Skip to main content

धनगढी न्यूज

कांग्रेस–एमालेलाई ‘एक्जिट’ बिनाको सुरूङमा हाल्दै देउवा–ओली

Advertisement

देशका दुई प्रमुख दल कांग्रेस र एमाले यति चाँडै यति विद्रुप अवस्थामा पुग्लान् भन्ने केही महिना अघिसम्म कसैले कल्पना गरेको थिएन।

जेनजी आन्दोलनले केही घन्टाभित्रै यी दुई दलले नेतृत्व गरेको सत्ता धराशायी बनाइदियो। त्यसपछि कांग्रेस–एमालेले जसरी जबाफदेहिता वहन गर्नुपर्थ्यो र जसरी नयाँ परिस्थितिमा मुलुकलाई अघि बढाउन आफूहरूलाई पुनर्गठन गर्नुपर्थ्यो, त्यसमा उनीहरू पूरै चुकेका छन्। असफल भएका छन्।

असफल भएका मात्र छैनन्, उनीहरू अहिले जेनजी आन्दोलनले चाहेको परिवर्तन भरसक रोक्नेमा अग्रसर छन्। नसके त्यसलाई नकार्ने र दुत्कार्नेमा पुगेका छन्। आफूलाई पूरापुर पुरातन शक्तिका रूपमा उभ्याउन उद्दत छन्।

यसको नेतृत्व मुख्यतः एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। ओलीले डर र भर देखाएर पछिल्ला दिनहरूमा यो मिसनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सह–कमान्डरका रूपमा ‘ड्राफ्ट’ (भर्ती) गरेका छन्।

दुई जनाको भेटपछि उनीहरूको अघोषित योजनामा कांग्रेस–एमाले ‘डार्क पोलिटिक्स’ मा अग्रसर हुन थालेका छन्।

ओली र देउवाले फगत आफ्नो सुरक्षाका लागि कांग्रेस–एमालेलाई जुन अँध्यारो सुरूङमा हाल्न खोज्दै छन्, त्यो सुरूङको अन्त्यमा उज्यालो छैन।

किनभने, यो सुरूङको ‘एक्जिट’ ढोका छैन। एक पटक पसेपछि कांग्रेस–एमालेले त्यहाँबाट निस्किने ठाउँ पाउने छैनन्। र, यसले कांग्रेस–एमालेलाई मात्र अप्ठ्यारोमा पार्ने छैन, मुलुकको राजनीतिलाई यति ध्रुवीकृत, तनावपूर्ण र मुठभेड उन्मुख बनाउनेछ, त्यसको कम्पन नेपाली समाजले लामो समय बेहोर्नुपर्छ।

देउवा र ओलीले कसरी कांग्रेस–एमालेलाई ‘एक्जिट’ बिनाको अँध्यारो सुरूङमा हाल्दैछन्?

दुवै नेता फागुन २१ मा हुने निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गरेर चुनाव लड्ने पक्षमा छन्। प्रत्यक्षतर्फका १६५ सिट दुई दलले करिब आधा–आधा बाँड्ने र सबैलाई हराएर ‘देखाइदिने’ सोचमा छन् उनीहरू।

कांग्रेसका प्रचार विभाग प्रमुख र देउवाका विश्वासपात्र मीनबहादुर विश्वकर्माले यसबारे मिडियामा खुला रूपमा भनिसकेका छन्। २०४७ सालमा कांग्रेस–एमाले सँगै उभिएर परिवर्तन ल्याएको र अहिले पनि सँगै उभिएर यो आगो निभाउने तर्क उनको छ। देउवा र ओलीको चाहना अनुरूप कांग्रेस–एमालेका अरू नेताहरूले यसबारे मुख खोलिसकेका छन्।

कांग्रेस–एमाले मिलेर चुनाव लड्नेबारे केही महत्त्वपूर्ण प्रश्नहरू छन्।

पहिलो प्रश्न, कांग्रेस–एमाले किन मिलेर लड्ने? केका लागि लड्ने? अनि कसका विरूद्ध लड्ने?

रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एउटै दलमा आएपछि ओलीले केही दिनअघि सार्वजनिक रूपमा भनेका थिए — कुखुरा, बाख्रा र स्याल मिलेर बाघको सिकार हुँदैन!

