जसले छोरा विदेश नजाऊन् भनेर ३ करोडमा खोलिदिए ‘द मसल ग्यारेज’

यही कात्तिकमा दाङको तुलसीपुरमा ‘द मसल्स ग्यारेज’ खुलेको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँमा खुलेको यो ग्यारेज सवारी साधन बनाउने ठाउँ होइन, शरीर बनाउने ठाउँ हो।

अर्थात्, यो हो जिम क्लब।

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष ललितजंग शाह र उनकी श्रीमती यमुना कँडेल शाहले आफ्ना छोराका निम्ति यो क्लब खोलिदिएका हुन्।

विदेश जान तम्सिएका छोरा प्रतीकजंगलाई स्वदेशमै रोक्न आधुनिक क्लब खोलिदिएको ललितले बताए।

प्रतीक भारतको बैंगलुरूबाट कम्प्युटर इन्जिनियरिङ सकेर दुई वर्षअघि घर फर्किएका थिए। त्यसपछि उनको सोच विदेश जाने थियो।

छोराले म यहाँ बस्दिनँ, यहाँ के गर्नु, अमेरिका जान्छु भन्थ्यो। मैले विदेश नजा, बरू आफ्नै ठाउँमा केही काम गर्, त्यो कामले अरूलाई पनि रोजगारी दिन्छ भनेँ,’ ललितले सुनाए, ‘के काम गर्ने हो, लगानी गरिदिन्छौं भनेँ।’

उनका जेठा छोरा बबिनजंग अमेरिकामा छन्। कम्तीमा एक छोरालाई स्वदेशमै अड्याउने चाहना शाह दम्पतीको थियो।

प्रतीकले आफ्नो अडान छाडेका थिएनन्। आमाबुबा र छोराबीच झन्डै ६ महिनासम्म दिनहुँ यही विषयमा छलफल भइरह्यो।

अन्ततः जिम क्लब खोलेर चलाउने सहमति भयो।

 

प्रतीक जिम गर्न निकै रूचाउँछन्। उनले आफूलाई विदेश जान नदिने हो भने तुलसीपुरमै एउटा आधुनिक जिम क्लब खोलिदिनू भने।

सोही अनुसार उनीहरूले गोरखा बोर्डिङ स्कुल नजिकै बरूवा गाउँमा करिब ८ कट्ठा जमिन भाडामा लिए। सो जमिन मासिक ४० हजार रूपैयाँभन्दा बढी भाडा तिर्ने गरी १७ वर्षका लागि लिइएको ललितले बताए।

उनीहरूले पन्ध्र महिनाअघि जिम क्लब बनाउन सुरू गरेका थिए। क्लबले करिब १ कट्ठा ओगटेको छ। बाँकी भागमा अरू आवश्यक संरचना थप्दै जाने योजना रहेको ललितले बताए। क्लबभित्र क्याफे, बार, जुम्बा हल, स्टिम र सनबाथको काम भइरहेको छ।

‘हालसम्म ३ करोड रूपैयाँभन्दा बढी लगानी भइसकेको छ,’ उनले भने, ‘यसमा हाम्रो परिवारको र स्थानीय युवा विजय गिरी लगानी छ। विजयको करिब २० प्रतिशत सेयर छ।’

लगानीका निम्ति करिब १० प्रतिशत रकम बैंकबाट ऋण लिएको र बाँकी आफै जुटाएको उनले बताए।

द मसल्स ग्यारेजका अध्यक्ष ललित र प्रबन्धक प्रतीक हुन्।

क्लबमा सदस्यता शुल्क एक महिनाको तीन हजार, तीन महिनाको ८ हजार, ६ महिनाको १४ हजार र वार्षिक २५ हजार रूपैयाँ तोकिएको छ।

क्लबमा बालबालिका, युवा र ज्येष्ठ नागरिकसम्मलाई हुने छुट्टाछुट्टै उपकरण भएको उनले बताए। उनीहरूले अधिकांश उपकरण भारतबाट ल्याएका छन्। केही फिनल्यान्ड र अमेरिकाबाट पनि ल्याइएको छ।

‘हाम्रो क्लबमा भएका उपकरण अत्याधुनिक छन्। काठमाडौंका केही क्लबमा मात्र यत्तिका सामान हुन सक्छन्,’ ललितले भने, ‘यहाँ आउने जोकोही जिमरले पश्चिम नेपालमा यत्तिको आधुनिक जिम छैन भन्छन्।’

तुलसीपुर–५ का युवा राजेश वली र तुलसीपुर–४ की प्रतिक्षा देवकोटा नियमित रूपमा द मसल्स ग्यारेजमा व्यायाम गर्न आउँछन्।

‘यो क्लब फराकिलो र उपकरण एकदमै राम्रा भएकाले जिम गर्न प्रोत्साहन पनि मिलेको छ,’ उनीहरूले भने।

क्लबमा प्रतीकसहित केही प्रशिक्षक र चार जना सहयोगी छन्। औपचारिक उद्घाटन नभए पनि बिहान–बेलुका गरी करिब ७० जना जिम गर्न आउन थालेका छन्।

अहिले ललित र यमुना आफै पनि जिम जान्छन्।

‘युवाहरूसँगै व्यायाम गर्न रमाइलो हुँदो रहेछ,’ ललितले हाँस्दै भने, ‘हामी पनि दिनमा एक पटक नियमित व्यायाम गर्न थालेका छौं।’

छिटो कमाउने पेसाभन्दा समाजलाई स्वस्थ बनाउने अभियान छोराले रोजेकामा खुसी लागेको उनले बताए।

जिम चलाउन थालेपछि प्रतीक पनि रमाएका छन्।

‘बुबाआमाले विदेश जान रोकेर ठिकै गर्नुभयो जस्तो लागेको छ,’ उनले भने, ‘उहाँहरू पनि क्लब आउन थाल्नुभयो। विभिन्न खाले मानिसहरूसँग भेटघाट र परिचय बढेको छ। आपसमा मिलेर व्यायाम गर्दा रमाइलो लागिरहेको छ।’सेतोपाटी बाट साभार

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *