Skip to main content

धनगढी न्यूज

कांग्रेसमा चुलियो आन्तरिक संकट

Advertisement

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको चुनावअघि महाधिवेशन गर्ने विषयले आन्तरिक विवाद हुँदा पार्टीभित्र संकट चुलिएको छ । महाधिवेशनको एजेण्डामा सहमति खोजेर निर्णय लिनका लागि चारदिन केन्द्रीय समिति बैठक पर सारिएपनि प्रगति नभएको नेताहरूले बताएका छन् ।

६ मंसिरमा बसेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको एजेण्डामा सहमति खोजेर पुनः बैठक बस्ने निर्णयहरू सार्वजनिक गरिएको थियो ।

केन्द्रीय समितिको बैठक बस्नु अघिल्लो रात बुधबारसम्म सहमति जुट्न नसकेसँगै केन्द्रीय समितिको बैठक एकदिन पर सारिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार छलफल गरेका थिए । नेताहरू सहमतिमा पुग्न नसकेपछि मंसिर ११ को बैठक एकदिन पर सारिएको हो ।

पार्टीभित्र चुनावअघि महाधिवेशन गर्ने मुद्धाले दुई पक्ष थप ध्रुवीकृत भएको छ । संस्थापनइतरका नेताहरूका अनुसार सहमति जुट्न नसक्नुमा स्वयं सभापति शेरबहादुर देउवा बाधक भएकाले निकास निस्कन सकेको छैन ।

२८ असोजमा कार्यवाहक सभापतिको पूर्णबहादुर देउवालाई जिम्मेवारी दिएपनि उनी क्रियाशील भइरहेको संस्थापनइतरका एक नेताले दाबी गरे ।

१० कात्तिकमा उपचारका लागि सिंगापुर गएदेखि नै आफू पक्षीय नेताहरूसँग संवादमा रहेर महाधिवेशनको विपक्षमा माहोल खडा गरेको पार्टीभित्र बुझाइ छ ।

 

कांग्रेसका कार्यसम्पादन समितिका एक सदस्यले भने,‘सभापति पदबाट तपाईं बाहिरिन परे कमजोर हुनुहुन्छ । अप्ठ्यारो पार्छन् भनेर उनलाई सुनाउनेहरू छन् । सभापतिबाट हट्दा आफ्नो शक्ति घट्ने देउवाको बुझाईले समस्या बढेको छ ।’

सभापति देउवाले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिनुपर्ने आफ्ना निकटवर्ती मार्फत विशेष महाधिवेशन पक्षधरलाई पठाएको नेताहरूले जानकारी गराएका छन् ।

पुसभित्र नियमित महाधिवेशन भए विशेष महाधिवशेनको माग स्वत: खारेज हुने विशेष महाधिवेशन पक्षधरको निचोड छ ।

विशेष महाधिवेशनको प्रस्ताव कुनै नेता विशेषको वसमा नरहेको हुँदा फिर्ता गरेर नहुने केन्द्रीय सदस्य मधु आचार्य बताउँछन् । नियमित महाधिवेशन गर्ने भन्दै कार्यतालिका ल्याएर विशेष महाधिवेशनको समय घर्काउने रणनीति संस्थापन पक्षले बनाएको भन्दै प्रस्तावकर्ताहरू रुष्ट बनेका छन् ।

२८ असोजदेखि केन्द्रीय समितिको बैठक आव्हान गरेर रोकिँदै बस्दै आएपनि मूल एजेण्डामा सहमति जुट्न सकेको छैन । केन्द्रीय समिति बैठक स्थगित गरेर शीर्ष तहमा सहमति खोज्न नेताहरू पटक पटक छलफल गरेपनि निकास भने निस्केको छैन ।

महामन्त्री गगन थापाले बैठकमा पेश गरेको पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने प्रस्तावबारे पार्टी केन्द्रीय समितिले निर्णय लिन सकेन । उनको प्रस्तावलाई काउन्टर दिने गरी संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले चुनावपछि महाधिवेशनपछिको कार्यतालिका ल्याए ।

