Skip to main content

धनगढी न्यूज

नेपालमा आयो सिटमै ज्यान मालिस गर्ने सुविधा भएको कार, कति पर्छ मूल्य?

Advertisement

के तपाईंलाई गाडीमा लामो यात्रा गर्दा ढाड दुख्ने वा थकाइ लाग्ने हुन्छ?

प्राय:लाई यस्तो समस्या आएको हामी सुन्छौं।

तर तपाईंलाई थाहा छ — सिटमै बसीबसी ज्यान मालिस गर्ने सुविधा भएको कार अब नेपाली बजारमा पनि आएको छ।

हामी कुरा गर्दैछौं, ‘एभटार–११’ को।

यो संसारकै प्रसिद्ध तीन ठूला चिनियाँ कम्पनी चांगान अटोमोबाइल, सिएटिएल र हुवावेले संयुक्त रूपमा उत्पादन गरेको प्रिमियम ‘लक्जरी’ कार हो।

यसमा अगाडिका साथै पछाडिका सबै सिटमा मालिसको सुविधा उपलब्ध छ।कम्पनीका अनुसार चालक र यात्रुहरूले आफूलाई चाहेजसरी मालिसको सुविधा लिन सक्छन्। भन्नुको मतलब; तपाईं आवश्यकता अनुसार छिटो, सुस्त, हलुका वा अलि साह्रो मालिस लिन सक्नुहुन्छ।

यसका लागि मालिसको गति छनौट गर्ने विकल्पहरू दिइएका छन्। मालिसका साथै सिटहरू मौसम अनुसार तातो र चिसो पार्ने सुविधा पनि छ।

यिनै सुविधाका कारण एभटार–११ मा लामो यात्रा गर्दा पनि खासै थकाइ नलाग्ने र जीउ नदुख्ने कम्पनीको दाबी छ।

यति मात्र होइन, सबै सिट सोफाजस्तै आरामदायी छन्। आवश्यकता अनुसार सिट पछाडि ढल्काएर आराम गर्न सकिन्छ।

Avatr7-1756188950.jpg

कारका विशेषताबारे थप चर्चा गर्नुअघि यसका तीन उत्पादक कम्पनीलाई चिनौं —

चांगान चीनको तेस्रो ठूलो अटोमोबाइल कम्पनी हो। करिब ४० वर्षदेखि सक्रिय चांगान पहिलो त्यस्तो चिनियाँ कम्पनी हो, जसले उत्पादन गरेका गाडी संसारभरि ३० लाखको संख्यामा बिक्री भएका थिए।

सिएटिएल, अर्थात् ‘कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड’ इलेक्ट्रिक गाडीको ब्याट्री उत्पादनमा संसारकै अग्रणी मानिन्छ।

हुवावेका बारेमा त सायद हामी धेरैलाई थाहा छ। यो चीनको एक यस्तो बहुराष्ट्रिय कम्पनी हो, जसले मोबाइल फोनदेखि दूरसञ्चार र स्वचालित ड्राइभिङ प्रविधि विकासमा अमेरिकी र युरोपेली कम्पनीहरूलाई कडा टक्कर दिइरहेको छ।

यी तीन चिनियाँ कम्पनीको संयुक्त लगानीमा स्थापना भएको ‘एभटार टेक्नोलोजी’ नामक कम्पनीले एभटार–११ मोडलको गाडी बजारमा ल्याएको हो। उत्पादनको मुख्य जिम्मा चांगान र सिएटिएलले लिएको छ भने कारको ‘स्मार्ट’ प्रणाली र स्वचालित ड्राइभिङ प्रविधि हुवावेले विकास गरेको छ।

यो कार नेपाली बजारमा ल्याउन दुई ठूला व्यवसायिक प्रतिष्ठान जोडिएका छन्। नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्स र एमएडब्लू ग्रुप हुन्।

सिजी एमएडब्लू इभोलुसन प्रालिले ब्याट्री क्षमताका आधारमा एभटारका दुई संस्करण बजारमा ल्याएको छ।

