Skip to main content

धनगढी न्यूज

अनाथ बालबालिकाको अविभावकत्व निर्वाह गर्दै कैलालीकी जानकी मलासी

Advertisement

कैलालीः कैलालीको गोदावरी नगरपालिका–२ को अत्तरियामा अनाथ तथा टुहुरा बालबालिकाको हेरचाहका लागि भनेर ‘महिला तथा बालबालिका सेभ हाउस’ नामक संस्थाले कार्य गर्दै आएको छ।

विसं २०७३ असार ११ गते स्थापना भएसँगै संस्थाले अनाथ तथा टुहुरा बालबालिकाको हेरचाह गर्दै आएको हो। संस्थामा रहेका बालबालिकाको अविभावकत्वको जिम्मेवारी गोदावरी–३ चौकीडाँडाकी एकल महिला तथा संस्थाकी अध्यक्ष जानकी मलासीले निर्वाह गर्दै आएकी छिन्। उनका अनुसार सेभ हाउसमा हाल आमाबुबा नभएका तथा विभिन्न परिस्थितिले टुहुरा भएका ३७ जना बालबालिका छन्।

बालबालिकाको हेरचाहको सम्पूर्ण जिम्मेवारी तिनै जानकीको काँधमा छ। दिनरात नभनीकन बालबालिकाको सेवामा उनी खटिएकी छिन्। कसैले पनि दुःख नपाऊन् भन्ने उद्देश्य बोकेर यो अभियानमा लागेको जानकीले बताइन्। उनले सुरुमा दुई जना अनाथ बालबालिकाबाट सेभ हाउस सुरु गरेको जानकारी दिइन्।

उनले भनिन्, ‘सुरुमा दुईजना अनाथ नानीबाबु लिएर एक जना महिला मकहाँ आउनुभयो, ती नानीबाबुको व्यवस्थापनका लागि यहाँका विभिन्न सङ्घसंस्थामा धाएँ, आफ्नो काम, दुःख पीडालाई थाती राखेर व्यवस्थापनका लागि खटिरहेँ तर केही पनि सीप नलागेपछि आफैँ आश्रम खोल्नुपर्छ भनेर योजना बनाएँ र सेभ हाउसको स्थापना भएको हो।’

त्यसपछि विभिन्न कठिनाइ, दुःख, कष्ट पार गर्दै जाँदा सेभ हाउसमा बालबालिकाको सङ्ख्या दुईबाट थपिएर १२ जना भएका जनाउँदै जानकीले त्यसपछि विस्तारै सङ्ख्या थपिँदै गएको बताइन्। केही समयदेखि यहाँ अनाथ बालबालिका ४९ जना पुगेका जनाउँदै उनले उनीहरूलाई हुर्काएर पुनःस्थापना भइसकेको उल्लेख गरिन्।

‘पुनःस्थापना भएकामध्ये एकजना बालिका बैंकमा जागिरे भइसकेकी छन्। एक जना धनगढीमा कानुन (वकिल) पढ्दैछन, एक जना गायक भएका छन्। १९ जना भारतमा रोजगारी गर्दै छन भने कोही आफन्तकामा छन्’, जानकीले भनिन्।

सुरुमा सेभ हाउस सञ्चालनका लागि टिकापुर, भजनी, दुर्गौली, जोशीपुर, लम्कीलगायत ठाउँमा सहयोगका लागि ‘मुठी’ दान अभियान सञ्चालन गरिएको स्मरण गर्दै उनले पहाडी समुदायको घरबाट एक मुठी र चौधरी समुदायको घरबाट एक ढकिया चामल मुठीदानका रूपमा सहयोग उठ्ने गरेको जानकारी दिइन्। त्यसबाट बालबालिकाको छाक टर्ने गरेको उनको भनाइ छ।

त्यसको केही समयमा स्थानीय सरकार आएपछि गोदावरी नगरपालिकाबाट रु एक लाख र वडा कार्यालयबाट रु एक लाख राहत प्राप्त भएर सहज भएकोे जानकीले सुनाइन्।  उनका अनुसार त्यसपछि गोदावरी नगरपालिकाले प्रत्येक वर्ष चार लाखका दरले सहयोग गर्दै आएको छ। जसबाट सेभ हाउस सञ्चालनमा सहयोग पुगेको छ।

हाल सेभ हाउसमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका गरी दुई महिनादेखि १६ वर्ष उमेर समूहका ३७ जना अनाथ तथा टुहुरा बालबालिका बसिरहेका जानकीले जानकारी दिइन्। गोदावरी–३ मा चौकीडाँडा सामुदायिक वन उपभोक्ता समूहको खाली जमिनमा तीनकोठे भवन निर्माणका लागि प्रस्ताव गरेको उनले बताइन्।

भवन निर्माणका लागि प्रदेश सरकारबाट ३० लाख र गोदावरी नगरपालिकाबाट १० लाख समेत छुट्याइएको थियो। त्यहाँका स्थानीयको विरोधपछि भवन निर्माणमा बाधा आई बजेट ‘फ्रिज’ भएको जानकीले दुखेसो पोखिइन्। उनका अनुसार अहिले निःशुल्क रूपमा अत्तरियाको पद्मा अस्पतालको खाली भवनबाट सेवा दिँदै आइएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...