Skip to main content

धनगढी न्यूज

‘भोज सकिएपछि जन्ती जानुको अर्थ हुन्न, आत्मनिर्णयको अधिकार प्रयोग गर्दै पार्टी छोड्यौं’

Advertisement

जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरूले पार्टी छाडेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने निर्णय लिएका छन् । आफ्नो वैचारिक धार र देशको वर्तमान राजनीतिक आवश्यकताका कारण आफू नेकपामा समाहित हुन लागेको बताउँदै उनले यसलाई वैचारिक ध्रुवीकरणको प्राकृतिक कदम भएको दाबी गरेका छन् ।

अशोक राईसँगको ४० वर्षे सहकार्य टुङ्ग्याउँदै आफ्नो बाटो लागेका नेता राजेन्द्र श्रेष्ठसँग अनलाइनखबरका दुर्गा खनालसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले जसपा छोड्ने निर्णय किन गर्नुभयो ?

अहिले देशको राजनीति सुव्यवस्थित अवस्थामा छैन। सिङ्गो नेपाली समाज नै सुव्यवस्थित अवस्थाबाट जुटिरहेको अवस्था छैन । खासगरी, यो जेनजी आन्दोलन पश्चात् देशको परिस्थिति विश्लेषण गर्दा, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र त्यसरी नै प्राप्त उपलब्धिहरू, समावेशी समाजसित लगायतका विषयहरू अहिले समस्यामा छन्। प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरू पनि नयाँ ढङ्गले आइरहेको अवस्था छ ।

यस्तै स्थितिमा, ०६२/६३ सालको जनक्रान्तिबाट प्राप्त उपलब्धिका लागि, साना-साना शक्तिहरूबाट संरक्षण सम्बर्धन छैन । ०६२/६३ सालको जनक्रान्तिमा सहभागी भएका विभिन्न शक्तिहरू, खासगरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र मधेशका विभिन्न दलहरूले पछिल्ला स्थितिमा नवीनतम मुद्दाहरू उठाएर आए ।

अब यी मुद्दाहरू पनि अहिले अलिकति खतरामा परेको स्थिति छ । हामीले फेरि ती उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुपर्छ। संविधान संशोधन र अग्रगामी परिवर्तनको दिशामा जानुपर्छ भनेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, सदनबिहीन मन्त्रिपरिषद् र अधिकारका सवालहरू उठाउँदै आएका थियौँ ।

अहिले यो जेनजी पुस्ताले पनि यो प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका मुद्दाहरू उठायो । यो मुद्दाहरू ०६२/६३ सालको जनक्रान्तिमा पनि एकदमै प्रमुख रूपमा उठेकै हो तर त्यतिबेला पार लाग्न सकेन । पछि पनि ती मुद्दाहरू छायामै गए। तर अहिले फेरि जेनजी पुस्ताले नयाँ स्थितिमा यसलाई उठाइदिएको अवस्था छ।

अनि जेनजीले उठाएका माग पुरा गर्न नेपाली कम्युनिस्ट पार्टीबाट सम्भव छ र ?

कुन कोणबाट र कुन हैसियतमा उठाउँदा सफल पार्न सकिन्छ भनेर हेर्दा, अहिले विभिन्न कम्युनिस्ट पार्टीहरू र समाजवादी पार्टीहरू एकीकृत र ध्रुवीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टी एउटा नयाँ ढङ्गले सङ्गठित हुँदै आइरहेको छ। नेकपा एमाले लगायतका शक्तिहरू जेनजी आन्दोलनले विस्थापित गरेको हामीले देखेका छौँ । यस्तो स्थितिमा, पुराना शक्तिहरू विस्थापित हुँदै गइरहेको अवस्थामा पुनः एउटा नयाँ ढङ्गले नेपाली कम्युनिस्ट पार्टी आइरहेको छ ।

 

हामी जनता समाजवादी पार्टीको ध्रुवीकरण पक्षधर समूहहरूबीच एकता गरेर अगाडि बढ्दा एउटा प्रबल शक्ति निर्माण हुन्छ । अहिले जेनजी आन्दोलनको समेत भावनालाई ध्यानमा राखेर सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता लगायतका एजेन्डाहरूलाई संरक्षण गर्न सकिन्छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी, सदनविहीन मन्त्रिपरिषद्, पूर्ण समानुपातिक संसद् जस्ता नवीनतम मुद्दाहरूलाई पनि साकार गर्न सकिन्छ। यसमा सुशासन र भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियानलाई पनि सघाउन सकिन्छ।

सिङ्गो पार्टी नै नेकपामा समावेश हुने भन्ने चर्चा थियो । तर तपाईंहरू मात्रै जाने निर्णय गर्नुभयो नि ? पार्टी एकढिक्का जान सक्ने अवस्था किन बनेन ?

हामीले सम्पूर्ण रूपमा सबै एकैसाथ जाने भनेर वार्ता सुरु गरेका थियौँ। चार चरणमा वार्ता गरिसकेपछि शीर्ष तहका नेताहरूसँग पनि समन्वय गरेर अगाडि बढिसकेका थियौँ। तर, अहिले उहाँहरू चाहिँ त्यसरी अगाडि बढ्न सक्दैनौँ भन्ने स्थितिमा पुग्नु भयो । सबै पार्टीमा संक्रमणको अवस्था छ । त्यसैले, आफ्नो वैचारिक धारअनुसारको ध्रुवीकरण नै अहिलेको प्राकृतिक हुन्छ ।

तपाईं एमाले कम्युनिस्ट पार्टी छोडेर अर्को धारमा लाग्नुभएको थियो । अहिले फेरि कम्युनिस्ट पार्टीमै आइपुग्नुभयो नि ? फेरि कम्युनिस्ट वैचारिक धारमै किन आउनुभएको ?

