Skip to main content

धनगढी न्यूज

राष्ट्रियसभा निर्वाचनमा प्रमुख तीन दलले यसरी गर्दै छन् उम्मेदवार बाँडफाँट

Advertisement

नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभामा तालमेल गरेर उम्मेदवारी दिने समझदारी गरेका छन्।

यो समझदारीलाई अन्तिम रूप दिन सोमबार राति दुई पार्टीका शीर्ष तहका नेता छलफलमा जुट्न लागेको नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिए।

नेता बस्नेतका अनुसार सोमबार बिहान कांग्रेस र एमालेबीच छलफल भएको थियो। त्यस छलफलमा सिट बाँडफाँट गरेर जाने समझदारी भएको उनले बताए।

‘राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमाले मिलेर जाने समझदारी यसअघि नै थियो। आधा–आधा सिट (९–९) बाँड्ने सहमति भएको हो। आइतबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि मधेसवादी दलसहित सबै पार्टी मिलेर जाऔं भन्ने कुरा भएको छ,’ उनले भने, ‘टुंगो लागिसकेको छैन। आज बेलुका सहमति गरेर भोलि सचिवालय बैठकमा प्रस्ताव गर्ने तयारी छ।’

एमालेले मंगलबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ। त्यसअघि नै दुई पार्टीबीच सहमतिको टुंगो लाग्ने छ। राष्ट्रियसभाको रिक्त १९ स्थान मध्ये १८ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि पुस २३ गते (बुधबार) नै उम्मेदवारी दर्ता गर्नुपर्ने छ। रिक्तमध्ये एक स्थान चाहिँ मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटा हो।

निर्वाचन हुने १८ मध्ये ७ स्थान नेपाली कांग्रेसले लिने, एमालेले ६ स्थान लिने, नेपाली कम्युनिस्ट पार्टीलाई ४ र मधेसवादी दल (जनता समाजवादी पार्टी नेपाल) लाई एक स्थान छाड्ने गरी छलफल अघि बढेको छ। सम्भवतः यही सिट संख्यामा सहमति जुट्ने छ। जनता समाजवादी पार्टी, नेपालले पनि औपचारिकरूपमै तालमेलको प्रस्ताव गरेको छ।

एमाले सचिव राजन भट्टराईले पनि राष्ट्रियसभामा तालमेल गर्ने समझदारी भएको बताए। उनले पनि सहमति भने हुन बाँकी रहेको जानकारी दिए।

सचिव बस्नेतका अनुसार सोमबार बेलुकी कांग्रेसका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र कृष्ण सिटौला, एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतबीच छलफल हुने तय भएको छ।

यसैबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा संविधान बनाउने र रक्षा गर्ने शक्तिहरू मिल्नेबारे छलफल चलिरहेको ब्रिफिङ भएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चार दलबीच सहकार्यको ब्रिफिङ गरेका हुन्। उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेर जाने विषयमा नेताहरूबीच छलफल भइरहेको बताएका थिए।

केन्द्रीय कार्यसम्पादन समितिका सदस्य रमेश लेखकका अनुसार सोमबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। उक्त भेटवार्तामा संविधान बनाउने र जोगाउने पक्ष सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो।

‘आज बिहान म र कार्यवाहक सभापति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका थियौं, संविधान बनाउने र जोगाउने शक्तिहरूबीच सहकार्य गर्ने कुरा भएको छ,’ उनले भने, ‘आज साँझ फेरि उहाँसँग हामी छलफल गर्छौं।’

नेताहरूका अनुसार नेपाली कांग्रेसले कम्तीमा ६ सिट र बढीमा ८ सिट पाउने गरी दाबी गरिरहेको छ।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...