उनले अर्को एउटा अन्तर्वार्तामा पनि भनेका छन् — रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) कसरी मुलुकको पहिलो राजनीतिक शक्ति बन्छ? कांग्रेस छ, एमाले छ, अरू दलहरू छन्। रास्वपा पाँचौं ठूलो शक्तिसम्म बन्ला!

त्यसो भए, कांग्रेस र एमालेले किन आ–आफ्नो सिद्धान्त छाडेर अप्राकृतिक गठबन्धन गर्ने?

कसैलाई हराउनु छैन र कांग्रेस–एमाले नै पहिलो र दोस्रो दल बन्ने हो भने गठबन्धन किन?

ओलीले बाहिर जतिसुकै कडा कुरा गरे पनि भित्रभित्रै उनी डराएका छन्। अनि त्यही डर उनले देउवाको मनमा पनि हालिदिएका छन्।

ओलीलाई लाग्छ, यो जेनजी आन्दोलन नै आफ्नो राजनीति सक्काउन भएको हो। र, चुनावमा हराएर आफूलाई राजनीतिक रूपमा मात्र होइन, मुद्दाहरू लगाएर व्यक्तिगत रूपमा पनि सक्काइदिने षड्यन्त्र हुँदैछ।

त्यही डर उनले देउवाको मनमा पनि थपिदिएका छन् — मलाई मात्र होइन तपाईं र तपाईंको परिवारलाई पनि सक्काउने षड्यन्त्र हो। त्यसैले हामी सँगै उभिएर यसको प्रतिवाद गर्नुपर्छ। दुई दल मिलेर चुनाव लड्नुपर्छ र बहुमत ल्याएर अरूलाई देखाइदिनुपर्छ।

ओलीको आडमा देउवाले आफ्नो सुरक्षा मात्र देखेका छैनन्, छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो पनि देखेका छन्।

पछिल्लो समय देउवा बौरिएका र बदलिएका ओलीले सुनाएको त्यही डर र भरको ‘प्लट’ ले हो।

नत्र त उनी कांग्रेसको सभापति छाड्न राजी भइसकेका थिए।

कांग्रेसको केन्द्रीय समितिमा असोज २८ गते सम्बोधन गर्दा मंसिरमै महाधिवेशन गराएर आफू बिदा लिने सोचमा रहेका देउवा अहिले पर्लक्कै पल्टिएका छन्। पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएका उनी अहिले आफै सक्रिय भएर ओलीको ‘प्लट’ कार्यान्वयन गर्न दत्तचित्त भएर लागेका छन्।

कांग्रेस–एमाले नेता तथा कार्यकर्ताले अहिले गम्भीर भएर ठन्डा दिमागले सोच्नुपर्ने र परिस्थिति विश्लेषण गर्नुपर्ने बेला आएको छ।

२०७९ सालमा चुनाव हुँदा पनि देउवा र ओली लामो समयदेखि कांग्रेस र एमालेको नेतृत्वमा थिए। रास्वपा भन्ने दल खुलेको ७ महिना जति मात्र भएको थियो।

त्यो नयाँ दलले दशकौंदेखि काम गरेका कांग्रेस–एमाले पार्टीको भन्दा झन्डै आधा लोकप्रिय मत कसरी प्राप्त गर्‍यो? २१ सिट जितेर संसदको चौथो ठूलो दल कसरी बन्यो?

संसदमा रास्वपा सांसदका अगाडि कांग्रेस–एमालेका अधिकांश सांसद किन निस्प्रभावी र निरिह देखिए?

त्यसपछि स्थिरता दिने र सुशासन कायम गर्ने भन्दै ओली–देउवाले मिलेर सरकार चलाए। एक वर्ष उनीहरूले सरकार चलाउँदा पनि आम मानिसले किन कांग्रेस–एमालेलाई आशाको नजरले हेरेनन्?

किन समाजमा चरम असन्तुष्टि बढ्दै गयो र जेनजीहरूले सडकमा वर्षौंसम्म नआएको ठूलो मास उतारेर आन्दोलन गरे?

आज कांग्रेस–एमाले कसका कारण कमजोर भएका हुन्? देउवा र ओलीका कारण कि यी दलका आम कार्यकर्ताका कारण?

