Skip to main content

धनगढी न्यूज

ट्रम्पले किन भने मदुरोलाई ‘कार्टेल अफ द सन्स’, लागुऔषध तस्करी अभियोगमा के छ?

Advertisement

भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी अदालतमा लागुऔषध तस्करीसम्बन्धी गम्भीर अभियोगहरू सामना गरिरहेका छन्। तर विश्लेषकहरूका अनुसार उनलाई दोषी ठहर्‍याउन हतियार, लागुऔषध र अवैध धन आर्जनमा उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने प्रमाणहरू प्रस्तुत गर्नुपर्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै क्याराकासमा सैन्य आक्रमण गरी मदुरोलाई उनकै निवासबाट पक्राउ गरेका थिए। यो सैन्य कारबाहीपछि ट्रम्पले उनलाई ‘कार्टेल अफ द सन्स’ को प्रमुखका रूपमा चित्रण गरेका छन्।

सोमबार न्यूयोर्कको अदालतमा मदुरोमाथि नार्को–आतंकवाद, कोकिन आयात षड्यन्त्र र हतियारसम्बन्धी चार अभियोग लगाइएको छ, जसमा मदुरोले आफू निर्दोष रहेको दाबी गरेका छन्।

अभियोगपत्रमा मदुरोले लागुऔषध तस्करहरूलाई कूटनीतिक राहदानी बाँडेको उल्लेख छ। त्यस्तै, राष्ट्रपति भवनमा गुरिल्ला नेताहरूसँग भेटघाट गरेको र भेनेजुएलाबाट व्यावसायिक विमानमार्फत कोकिन तस्करी गरेको अभियोग पनि छ।

वासिङ्टनस्थित थिंक–ट्यांक ‘वासिङ्टन अफिस अन ल्याटिन अमेरिका’ का एडम इसाक्सन भन्छन्, ‘उनको गिरफ्तारीको वैधतामाथि बहस हुन सक्छ, तर अभियोगहरू आफैमा ठोस देखिन्छन्। मलाई त यी आरोप अविश्वसनीय लाग्दैनन्।’

अमेरिकी लागुऔषध नियन्त्रण निकाय (डिइए) का एक पूर्वअधिकारीका अनुसार यस्ता लागुऔषध षड्यन्त्रसम्बन्धी मुद्दामा ‘अपराध प्रमाणित गर्न तुलनात्मक सजिलो’ हुन सक्छ।

ट्रम्प प्रशासनले लगाएको अभियोग साबित हुन भेनेजुएला र मदुरोले अमेरिकाका लागि गम्भीर लागुऔषध तस्करी गरेका थिए भनेर प्रमाणित गर्नुपर्नेछ, जुन आरोप मदुरोले अस्वीकार गर्दै आएका छन्।

अमेरिकामा अवैध लागुऔषध प्रवेशका मुख्य स्रोत मेक्सिको (ओपिओइड फेन्टानिल) र कोलम्बिया (कोकिन) हुन्। कोलम्बियाली कोकिनका लागि भेनेजुएला महत्त्वपूर्ण ट्रान्जिट देश भए पनि फेन्टानिल उत्पादन वा ढुवानी गर्ने देशका रूपमा भने भेनेजुएला परिचित छैन।

अभियोगपत्रमा सन् २०२० पछिका वर्षहरूमा वार्षिक ‘२०० देखि २५० टन कोकिन भेनेजुएलामार्फत तस्करी हुने’ अनुमान गरिएको उल्लेख छ। राष्ट्रसंघको लागुऔषध तथा अपराध कार्यालयका अनुसार सन् २०२३ मा कोलम्बियाको कुल कोकिन उत्पादन २,६६० टन अनुमान गरिएको थियो।

पूर्वअमेरिकी अधिकारीहरू भेनेजुएलाको लागुऔषध कारोबारमा राज्य संयन्त्रकै नियन्त्रण र संलग्नता रहेको दाबी गर्छन्।

अमेरिकी अधिकारीहरूले सन् २०११ मै भेनेजुएलाली सेनाका उच्च अधिकारीहरूमाथि कानुनी कारबाही थालेका थिए। क्याराकासस्थित सैन्य गुप्तचरका पूर्वप्रमुख ह्युगो कार्भाहाललाई कोलम्बियाली मार्क्सवादी गुरिल्लासँग मिलेर ५.६ टन कोकिन भेनेजुएलाबाट मेक्सिको हुँदै अमेरिका पठाउने षड्यन्त्र गरेको भनी न्यूयोर्कमा अभियोग लगाइएको थियो।

