Skip to main content

धनगढी न्यूज

साँफेमा वारुण यन्त्रको विकल्प बनेका जेसीबी, ‘पर्भाली गाड’ र ‘माँझी कुलो’

Advertisement

धनगढी । विपदका समयमा सानो कुलो पनि जीवनरेखा बन्न सक्छ भन्ने पाठ हालै अछामको साँफेबगरमा भएको आगलागीले सिकाएको छ । अछाम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आन्नद सारुका अनुसार बस्ती नजिक रहेका खोला र कुलोको पानीले मान्छेको जीवन बचाउन सकिन्छ भन्ने त्यो एक गतिलो उदाहरण हो ।

साँफेबगरमा गत शनिबार राति आगलागी भएको थियो । करिब ९ बजे स्थानीय सुमन कुँवरको पसलमा विद्युत् सर्ट भएर लागेको आगोले क्षणभरमै रौद्र रूप लियो । परिणामस्वरुप आसपासका केही पसल जले । अधिकांश संरचना काठबाट बनेका कारण आगो फैलिँदै गएको थियो ।

वारुण यन्त्र नहुँदा आगलागी नियन्त्रण निकै चुनौतीपूर्ण बन्यो । प्रहरीका सई देवेन्द्र कुँवरको कमाण्डमा प्रहरी टोली उद्धारमा खटियो । यद्यपि आगलागी नियन्त्रणको कुनै साधन उपलब्ध थिएन ।

‘हामी फिल्डमा पुग्दा आगो अनियन्त्रित भइसकेको थियो । हामीसँग पानीको स्रोत थिएन, न त आगो निभाउने आधुनिक उपकरण,’ सई कुँवरले भने, ‘पसलभित्र रहेका ग्यास सिलिन्डर एकपछि अर्को गर्दै ठुलो आवाजका साथ पड्किरहेका थिए, जसले गर्दा कोही पनि नजिक जाने आँट गर्न सकिरहेको थिएन । स्थिति अत्यन्तै चुनौतीपूर्ण र त्रासपूर्ण थियो ।’

यस्तो घटना साँफेबगरका लागि नौलो थिएन । ६ महिनाअघि मात्रै सोही ठाउँमा भएको आगलागीले करोडौँको क्षति पुर्‍याएको थियो । पटक–पटकको आग्रह र मागका बाबजुद बजारमा एउटा दमकलसम्मको व्यवस्था हुन सकेको थिएन ।

साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरका अनुसार छिमेकी चार पालिका (साँफेबगर, चौरपाटी, जयगढ र मेल्लेख) मिलेर दमकल किन्ने योजना अन्तिम चरणमा छ । ‘हामीले दमकल किन्न बजेट छुट्ट्याएर हस्ताक्षर प्रक्रियासमेत अघि बढाएका छौँ । त्योभन्दा पहिल्यै यो अर्को दुःखद् घटना भयो,’ उनले भने ।

खोलाको पानी कुलो हुँदै नालीमा आइपुग्यो र आगोको लप्का नजिकै पानीको स्रोत उपलब्ध भयो । बजारका स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली एकजुट भएर आगो निभाउन खटिए ।

सई कुँवरका अनुसार दन्किरहेको आगोका कारण त्यो रात सबैतिर निराशा र छटपटी थियो । स्थानीयवासीको एकताका कारण आगो निभाउन प्रकृतिले दिएका स्रोत–साधन प्रयोग गर्ने जुक्ति निकालियो ।

बजारको पछाडि बगरिरहेको खोला ‘पर्भाली गाड’को पानी निकै गहिरो सतहमा थियो । त्यहाँबाट पानी निकालेर ल्याउन असम्भव थियो । त्यहीँ नजिकै सिँचाइका लागि बनाइएको ‘माँझी कुलो’ सुक्खा मौसमका कारण रित्तो थियो ।

स्थानीय व्यवसायी गौतम कुँवर आफ्नो जेसीबी लिएर अघि सरे । उनको जेसीबीले तत्कालै पर्भाली गाडमा माटो र ढुङ्गा थुपारेर अस्थायी बाँध बनाउन थाल्यो । खोलाको प्राकृतिक बहावलाई छेकेपछि गहिरोमा रहेको पानीको सतह ह्वात्तै बढ्यो र रित्तो माँझी कुलोमा उक्लिन थाल्यो । त्यो कुलो बजारको सडकसँगै रहेको नालीसँग जोडिएको थियो ।