त्यसो भए बदल्नुपर्ने त देउवा र ओलीलाई हो नि! किन आज टाउकाको उपचार घुँडामा खोज्दैछन् कांग्रेस–एमाले?

बाहिर जतिसुकै ठूला कुरा गरे पनि देउवा–ओली अहिले रास्वपासँग यति तर्सिएका छन्, एक्लै–एक्लै चुनाव लड्न उनीहरूका खुट्टा कामेका छन्।

अनि रास्वपाको उदय रोक्न गठबन्धन गर्नुपर्ने निष्कर्षमा ओली र देउवा पुगेका छन्। ‘ल कांग्रेस र एमाले त सकिएछन्, रास्वपा विरूद्ध मिलेर लड्दैछन्’ भन्ने ठाउँमा कांग्रेस र एमालेलाई पुर्‍याउँदै छन्। चुनावको मैदानमा नजाँदै कांग्रेस–एमालेका लागि हारको मनोविज्ञान सिर्जना गर्दै छन्।

के रास्वपा विरूद्ध गठबन्धन गरेर लडेपछि कांग्रेस–एमालेले चुनाव जित्छन्? आफ्ना चुनौती र कमजोरीबाट उनीहरूले मुक्ति पाउँछन्? मुलुकको राजनीतिले पार पाउँछ?

कांग्रेस–एमालेले गठबन्धन गरेर लडेपछि दुईमध्ये एक अवस्था आउँछ —

कि त थप चिढिएर मतदाताले कांग्रेस–एमालेलाई हराउँछन् र रास्वपालाई बहुमत दिन्छन्।

वा, कांग्रेस–एमालेले बहुमत ल्याएर एक पटकका लागि रास्वपालाई रोक्लान्।

ओली र देउवाको क्यालकुलेसन सिधै छ — हामीले गठबन्धन गरेपछि जनताले ढ्याप–ढ्याप रूख र सूर्यमा मत हालेर जिताउनेछन्।

आजका दिनमा कांग्रेस र एमालेसँग न आफूहरूलाई किन मत दिने भन्ने विश्वास गर्नलायक ‘न्यारेटिभ’ वा ‘म्यासेज’ छ, न उनीहरूसँग जनताले आशा गरेको ‘म्यासेन्जर’ छ। ओली र देउवालाई हेरेर वा उनीहरूलाई नै सत्तामा पुर्‍याउन लालयित मतदाता त कति नै होलान् र आजको नेपालमा!

जेनजी आन्दोलन षड्यन्त्र हो भन्ने ‘म्यासेज’ पत्याएर र आफूलाई वाक्क पारेका देउवा–ओली (म्यासेन्जर) को मुख हेरेर फेरि जनताले कांग्रेस–एमालेलाई मत दिन्छन् भन्नेमा मलाई चाहिँ धेरै विश्वास छैन।

नेपालको इतिहास साक्षी छ — चाहे त्यो २००७ सालको परिवर्तनपछि २०१५ सालमा भएको निर्वाचन होस्, वा ०४६ सालको परिवर्तनपछि २०४७ सालमा भएको निर्वाचन वा दोस्रो जनआन्दोलनपछि २०६४ सालमा भएको चुनाव होस्, नेपाली जनताले ‘नयाँ शक्ति’ लाई छानेका छन्। पुरानालाई तिरस्कार गरेका छन्।

यसपालि रास्वपा विरूद्ध गठबन्धन गरेर लड्दा पनि कांग्रेस–एमालेले चुनाव हारे भने के हुन्छ?

त्यसपछि २०८६ को चुनावमा कांग्रेस–एमाले फेरि छुट्टाछुट्टै लड्ने आँट गर्छन्? कि फेरि गठबन्धन गर्छन्?

त्यसैले मैले भनेको — ओली र देउवाले कांग्रेस–एमालेलाई जुन सुरूङमा हाल्न खोज्दैछन्, त्यसको ‘एक्जिट’ छैन। त्यो सुरूङबाट कांग्रेस–एमाले बाहिर निस्किने ढोका छैन।

अब अर्को ‘सिनारियो’ हेरौं।

कांग्रेस–एमालेले यसपालि बल्लतल्ल रास्वपालाई रोके रे! अनि पालैपालो ओली र देउवा अर्को पाँच वर्ष प्रधानमन्त्री बने रे! रास्वपा शक्तिशाली प्रतिपक्षी दल बन्यो रे!