कार्भाहालले आफ्नो अपराध स्वीकार गरेका छन् र सजायको प्रतीक्षामा छन्।

सोमबारको अभियोगपत्र सन् २०२० मा दायर गरिएको मुद्दाको अद्यावधिक संस्करण हो। यसमा मदुरोले २५ वर्षभन्दा बढी समयसम्म आफ्ना सार्वजनिक पदहरू ‘दुरुपयोग’ गरेको र ‘अवैध रूपमा आर्जित अधिकार प्रयोग गरी हजारौं टन कोकिन अमेरिका पुर्‍याएको’ आरोप लगाइएको छ।

ट्रम्प प्रशासनले मदुरोलाई ‘कार्टेल दे लोस सोलेस’ अर्थात् ‘सनहरूको कार्टेल’ को नेता बताउँदै आएको छ। वासिङ्टनले यो समूहलाई नोभेम्बरमा विदेशी आतंकवादी संगठनको सूचीमा राखेको छ। यसलाई ‘हिंसा फैलाउने’ र अमेरिका तथा युरोपतर्फ लागुऔषध तस्करी गर्ने जिम्मेवार संगठन भनेको छ।

यो कार्टेलको नाम सन् २००० को सुरूआततिर पत्रकारहरूले प्रयोग गर्न थालेको मानिन्छ। यसको अर्थ भेनेजुएलाली सेनाका वरिष्ठ अधिकारीहरूको दर्ज्यानी चिह्नमा प्रयोग हुने घामका पहेँला किरणसँग जोडिन्छ। यसलाई परम्परागत कार्टेलभन्दा बढी सैन्य संरचनाभित्र गहिरोसँग जरा गाडेको राज्य–नियन्त्रित लागुऔषध तस्करी प्रणालीका रूपमा हेरिन्छ।

अधिकांश विज्ञहरू मदुरो शासनले कोकिन उत्पादन र तस्करीबाट फाइदा उठाएको कुरामा सहमत छन्।

अभियोगपत्रमा उल्लेख गरिएका मुख्य आरोपमध्ये, सन् २००६ देखि २००८ सम्म परराष्ट्रमन्त्री हुँदा मदुरोले लागुऔषध तस्करलाई कूटनीतिक राहदानी बेचेर मेक्सिकोबाट भेनेजुएलामा अवैध धन ल्याउन सहयोग गरेको आरोप पनि एक हो।

‘जब लागुऔषध तस्करहरूले मेक्सिकोबाट भेनेजुएलामा पैसा सार्नुपर्थ्यो … (मदुरो) ले मेक्सिकोस्थित भेनेजुएलाली दूतावासलाई निजी विमानमार्फत कूटनीतिक मिसन आउँदैछ भनेर जानकारी गराउँथे,’ अभियोगपत्रमा भनिएको छ।

मदुरोले सन् २०१३ मा पेरिसको चार्ल्स दे गोल विमानस्थलमा व्यावसायिक उडानबाट १.३ टन कोकिन बरामद भएपछि लागुऔषध मार्गबारे छलफल गर्न उच्चस्तरीय बैठक बोलाएको आरोप पनि अभियोगपत्रमा छ।

अभियोगपत्र अनुसार मदुरोले सन् १९९९ यता कोलम्बियाका फार्क र इएलएन गुरिल्ला समूह, मेक्सिकोका सिनालोआ र लोस जेटास कार्टेल तथा ट्रम्पले विदेशी आतंकवादी संगठन घोषणा गरेको ट्रेन दे आरागुआ गिरोहसँग साझेदारी गर्दै आएका थिए।

भेनेजुएला ‘सुरक्षा शुल्क तिर्न तयार तस्करहरूका लागि सुरक्षित आश्रयस्थल’ बनेको पनि अभियोगपत्रमा उल्लेख छ।

ट्रम्पले गत अगस्टमा मदुरोको गिरफ्तारीका लागि सूचना दिने व्यक्तिलाई ५ करोड डलर पुरस्कार घोषणा गरेका थिए। अघिल्लो ट्रम्प कार्यकालमा यस्तो रकम १ करोड ५० लाख डलर थियो। पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले गत जनवरीमा यसलाई बढाएर २ करोड ५० लाख डलर पुर्‍यायो। यसले मदुरो लागुऔषध तस्करीमा संलग्न रहेको विषयमा दुवै दलबीच सहमति रहेको संकेत गर्छ।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...