
हेटौँडा । पूर्वसहमति अनुसार आफ्नो पक्षबाट ३ मन्त्री नियुक्ति र शपथ ग्रहणको बटम लाइनमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा अडिग रहँदा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई विश्वासको मत लिन असहज हुँदै गएको छ ।नेपाली कांग्रेसका १४ सांसदको नेतृत्व गरिरहेका पूर्वमुख्यमन्त्री लामा आफूसँगको सहमति अनुसार ३ सांसदलाई मन्त्री बनाउनुपर्ने बटम लाइन पूरा हुनुपर्ने अडानमा छन् ।

सहमति कार्यान्वयन नभए लामा नेतृत्वको टोली सांसद पदबाट सामूहिक राजीनामासम्मको रणनीतिमा छ । लामा टोली सहमति कार्यान्वयन नभए नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने पक्षमा देखिएको छ ।
मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने तयारी गरेका छन् । त्यसअघि उनले आफ्नै संसदीय दलको विश्वास जित्नुपर्ने चुनौती खडा भएको छ ।
बानियाँले संसदीय दलको नेतामा लामालाई पराजित गरेका थिए । संसदीय दलमा पराजित गरेसँगै मुख्यमन्त्री पदबाट राजीनामा दिन लामामाथि नैतिक दबाब बढेको थियो ।
यतिबेला लामा पक्ष पनि बानियाँसँग बदला लिने मुडमा पुगेको छ । बागमती कांग्रेस संसदीय दलमा प्रत्यक्ष रूपमा दुई धार देखिएको छ । विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री बानियाँ केही दिनदेखि काठमाडौँमै बसेर पार्टीका शीर्ष नेतासँग अनुकूल परिस्थिति निर्माण गरिदिन लबिङ गरिरहेका छन् ।
पूर्वमुख्यमन्त्री लामा पनि साउन २० देखि काठमाडौँमै रहेर छलफल गरिरहेका छन् । पूर्वसहमति अनुसार आफ्ना पक्षका ३ जना (गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठ)लाई मन्त्री नियुक्त गर्नुपर्ने उनको अडान छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिनु अघि नै आफ्ना पक्षका तीन जनालाई मन्त्री बनाउनुपर्ने उनको माग छ । सहमति कार्यान्वयन नभए विश्वासको मत नदिने तयारी भइरहेको सो पक्षका एक सांसदले रातोपाटीलाई बताए । परिस्थिति अनुकूल नभए संयुक्त रूपमा राजीनामा दिने भन्ने विषय पनि उठेको पूर्वमुख्यमन्त्री लामाले समेत स्वीकार गरे ।
‘हामी छलफलमा छौँ । मुख्यमन्त्रीले हामीलाई समेट्न सक्नु भएको छैन । हामी सहमति अनुसार अघि बढ्नुपर्छ भन्ने मागमा छौँ,’ उनले भने, ‘उहाँहरूले समेट्न खोज्नु भएको छैन ।’
आफूहरूले मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गरिनसकेको पूर्वमुख्यमन्त्री लामाको भनाइ छ । उनले भने, ‘अन्तिम विकल्पको रूपमा राजीनामाको प्रस्ताव पनि आएको हो । त्यो अन्तिम विकल्प हो । हामी अझै छलफलमा छौँ । हामी सामूहिक निर्णय गरेर अघि बढ्छौँ ।’
लामा पक्षमा रहेका सांसद उत्तम जोशीका अनुसार काठमाडौँमा सहमति कार्यान्वयन, सरकारको विश्वासको मतका विषयमा छलफल भइरहेको छ । आज पनि बैठक जारी रहेको र निष्कर्ष निस्किन बाँकी रहेको उनले बताए ।
कुनै व्यक्ति केन्द्रित भएर नागरिकहरूको मतको अवमूल्यन गर्न नहुने जोशीले बताए । सहमति कार्यान्वयनका लागि अन्य विकल्पमा छलफल गरेर अघि बढ्नुपर्ने उनी बताउँछन् । राजीनामा गर्ने भन्दा पनि पार्टीको निर्देशन पालना गर्नुपर्ने उनको भनाइ छ । पूर्वसहमतिका विषय छलफलबाट समाधान गर्नुपर्ने उनले बताए ।
यता सांसद तीर्थ लामा पार्टीले संस्थागत रूपमा निर्णय गरेर अघि बढेपछि स्वीकार गर्नुपर्ने बताउँछन् । मुख्यगरी कांग्रेस सभापति शेरबहादुर देउवा, बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँबिच निर्णय भइसकेको र सोही अनुसार अघि बढ्नुपर्ने उनले बताए । उनका अनुसार कसले के भन्छ, कसलाई बनाउने भन्दा पनि पार्टीको नेतृत्वभन्दा बाहिर सरकार जानु हुँदैन भन्ने निष्कर्षमा सबै तयार छन् ।
पार्टीभित्र सन्तुलन मिलाउन नसकिरहेका बखत नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि सङ्कट बढेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले साउन २७ मा विश्वासको मत लिने तयारी गरेका छन् ।
साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँ पछिल्लो समय आफ्नै पार्टीका नेता तथा पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाको अडानपछि समस्यामा देखिएका हुन् ।
मुख्यमन्त्री बानियाँ संसदीय दलबाट ह्वीप जारी गरेर विश्वासको मत लिने पक्षमा छन् । सो अवस्थामा कांग्रेसका ३७ मध्ये बहादुर पक्षका १४ सांसदले धोका दिए सरकार नै ढल्ने अवस्था निम्तिन्छ ।
११० सदस्यीय बागमती प्रदेश सभामा बानियाँलाई सरकार जोगाउन कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा एमालेको २७ मत स्पष्ट रूपमा बानियाँको पक्षमा खस्नेछ । साझेदार दल एमालेबाट उनलाई विश्वासको मत दिन कुनै समस्या छैन । तर, मुख्यमन्त्री बानियाँ आफ्नै दलबाट दबाबमा छन् । ह्वीप जारी गरे पनि फ्लो क्रसको चुनौती कायमै हुने देखिन्छ ।रातो पाटी बाट साभार