सिंहदरबारमा फेरि देउवा–ओलीको म्युजिकल चेयर चलेपछि नेपाली जनता खुसी हुन्छन्? उनीहरूले नेपाली जनताको मन जित्छन्? कांग्रेस–एमालेले जनता खुसी हुने गरी वा उनीहरूको मत जित्ने गरी काम गर्न सक्छन्?

गर्न सक्ने भए अस्ति दुई दलको सरकार हुँदा त्यसको सानो संकेत पनि किन नदेखिएको? किन जनता खुसी नभएका? किन युवाहरूको असन्तोष सडकमा विस्फोट भएको?

फेरि पनि सिंहदरबारमा देउवा र ओलीको म्युजिकल चेयर चलेपछि जनतामा अर्को चरणको चरम असन्तुष्टि र निराशा फैलिन सक्छ। त्यो निराशा फेरि पनि सडकमा पोखिन सक्छ।

आज हामी संसारभरि नै यस्तो समयको दौरमा छौं — कुनै पनि दलले जनता खुसी हुने गरी शासन चलाउन सकेको छैन। वा, सत्तामा बस्ने कुनै पनि दलसँग जनता खुसी छैनन्। विकसित लोकतन्त्रमा सत्तामा पुगेका बलिया दल र तगडा नेताहरूको लोकप्रियता खस्किएको छ।

त्यसैले कांग्रेस–एमालेको कुरा छाडौं, रास्वपाले पनि एक्लै बहुमत ल्याएर वा अरूसँग मिलेर सरकार बनायो भने पनि जनताका अपेक्षा पूरा हुँदैनन्। सत्तामा बसेका दलसँग नेपाली जनताको आकांक्षा आकाश छेड्ने गरी अग्ला छन्, अनि परिणाम पर्खिने धैर्य भने मक्किएको सुती साडीझैं पातलो छ।

तर सत्तामा दलहरू फेरिरहँदा त्यसले समाजलाई सन्तुलित बनाउँछ। नयाँ दलहरू सत्तामा पुगेपछि जनताको अपेक्षा र आक्रोश एउटै दल वा उनै नेतामा केन्द्रित हुन पाउँदैन। सत्तामा गएको नयाँ दलले केही नयाँ गर्ने अवसर पाउँछ, सिक्ने अवसर पाउँछ। जनताका केही आशा पूरा हुन्छन्। त्यसले समाजलाई एक कदम अगाडि लैजान्छ।

सँगसँगै, नयाँ दलले पनि गल्ती गर्ने अवसर पाउँछन्। उनीहरूका पनि कमजोरी देखिन थाल्छन्।

नयाँ साह्रै खराब भएर निस्किए भने पुरानाप्रति मतदाताको धारणा पनि त्यसले सच्याउन मद्दत गर्छ। जनताले सबै उस्तै हुन् भन्लान् वा पुराना पनि त्यति खराब होइन रहेछन् भन्ने ठान्लान्!

लोकतन्त्रमा सत्तामा जाने दलहरू फेरिरहँदा त्यसले जनताको विरक्ति वा असन्तुष्टिलाई ‘मोडरेसन’ गर्छ। चरम असन्तुष्टि र विरक्तिले जन्माउने विस्फोट र हिंसाको सम्भावना कम गर्छ।

यसको उल्टो, सत्तामा लामो समयदेखि बसेका दलले नयाँ आउने दललाई जसरी पनि रोक्न खोजे भने त्यसले झन् ठूलो निराशा र विद्रोह पैदा गर्ने सम्भावना हुन्छ।

२०६४ सालमा कांग्रेस र एमालेले मिलेर माओवादीलाई रोक्न खोजेका भए के हुन्थ्यो? कांग्रेस–एमाले गठबन्धन गरेर मधेसमा मधेसी दलहरूलाई रोक्न खोजेका भए के हुन्थ्यो? माओवादीप्रति आकर्षण हराउँथ्यो? मधेसवादी दलप्रति आकर्षण हराउँथ्यो?

