Skip to main content

धनगढी न्यूज

राणा शासन अन्त्य गर्न विदेशी स्वास्थ्यकर्मीहरूको त्यो योगदान

Advertisement

वि.सं.२००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भएर प्रजातन्त्रको स्थापना भयो । त्यसैले यस दिनलाई हामीले विशेष दिनका रूपमा महत्वका साथ सम्झने गर्ने गर्छौँ ।

२००७ सालको राजनीतिक परिवर्तन ल्याउनमा रानजीतिक पार्टी, राजा त्रिभुवन र सचेत नेपाली जनताको प्रत्यक्ष संलग्नता थियो । यसमा भारतीय पक्षले पनि सहयोग गरेको थियो । तर पर्दापछाडि रहेर त्यस राजनीतिक परिवर्तनलाई सहयोग गर्ने व्यक्तित्वहरू थुप्रै थिए । इतिहासमा उनीहरूको खासै चर्चा भएको छैन ।

राणा शासन अन्त्यको अभियानमा केही विदेशी स्वास्थ्यकर्मीहरूले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनीहरूबारे खासै चर्चा भएको पाइँदैन

१.एरिका ल्युक्ट्याग

एरिका ल्युक्ट्याग जर्मन फिजियोथेरापिस्ट हुन् । हिटलरको निरंकुशताका कारण उनी देश छाडेर बेलायतमा शरणार्थी हुनुपरेको थियो । वि.सं.२००५ सालतिर भारतको पटियालाकी महारानीको पाहुना भएर बसेकी थिइन् । सोही समयमा उनलाई एक युरोपियन चिकित्सकले नेपालको राजदरबारमा आई सेवा दिन सिफारिस गर्दै पत्र पठाए । त्यो आग्रह स्वीकार गर्दै उनी काठमाडौं आउन तयार भइन् ।

नेपालको विदेश विभागको अनुमति लिई मासिक २ हजार रुपैयाँ पारिश्रमिक लिने गरी २००५ फागुनदेखि राजा त्रिभुवनकी जेठी महारानी कान्ति राज्यलक्ष्मीको शारीरिक उपचारकका रूपमा दरबारमा प्रवेश गरिन् ।

यसपछि एरिकाको राजा भित्रुवनसँग निकै आत्मीय सम्बन्ध रह्यो । उनीहरू एक–अर्कालाई विश्वास गर्न थाले र आन्तरिक कुराहरू पनि हुन्थे । एरिकाले भित्रुवनलाई अद्धितीय पुरुषत्व भएको व्यक्ति ठानिन् । राजा त्रिभुवनले एरिका नेपालबाट भारत फर्कने बेलामा ‘म अब तिम्रो हातमा छु’ भन्नेसम्मको विश्वास व्यक्त गरेका थिए ।

निकट सम्बन्ध हुन थालेपछि त्रिभुवन र एरिकाको बीचमा राजनीतिक विषयमा पनि कुराकानी हुन थाल्यो । राणाहरूको शासनबाट राजा स्वतन्त्र हुन चाहन्छन् भन्ने कुरा एरिकाले भित्रुवनमार्फत थाहा पाइन् । त्यसमा एरिकाले कसरी सहयोग गर्न सक्छिन् भनेर योजना बन्यो ।

तत्कालीन नेपालका लागि भारतीय राजदूत सुरजीत सिंह मजिठिया र एरिका यसअघि नै परिचित थिए । भारतको पटियाला दरबारमा पहिले नै उनीहरूको भेटघाट र चिनजान भइसकेको थियो । यहाँ पनि उनीहरूबीच नियमित भेटघाट र कुराकानी भइरहन्थ्यो । राणाहरूको निगरानीबाट निराश र हतास राजा त्रिभुवनलाई संवैधानिक राजा भएर बस्ने राजनीतिक वातावरण बनाउन राजदूत मजिठिया र एरिका सहमत भए ।

यस विषयमा मजिठिया र एरिकाबीच छलफल भएपछि राजदूत मजिठियाले तत्कालीन भारतीय प्रधानमन्त्री जवहारलाल नेहरूलाई यसबारे अवगत गराए । उनीबाट भावी योजनाका लागि स्वीकृति लिए ।

त्यसपछि राजा त्रिभुवन, एरिका र राजदूतका बीचमा भावी योजनाका बारेमा कुराकानी गर्ने वातावरण बनाउन एरिकाले रणनीति बनाउन थालिन् ।

राजा र एरिकाको बीचमा चिठ्ठी पत्र आदान–प्रदान गर्नका लागि विश्वासिलो र भरपर्दो व्यक्तिको खोजी भयो । त्यसका लागि त्यो समय वीर अस्पतालमा कार्यरत बंगाली मुलका चिकित्सक डा.देवव्रतदास गुप्ता छानिए । सो कामका लागि डा.गुप्ता पनि तयार भए । उनले दरबारमै गएर राजपरिवारको उपचार पनि गर्थे ।

चिठीपत्रको आदान–प्रदान अति गोप्य हुनु अनिवार्य थियो । त्यसका लागि राजा र एरिकाका बीचमा कुराकानी गर्न कोड भाषाका लागि सांकेतिक शब्दहरू चयन गरियो । जस्तैः भारतीय प्रधानमन्त्री नेहरूलाई ‘डाक्टर’ भन्ने सहमति भएको थियो । त्यसैगरी राणालाई ‘सर्प’, चिठीलाई ‘फूल’, राजदूतलाई ‘चरा’, डाक्टर गुप्तालाई ‘परेवा’, भारतीय सहयोगलाई ‘मिठाइ’, दरबारलाई ‘बगैंचा’ भन्ने गरी कोड शब्दहरू तय गरिएको थियो । यस्ता अन्य थुप्रै सांकेतिक शब्दहरू थिए ।

यी कुराहरू मिलाइसकेपछि करिब ६ महिना काठमाडौं बसेकी एरिका त्रिभुवनसँग विदा भएर भारतको सिमलातिर लागिन् ।

सिमलाबाट एरिकाले राजा त्रिभुवनलाई प्रत्येक दिनजस्तै पत्र लेख्थिन् । ती पत्रहरू डा.गुप्तामार्फत राजा त्रिभुवनको हातमा पर्थ्यो । भारतमा बसेर नेपालीहरूले राणाविरोधी के–कस्ता गतिविधि गरेका छन् ती सबै विवरण एरिकाले त्रिभुवनलाई पठाउँथिन् ।

एरिका भारत गएपछि भारतीय राजदूतले प्रधानमन्त्री नेहरूलाई भेटेर राजा त्रिभुवनलाई नेहरूले लेखेको पत्र लिई नेपाल फर्किए । त्यो पत्र राजाकहाँ पुर्‍याए ।

यस विषयमा त्रिभुवनले एरिकालाई पत्र लेखेका थिए । एरिकालाई पठाएको पत्रमा उनले लेखका थिए, ‘चराले बगैंचामा आएर मलाई डाक्टरको फूल दिए ।’ यस्ता पत्रमा त्रिभुवनलाई एचलाल र एरिकालाई लक्ष्मी भनेर सम्बोधन गरिएको हुन्थ्यो।

यसरी जर्मनमा जन्मिएर स्वीडेनमा शारीरिक चिकित्सा सम्बन्धी तालिम लिई भारतको सिमलामा कार्यरत स्वास्थ्यकर्मी एरिकाले राणा शासनको अन्त्य गर्न योगदान पुर्‍याइन् । उनले राजा त्रिभुवन र भारतीय प्रधानमन्त्री जवहारलाल नेहरूका बीचमा सम्पर्क स्थापित गराइदिने सेतु/सुत्रको काम गरिन् ।

उनी नभएको भए राणा शासनको पतन त्यति छिट्टै सम्भव हुन्थ्यो कि हुँदैन थ्यो ? भन्ने प्रश्न हाम्रोसामु उभिन्छ ।

२.डा.देवव्रतदास गुप्ता

राण शासनको समयमा वीर अस्पतालमा काम गर्ने चिकित्सकहरू भारतका कलकत्ता लगायतका ठूला शहरहरूबाट ल्याइन्थ्यो । डा.देवव्रतदास गुप्ता बंगाली मुलका चिकित्सक थिए । उनी वीर अस्पतालको प्रमुख भएर समेत काम गरे । राजपरिवारको चिकित्सकका रूपमा पनि काम गर्थे । उनले इटालीको रोमबाट चिकित्सासम्बन्धी पढाइ र तालिम लिएका थिए ।

वीर अस्पतालमा कार्यरत रहँदा श्रीमती र ३ छोराछोरीसहित सरकारले उपलब्ध गराएको आवासमा बस्ने गर्थे ।

राणा शासनको अन्त्यतिर एरिका ल्युक्ट्यागको सम्पर्कमा आएपछि राजा त्रिभुवन र एरिकाको बीचमा भएका चिठीपत्रहरूको आदान–प्रदान अन्त्यन्तै गोप्य किसिमले यिनीमार्फत नै हुन्थ्यो । यिनले नेपालस्थित भारतीय दूतावाससँग पनि उत्तिकै नजिक रहेर काम गरे ।

राजा त्रिभुवन र भारतीय राजदूतबीचका भित्री कुराहरू ओसार–प्रसार गर्दथे ।

डा.गुप्ता समाजसेवी दरावीरसिंह कंसाकार, वासुपासाहरूसँग मिलेर राजा त्रिभुवन दिल्लीको शरणमा पुगेपछि ‘राजा छिटो फर्केर नआए नेपालमा अराजकता फैलिन्छ, त्यसकारण राजा र नेता चाँडै फर्किआऊ’ भन्ने कागज बनाएर सामूहिक हस्ताक्षर गराई दिल्ली पठाउने काम गर्थे ।

यसरी डा.देवव्रतदास गुप्ता चिकित्सा सेवामा मात्रै सीमित नभई नेपालको राजनीतिक परिवर्तनको मिसनमा समेत सहभागी बने ।

३.डा.सीता राव

यिनी दक्षिण भारतकी बासिन्दा हुन् । यिनलाई लेडी डाक्टर राव र कसै–कसैले लङ्गडी डाक्टर पनि भन्थे । वि.सं. १९९१ सालदेखि वीर अस्पताल र राजदरबारमा सेवा दिन थालेकी थिइन् ।

यिनले कविकेशरी चित्तधर हृदयकी बहिनी मोलीलक्ष्मी र केही स्थानीयसँग मिलेर म्याक्सिम गोर्कीको ‘आमा’ जस्ता क्रान्तिकारी साहित्यिक पुस्तक र पत्रिकाहरू राजा त्रिभुवनलाई पुर्‍याउँथिन् । यस्ता पत्रिका र पुस्तकहरूको अध्ययनले राजालाई राजनीतिक परिवर्तनको पक्षमा उभिन ऊर्जा मिल्यो ।

४.डा. हजारा

यिनी भारतीय मुलका चिकित्सक हुन् । राणा कालमा वीर अस्पतालमा कार्यरत थिए । डा.देवव्रतदास गुप्ता र अमृत भण्डारका मालिक बीएल शर्मासँग मिली डा.हजाराले राजा त्रिभुवन र भारतीय राजदूतका खबरहरू गोप्यरूपमा आदान–प्रदान गर्दथे । जसले राणा शासन विरोधी आन्दोलनलाई सहयोग पुर्‍यायो ।

००० ०००

यहाँनेर भुल्नै नहुने विषय के छ भने एरिका ल्युक्ट्यागलाई नेपालको राजदरबारमा आउन प्रेरित गर्ने युरोपियन चिकित्सक र बेलायती राजदूतावासमा काम गर्ने धेरै बेलायती चिकित्सकहरूको पनि राणा शासन अन्त्य गर्न योगदान छ ।

उनीहरूले नेपथ्यमा रहेर राणा शासनको अन्त्य र नागरिक अधिकारका लागि योगदान दिएका थिए । उनीहरूको बारेमा पनि खोजी र अनुसन्धान आवश्यक छ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...