केहीबेरमै खोलाको पानी त्यो कुलो हुँदै नालीमा आइपुग्यो र आगोको लप्का नजिकै पानीको स्रोत उपलब्ध भयो । बजारका स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली एकजुट भएर आगो निभाउन खटिए । कसैले नालीबाट बाल्टीमा पानी भर्दै थिए । कसैले माटो र बालुवा फाल्दै थिए, त कसैले नजिकै रहेका अन्य पसलबाट सामान सुरक्षित स्थानमा सार्दै थिए ।

kulo

‘हामीले बाल्टी, गाग्री, जे–जे भाँडा भेटियो, त्यसैले नालीबाट पानी उघाएर आगोमा खन्याउन थाल्यौँ,’ सई कुँवरले भने ।

आगजनी भइरहेको ठाउँ नजिकैका अन्य पसलमा आगो सल्किन नदिन गौतम कुँवरको जेसीबीले दायाँ–बायाँका केही पसल भत्काएर ‘फायर लाइन’ बनायो । डेढ घण्टाको सामूहिक प्रयासपछि मध्यरातमा आगो नियन्त्रणमा आयो ।

आगो निभ्दासम्म सात वटा पसल पूर्ण रूपमा जलेर खरानी भइसकेका थिए भने दुई वटामा आंशिक क्षति पुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आगलागीबाट करिब १ करोड ९२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भयो । त्यो रात खोला, कुलो र स्थानीयको जुक्ति नभएको भए क्षति अझै भयावह हुने र पूरै बजार खरानी हुन सक्ने खतरा थियो ।

यो घटनाले परम्परागत संरचना र प्राकृतिक स्रोतहरूको महत्त्वबारे गहिरो पाठ सिकाएको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरको भनाइ छ ।

अतिक्रमण गर्दै र मास्दै आएका कुलो, नहर, खोलाहरू यस्तो संकटको बेला जीवनरेखा बन्न सक्ने एक पाठ सिकाएको उनले बताए । यो घटनाले पानी संरक्षण गर्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको उनले प्रस्ट पारे ।

‘अघिल्लो पटकको आगलागीमा पनि यही कुलोले हामीलाई ठुलो राहत पुगेको थियो । यसले हामीलाई यी संरचनाहरूको संरक्षण गर्नुपर्छ र यिनको महत्त्व बुझ्नुपर्छ भन्ने सन्देश दिएको छ,’ नगर प्रमुख कुँवरले भने ।

प्रमुख जिल्ला अधिकारी सारुका अनुसार आगलागी जस्तो विपदमा दमकल आवश्यक हुन्छ । दमकल नभएको विकट पहाडी क्षेत्रमा कुलो, पोखरीजस्ता पानीको स्रोत जुटाउन उनी स्थानीयलाई सुझाव दिन्छन् ।

aagli dosro din pani nivaudai

‘हामीले घनत्वको हिसाबले सानो–सानो बजार क्षेत्रभन्दा माथि डाँडातिर ट्याङ्की बनाएर पानी जम्मा गरेर राख्यौँ भने त्यसबाट पाइप लगाएर बजार क्षेत्रतिर ल्याएर आगजनीजस्तो आपतविपतमा प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

भवन संरचना बनाउँदा पनि यस्ता कुरामा ध्यान दिन सके काम लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी सारुको भनाइ छ । उनका अनुसार पहिला संघीय सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल राहत वितरणका लागि व्यवस्था गरेको हुन्थ्यो ।

अहिले राहत वितरणको प्रक्रिया फरक छ । अब पालिकाको विपद् फोकल पर्सनले विपद् पोर्टलमा विवरण प्रविष्ट गरेपछि मात्रै राहत वितरण हुन्छ । सो विवरणका आधारमा पालिकाले राहत उपलब्ध गराउँछ । त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयपछि प्रशासनमार्फत संघीय सरकारलाई अनुरोध पठाइन्छ र त्यसपछि मात्रै स्थानीय तहलाई राहत पठाउने गरिएको उनले बताए ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...