कम्पनीका सहायक प्रबन्धक सगुन रायमाझीका अनुसार ९० किलोवाट–घन्टा ब्याट्री क्षमताको कार १ करोड ४५ लाख रूपैयाँ पर्छ। यसले एकचोटि पूरा चार्ज गरेपछि ५७५ किलोमिटर दुरी तय गर्न सक्छ।

त्यस्तै, ११६ किलोवाट–घन्टा ब्याट्री क्षमता भएको कारको मूल्य १ करोड ६० लाख छ। यसले एकचोटिको पूरा चार्जमा ६८० किलोमिटर यात्रा गर्न सक्छ।

ब्याट्री क्षमता उच्च भएका दुवै संस्करण लामो दुरीलाई एकदमै उपयुक्त छ। काठमाडौं–पोखरा आउजाउ गर्दा पनि ब्याट्री सकिएला भनेर चिन्ता मान्नुपर्दैन।

Avatr8-1756188953.jpg

दुवै संस्करणका कारमा अत्यधिक शक्ति भएको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। यसले अधिकतम १९० किलोवाट शक्ति दिन्छ। यो भनेको २५५ हर्सपावर बराबर हो। बोलीचालीको भाषामा भन्दा यो इलेक्ट्रिक कारले २५५ वटा घोडा बराबरको शक्ति दिन्छ भन्ने बुझिन्छ।

मोटरको शक्ति जति बढी भयो, गाडी उति छिटो गुड्छ। त्यसैले यो तीव्र गतिमा हुइँकिन सक्ने र कम समयमा धेरै रफ्तार लिने कारमा पर्छ। यो अधिकतम २०० किलोमिटर प्रतिघन्टाको गतिमा गुडेको पाइएको छ।

ब्याट्री चार्जिङको कुरा गर्दा ११ किलोवाटको एसी चार्जरबाट पूरा चार्ज हुन १० देखि १३ घन्टा लाग्छ। डिसी फास्ट चार्जिङ प्रयोग गर्ने हो भने २५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन्छ।

अब कुरा गरौं, कारको बाहिरी बनावट र भित्री डिजाइनको।

यो कार झट्ट हेर्दा नै ‘स्टाइलिस’ र ‘ट्रेन्डी’ देखिन्छ। लम्बाइ ४.८ मिटर छ भने चौडाइ १.९ र उचाइ १.६ मिटर छ। यसैबाट थाहा हुन्छ, बाहिरबाट हेर्दा ठूलो देखिने यो कार भित्र पनि उत्तिकै फराकिलो र आरामदायी छ।

यसको ‘ग्राउन्ड क्लियरेन्स’ अर्थात् सबभन्दा तल्लो भाग र जमिनको सतहबीचको दुरी ७ इन्च (१८० एमएम) छ। उबडखाबड बाटोमा पनि गाडीको तल्लो भागले भुइँ छुने समस्या आउँदैन। त्यही भएर यो गाडी कच्ची बाटोको निम्ति पनि उपयुक्त हुन्छ।

यसबाहेक अगाडि र पछाडिका पांग्राबीचको दुरी २.९ मिटर छ। यसलाई प्राविधिक भाषामा ‘ह्विलबेस’ भनिन्छ। ह्विलबेस धेरै भएको गाडीमा यात्रुहरूलाई खुट्टा राख्ने ठाउँ धेरै हुन्छ। उच्च गतिमा गुड्दा पनि गाडीको सन्तुलन स्थिर रहन्छ। कच्ची बाटोमा सन्तुलित ढंगले गाडी हाँक्न सकिन्छ।

यसमा अंग्रेजी अक्षर ‘एल’ आकारको लेड–हेडलाइट प्रयोग गरिएको छ भने पछाडि पनि आकर्षक ढाँचाको लेड–टेललाइट राखिएको छ।

कारमा २१ इन्चको टायर प्रयोग गरिएकाले जतिसुकै तीव्र गतिमा कुदाउँदा पनि सन्तुलन कायम रहन्छ।

Avatr4-1756188948.jpg

बाहिरी बनावटको आकर्षक पक्ष पछिल्ला झ्यालहरूको डिजाइन हो। अगाडिको तुलनामा सानो आकार र हल्का घुमेको डिजाइनले यसको स्वरूप नै अन्य कारको दाँजोमा फरक देखिन्छ।

