Skip to main content

धनगढी न्यूज

अमेरिकाले आँखा लगाएको भेनेजुएलाको अपार तेल भण्डार, यस्ता छन् जान्नुपर्ने कुरा

Advertisement

अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको केही घन्टामै राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्ट पारे — अमेरिकी अपरेसनको एउटा मुख्य उद्देश्य भेनेजुएलाको तेलमाथि नियन्त्रण गर्नु हो।

‘हामी विश्वकै सबभन्दा ठूला अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएला लैजाने छौं। उनीहरूले अर्बौं डलर खर्च गरेर बिग्रिएको तेल पूर्वाधार, विशेषगरी तेलसम्बन्धी संरचना मर्मत गर्ने छन् र देशका लागि आम्दानी सुरू गराउने छन्,’ ट्रम्पले शनिबार पत्रकार सम्मेलनमा भने।

मदुरोको पक्राउ र ट्रम्पका यी अभिव्यक्ति यस्तो समय आएका छन्, जब विश्वकै सबभन्दा ठूलो तेल भण्डारमध्ये एक रहेको भेनेजुएलामा लगानी गर्न ठूला तेल कम्पनीहरू हतोत्साहित छन्। उनीहरूले विगतमा भेनेजुएलामा काम गर्दा खराब अनुभव भोगेका थिए।

शनिबारको सैन्य कारबाहीपछि ट्रम्पले दिएको अभिव्यक्ति यही अवस्थासँग सम्बन्धित छ।

उनी ठुल्ठूला कम्पनीहरूलाई भेनेजुएला लगेर त्यहाँका तेल खानी उत्खनन् गराउन चाहन्छन् र त्यसबाट हुने उत्पादनमा अमेरिकाको वर्चश्व राख्न चाहन्छन्।

भेनेजुएलाको तेलबारे जान्नुपर्ने कुरा

भेनेजुएला कुनै बेला विश्वकै ठूला तेल उत्पादक देशमध्ये एक थियो। यो पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) का प्रमुख संस्थापकमध्ये पनि हो, जसका निर्णयले विश्वव्यापी तेल मूल्य निर्धारणमा ठूलो प्रभाव पार्छ।

ओपेकका अनुसार भेनेजुएलासँग विश्वकै सबभन्दा ठूलो प्रमाणित तेल भण्डार छ।

अमेरिकी ऊर्जा सूचना प्रशासनले पनि भेनेजुएलासँग करिब ३०३ अर्ब ब्यारेल कच्चा तेल रहेको जनाएको छ। यो विश्वको कुल तेल भण्डारको करिब २० प्रतिशत हो। यही विशाल तेल भण्डारले देशको भविष्यमा केन्द्रीय भूमिका खेल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आगामी दिनमा ट्रम्पले भनेजस्तै अमेरिकाको नेतृत्वमा हुने पुनर्संरचनाले भेनेजुएलालाई धेरै ठूलो तेल आपूर्तिकर्ता बनाउन सक्छ। यसले पश्चिमी तेल कम्पनीहरूका लागि अवसर सिर्जना गर्न सक्छ र नयाँ उत्पादन स्रोत बन्न सक्छ। सँगसँगै, यसले विश्व बजारमा तेलको मूल्य नियन्त्रणमा राख्न सहयोग पुर्‍याउन सक्छ।

यद्यपि अहिलेको कम मूल्यका कारण केही अमेरिकी कम्पनीहरू भेनेजुएलामा लगानी गर्न निरूत्साहित पनि हुन सक्छन्। विश्वव्यापी तेल बजार अहिले अत्यधिक आपूर्तिको अवस्थामा छ। कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलरभन्दा तल छ। र, विश्व बजार विद्युतीय सवारीतर्फ सर्दै जाँदा दीर्घकालीन तेल माग कस्तो हुन्छ भन्ने स्पष्ट छैन।

