सिचाङका सडकबाट देखिने हिमाल, नीलो ताल, विशाल मरूभूमि र त्यसको सौन्दर्यले सबैलाई स्वर्गीय आनन्द दिन्छ। त्यहाँ यात्रा गर्दा बादलमा हिँडे जस्तो अथवा स्वर्गमा उडिरहेको भ्रम हुन्छ रे! त्यही भएर सिचाङका सडकलाई स्वर्गको सिँढी भनिने गरेको रोचक किस्सा पनि सुन्न पाइयो।

त्यसो त चुनौतीपूर्ण र कष्टकर पनि हुन सक्छ सिचाङको यात्रा।

अक्सिजनको कमी, हिमपात, भूस्खलन र खराब मौसमजस्ता चुनौतीहरूले जीवनको सबैभन्दा कठिन अनुभव हुने भएकाले मृत्यु पार गरेर स्वर्ग जाने बाटोका रूपमा पनि लिइएको होला!

केही भिक्षुको भनाइ मननयोग्य लाग्यो मलाई।

उनीहरूका अनुसार तिब्बती संस्कृतिमा यात्रा नै तपस्या हो। तिब्बती व्यक्तिहरू तीर्थयात्रा गर्दा लम्पसार पर्दै अगाडि सर्दै जान्छन्। तिब्बती बौद्ध धर्मावलम्बीहरूका लागि सडकमा हिँड्नु नै ध्यानको एक रूप हो र यसरी ध्यान गर्नु नै स्वर्ग जानु हो भनिँदो रहेछ। धेरै भिक्षुहरूले प्रार्थना गर्दै ढुंगाको माने बनाउँछन् र लुङ्गदरहरू सडक छेउछाउ राख्छन्। यसले ती मार्गलाई पवित्र मार्ग बनाएर स्वर्गतिर डोर्‍याउँछ भन्ने विश्वास छ।

सिचाङको पश्चिममा कैलाश पर्वत र मानसरोवर ताल छन्। यी दुवै स्थल बौद्ध, हिन्दु, शिख, बोन, जैन लगायत धर्ममा आस्था राख्नेहरूका लागि अत्यन्त पवित्र तीर्थस्थल मानिन्छन्। त्यहाँ पुगेर दर्शन गर्नु जिउँदै स्वर्ग पुगेजस्तो ठान्छन् कतिपय मान्छेहरू।

कैलाश पर्वत र मानसरोवर तालमा पुग्ने सडकलाई मोक्षको मार्ग भन्दा रहेछन् थुप्रै नेपालीहरूले पनि। त्यहाँको यात्राले आत्मिक शुद्धता प्रदान गर्ने विश्वास बोकेर तीर्थयात्रीहरूले मनभरि प्रार्थना, शुभेच्छा, सत्कर्म, जप, निष्ठा, आस्था र ध्यान बोकेका हुन्छन्।

मैले फेसबुकमा लाइभ गरेर कैलाश र मानसरोवर देखाउँदा धेरै मान्छेले ‘पाप काटेर धर्म कमाएको’ भन्दै मलाई धन्यवाद दिएका थिए।

त्यहाँको प्राकृतिक छटा, सौन्दर्य, अद्वित्तीय भूबनोट, पर्यावरणीय महत्व, अध्ययन र अवलोकनको राम्रो स्रोत हो। सो क्षेत्रमा पुग्दा म पनि मोहित भएको थिएँ। आनन्द महसुस भएको थियो। अक्सिजन कम हुँदा पनि मेरो शरीरमा उर्जा उत्पन्न भएको थियो।सेतो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...