Skip to main content

धनगढी न्यूज

एक रातको जीवन बाँच्ने बैंसालु फूल

Advertisement

चकमन्न मध्यरात । प्राणी जगत चिर निद्रामा छ । सूर्य विपरीत ध्रुवमा छ । हावाको चाल सुस्त छ । धेरैका लागि यो ऐठन पार्ने समय पनि हो । तर एउटा फूल आफ्नो बैंसको उत्कर्षमा गइरहेको छ ।

Parijat Flower at night

उसले आफ्नो आसपास लठ्ठै पार्ने सुवास सुस्तरी छर्दैछ । जो चाँडै हावामा कतै विलय हुनेवाला छ । सायद आसपासकै अन्य बोटबिरुवाहरूलाई थाहा छैन, ऊ एउटा अनमोल सौन्दर्य जन्माइरहेको छ । भेउ पनि कसरी पाउन्, उनीहरूको चक्र फरक छ । जीवन फरक छ। ऊ एउटा कुनै रहस्यभन्दा कमको छैन ।

ऊ एक रातमै फुल्छ । फुलेको केही घण्टामै कसैको पर्वाह नगरी झरिदिन्छ । त्यो पनि चुपचाप । मानौं, ऊ आफ्नो कुनै क्रिया अरूलाई देखाउनै चाहँदैन । सत्य यो हो कि, ऊ त झरिदिँदा पनि जीवन जन्माइरहेको हुन्छ ।

Fallen Parijat flowers

खासमा झरेपछि नै उसको नयाँ अवतार तयार हुन्छ । लाग्छ, शान्त र अन्धकार रातमा उसको स्पर्श गर्न जमिन पनि वर्षौंदेखि तयार छ । त्यसैले त उसको स्वागतमा जमिनले शीतलाई रोकेर राक्छ ।

Carpet of Parijat flowers

त्यसबखत सूर्य बिहानीको प्रहरभन्दा टाढै हुन्छ । सूर्य पूर्वी क्षितिजमा उदाइसक्दा त ऊ बोटबाट जमिनमा बसाईं सरिसकेको हुन्छ । त्यो बखत हुने पुष्प वर्षात, जो संसारकै दुर्लभ दृश्य जस्तै हुन्छ । जसलाई कुनै स्वैरकाल्पनिक क्षण भन्दा फरक पर्नेवाला छैन । त्यसपछि पुष्पले छपक्कै पार्ने जमिन, फैलिएको मोहनी सुगन्ध– कुनै प्रेमिल मिलन भन्दा भिन्न हुँदैन ।

Parijat flower blooming GIF
क्रेडिट: माई टेरेस गार्डेन, युट्युब

यसरी जन्मन्छ, सेतो र सन्तुलित सुन्तला रङको एउटा फूल । जुन सुन्दर, मनमोहक छ । सुगन्धित र चित्ताकर्षक छ । सांस्कृतिक र धार्मिक महत्वको छ । जसमाथि विभिन्न कथाहरू बुनिएका छन् । साहित्य सिर्जना गरिएका छन् । जसलाई धेरै उपमा दिइएको छ । रूप, रहस्य र सुगन्धका कारण चर्चा गरिएको छ । नाम हो- पारिजात ।

प्रेम पाएको वनस्पति, रातकी रानी जस्ता नामले बोलाइने पारिजातलाई कुल्चन हुन्न भनिन्छ । बोटबाट सोझै टिप्न हुन्न भनेर सुझाइन्छ । अन्य फुलहरू सोझै बोटबाट टिपिँदा पारिजात मात्र यस्तो फूल हो, जसलाई झरेपछि मात्र टिपेर मन्दिरमा चढाइन्छ । जुन आफैंमा सांस्कृतिक विरोधाभास हो ।

Parijat flowers collected

कथनहरू र कथाहरू

कथनहरू अनुसार पारिजात देवताहरूको प्रिय फूल हो । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले पारिजात सम्बन्धी तीन कथा सुनाएका छन्:

कथा १: कृष्ण, सत्यभामा र रुक्मिणी

कृष्णका दुई प्रेमिका सत्यभामा र रुक्मिणीलाई पारिजात असाध्यै मन पर्थ्यो । तीमध्ये सत्यभामाले कृष्णलाई आफ्नो बगैँचामा यो फूल ल्याइदिन आग्रह गरिन् । कृष्ण स्वर्गमा गएर अनेक किसिमले कुराकानी गरेर पारिजातको फूल लिएर आए । र, त्यो फूल सत्यभामाको बगैँचामा रोपिदिए । तर, अर्की प्रेमिका रुक्मिणीले आफूले फूल किन पाइन भनेर गुनासो गरिन् । तब कृष्णले त्यो फूललाई दुवै प्रेमिकाको बगैँचाको सिमाना रोपिदिए । पारिजातको फूल राति फुल्छ र बिहानैपख झर्छ । यही विशेषताका कारण कृष्णले यसरी रोपेका थिए कि फूल झर्दाखेरि दुवै (सत्यभामा र रुक्मिणी) को बगैँचामा झरोस् ।

कथा २: राजकुमारी र सूर्य

एउटी राजकुमारी थिइन् । उनको सूर्यसँग प्रेम बस्यो । तर, पछि सूर्यले उनलाई धोका दिए । त्यसबाट राजकुमारी एकदमै दुःखी भइन् । प्राण नै त्याग गरिन् । उनको शरीरबाट (कसैले शरीरको खरानीबाट पनि भनेका छन्) पारिजातको बोट उमारे । त्यसकारण सूर्यको अनुहार हेर्न नपरोस् भनेर पारिजात सूर्य उदाउनु भन्दाअघि नै झर्छ ।

कथा ३: इन्द्र र इन्द्र जात्रा

इन्द्रकी आमालाई पारिजातको फूल साह्रै मनपर्थ्यो । त्यो फूल उनलाई जसरी पनि चाहियो । त्यसपछि पारिजातको फूल खोज्दै काठमाडौं उपत्यकामा इन्द्र आए । भेट्टाए र फूल टिप्न लागे । तर, स्थानीय मानिसहरूले इन्द्रलाई चोर ठानेर समाते । उनीहरूले इन्द्रलाई हातखुट्टा बाँधेर इन्द्र चोकमा राखेर जात्रा गरे । त्यसैबाट इन्द्र जात्रा सुरु भयो।

वैज्ञानिक पक्ष

काठमाडौं विश्वविद्यालयका कृषि विभागका सहायक प्राध्यापक डा. नवल श्रेष्ठका अनुसार पारिजातलाई नेपाल र भारतमा पवित्र फूलका रूपमा चिनिन्छ । यो निशाचर वनस्पति हो । अर्थात् यसको परागसेचन र फुल्ने काम सबै रातमा मात्र हुने गर्छ ।

Parijat plant

पारिजातले रातमा सक्रिय हुने कीराहरूलाई आकर्षित गर्न फुल्ने र त्यसैबाट परागसेचन प्रक्रिया हुने डा. श्रेष्ठको भनाइ छ । पारिजातको सुगन्ध रातमा एकदमै कडा हुन्छ । तर बिहान घाम लाग्नेबित्तिकै यसको सुगन्ध कम हुँदै जान्छ । र, फूल बोटबाट झरिहाल्छ। पारिजातको ठूलो रुख हुँदैन । पारिजातको बोट १ देखि डेढ/दुई मिटरसम्म मात्र अग्लो हुन सक्छ । यो मुख्यतः तराई तथा पहाडी भेगमा बढी पाइन्छ ।

Parijat flowers on plant

पारिजातमा पनि धेरै जात हुन्छन् । ती सबैबाट मिठो बासना आउँछ । तर यसको पात अन्य बोटविरुवाको भन्दा एकदमै खस्रो हुन्छ । यसरी खस्रो हुनुको कारण यो वृक्षलाई कीरा-फट्यांग्राले नखाऊन् भन्ने हो । यो मुख्यत: शरद ऋतुमा नै फुल्ने गर्छ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...