 

अर्कोतर्फ, विशेष महाविधवेशनका लागि २४८८ महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर केन्द्रीय कार्यालयमा पेश भएको छ । पार्टीभित्र दुईतर्फी प्रस्तावले विग्रह ल्याउने विश्लेषणसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कुनै पनि प्रस्तावलाई अघि नबढाउने शीर्ष तहका नेताहरूलाई जानकारी गराएका थिए ।

पार्टी अनिर्णयको बन्दी हुँदै गर्दा र एक पक्षसँग अर्को पक्ष नगल्ने अवस्थाले वादविवाद र आरोप प्रत्यारोपमा नेताहरू उत्रन थालेका छन् ।

संस्थापन पक्षका नेताहरू महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विरुद्ध सामाजिक सञ्जाल मार्फत खनिन थालेका छन् ।

केन्द्रीय सदस्यहरू जीतजंग बस्नेत, कल्याण गुरुङ लगायतले सामाजिक सञ्जालबाट विशेष महाधिवेशन हुनै नसक्ने दाबी गर्दै विचार राखेका छन् । अर्कोतर्फ, विशेष महाधिवेशन पक्षधरले थप आक्रामक शैलीमा आफूलाई प्रस्तुत गरिरहेको छ ।

विशेष महाधिवेशन पक्षधरले दबाबका लागि बुधबार काठमाडौंमा विशेष सभा आयोजना गरेको थियो । शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनका लागि ठोस निर्णय लिन नसके थप दबाब कार्यक्रम ल्याउने उक्त पक्षका नेताहरूले जानकारी गराएका थिए ।

विशेष महाधिवेशनको लागि हस्ताक्षरमा अगुवाई गर्ने मध्येका एक बलदेव तिमिल्सिनाले महाधिवशेन प्रतिनिधिहरूलाई काठमाडौं डाकेर थप दबाब कार्यक्रम गरिने जानकारी गराए । उनी भन्छन्,‘महाधिवेशन नगर्ने गरी ल्याउने कार्यतालिका मान्य हुँदैन । समयको पनि घर्किँदै गयो । अब विशेष महाधिवेशनको दबाबका लागि काठमाडौं बाहिरबाट प्रतिनिधिहरू बोलाउँछौं ।’

बहुमतको आधारमा निर्णय गरेर केन्द्रीय समितिको बैठक सार्न सक्नुहुन्छ । आफ्नै अनुकूलको अरु निर्णय गराउन सक्नुहुन्छ । तर, विशेष महाधिवेशनको प्रस्ताव फिर्ता गराउन सक्नुहुन्न- गगन थापा, महामन्त्री

संस्थापन पक्षले वर्तमान समितिको कार्यकाल थपेर चुनावपछि महाधिवेशन गर्ने अडानमा छ । सभापति देउवाको चाहना अनुसार पूर्व पदाधिकारीको एक समूहले चुनावअघि महाधिवेशन नचाहेको कांग्रेसका संस्थापनइतरका एक नेताले बताए ।

उनी भन्छन्,‘चुनावअघि महाधिवशेनको माग गर्ने केन्द्रीय सदस्य र शेखर–गगन पक्षका केन्द्रीय सदस्य जोड्दा बहुमत पुग्छ । तर, स्वयं देउवा तयार नभएपछि संकट बढेको हो ।’

देउवा पक्षका २७ केन्द्रीय सदस्यले चुनावअघि नियमित महाधिवशेन हुनुपर्ने माग गरिरहेका छन् । उनीहरूले सभापति देउवा, कार्यबाहक सभापति खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित संस्थापनइतरका नेता डा.शेखर कोइरालालाई भेटेर नियमित महाधिवेशनको माहोल बनाउन आग्रह गरिरहेका छन् ।

कांग्रेसको विधान अनुसार विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र हुने गरी आव्हान गर्नुपर्दछ । महामन्त्री शर्मा भन्छन्,‘९० दिनभित्र बिशेष महाधिवेशन गर्नैपर्छ । सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ ।’

 

