Skip to main content

धनगढी न्यूज

‘परिवारको दुःख र ऋण सम्झेर जति गाह्रो भए पनि काम गरेँ, फर्किन सकिनँ’

Advertisement

तनहुँकी वसन्ती थापा मगर संयुक्त अरब इमिरेट्स (युएई) मा छिन्। रोजगारीका लागि उनी दुई वर्षअघि त्यहाँ गएकी हुन्।

हाउस–किपिङ कामका लागि गएकी उनी त्यहाँको एक अस्पतालमा काम गरिरहेकी छन्। उनको काम सरसफाइ गर्ने, बेड तथा सोफा मिलाउने लगायत हो।

उनलाई नेपालबाटै हाउस किपिङको काम भनिएको थियो। सुरूदेखि नै यही काममा छिन्।

‘तर ८ घन्टाको ९५० दिराम भनेर ल्याइएको थियो। अहिले दैनिक बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १२ घन्टा खट्नुपर्छ,’ वसन्तीले भनिन्।

अहिले आफूले कमाएको पैसाले मन लागे अनुसार खाए मात्र पनि नपुग्ने उनले बताइन्।

‘खाने खर्च आफ्नै हुन्छ। मन लागे अनुसार खायो भने त तलबले पुग्दैन। छाक टार्ने मेलो भएको छ,’ उनले भनिन्।

दुई वर्ष कमाउँदा पनि आफ्नो र परिवारका लागि खासै केही गर्न नसकेको उनी बताउँछिन्। सुरूमा कम्पनीले दुई महिनाको तलब पनि भिसा शुल्क भन्दै कटाएको उनले गुनासो गरिन्।

उनले जाने बेलामा म्यानपावरलाई पनि भिसा शुल्क लगायत शीर्षकमा रकम बुझाएकी थिइन्। त्यहाँ कम्पनीले फेरि भिसा शुल्क लिएको उनको भनाइ छ।

‘नेपालमै म्यानपावरलाई भिसा शुल्क दिएको हो, फेरि किन कटाएको भनेर सोध्दा कम्पनीले त्यो तिमीहरूको कमजोरी हो, किन दिएको त भन्यो,’ उनले भनिन्।

कम्पनीमा सुपरभाइजर नेपाली पनि थिए। नेपाली भएकाले सजिलो होला भन्ने वसन्तीले सोचेकी थिइन्।

‘भाषाका लागि त सजिलै भयो, तर नेपालीले झनै हेप्ने रहेछन्,’ उनले गुनासो गरिन्।

त्यही कम्पनीमा काम गर्ने मात्रै होइन, केही अरू नेपाली पुरूषले पनि खाडीमा काम गर्न गएका महिलालाई हेप्ने प्रवृत्ति देखिएको उनले बताइन्।

‘खाडीमा काम गर्न आएका महिलालाई त नेपालीले हेर्ने नजरिया पनि फरक हुँदो रहेछ,’ उनले भनिन्, ‘हेपेर बोल्ने रहेछन्। व्यवहार उस्तै। धेरै दुःख पाइयो। रोइयो। आज काम गर्न सक्दिनँ भन्दा पनि नसक्ने भए किन आइस् भन्थे। एकदमै गाह्रो भएको थियो।’

वसन्तीले १२ घन्टे ड्युटीमा एक घन्टा खाजा र खाना खाने समय पाउँछिन्। बिहानको खाना आफै ल्याउनुपर्छ। त्यसैले उनी राती नै खाना बनाएर फ्रिजमा राख्छिन् र बिहान खान्छिन्।

अहिले उनीसँग एउटै कोठामा बस्ने अरू ८ जना नेपाली महिला छन्। उनीहरू विभिन्न काममा छन्।

basanti-thapa1-1770130123.jpg
वसन्ती गएको सप्लाई कम्पनी (जनशक्ति आपूर्तिकर्ता) मार्फत हो। उक्त कम्पनीले नेपालबाट विभिन्न कामका लागि युवाहरू लैजान्छ र त्यहाँको श्रम बजारमा आपूर्ति गर्छ।

सुरूमा आफूसँगै २५ जना महिला, पुरूष उक्त कम्पनीमा गएको वसन्ती बताउँछिन्।

उनका अनुसार म्यानपावरले भारतको दिल्ली हुँदै लगेको थियो।

‘एक दिन त दिल्ली विमानस्थलको चिसो भुइँमै भोकै सुत्नुपर्‍यो। पुसको महिना, एकदमै चिसो भयो। खानेकुरा किन्न भारू पनि थिएन, झोलामा भएको चाउचाउ पनि सकिएको थियो,’ उनले भनिन्।

त्यसपछि उनीहरू युएई पुगे। त्यहाँ कतिपयलाई एउटा काम भनेर अर्कै काममा पुर्‍याएको र दुःख दिएको उनले बताइन्।

‘कतिलाई त निकै गाह्रो काममा पुर्‍याएको सुनियो। केही नेपाल फर्किसके,’ वसन्तीले भनिन्, ‘मैले त जस्तो दुःख भए पनि काम गरेँ। परिवारको पीडा सम्झेर, ऋण सम्झेर फर्किन सकिनँ।’

सुरूसुरूमा १२ घन्टा काम गर्दा उनी थाकेर हैरान हुन्थिन्। बिस्तारै बानी पर्दै गयो।

‘भाषा, सीप जानेकाहरूको त राम्रै कमाइ हुने रहेछ। म त धेरै पढेलेखेको पनि छैन। अब कतै राम्रो काम पाइहालिन्छ कि,’ उनले भनिन्।

उनको परिवारमा आमाबुबा, भाइ र भाइबुहारी छन्। आमाबुबा वृद्ध भइसके। त्यसैले उनीहरूका लागि केही गर्न सक्छु कि भन्ने सोचेर परदेश पसेको वसन्ती बताउँछिन्।

‘दुई वर्षको करार सम्झौता सकियो। पाएसम्म अर्को काम खोज्छु। भनेजस्तो नभए त नेपाल नै फर्किनुपर्छ होला। तर फर्किएर के गर्ने भन्ने चिन्ता उत्तिकै छ,’ उनले भनिन्। सेतोपाती बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...