Skip to main content

धनगढी न्यूज

पार्टी खोल्ने अनुमान, उज्यालो नेपाल अभियान र कुलमान

Advertisement

आजकाल बजारमा दुई कुरा भाइरल छन्– दुर्गेश थापाका गीत र कुलमान घिसिङ।

सेवा अवधि पूरा हुन चार महिना मात्र बाँकी रहँदा नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त भएपछि कुलमान ‘उज्यालो नेपाल’ नामको अभियान लिएर देश–विदेश घुम्दै छन्।

उनी आफ्नो भ्रमणका क्रममा नेपाली दाजुभाइ–दिदीबहिनीसँग भेटघाट र अन्तर्क्रिया गर्दै हिँड्दा दुर्गेश थापाले ‘कता हिँडेको बिजुली बालेर…’ बोलको गीत कुलमानकै लागि गाइदिएको जस्तो अनुभूति भएको छ।

बहराइनमा औपचारिक रूपमा ‘उज्यालो नेपाल’ घोषण गरेर कुलमान अमेरिकाको बोस्टन आउँदा मैले उनीसँग दुई दिन बिताउने मौका पाएँ।

जुलाइ २९ को साँझ उनीसँग म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा हार्वर्ड विश्वविद्यालय र एमआइटीमा अध्ययन–अनुसन्धानरत अन्वेषक, वैज्ञानिक, नीति अध्येता र विद्यार्थीहरूको भेटघाट–अन्तर्क्रिया राखेका थियौं।

अर्को दिन ‘बोस्टन नेपाली समाज’ द्वारा आयोजित भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा कुलमानसामु हास्य व्यंग्यात्मक प्रस्तुति ‘कता हिँडेको बिजुली बालेर…’ प्रस्तुत गर्ने अवसर प्राप्त भएको थियो।

मैले व्यक्तिगत र सामूहिक भेटघाटमा देखेका–सुनेका कुलमानको सम्भावित रणनीतिबारे यस लेखमा थोरै चर्चा गरेको छु।

misc-1754583196.jpg
नेपाली समुदायसँगको भेटमा कुलमानले २०७ कात्तिक १४ गते लक्ष्मीपूजाको दिन लोडसेडिङ मुक्त नेपाल बनाउन कार्यकारी निर्देशकका हैसियतमा आफूले गरेको मेहनत र संघर्षको कथा सुनाए।

ऊर्जाको माग र वितरणबीच सन्तुलन मिलाउन कुशल व्यवस्थापन गरेको र चुहावट नियन्त्रणबाट देशलाई लोडसेडिङमुक्त बनाउन सकेको बताए।

कुलमानका अनुसार उनले नेता र कर्मचारीतन्त्रको नसा छामेका छन्। को कहाँ कसरी बलियो र कमजोर छ भन्ने कुरा उनलाई थाहा छ। अब उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा पुर्‍याउन देशको मूल नेतृत्व बदल्नै पर्ने उनको निष्कर्ष छ।

यसो गर्न सक्दा मात्रै नेपालमा जलविद्युत उत्पादन बढाउन सकिन्छ। विद्युतीय साधनको प्रयोग बढाउन र उचित व्यवस्थापन गर्न सकिन्छ।

यसरी पेट्रोलियम पदार्थको माग र आयात घटाएर वातावरण संरक्षण गर्न सकिन्छ। स्वदेशी ऊर्जा खपतले आत्मनिर्भरता र राजस्व दुबै बढाउँछ।

उज्यालो नेपाल अभियान विद्युतको उज्यालो मात्रै नभई देशमा व्याप्त निराशाको अँध्यारो चिरेर आशाको उज्यालो छर्ने अभियानको पनि हो।

सबै किसिमका विज्ञ र नीति अध्येताहरू पृष्ठभूमिमा बसेर उज्यालो नेपाल अभियानमा शिक्षा र स्वास्थ्यसेवा सुधार गर्दै रोजगारी सिर्जनाको खाका कोर्नुपर्छ, गुरू योजना बनाउन सहकार्य गर्नुपर्छ।

यस्तो विचार प्रकट गर्दा कुलमान निकै परिपक्व सुनिए।

कार्यक्रमका सहभागीहरू उनको अभियानबाट निकै उत्साहित देखिए। उनीहरूले हाल स्वतन्त्र रहेका र विभिन्न राजनीतिक दलमा रहेका भए पनि स्वच्छ छविका सक्षम युवाहरूलाई समेत समेटेर अघि बढ्न र देशको नेतृत्व लिन उनलाई सुझाव दिए।

सुझावहरूको निष्कर्ष थियो– देशमा सर्वांगीण विकास र आमूल परिवर्तनका लागि आवश्यक जनशक्ति तयार गर्न उज्यालो नेपाल अभियान कोशेढुंगा हुन सक्छ, त्यसको नेतृत्व गर्ने क्षमता कुलमानमा छ।

कुलमानले सबै सुझावको स्वागत गरे तर राजनीतिक दल खोल्ने कुरा गरेनन्। राजनीति दल खोल्ने वा कुनै दलमा लाग्ने अनुमान गर्न सकिने गरी ‘उचित समयमा उचित कदम चाल्ने’ भन्न पनि छुटाएनन्।

कहाँबाट परिचालित छन् कुलमान?