२८ पुसमा विशेष महाधिवशेनको मागलाई लिएर दर्ता भएको प्रस्तावको अवधि सकिन्छ । उक्त प्रस्तावलाई फिर्ता गर्नुपर्ने संस्थापन पक्षले दबाब दिएको छ । महामन्त्री गगन थापा विशेष महाधिवेशनको प्रस्ताव कसैले फिर्ता गर्छु भनेर नहुने बताउँछन् ।

महामन्त्री थापाले अनलाइनखबरसँग भने, ‘बहुमतको आधारमा निर्णय गरेर केन्द्रीय समितिको बैठक सार्न सक्नुहुन्छ । आफ्नै अनुकूलको अरु निर्णय गराउन सक्नुहुन्छ । तर, विशेष महाधिवेशनको प्रस्ताव फिर्ता गराउन सक्नुहुन्न ।’

पार्टी र देशको आजको समाधानका लागि सभापतिले निर्णायक पहलकदमी लिनुपर्छ । उहाँको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्‍याउने विश्वास छ- विश्वप्रकाश शर्मा, महामन्त्री

सभापति देउवाको सक्रियताले पार्टीभित्र संकट थपिएको बुझाइ पार्टीभित्रका नेताहरूमा छ । २८ असोजमा सभापति देउवाले पार्टी बैठकमा राखेको वक्तव्यमा मंसिरमा नियमित महाधिवेशन गर्ने विषय उल्लेख नगर्दा समस्या थप बढेको विश्लेषण महामन्त्री शर्मा गर्छन् ।

‘त्यो छुट्नु गल्ती प्रमाणित भएको छ । पार्टी र देशको आजको समाधानका लागि सभापतिले निर्णायक पहलकदमी लिनुपर्छ । उहाँको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्‍याउने विश्वास छ,’ शर्माले भने ।

विशेष महाधिवेशन पक्षधर आक्रामक हुँदै गएपछि संस्थापन पक्ष रुष्ट बनेको छ । चुनावअघि कुनैपनि प्रकृतिको महाधिवेशन गर्न नहुने निचोडमा संस्थापन पक्ष छ ।

संस्थापन पक्षका केन्द्रीय सदस्य गुरु बराल पार्टीभित्रको संकटमा दुई महामन्त्री कारण रहेको आरोप लगाउँछन् ।

‘महामन्त्रीहरूले सम्पूर्ण साथीहरूलाई एक ठाउँमा ल्याएर विषम परिस्थितिलाई ट्रयाकमा ल्याउन जरुरी थियो,’ केन्द्रीय सदस्य बराल भन्छन्,‘एकमतका साथ जान आह्वान गर्न जरुरी थियो । तर, उहाँहरूले पार्टीलाई पूरै ‘डिरेल’ गर्ने गरी, पार्टीलाई अन्योलको भड्खालामा हाल्ने गरी लाग्नु भयो ।’

विधान अनुसार माग भएको विशेष महाधिवेशनको एजेण्डालाई संस्थापन पक्षले गरेको वेवास्तालाई पार्टीभित्रबाट मात्रै नभई पार्टी बाहिरबाट समेत चासोको रुपमा हेरिएको छ ।

कांग्रेसको सदस्य नरहेको तर शुभेच्छक रहेका राजनीतिक विश्लेषक हरि शर्मा अहिले कांग्रेसको अवस्था हेर्दा, सदस्यहरूलाई केन्द्रीय समितिले बिरालोले मुसा खेलाएको जस्तो खेलाएको छ । कांग्रेस सदस्यहरूलाई अपहेलना गरेको देखेर नागरिकको हैसियतले आफ्नो मन रोएको बताए । विशेष महाधिवशेन पक्षधरको सभामा शर्माले भने,‘ कांग्रेसका सदस्यले विधानले व्यवस्था गरेबमोजिम विशेष महाधिवेशन माग गरेका छन् । तर पार्टी भित्र जुन किसिमको तिरस्कारका कुराहरू सुनिरहेको छु, त्यसले लोकतन्त्र बलियो होला जस्तो मलाई लागेन ।’अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...