Skip to main content

धनगढी न्यूज

चुनावको मुखमा रास्वपा छोडेर कांग्रेस फर्किएका यी नेता

Advertisement

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेससँग असन्तुष्ट भएर विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका धेरै नेता-कार्यकर्ता पुनः कांग्रेसमै फर्केका छन् । उनीहरूले विशेष महाधिवेशनबाट कांग्रेस परिवर्तन भएकोले रास्वपा परित्याग गरी पुरानै दलमा फर्किएको जिकिर गरेका छन् ।

रास्वपा स्थापनाकालीन मूल्य, मान्यताविपरीत चल्न थालेकोले पार्टी परित्याग गरेको उनीहरूको भनाइ छ । उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्सनको नाममा पैसा उठाएर फरक तरिकाले उम्मेदवार चयन गरिएको भन्दै उनीहरूले चरम असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टीको सिद्धान्त र विधान कुल्चिएर निर्णय हुने गरेको एवं आर्थिक अनियमितता भएको आरोप रास्वपा परित्याग गर्नेहरूले लगाएका छन् ।

चुनावी प्रचारकै क्रममा जिल्लादेखि प्रदेशसम्मका उच्च तहका नेताहरूले रास्वपा छोडेका छन् । रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा, पूर्वखेलकुद मन्त्री विराजभक्त श्रेष्ठका विज्ञ सल्लाहकार प्रणय शमशेर राणा, बागमतीका उपसभापति दिनेश हुमागाईं, मकवानपुरका सभापति भरत पराजुली, गत निर्वाचनकी उम्मेदवार उर्मिला भुर्तेल लगायतले रास्वपा छोडेका छन् । शर्मा, राणा, हुमागाईं र पराजुलीलाई कांग्रेस सभापति गगन थापाले पार्टीमा प्रवेश गराएका छन् ।

रास्वपाले प्राइमरी इलेक्सनको नाममा आर्थिक अपचलन गरेको विषय प्रारम्भमा प्रणय शमशेर राणाले उठाएका थिए । गत निर्वाचनमा काठमाडौं-५ बाट रास्वपाका उम्मेदवारसमेत रहेका राणा उक्त दलको गुनासो व्यवस्थापन विभागमा कार्यरत थिए ।

यस पटक काठमाडौं-५ मा उम्मेदवारका आकांक्षी रहेका राणाले रास्वपामा आर्थिक घोटाला देखेर आफू बस्न नसकेको बताएका छन् । उनी ७ फागुनमा कांग्रेस प्रवेश गरेका हुन् ।

उनी उम्मेदवार छनोट प्रक्रियामै आर्थिक अपलचन गर्ने दलले भोलि सरकारमा हुँदा यस्तै प्रवृत्ति देखाउन सक्ने संशय व्यक्त गर्छन् । राणा भन्छन्, ‘प्रारम्भिक मतदानबाट प्राप्त अंकलाई नै फाइनल गर्नुपर्छ भन्दै आएको हुँ । प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने विधान राखिएको छ । आन्तरिक लोकतान्त्रिक प्रक्रिया अबलम्वन गरिएन ।’

दिनेश हुमागाईंलाई कांग्रेसमा स्वागत गर्दै गगन थापा ।

रास्वपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने विधि बनाए पनि लागु भने गरेन । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह पक्षसँग एकता भएकोले विधि लागु हुन नसकेको रास्वपा नेताहरूले बताउँदै आएका छन् ।

प्राइमरी इक्लेसनबाट प्रत्यक्षतर्फ उम्मेदवार हुने आकांक्षीलाई २५ हजार र समानुपातिकतर्फ ५० हजार रुपैयाँ शुल्क तोकिएको थियो । पार्टीले तोकेको विधिअनुसार उम्मेदवार छनोट नभएपछि नेता-कार्यकर्ताले रास्वपामा चर्को असन्तुष्टि राख्दै आएका छन् ।

धादिङ-१, सिन्धुपाल्चोक-२ लगायतका क्षेत्रमा रास्वपाले उम्मेदवार छनोट गर्दा पार्टी कार्यालयमा ती क्षेत्रका नेता-कार्यकर्ताले विरोध गरेका थिए ।

समानुपातिकमा १० प्रतिशत प्रवासी नेपालीबाट उम्मेदवार बनाउने नीति बनाए पनि लागु गरिएन । ‘बाहिर सुनाउन सुशासन, जवाफदेहिता, पारदर्शिता भनिरहनुभएको छ । चुनावको मुखमा त्यत्रो प्राइमरी इलेक्सनमा स्क्याम गर्नुभएको छ,’ कांग्रेस प्रवेश गरेका राणा भन्छन् ।

रास्वपा परित्याग गर्नेहरू कतिपय कार्यक्रममार्फत कांग्रेस प्रवेश गरेका छन् । केही भने सभापति थापालाई सर्लाही पुगेर भेटी कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेसले ६ फागुनमा जनकपुरमा गरेको प्रतिज्ञा सभामा मधेश प्रदेश रास्वपा संस्थापक सभापति ममता शर्मा कांग्रेस प्रवेश गरेकी थिइन् । बागमतीका उपसभापति हुमागाईं र मकवानपुरका सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरे ।

