Skip to main content

धनगढी न्यूज

अर्को अग्निपरीक्षामा विजय बराल

Advertisement
काठमाडौँ । हालका दिनसम्म सबैभन्दा बढी कमाइ गर्ने नेपाली फिल्मको शीर्ष कलाकारको कीर्तिमान छ उनीसँग । हिजो सहायक पात्र बनेर मुख्य पात्रलाई सघाउँथे, आज ‘हिरो’को रुपमा सिंगो फिल्म बोकेर हिँड्ने परिचय बनाएका छन् उनले ।

यो ‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बरालको कुरा हो । कतिलाई लाग्न सक्छ- एकै फिल्मबाट पो उनी रातारात स्टार भएका हुन् कि ? होइन, यसको पछाडि थिएटरमा बिताएका १७ वर्षको संघर्षको कथा छ । साथै, कैयौं फिल्ममा सहायक पात्रको रुपमा काम गरेको अनुभव छ ।

घरपरिवारदेखि छरछिमेकीसम्मले आफूलाई थिएटरमा लाग्दा ‘उडाएको’ तितो अनुभव पनि छ विजयसँग ।

‘बुवा बैंकमा जागिरे हुनुहुन्थ्यो, तर म थिएटरमा लागेपछि घरबाट पैसा लिन छोडेँ । दसैँमा घर जाँदा साथीको बाइकमा जान्थेँ, उसैले पैसा दिन्थ्यो, अर्को साथीले कपडा किनिदिन्थ्यो,’ रातोपाटीसँग विजय खुले, ‘बुवाले त्यो साथीसँग एउटा औंठी मागेर लगा न, त्यसले त कमाइरहेको छ भन्नुहुन्थ्यो । समाजले पनि हाम्रो हिरो राजेश हमाल भनेर उडाउँथ्यो ।‘ तर कलाकारिता यात्रामा लाग्दा यी कुराले उनी कहिल्यै विचलित भएनन् ।

थिएटरमा धेरै नाटक गरिसकेपछि उनलाई फिल्ममा ‘ब्रेक’ मिल्यो । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’मा उनले दयाहाङ राईको साथी बनेर गरेको अभिनयपछि उनी ‘नोटिस्ड’ भए । यस फिल्मपछि उनको अभिनयको प्रशंसा र चर्चा निकै भयो ।

सहायक भूमिकामा आफ्नो अभिनयको जादुले दर्शकलाई बाँध्न सफल भइरहेका बेला ‘पूर्णबहादुरको सारङ्गी’मा शीर्ष भूमिका गर्ने मौका पायो । त्यसपछि उनको जीवनमा नसोचेको कुरा भइदियो । ठिकठिकै गर्ला भनेर सोचेको फिल्मले नेपाली बक्स अफिसमा ५० करोड हाराहारीमा कमाइ गर्‍यो ।

‘ती संघर्षका दिन र साथीभाइको मायाले नै आज म यहाँ छु । मेरा ती साथीहरू आज विजय बराल मेरो साथी हो भन्दा गर्व गर्छन्, मेरो लागि त्योभन्दा ठूलो उपलब्धि के हुनसक्छ र’ विजय भन्छन् ।

bijay baral 2

विजयले ‘पूर्णबहादुरको सारङ्गी’बाट दर्शकको मनमा अमिट छाप पनि छोडे । यससँगै उनलाई चुनौती पनि थपियो, त्यो भन्दा राम्रो काम गर्नुपर्ने । दर्शकहरु उनको अघिल्लो फिल्मको व्यग्र प्रतीक्षामा देखिन्छन् । प्रतीक्षाको घडी आगामी शुक्रबार अर्थात् भदौ ६ मा सकिँदैछ । त्यो मितिमा उनको शीर्ष भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे’ प्रदर्शन हुँदैछ ।

विजयको मन बेचैन छ यतिबेला । ‘पूर्णबहादुरको सारङ्गी’ले बनाएको उचाइलाई कायम राख्न सकिएला कि तल झरिएला भन्ने कुरा मनमा खेलिरहेका छन् । यो फिल्म उनका लागि केवल अर्को प्रोजेक्ट होइन, आफ्नो करिअरलाई नयाँ दिशा दिने अग्निपरीक्षा पनि हो । जसलाई सफल बनाउन उनी हिजोआज प्रचारप्रसारको दौडधुपमा व्यस्त छन् ।

‘म एक किसिमले भाग्यमानी कलाकार पनि हो । मलाई राम्रा मिडियाकर्मी दाजु-दिदी र साथीहरुले पहिलेदेखि नै साथ दिँदै आउनुभएको छ,’ उनी भन्छन्, ‘अहिले पनि उहाँहरुकै साथले अगाडि बढिरहेको छु ।‘

त्यसो त प्रचारले मात्र फिल्म चल्दैन भन्ने उनलाई थाहा छ । दर्शकले आफूबाट राख्ने अपेक्षा पूरा गर्न सक्नुपर्छ भन्नेमा उनी सचेत छन् । त्यसैले टिमसँग बसेर कसरी अझै राम्रो गर्न सकिन्छ भनेर आइडिया सेयर गरिरहेका छन् ।

‘मेरो चाहना फिल्मले धेरै कमाओस् भन्ने मात्र होइन, हेर्ने दर्शकको चित्त नदुखोस् र एउटा राम्रो फिल्म हेरेँ भन्ने महसुस होस् भन्ने हो,’ उनी भन्छन् । फिल्ममा उनी ‘सीताराम’ भन्ने पात्रको भूमिकामा छन्, जसले सपना देख्छ र त्यो सपनासँगै हिँड्दै गर्दा विभिन्न सम्बन्धहरू भेट्छ ।