माओवादी वा मधेसवादी दलहरू प्रतिको आकर्षण उनीहरू सत्तामा पुगेपछि मात्रै कम भयो। जनताले उनीहरूका कमजोरी पनि देखेपछि मात्रै कम भयो।

त्यसैले स्वस्थ लोकतन्त्रमा एउटै दल वा उही दलहरू सधैंभरि सत्तामा टाँसिन खोज्नु हुँदैन। स्वाभाविक रूपमा व्यक्त हुने जनताको अभिमत अनुसार सत्ता परिवर्तन हुने कुरालाई लोकतन्त्रमा स्वाभाविक र राम्रो मान्नुपर्छ।

त्यसले सत्ता बाहिर पुगेको दललाई समीक्षा गर्ने, आत्मनिर्भरण गर्ने, आफूलाई पुनरवलोकन र पुनर्गठन गर्ने अवसर दिन्छ। सत्तादेखि सत्तासम्मको राजनीति र यसको कुलतले दलहरूलाई भित्रैदेखि खोक्रो बनाउँछ। मक्कार बनाउँछ; जसरी अहिले कांग्रेस, एमालेलाई बनाएको छ।

लोकतान्त्रिक प्रणालीमा सबै दलहरू त्यसका साझा हिस्सेदार हुन्। त्यस अर्थमा लोकतन्त्रमा दलहरू ‘कमन स्टेक’ भएका प्रतिस्पर्धी हुन्, शत्रु होइनन्। त्यसैले दलहरूले एक–आपसमा शत्रुतापूर्ण व्यवहार गर्नु हुँदैन। उनीहरूको प्रतिस्पर्धा त्यो प्रणाली सुधार्न र थप मजबुत गर्न मात्र हुनुपर्छ।

पुराना र लामो समयदेखि सत्तामा बसेका दलले त झनै शत्रुतापूर्ण व्यवहार गर्नै हुँदैन।

कांग्रेस–एमालेले अप्राकृतिक गठबन्धन गरेर र शत्रुतापूर्ण व्यवहार गरेर रास्वपालाई यसपालि रोके भने पनि भविष्यमा त्यसको झनै तीव्र प्रतिक्रिया हुन्छ। नेपाली समाजलाई त्यसले थप ध्रुवीकृत, अस्थिर र तनावपूर्ण बनाउनेछ। अर्को चुनावमा कांग्रेस–एमालेसँग बदला लिने जनताको भावना झनै बलियो र तीव्र हुनेछ।

त्यसपछि रास्वपासँग अहिले नै डराएका कांग्रेस–एमालेले २०८६ को चुनावमा के गर्ने? फेरि पनि गठबन्धन गर्ने?

रास्वपा विरूद्ध कांग्रेस–एमालेले सधैं गठबन्धन गर्ने हो भने यी दुईमध्ये एउटा दल कालान्तरमा हराएर जान्छ। कुन दल हराउँछ, कांग्रेस–एमालेका नेताहरू आफैं सोचून्!

त्यही भएर मैले भनेको — ओली र देउवाले कांग्रेस–एमालेलाई जुन सुरूङमा हाल्दैछन्, त्यसको ‘एक्जिट’ ढोका छैन। यो सुरूङमा पसेपछि यी दल त्यहाँबाट निस्किन सक्दैनन्।

मेरो आग्रह छ — ओली र देउवाको स्वार्थका लागि कांग्रेस र एमालेलाई निस्किन नसकिने सुरूङमा हाल्नु हुँदैन। उदाउँदै गरेको राजनीतिक शक्तिसँग तर्सिएर त्यसलाई जसरी पनि रोक्छु भन्दै ठूला र पुराना दलले अप्राकृतिक गठबन्धन गर्न हुँदैन। जनताको अभिमत प्राकृतिक रूपमा अभिव्यक्त हुन दिनुपर्छ।

नेपाली राजनीति दक्षिण एसियामा अरूभन्दा सहिष्णु छ। दलहरूबीच सहिष्णुता र भाइचारा छ। त्यो हाम्रो पुँजी हो, त्यसलाई मास्न हुँदैन।

ओलीले एमाले–माओवादी–रास्वपाको सत्ता हुँदा रास्वपा अध्यक्ष रवि लामिछानेलाई एक पटक दिएको अर्ति आफै सम्झिऊन्। फलाना–फलानालाई पक्रिन लागेको भन्दै लामिछाने बालकोट पुगेपछि ओलीले ‘हामी पाकिस्तानको बाटो जाने होइन’ भन्दै सम्झाएका थिए रे!