पुराना दलको जस्तो विकृति नगर्ने भन्दै आएको रास्वपाले विधिलाई धज्जी उडाएको शर्मा बताउँछिन् । ‘रास्वपामा विधि प्रक्रियालाई पूरै धज्जी उडाइएको छ । आयातितलाई उम्मेदवार बनाउने काम गरियो । नयाँ भन्दै मुद्दै मुद्दा, दागै दाग भएकालाई टिकट दिएर पठाए,’ शर्माले भनिन् । उनी अहिले सभापति थापाको चुनावी प्रचारमा खटिएकी छन् ।

गत निर्वाचनमा रास्वपाबाट काभ्रे-२ का उम्मेदवार रहेका हुमागाईं मंगलबार सर्लाही पुगेर कांग्रेस प्रवेश गरे । त्यतिबेला हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरेका थिए । गगन थापा त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति हुँदा नेविसंघमा रहेका हुमागाईं विशेष महाधिवेशनबाट कांग्रेस नयाँ भएर आएको बताउँछन् ।

विशेष महाधिवेशनबाट कांग्रेसमा रहेका विकृति र विसंगति हटेको हुँदा आफू पुरानै पार्टीमा प्रवेश गरेको उनले बताए । प्रवेशसँगै उनले रास्वपाबारे भने, ‘पहिलेको कांग्रेसमा रहेको दाइ-भाउजु प्रथाभन्दा रास्वपामा महादाइ-भाउजु प्रथा छ । त्यो विकृति र विसंगतिलाई सहन नसकेर कांग्रेस प्रवेश गरेको हुँ ।’

३० वर्ष बढी समय कांग्रेसमा क्रियाशील रहेर रास्वपामा गएका मकवानपुरका नेता भरत पराजुली पनि सर्लाही नै पुगेर कांग्रेसमा प्रवेश गरे । रास्वपा गठन भएको दोस्रो महिना २०७९ साल साउनदेखि पराजुली रास्वपामा थिए ।

मकवानपुरका संस्थापक सभापति पराजुलीले गत निर्वाचनमा मकवानपुर-२ बाट १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए ।

कांग्रेस फर्किएपछि भरत पराजुलीसँग खुसी साटासाट गर्दै गगन थापा ।

‘समय क्रममा पार्टी भित्र देखिएका प्रवृत्तिले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो । हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं,’ पराजुली भन्छन्, ‘व्यवहारमा त्यसको ठिकविपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो । सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो ।’

रास्वपामा व्यक्तिको चाकरी गर्ने र आर्थिक प्रभावका आधारमा अघि बढ्ने प्रवृत्ति रहेको हुँदा उक्त दल परित्याग गरेको उनी बताउँछन् ।

अघिल्लो पटक प्रतिनिधिसभा उम्मेदवार रहेकी खेमकुमारी (उर्मिला) भुर्तेलले पनि रास्वपा परित्याग गरेकी छन् । गत निर्वाचनमा मधेशबाट महिलामा रास्वपाबाट उनी एक्लो उम्मेदवार थिइन् ।

‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ नाराबाट प्रेरित भएर रास्वपामा आवद्ध भएको तर त्यस अनुसारको शैली पार्टीले अबलम्वन नगरेको हुँदा सदस्यता त्यागेको उनले बताइन् ।

‘पार्टी विधि-विधान विपरीत चाप्लुसीवाद र आर्थिकवादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाई नारामा मात्र सीमित राखिएको छ,’ भुर्तेल भन्छिन् ।

पार्टी भित्र भ्रष्टाचार, नेता-कार्यकर्ताको उचित मूल्यांकन नहुने, विधि र विधानविपरीत क्रियाकलापहरू हुँदा आत्मसम्मान र राजनीतिक मूल्यमा आँच आएको उनले बताएकी छन् ।

रास्वपा छिरेका नवलपुरका नेताहरू पनि कांग्रेसमै फर्किएका छन् । उपसभापति विश्वप्रकाश शर्माले गैडाकोट पुगेर उनीहरूलाई भित्र्याएका हुन् ।

विगतमा लामो समय कांग्रेसको राजनीति गरेको र रास्वपा प्रवेश गरेका नवलपुरका नेताहरू करुणासागर सुवेदी र ललित श्रेष्ठ कांग्रेसमै फर्किएका हुन् ।

साथै, गैंडाकोटमा भएको कार्यक्रममा कलाधर पौडेल र डेमप्रसाद पौडेल पनि कांग्रेसमा फर्किएका छन् । सुवेदीलाई रास्वपाले केन्द्रीय सहकारी विभाग सदस्य बनाएको थियो भने श्रेष्ठ श्रम विभागको उपसंयोजक थिए ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...