Skip to main content

धनगढी न्यूज

स्मार्ट फोनको लेन्स : नागरिकको आँखा कि भीडको ढुंगा ?

Advertisement

आजको समाजमा दुईवटा अदालत समानान्तर चलिरहेका छन् । एउटा संविधानले बनाएको ‘कानुनी अदालत’, अर्को स्मार्टफोनले जन्माएको ‘डिजिटल अदालत’ । पहिलोले प्रमाण खोज्छ, दुवै पक्ष सुन्छ र समय लिएर बोल्छ ।

दोस्रोले १० सेकेन्डको क्लिप हेर्छ, तुरुन्तै फैसला सुनाउँछ र क्षणभरमै सजायँको घोषणा गर्छ । हामी यही डिजिटल भीडतन्त्रको दोसाँधमा उभिएका छौँ ।

क्यामेरा : नागरिकको आँखा कि भीडको ढुंगा ?

पछिल्लो समयमा अरूको अनुमतिबिना भिडियो खिच्ने र सामाजिक सञ्जालमा ‘भाइरल’ बनाउने होडबाजी नै चलेको छ । कतिपय अवस्थामा यसले सकारात्मक परिवर्तन पनि ल्याएको छ भन्दा फरक नपर्ला ।

अस्पतालका ढिलासुस्ती, सरकारी अड्डाका भ्रष्टाचार र शक्तिमा बस्नेहरूको अहंकारलाई नागरिकको यो सानो लेन्सले सिधा चुनौती दिएको छ । यस अर्थमा क्यामेरा कहिलेकाहीँ ‘नागरिकको तेस्रो आँखा’ बनेको छ ।

तर, समस्या तब सुरु हुन्छ जब यही क्यामेरा न्यायको तराजु नभएर, भीडको हातमा परेको ढुंगा बन्न पुग्छ । जसले नाप्दैन, सिधै प्रहार गर्छ । क्यामरा पछाडिको परिदृष्यि बुझ्ने र बुझाउने अवसर हुदैन ।

विश्वव्यापी ऐना : जर्ज फ्लोडदेखि कोभिङ्गटनसम्म

विश्व इतिहासमा यसता भिडियाहरूले शासन सत्ता हल्लाइदिएका प्रशस्त उदाहरणहरू छन् । अमेरिकामा सन् २०२० मा जर्ज फ्लोड (४६ वर्षीया काला अमेरिकन) लाई ४४ वर्षीया गोरा प्रहरीले मारेको प्रकरण सायद संसारले बिर्सन सक्दैनन् । सो प्रकरणमा एक नागरिकले खिचेको भिडियो सत्यको अचुक साक्षी बन्यो, जसले प्रणालीगत रंगभेदविरुद्ध विश्वव्यापी चेतना जगायो । त्यहाँ भिडियो नै ‘न्यायको औजार’ थियो ।

तर, यसको अर्को पाटो पनि छ । सन् २०१९ मा कोभिङ्गटन क्याथोलिक हाई स्कुलको एउटा सानो भिडियो भाइरल भयो । एक किशोरको सानो भिडियोलाई गलत व्याख्या गरियो । विश्वभरिबाट उसलाई ‘नश्लवादी’ भन्दै गालीको वर्षा भयो । तर जब केही दिनपछि पूरा भिडियो बाहिर आयो, कथा अर्कै पाइयो । अदालतले पछि ती किशोरलाई निर्दोष ठहर गर्‍यो र मिडिया हाउसहरूमाथि जरिवाना लगायो ।

त्यो बीचमा उसले भोगेको मानसिक प्रताडना र ‘सामाजिक मृत्यु’ को क्षतिपूर्ति कसले गर्ने ?

युरोपले यसैलाई बुझेर जिडिपिआर अर्थात जेनेरल डाटा प्रोटेक्सन रेगुलेसन जस्तो कठोर कानुन लागू गरेको छ । त्यहाँ ‘राइट टु बि फर्गटन’ (अर्थात बिर्सन पाउने अधिकार) को व्यवस्था छ । कसैको व्यक्तिगत जीवन वा कार्यस्थलको भिडियो उसको अनुमतिबिना सार्वजनिक गर्नुलाई त्यहाँ ‘गोपनीयताको गम्भीर उल्लंघन’ मानिन्छ ।

सभ्य समाजले ‘पब्लिक इन्ट्रेस्ट’ (सार्वजनिक हित) र ‘पब्लिक क्युरिसिटी’ (सर्वसाधारणको कौतुहलता) एउटै कुरा होइनन् भन्ने यर्थातलाई बुझ्नैपर्छ । कसैको अपमान गरेर भीडलाई मनोरञ्जन दिनु सार्वजनिक हित हुनै सक्दैन ।