कुलमानलाई नेपाल विद्युत प्राधिकरणमा पहिलो पटक माओवादी नेतृत्वको सरकारले नियुक्ति दिएको थियो। एमाले नेतृत्वको वर्तमान सरकारले बर्खास्त गर्दा पनि माओवादीले कुलमानको प्रतिरक्षा गरेको थियो।

यही पृष्ठभूमिमा कुलमान माओवादीबाट परिचालित हुन सक्ने अनुमान धेरैको छ। उनले यस सम्बन्धी प्रश्नको सामना पनि गर्नुपरेको छ। बोस्टनमा पनि यो कुरा उठ्यो।

जबाफमा कुलमान निकै प्रस्ट सुनिए। आफूले हालसम्म कुनै दलको सदस्यता नलिएको बताए, आफूलाई विद्युत प्राधिकरणमा कुनै दल विशेषले नभई दुवै पटक नेपाल सरकारले नियुक्ति दिएको बताए। कामको हिसबाले केपी ओलीको प्रधानमन्त्रित्वकालमा बढी समय बिताएको उनको भनाइ थियो।

उज्यालो नेपाल अभियानले ‘परम्परागत दलहरू’ सँग सहकार्य नगर्ने पनि उनले प्रस्ट पारे।

शान्त र दृढ कुलमान

आफ्नो अभिव्यक्तिमा कुलमान निकै शान्त तर दृढ सुनिए। कुनै किसिमको भड्काउ वा चर्को अभिव्यक्ति सुनिएन।

उनले नेपालको वर्तमान राजनीतिक व्यवस्थाप्रति विश्वास पनि प्रकट गरे। वर्तमान राजनीतिक प्रणालीबाट आमनेपालीको आर्थिक–सामाजिक विकास गर्न सकिने, प्रशासनिक सुधार गर्न सकिने र सामाजिक स्थापना गर्न सकिने कुरामा विश्वस्त सुनिए।

यस निमित्त अब्बल नेतृत्व आवश्यक पर्छ भन्ने उनको धारणा रहेछ।

यति कुरा गर्दा पनि उनले राजनीतिक दल खोल्ने कुरा गरेनन्।

कुलमानका अनुसार नेपालमा जलस्रोत र वैकल्पिक ऊर्जाको अथाह सम्भावना छ। यस्तो ऊर्जा विकासले विद्युतीय सवारी साधनको प्रयोग बढाउनेछ।

सरकारले रेमिटेन्सबाट प्राप्त रकमको निश्चित प्रतिशत स्वदेशी परियोजनामा लगानी गरी कम्तीमा १० प्रतिशत प्रतिफल सुनिश्चित गर्नुपर्छ भन्ने उनको धारणा छ। यसो गर्ने हो ऊर्जा, उद्योग र कृषिजस्ता उत्पादनशील क्षेत्रमा लगानी बढ्छ। यसबाट व्यापक रूपमा रोजगारी सिर्जना हुन्छ भन्ने उनको विश्वास देखिन्छ।

उज्यालो नेपाल अभियानमा डा. भगवान कोइराला, डा. सन्दुक रूइत, महावीर पुन लगायतका कर्मशील व्यक्तिहरूको ‘आशीर्वाद र समर्थन’ रहेको उनले बताए।

यसरी कुलमानले आफू कतैबाट परिचालित नभई आफ्नै विवेक र इच्छाशक्तिले अघि बढेको प्रमाणित गर्ने प्रयास गरे।

उनले हाल राजनीतिक रूपमा सकारात्मक चर्चामा रहेका नेता/व्यक्तिहरूको नाम त लिएनन् तर तीन नाम अनुमान गर्न सकिने गरी उज्यालो नेपाल अभियानमा साथ–समर्थन रहेको बताए।

सचेत कुलमान

आफ्नो पेसागत कर्ममा लामो अनुभव रहेका कुलमानलाई ‘लोकप्रियता’ र ‘लोकप्रियतावाद’ को भेद अवश्य थाहा छ। समाजमा ख्यातिप्राप्त र इमानदार व्यक्तिहरू मिलेर एकताको सन्देश दिन सके उज्यालो नेपाल अभियानको आकाशमा सबै अटाउन सक्छन्।

समयले पुराना दलहरूलाई असक्ष र अकर्मण्य साबित गर्दै लगेको छ। नेताहरू अहंकारी भएका छन्। भ्रष्टाचार बढेको छ। देशमा बेरोजगारी व्याप्त छ। यी सबका विरूद्ध एकीकृत र दृढ आवाज चाहिएको छ।

कुलमानलाई यति कुरा राम्ररी थाहा छ। हतारले हुँदैन, अनुकूल वातावरण बनाएर बलियो जनसमर्थनका साथ अघि बढ्नुपर्छ भन्ने कुरामा उनी सचेत देखिन्छन्।

विवेक पुर्‍याएर सशक्त विचार र दृढ इच्छाशक्तिका साथ कदम चाले भने उनले अवश्य पनि आशालाग्दा युवा र विज्ञहरूलाई एकीकृत गर्न सक्नेछन्। यो क्षमता उनका देखिन्छ। सेतो पाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...