कञ्चनपुरः डुबानमा परेका दोधरा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन्।
दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए। बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर फिर्ता हुन नसकेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीको बाढी बस्ती पस्दा ५४ घर डुबानमा परेका छन्। डुबानमा परेका दुई सय १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापनमा परेका परिवार नजिकको विद्यालयमा बस्दै आएका छन्।
त्यसैगरी, वडा नं १० शान्ति टोलका १२ घरका ४० जनालाई अम्विका माध्यमिक विद्यालयमा राखिएको छ। सोही वडाको सुन्दरनगरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालय र कञ्जभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ। समयमै उद्धारकार्य गरिँदा बाढीजन्य विपद्का कारण हुने अप्रिय घटना भने हुन नपाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। उनका अनुसार महाकाली नदीमा पानीको बहाव घट्दो क्रममा रहेको छ।