नेपालको सन्दर्भ : कानुन भर्सेस स्मार्ट फोन

यो देश नेपालको संविधान २०७२ ले चलेको छ । यही संविधानले हामीलाई बोल्ने अधिकार दिएको छ, हाम्रो स्वतन्त्रता कायम गरेको छ । यसै संविधानको धारा २८ ले प्रत्येक नागरिकलाई गोपनीयताको मौलिक हक दिएको छ । मुलुकी अपराध संहिता २०७४ र गोपनीयता सम्बन्धी ऐन २०७५ ले ‘अनुमतिबिना कसैको तस्बिर खिच्नु वा त्यसलाई सार्वजनिक गर्नु दण्डनीय अपराध हो’ भनेर स्पष्ट गरेको छ । विद्युतीय कारोबार ऐन २०६३ ले त झन् भ्रामक सामग्री वा चरित्रहत्या गर्ने पोस्टलाई अपराधकै रूपमा हेर्छ । तर विडम्बना, आज कानुनको ठेली दराजमा छ र फैसला फेसबुकको ‘कमेन्ट बक्स’ मा भइरहेको छ ।

एउटा अदृश्य घाउ : पात्र बन्दाको पीडा

कल्पना गर्नुहोस्, तपाईं एक शिक्षक÷प्रध्यापक हुनुहुन्छ । २० वर्षदेखि शिक्षा दिँदै आउनुभएको छ । कक्षामा एक दिन एक विद्यार्थीले बारम्बार अवज्ञा गर्छ, तपाईंले उसलाई कडाइ गर्नुभयो । कसैले मोबाइल उठाएर १० सेकेन्डको भिडियो खिच्यो । क्याप्सन राखियो, ‘निर्दयी शिक्षक’ । भिडियो भाइरल भयो ।

१० मिनेटपछि त्यो भिडियो तपाईंको सन्तानको मोबाइलमा पुग्छ । उसले आफ्ना बुबा वा आमालाई ‘अपराधी’ को रूपमा देख्छ । त्यो १० सेकेन्डभन्दा अगाडिको कथा के थियो ? कसैले सोध्दैनन् । तर सबैले निर्णय सुनाउँछन्, ‘यो दोषी हो, यस्ता शिक्षकलाई चटकाउनुपर्छ ।’ यस्ता अनेकथरीका सजाय सुनाइन्छ । त्यो क्षणमा तपाईं एक व्यक्ति रहनुहुन्न । तपाईं कसैको ‘भ्यूज’ र ‘लाइक’ बढाउने ‘कन्टेन्ट’ मात्र बन्नुहुन्छ ।

यो प्रवृत्तिले आज कयौँ इमानदार सेवाग्राहीलाई हतोत्साहित बनाएको छ । कतिले मानसिक तनावका कारण सेवा नै छाडेका छन् । नेपालमा पनि यस्ता दृश्यहरू नयाँ होइनन् । अस्पतालमा, सरकारी कार्यालयमा, ट्राफिक चेकपोस्टमा सानो क्लिप कैद हुन्छ, र बाँकी कथा अनुमानले लेखिन्छ । कहिलेकाहीँ त्यसले गलतलाई उजागर गर्छ, तर धेरैपटक त्यसले अधुरो सत्यलाई पूर्ण निर्णय बनाइदिन्छ।

समस्या भिडियो होइन । समस्या त्यो क्षण हो, जब हामी भिडियो हेरेर आफैँ न्यायाधीश बन्छौँ । समस्या त्यो मनोवृत्ति हो, जहाँ हामी ‘के भयो ?’ भन्दा पहिले ‘को दोषी ?’ भनेर निर्णय गर्छौं ।

निष्कर्ष : नागरिक हौँ कि दर्शक ?

भिडियो खिच्नु र प्रमाण संकलन गर्नु नागरिकको कर्तव्य हुन सक्छ, तर त्यसलाई ’डिजिटल अदालत’ मा हालेर न्यायको ढोंग गर्नु अन्याय हो । यदि प्रमाण छ भने सम्बन्धित निकायमा बुझाउनुस्, प्रहरीलाई दिनुस्, अख्तियारमा पठाउनुस् । तर कसैको अनुमति विना उसलाई ‘भाइरल’ बनाएर सामाजिक संहार नगर्नुस् । किनकि भीडले कहिल्यै सुन्दैन, भीडले केवल प्रतिक्रिया दिन्छ । गलतलाई रोक्न भिडियो चाहिन्छ, तर न्याय गर्न ’विवेक’ नै चाहिन्छ ।

अन्त्यमा, आफैँलाई सोध्नुहोस् । हामी कस्तो समाज बनाउँदै छौँ ? जहाँ क्यामेरा सत्यको साक्षी बनोस् कि जहाँ क्यामेरा कसैको जीवन ध्वस्त पार्ने हतियार बनोस् ?अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...