हामी पाकिस्तान, बंगलादेश, श्रीलंकाको त कुरै छाडौं, भारतकै बाटो पनि जान हुँदैन, जहाँ सत्तासीन दलहरूले अरूलाई सत्तामा आउन नदिन हरेक हत्कन्डा प्रयोग गरेका छन्। त्यसले अन्ततः मुलुकलाई नै भड्खालोमा पार्छ भन्ने ज्वलन्त उदाहरण हुन् पाकिस्तान, बंगलादेश र श्रीलंका!

चन्द्रागिरिको डाँडापारि अस्ताउन लागेको घामझैं बनेका र आफैसँग तर्सिएका ओली–देउवा वा कांग्रेस–एमालेमा अब लामो भविष्य नभएका नेताहरूले टाढाको सोचेका छैनन्। उनीहरूले आजको आफ्नो सुरक्षा मात्र सोचेका छन्। नाकैमुनिको चुनाव मात्र सोचेका छन्। आफू राजनीतिमा रहुन्जेलसम्मको मात्र सोचेका छन्। आफू नै नरहेपछि राजनीति भाँडमा जाओस्; भाँडमा जाओस् लोकतन्त्र र समाज भन्ने मनोवृत्ति उनीहरूमा देखिएको छ।

त्यसैले देउवा र ओलीको राजनीति र जीवनभन्दा पर पनि कांग्रेस र एमालेको भविष्य सोचेका नेता–कार्यकर्ताले त्यसरी सोच्नु हुँदैन।

बरू उनीहरूले एक पटक सोच्नुपर्छ — ओली र देउवाबाट छुटकारा पाउने बित्तिकै यी दुई पार्टीका धेरै समस्या सकिन्छ। उनीहरूको बोझ धेरै हलुका हुन्छ। ओली र पछिल्लो समय देउवाले पनि भट्याउन थालेको ‘षड्यन्त्रको थ्योरी’ बाट यी दलका नेता मुक्त हुने बित्तिकै संयमित र सिर्जनशील भएर भोलिको बाटो तय गर्ने आधार सुरू हुन्छ।

जेनजी आन्दोलन विदेशी षड्यन्त्र हो भन्थे ओली। अहिले पनि भनिरहेका छन्।

भदौ २३ र २४ गते जे भयो, त्यो विदेशी षड्यन्त्रको भाग–१ हो, भाग–२ आउन बाँकी छ भन्थे। यो सरकार चुनाव गराउन बनेको होइन, यसले चुनाव गराउँदैन भन्थे। अहिले चुनावमा कांग्रेस र एमाले गठबन्धन गराउन लागेका छन्।

हिजो उनले भनेको कुराको जबाफदेहिता खोई? उनले एउटा कुरा भने, एमाले नेता तथा कार्यकर्ताले त्यसैमा स्याल हुइँय्या गरे। आज एमालेमा कांग्रेससँग मिलेर चुनाव जित्ने स्याल हुइँय्या चलेको छ। त्यसको दीर्घकालीन असरबारे सोच्ने फुर्सत कसैलाई छैन।

हिजो ओलीले भनेको ‘षड्यन्त्रको थ्योरी’ र चुनाव नै हुँदैन, एमालेले चुनावमा भाग लिँदैन भनेर एमालेलाई पुर्‍याएको क्षतिबारे उनीसँग कसले जबाफदेहिता माग्ने?

सधैं जस्तै यसपालिको चुनावमा पनि मत त नेपाली जनताले हाल्छन्, विदेशीले होइन। विदेशीले भदौ २३–२४ को विद्रोहमा केही घुसपैठ गरे होलान्। तर भदौ २३ गते युवाहरू स्वतःस्फूर्त सडकमा ओर्लिएका हुन्। भदौ २३ को दमनले आक्रोशित बनेर भदौ २४ गते आम नागरिक देशैभरी स्वतःस्फूर्त निस्किएका हुन्। भोलि मत हाल्न पनि नेपाली जनतै मतदान केन्द्रमा आउने हुन्। आफ्नो विवेक प्रयोग गरेर मत हाल्ने हुन्।

भदौ २३ र २४ को विद्रोह विदेशी षड्यन्त्र र उक्साहट थियो र जनता कांग्रेस र एमालेसँग रिसाएका छैनन् भने ओली र देउवा चुनावलाई लिएर किन यति धेरै डराएका? किन हिजो जन्मिएको नयाँ दलविरूद्ध कांग्रेस–एमालेलाई गठबन्धन सुरूङमा हाल्न तम्सिएका?