नेपाल कम्युनिस्ट पार्टी एमाले छोडेको बखत पनि मैले त्यतिबेला कम्युनिस्ट धार छोड्नुपर्छ भनेर भनेको थिइनँ ।

त्यतिबेलाका मेरा अन्तर्वार्ताहरू र डकुमेन्टहरू साक्षी छन्। त्यतिबेला हामीले ‘नेपाली समाज परिवर्तनका लागि सङ्घीय समाजवाद’ भन्ने डकुमेन्ट, घोषणापत्र र विधान तयार गरेका थियौँ। ती सबै डकुमेन्टहरूले हाम्रो पार्टी मार्क्सवादलाई मान्ने पार्टी हो भन्ने कुरा प्रस्टै देखाउँछ।

सङ्घीय समाजवादीदेखि, जनता समाजवादीसम्म आइपुग्दा पनि हामी दर्शनको हिसाबले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, सिद्धान्तको हिसाबले मार्क्सवादी र सामाजिक व्यवस्थाको हिसाबले समाजवादी हौँ भन्ने कुरा स्पष्ट गरेका छौँ ।

हाम्रो यो समाजवादको नेपाली बाटोको आधार के त भन्दा दर्शनमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, सिद्धान्तमा मार्क्सवाद र सामाजिक व्यवस्थामा वैज्ञानिक समाजवाद नै हो। यो वैचारिक प्रस्थान होइन ।

त्यो भए पहिले तपाईंले कम्यनिस्ट नाम मात्र छोड्नुभएको थियो । विचार चाहीँ छोड्नु भएको थिएन ?

अवश्य हो । नाम रूप पक्षको कुरा हो । मार्क्सवाद मान्नेहरूले कसैले सोसलिस्ट पार्टी भने, कसैले समाजवादी पार्टी भने (जस्तो तत्कालीन कम्युनिस्ट शासन भएको बेला युरोपका पोल्याण्ड, हंगेरी, बुल्गेरिया आदिमा समाजवादी पार्टी भनिएको थियो। रुसमा कम्युनिस्ट पार्टी भनिएको थियो)। अहिले चीन, क्युबा, भियतनाम लगायतका देशमा कम्युनिस्ट पार्टी छन्। त्यसकारण, सार भनेको सिद्धान्तको कुरा हो। रूप भनेको पार्टीको नाम हो।

जसपा मधेस र पहाडका नेताहरु थिए । अहिले त त पहाडका मात्र हिँड्नुभयो नी ? केन्द्रीय समितिको कति संख्या तपाईंहरुको साथमा छ ?

होइन यसमा खस आर्य पनि छन् । आधाजति केन्द्रीय समितिका सदस्य हामीसँग छन् । मधेशका पनि छन् । आज सार्वजनिक भएको त कार्यकारणी समितिको नाम मात्र हो ।

नेतृत्व पङ्क्तिमा तपाईंहरूलाई कुन पोजिसन दिने भन्ने त्यस्तो खालको केही कुरा भा’छ कि?

अहिले त्यस्तो खासै कुराकानी भइसकेको छैन। अब एक-दुई दिनभित्र हामी कुराकानी गर्छौं। त्यसपछि अब यो विधानको प्रक्रिया पश्चात् सबै कुरा व्यवस्थित हुन्छ। औपचारिक रुपमा केही दिनमा कुराकानी गर्छौं ।

एकदमै संकटको समयमा अशोक राई र तपाईं एमालेबाट विद्रोह गरेर निस्किनुभएको हो । राईसँग ४० वर्षसम्म सहकार्य गर्दै आउनुभयो, यो बिन्दुमा पुगेर उहाँलाई किन छोड्नुभयो ?

यसलाई कसैले छोडेको भन्ने रूपमा बुझिनुहुन्न। म अहिले जनता समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्ष नै छु। यो नीति निर्माण गर्ने तहमा हो । हाम्रो पार्टीमा दुईटा अध्यक्ष थियौं । मैले उहाँसँग लगातार ४० वर्ष सहकार्य गरेँ । कठिन समयमा सधैँभरि सँगै छौँ । उहाँसँग कुनै वैचारिक, राजनीतिक, साङ्गठनिक वा कार्यशैलीका केही पनि मतभिन्नता थिएनन्।

तथापि, अहिलेको एउटै कुरा के हो भने, व्यक्तिगत दृष्टिकोणको सन्दर्भमा उहाँले ‘केही समयपछि निर्णय गरौँ’ भन्नुभयो। मैले ‘भोज सकिएपछि जन्ती जानुको केही अर्थ छैन’ भनेँ ।

उहाँले कम्युनिस्ट पार्टी नाम गरेको पार्टीमा चाहिँ म फर्किन्न भन्नुभएको कारणले उहाँसहित एकता हुन नसकेको हो ?

त्यो त हिजोका वैचारिक दस्तावेजहरुले नै पुष्टी गर्छन् नि । वैचारिक धारमा त उहाँ र म स्पष्ट छौँ। मार्क्सवाद मानेपछि नामको कुरा त रुप पक्ष न हो । यसमा नमान्नुपर्ने कुनै कारण नै छैन नि ।

चारपटक वार्ता भयो । तर वार्ता कमिटीस्तरमा सहमति नभएका विषय शीर्षतहमा बसेर टुंग्याउने भनिएको थियो । कार्यकारिणीको बैठकबाट पनि टुंग्याउँ भन्ने थियो । वार्ता समितिमा भएको कुराहरु रिपोर्टिङ गरौं भन्दा पनि त्यो काम अघि नबढेपछि आ-आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गरेर आ-आफ्नो बाटो लाग्यौं ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...