अर्को विशेष आकर्षण भनेको विशाल ‘प्यानोरामिक’ छत हो। यसमा लगभग ७२ इन्च लामो सिसाको छत प्रयोग गरिएको छ। तपाईं कारभित्रै बसी बसी घामको प्रकाश लिन सक्नुहुन्छ र बाहिरको दृश्य हेर्न सक्नुहुन्छ।

त्यस्तै, सिसाको छतलाई बाहिरबाट छोप्ने सुविधा पनि छ। एउटा बटनको मद्दतले छत खोल्न र बन्द गर्न सकिन्छ।

एभटार–११ को अर्को आकर्षण अगाडिको ड्यासबोर्ड हो, जसमा १५.६ इन्चको मुख्य स्क्रिन, १०.२५ इन्चको एलसिडी मनिटर र यात्रुका लागि १०.२५ इन्चको मनिटर छ।

त्यस्तै, २५ वटा स्पिकर भएको अडियो सिस्टमले कारमा गीत सुन्ने अनुभव स्मरणीय बनाउँछ।

पछिल्लो समय बजारमा आएका इलेक्ट्रिक एसयुभीमा जस्तै यसमा पनि दुर्घटना जोखिम कम गर्न केही विशिष्ट प्रविधि प्रयोग गरिएका छन्।

त्यसमा पनि खास विशेषता भनेको अगाडि, पछाडि, दायाँ, बायाँ र छतमा समेत गरी १३ वटा क्यामराको प्रयोग हो। यी क्यामराले ट्राफिक चिह्न पहिचान गर्नुका साथै सडक लेन पालनामा मद्दत गर्छन्। त्यस्तै, गाडी वरिपरिको दृश्य ३६० डिग्रीमा देखाउँछन्।

क्यामराका अतिरिक्त गाडीका विभिन्न भागमा सेन्सर प्रयोग गरिएका छन्।

अगाडि वा दायाँबायाँ अर्को गाडी, पैदलयात्रु वा कुनै चिज आयो भने क्यामरा र सेन्सरले पत्ता लगाउँछ र ठोक्किनबाट बचाउन स्वत: ब्रेक लगाउँछ।

त्यस्तै, अगाडि अरू कुनै सवारी साधन छ भने क्यामराको मद्दतले कारको गति आफै समायोजन हुन्छ। अर्थात्, अगाडिको गाडीको गति कम हुँदा यसको गति पनि स्वत: कम हुन्छ। ताकि, गाडी ठोक्किनबाट बचोस्।

Avatr6-1756188950.jpg

यति मात्र होइन, गाडी सडक लेनबाट बाहिर गयो भने त्यही सेन्सरले अलार्म बजाएर चालकलाई सतर्क पार्छ।

चालकको ध्यान बाटोबाट हटेको अवस्थामा पनि ‘स्मार्ट’ प्रणाली तुरून्त सक्रिय भइहाल्छ। यसका लागि गाडीमा जडान गरिएका क्यामराले चालकको अनुहार निरन्तर अनुगमन गरिरहेको हुन्छ। चालक निदायो वा अन्यत्र ध्यान दियो भने यो सिस्टमले आवाज वा भाइब्रेसन निकाल्छ।

यात्रुहरूको सुरक्षा निम्ति यो कारमा ६ वटा एयरब्याग राखिएका छन्। गाडी कतै ठोक्किँदा वा दुर्घटना पर्दा यी एयरब्याग आफै खुल्छन्। यसले यात्रुको शरीर गाडीको भित्तामा ठोक्किनबाट बचाउँछ। दुर्घटना पर्दा धेरै चोटपटक लाग्ने भित्तामा ठोक्किएर हो। एयरब्याग राम्रो र बलियो छ भने यस्तो जोखिम कम हुन्छ।

यो कारमा ३९४ लिटरको डिक्की छ, जसलाई ‘बुट स्पेस’ भनिन्छ। मध्यम आकारका सुटकेस ७ वटासम्म सजिलै अट्छन्। अगाडिको भागमा पनि ९५ लिटर क्षमताको सामान राख्ने ठाउँ छ, जसमा साना झोला र सुटकेस अटाउन सकिन्छ।सेतो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...