यसको जबाफदेहिता ओलीसँग माग्ने समय एमालेमा गुज्रिएको छ। ओलीले महाधिवेशन गराएर आफूलाई निर्वाचित गरिसकेका छन्।

कांग्रेसमा अझै पनि समय गुज्रिसकेको छैन। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले मागेको विशेष महाधिवेशन टरेको छैन। कांग्रेसको विधान अनुसार पुस अन्तिम साता यो महाधिवेशन गर्नै पर्नेछ।

एमालेसँग मिलेर गएपछि चुनाव जितिहालिन्छ नि भनेर गम्मक्क परेका कांग्रेसका नेताहरूले एक पटक गम्भीर भएर सोच्नै पर्छ — के कांग्रेसलाई एमालेसँगै त्यो ‘एक्जिट’ बिनाको सुरूङमा हाल्ने हो? त्यसले भोलि दल र समाजमा ल्याउन सक्ने संकट र अस्थिरताप्रति आँखा चिम्लिने हो?

कांग्रेसका नेताहरूसामु आज प्रश्न एमालेसँगको अप्राकृतिक गठबन्धनको मात्र छैन। आफ्नै दलभित्र लोकतन्त्रको घाँटी निमोठ्ने काममा उनीहरूले देउवालाई जसरी साथ दिँदै छन्, त्यो पेचिलो प्रश्न पनि छ। यो प्रश्नबाट उनीहरू आज र जीवनभर भाग्न पाउने छैनन्। यसले उनीहरूलाई पछ्याइरहने छ। प्रेसले पनि यो प्रश्न सोध्न छाड्ने छैन।

अहिले तात्तातो रिसमा वा पूर्वाग्रहमा यी प्रश्नहरूबाट भाग्न सजिलो छ, तर समय घर्किसकेपछि पछाडि फर्किएर हेर्दा कांग्रेसका नेताहरूलाई यो समयले नपोलोस्, यी प्रश्नले नघोचून्, ‘म त संवेदनशील घडीमा चुकेछु’ भन्ने थकथक नहोस्।

त्यसैले उनीहरूले एक पटक ठन्डा दिमागले सोचून्।

अहिले कांग्रेसमा जे भइरहेको छ, यो विधानको कुनै अमुक व्यवस्था नमानेको कुरा मात्र होइन। कांग्रेसमा अरू नेताहरू सभापति भएका बेला पनि विधान धेरै पटक मिचिएका छन्। देउवाले नै पनि धेरै पटक विधान मिचिसकेका छन्।

यसपालिको विषय भने धेरै गम्भीर छ। मुलुक विषम परिस्थितिमा परेका बेला कांग्रेसको नीति र नेतृत्व फेर्ने आग्रहसहित बहुसंख्यक महाधिवेशन प्रतिनिधिले पेस गरेको प्रस्तावको कुरा हो यो।

यस्तो प्रस्तावमा पनि छलफल हुनुपर्छ भनेर नभन्ने कार्यसमितिका एक–एक सदस्यले भोलि कुन मुखले लोकतन्त्रको कुरा गर्छन्? अनि अरूले किन पत्याउँछन्?

कांग्रेस पार्टीले नै लोकतन्त्रको कुरा गरेको कसले पत्याउँछ?

त्यसैले पार्टीको आन्तरिक लोकतन्त्र जोगाउने, कांग्रेसलाई सैद्धान्तिक विचलनबाट जोगाउने, कांग्रेसलाई अन्तहीन सुरूङमा फस्नबाट जोगाउने र मुलुकको राजनीतिलाई मुठभेडतिर होइन सहिष्णु र प्रतिस्पर्धात्मक लोकतन्त्रको फराकिलो मार्गमा कायम राख्न भूमिका निर्वाह गर्ने अवसर कांग्रेसका नेता–कार्यकर्तालाई छ।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...