‘यो चरित्र मेरो वास्तविक जीवनसँग पनि केही हदसम्म मिल्छ,’ पात्रबारे विजय सुनाउँछन्, ‘म पनि सपना देखेर काठमाडौँ आएको मान्छे र ब्राह्मण समुदायकै भएकाले चरित्रमा घुलमिल हुन सजिलो भयो ।’

bijya-baral-1

  • उल्टो चरित्र

‘पूर्णबहादुरको सारङ्गी’ भन्दा यसमा उनको भूमिका ठीक उल्टो छ । अर्थात् ‘पूर्णबहादुरको सारङ्गी’मा उनले बुबाको भूमिका निभाए भने यसमा छोराको भूमिकामा छन् ।

‘एउटा सफल फिल्मपछि कलाकारलाई उस्तै खालको भूमिकाको अफर बढी आउँछ, तर मैले फरक भूमिका पाएँ,’ विजय भन्छन्, ‘यो फिल्ममा सम्बन्धका विभिन्न पत्रहरू छन्, जसरी जनैमा ६ वटा धागाका पत्र हुन्छन् । सम्बन्धका ६ पत्रले कहिले हँसाउँछ, कहिले रुवाउँछ त कहिले पुराना दिनहरूको याद दिलाउँछ ।’

यो फिल्म मुख्य भूमिकामा विजयको दोस्रो फिल्म हो । ‘प्रमुख पात्र भएपछि फिल्म चलाउनुपर्छ भन्ने जिम्मेवारी, तीन करोडको लगानीजस्ता कुराले कहिलेकाहीँ भार महसुस गराउँछ । तर मैले चरित्रमा केन्द्रित भएर आफ्नो काम इमान्दारीपूर्वक गरेको छु,’ उनी भन्छन् ।

  • मनमा डर पनि

‘पूर्णबहादुरको सारङ्गी’पछि विजयलाई आफ्नो फिल्म लिन निर्माता-निर्देशकको लाइन छ । दैनिक २-४ वटा नयाँ फिल्मको कथा उनले सुनेकै हुन्छन् ।

अहिले उनलाई कुन फिल्म छान्ने भन्ने ठुलो सकस छ । कारण, स्क्रिप्ट पढ्न समय लाग्छ, तर सबै निर्मातालाई छिटो निर्णय चाहिएको हुन्छ ।

533402517_18394070233185574_1842093372090302086_n

‘म एउटै समयमा विभिन्न काममा व्यस्त हुन्छु । जस्तै- मण्डला थिएटरको काम, अरू फिल्मको डबिङ वा रिलिज, अनि मेरो व्यक्तिगत जीवन,’ विजय भन्छन्, ‘त्यसैले सबै स्क्रिप्ट पढेर छिट्टै जवाफ दिन गाह्रो हुन्छ । कथाको सार सुनेर, त्यसले मन छोयो भने मात्रै अगाडि बढ्ने गरेको छु ।’

फिल्मको अफर धेरै आउँदा खुसी छन् उनी । किनकि जीवनमा उनले चाहेकै यही थियो । तर कहिलेकाहीँ उनलाई डर पनि लाग्छ- धेरै फिल्म खेल्दा दर्शकलाई एकैनासको लाग्ने त होइन ? अर्को कुरा कामलाई न्याय दिन सकुँला कि नसकुँला भन्नेमा पनि छ । यो दबाबका बीच पनि खुसी छन् उनी । ‘प्रमुख वा सहायक जुनसुकै भूमिका होस्, तर त्यो विशेष होस्,’ उनी चाहन्छन् ।

नेपाली फिल्म क्षेत्रमा फिल्म चल्यो भने आफू जस लिने र चलेन भने कलाकारलाई दोष दिने निर्माता-निर्देशक बग्रेल्ती छन् । यो कुराले भने उनलाई डर लागिरहन्छ ।

‘पूर्णबहादुरको सारङ्गी त झोकमा चलेको थियो भन्ने कुरा आउन सक्छ,’ उनी  आफैँलाई ‘कन्भिस’ गराउँदै भन्छन्, ‘सहजै समाधान निकालें, समाज यही हो, र म यसलाई सहज रूपमा स्वीकार्न तयार छु । किनभने मैले थिएटरमा यही सन्तुलन सिक्नकै लागि त यत्रो अभ्यास गरेको हुँ ।’

पछिल्लो समय कलाकारले लिने पारिश्रमिकको चर्चा निकै हुने गरेको छ । विजय यस कुरालाई गोप्य हुनुपर्ने सोच राख्छन् । कलाकारको चर्चा पारिश्रमिकले होइन, उसको कलाले हुनुपर्ने उनी मान्यता राख्छन् । ‘हामी व्यवसायी होइनौँ । मसँग धेरै पैसा हुँदो हो त म कला क्षेत्रमा किन हुन्थेँ र ? कलाले मलाई नाम दियो, अब बल्ल दाम दिन थालेको छ,’ उनी भन्छन्, ‘मैले १७ वर्षको संघर्षपछि बल्ल पैसा कमाउन थालेको हुँ। त्यसैले म आफ्नो काम एक्सन र कटबिचमा देखाउन चाहन्छु, पारिश्रमिकको चर्चामा होइन ।’रातो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...