Skip to main content

धनगढी न्यूज

तुइनखोला पहिरो रोकथाममा सरकारको ढिलाइ

Advertisement

देशकै प्रमुख लाइफलाइनको रूपमा रहेको मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलाको पहिरो नियन्त्रणमा सरकारी उदासीनता देखिएको छ । गत असोजमा पटक–पटक खसेर देशभरको यातायात तथा आपूर्ति प्रणालीलाई ठप्प पारेको तुइन खोलाको संवेदनशील पहिरो रोकथामका लागि तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि काम सुरु हुन सकेको छैन ।

गत असोज–कात्तिकमा पटक–पटक खसेको सुक्खा पहिरोले घण्टौँसम्म यात्रु र सवारीसाधन घण्टौँसम्म जाममा बस्न बाध्य बनायो । सडक विभागले वर्षायाम सुरु हुनुअघि नै ठेक्का लगाएर काम सम्पन्न गरिसक्नुपर्नेमा अझै पनि ‘डिजाइन रिभ्यु’मै अल्झिएको छ । तत्काल रोकथामका लागि काम अघि बढाउनु पर्ने बेलामा समेत प्रारम्भिक अध्ययन बाहेक कुनै काम हुन नसक्नुले यस वर्षको वर्षायाममा समेत सडक अवरुद्ध हुने र यात्रुहरूले सास्ती भोग्नुपर्ने जोखिम देखिन्छ ।

विभागका महानिर्देशक डा. विजय जैसीले तुइन खोलाको पहिरो धेरै पुरानो समस्या भएको र एक वर्षअघि नै यसको डिजाइन तयार भएको बताए । साथै यस पटक पहिरो गएपछि उक्त डिजाइनलाई ‘रिभ्यु’ गरेर पुनः डिजाइन गर्नुपर्ने बाध्यता आएको बताएका छन् । ‘यो पहिरो धेरै पुरानो हो,’ महानिर्देशक डा. जैसीले भने, ‘अघिल्लो पटकको डिजाइन रिभ्यु गरेर पुनः डिजाइन गर्नुपर्ने भएकाले अहिले डिजाइनकै चरणमा छ । यो पहिरो रोकथामका लागि सडक डिभिजन भरतपुरले हेरिरहेको छ ।’

गत असोज सुरु हुँदैदेखि तुइन खोला नजिकै निरन्तर सुक्खा पहिरो गएको थियो । असोज ७ गते विशाल पहिरो खसेको थियो । उक्त पहिरो १४ सय घनमिटर रहेको प्रारम्भिक अनुमान गरिएको थियो । उक्त पहिरो ९ गते राति मात्रै पन्छाउन सफल भएर यातायात सञ्चालनमा आएको थियो । त्यसयता पनि पहिरो जाने ढुंगा खस्ने क्रम जारी थियो । मनसुन बाहिरिएसँगै अहिले पहिरो खस्न छाडेको छ । तर अझै पहिरो जाने जोखिम भने कायमै छ ।

ठेक्का चालु वर्षभित्रै लगाउने लक्ष्य

सडक डिभिजन भरतपुरले तुइन खोलाको पहिरो व्यवस्थापनको ठेक्का चालु आर्थिक वर्षभित्रै लगाउने गरी तीव्र रूपमा तयारी गरिरहेको जनाएको छ ।

यो पहिरो रोकथामका लागि रक नेटिङ, एन्करिङ, बेन्चिङ वा अन्य कुनै विशेष भू–इन्जिनियरिङ समाधान आवश्यक पर्ने देखिएको छ । भौगोलिक जटिलताका कारण नै डिजाइन प्रक्रियामा बढी समय लागिरहेको विभागको दाबी छ ।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार पहिरो नियन्त्रण सम्बन्धी फाइल विभागमा पेस भइसकेको छ र अहिले यसको डिजाइन कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

तुइन खोला पहिरो व्यवस्थापनको काम आउने वर्षायामअघि नै सुरु गर्ने लक्ष्य रहेको इन्जिनियर आचार्यले जानकारी दिए । बर्खायाममा सडक अवरुद्ध भइरहने समस्याबाट मुक्ति पाउन यसै वर्षभित्र ठेक्का सम्झौता गरेर निर्माण कार्य थालनी गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ ।

‘विभागबाट विज्ञहरूले तुइन खोलाको साइट निरीक्षण गरिसकेका छन्,’ आचार्यले भने, ‘डिजाइनलाई अन्तिम रूप दिनुअघि फेरि एक पटक भेरिफाइ गर्न फिल्डमा आउने तयारी छ । हाम्रो आशा यही वर्षभित्र काम सुरु हुन्छ भन्ने हो ।’

पहिरो नियन्त्रणको प्राविधिक जटिलता

तुइन खोलाको पहिरो नियन्त्रणका लागि प्रयोग गरिने प्रविधि अन्य स्थानको भन्दा फरक र जटिल हुने इन्जिनियर आचार्यको भनाइ छ । उनले यस पहिरोमा मुख्य समस्या ठुला ढुंगा र चट्टानको रहेको औँल्याए । ‘यो पहिरोमा ढुंगाको समस्या छ । यसमा कस्तो प्रविधि प्रयोग गर्ने भन्ने कुरा ठाउँको प्रकृति हेरेर डिजाइन तथा प्रविधि प्रयोग गरिनेछ,’ उनले भने ।

यो पहिरो रोकथामका लागि रक नेटिङ, एन्करिङ, बेन्चिङ वा अन्य कुनै विशेष भू–इन्जिनियरिङ समाधान आवश्यक पर्ने देखिएको छ । भौगोलिक जटिलताका कारण नै डिजाइन प्रक्रियामा बढी समय लागिरहेको विभागको दाबी छ ।

यसबिच, देशको समग्र वित्तीय अवस्था र पछिल्लो समय सरकारले गरेको बजेट कटौतीको असर पूर्वाधार निर्माणका काममा समेत परेको छ । इन्जिनियर आचार्यका अनुसार समग्रमा बजेटमा कटौती भएर आउँदा सडक डिभिजन भरतपुर अन्तर्गतका अन्य विकास निर्माणका काम सुस्त गतिमा रहेका छन् । निर्वाचन वा अन्य राजनीतिक कारणहरूले गर्दा बजेट रोकिने र कम आउने समस्या छ ।

यद्यपि, तुइन खोलाको समस्यालाई भने विभागले प्राथमिकतामा राखेको आचार्यले स्पष्ट पारे । मुग्लिन–नारायणगढ सडकखण्डमा वर्षायाममा लगातार पहिरो खस्ने समस्याले देशको अर्थतन्त्र, पर्यटन र आपूर्ति प्रणालीमा ठुलो असर पार्ने गरेको छ ।

देशकै लाइफलाइनमा पर्ने यो खण्डको तत्काल समाधान गर्नका लागि विभागले प्राथमिकताका साथ काम अगाडि बढाइरहेको भएपनि कागजी प्रक्रिया र प्राविधिक तयारीमा भएको ढिलाइले आम यात्रु र यातायात व्यवसायीहरूलाई भने चिन्तित बनाएको छ । यदि वर्षाअघि काम सुरु हुन सकेन भने यस वर्ष पनि मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको भयावह त्रास कायम रहने निश्चित देखिएको छ ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...