अन्तर्राष्ट्रिय कम्पनीहरू भेनेजुएलाको तेल उत्पादनमा लगानी गर्न इच्छुक भए पनि त्यसका लागि लामो समय र ठूलो खर्च लाग्नेछ। भेनेजुएलाको सरकारी तेल तथा ग्यास कम्पनी ‘पिडिभिएसए’ का अनुसार उसका पाइपलाइनहरू पछिल्ला ५० वर्षमा अद्यावधिक भएका छैनन्। उत्पादनलाई पुरानै उच्च तहमा फर्काउन पूर्वाधार सुधार गर्न करिब ५८ अर्ब डलर लाग्ने अनुमान छ।

भेनेजुएलाको तेल भण्डारमाथि नियन्त्रण

भेनेजुएलासँग सबभन्दा ठूलो प्रमाणित तेल भण्डार भए पनि त्यसको सम्भावनाको तुलनामा वास्तविक उत्पादन निकै कम छ।

केही दशकअघि दैनिक ३० लाख ब्यारेलभन्दा बढी तेल उत्पादन गर्ने देश आज करिब १० लाख ब्यारेल मात्र उत्पादन गर्छ, जुन विश्व उत्पादनको करिब १ प्रतिशत मात्र हो। तुलना गर्दा, सन् २०१३ मा मदुरो सत्तामा आउनुअघि उत्पादन भएको तेलको आधाभन्दा कम हो।

भेनेजुएला सरकारमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्ध र गहिरो आर्थिक संकटले तेल उद्योग पतनमा ठूलो भूमिका खेलेका छन्। तर अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार लगानी अभाव र पूर्वाधार मर्मतसम्भार नहुनु पनि मुख्य कारण हुन्।

ट्रम्प प्रशासनले भेनेजुएलाका तेल बोक्ने जहाजहरू नियन्त्रणमा लिन थालेपछि अमेरिकी तेलको मूल्य केही समयका लागि प्रतिब्यारेल ६० डलरभन्दा माथि पुगेको थियो। तर पछि फेरि घटेर ५७ डलर मा झर्‍यो। त्यसैले यदि लगानीकर्ताले यो कारबाहीबाट तेल आपूर्तिमा समस्या ल्याउँछ भनेर विश्वास गरेनन् भने बजारको प्रतिक्रिया सीमित नै रहने सम्भावना छ।

भेनेजुएलाको तेलको सम्भावना

भेनेजुएलाको धेरै तेल पहिले अमेरिकी प्रशोधन केन्द्रहरूमा जान्थ्यो। अहिले भने यसको ठूलो हिस्सा चीनतर्फ जान थालेको छ।

सबै कच्चा तेल समान हुँदैन। केही तेल हल्का हुन्छन् र प्रशोधन गर्न सजिलो हुन्छ। भेनेजुएलाको तेल भने गह्रौं र बाक्लो (हेभी क्रुड) छ। यसलाई प्रशोधन गर्न विशेष रिफाइनरी आवश्यक पर्छ।

तेल उद्योगको भाषामा भेनेजुएला ‘ब्राउनफिल्ड’ हो। अर्थात्, यो क्षेत्र पहिले नै विकास भइसकेको छ। ड्रिलिङ गर्दा के पाइन्छ भन्नेबारे कम्पनीहरूलाई राम्रै जानकारी छ। यसबाट पनि तेल कम्पनीहरूलाई भेनेजुएलामा लगानी गराउन गाह्रो नपर्ने अमेरिकी अनुमान देखिन्छ।

भेनेजुएलाको तेल उत्पादन खुला हुँदा अमेरिका विशेष रूपले लाभान्वित हुन सक्छ। किनभने, अमेरिका भौगोलिक रूपले भेनेजुएला नजिकै छ र यसको तेल तुलनात्मक रूपमा सस्तो छ। सबभन्दा ठूलो कुरा त, अधिकांश अमेरिकी रिफाइनरीहरू भेनेजुएलाको गह्रौं तेल प्रशोधन गर्न नै बनाइएका हुन्।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...