Skip to main content

धनगढी न्यूज

सरी अमेरिका, तिमीसँग यो जीवन बिताउन सकिएन!

Advertisement

जनवरी महिना। सानफ्रान्सिस्कोको साँझ। मौसम निकै चिसो छ। सहरको सुन्दर अनुहारलाई बाक्लो कुहिरोले निलेको छ। सडक बत्तीहरू लाचार पहेँला धब्बाहरूजस्ता मात्र देखिएका छन्।

सुन्तले रातो रङमा मुस्कुराउने गोल्डेन गेट बिज्र उदास मुद्रामा ठिङ्ग उभिएको छ। प्रशान्त महासागर उस्तै शान्त, मौन र अविचलित छ। छालहरू उर्लिरहेका छन् –  मानौं ती युगौंदेखि आफैभित्र गुम्सिएका व्यथाहरू किनारामा लगेर बिसाउन आतुर छन्।

समुद्री तटको ‘बिच च्यलेट ब्रुअरी एन्ड रेस्टुरेन्ट’ खचाखच भरिएको छ। पृष्ठभूमिमा सुमधुर ज्याज सङ्गीत गुन्जिरहेको छ। मानिसहरू आआफ्नै धुनमा मस्त छन्। तर गौरव भने एउटा कुनामा गहिरो मौनता अँगालेर बसेको छ। हातमा कफीको तातो कप छ। तर, मनमा कठ्याङ्ग्रिएको चिसोपना। सायद ऊ आफै हराएको छ र आफैलाई खोजिरहेछ।

सानफ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नी श्रीमती मारिया इल्फानियोलाई भर्खरै बिदा गरेर ऊ त्यहाँ आएको हो। मारिया पनि उसका जस्तै रङ्गीन  सपनाहरू बोकेर दशकौँअघि अमेरिका छिरेकी थिइन्। वर्षौंपछि उनले जन्मथलो पुगेर बुबा-आमासँग एक महिना बस्ने मौका पाएकी छन्। त्यसैले उनी मनिलातर्फ जाँदैछिन्। छुट्टिनुअघि उनले भावुक भएर भनेकी थिइन् –

‘टेक केयर डार्लिङ… स्टे कनेक्टेड।’

गौरवको मन भारी थियो। ऊ केही बोलेन। व्यथित हाँसो हाँसेर उनलाई बिदा गर्‍यो।

ऊ क्याफेबाट निस्किन्छ। समुद्रको किनारैकिनार हिँड्दै जान्छ। बिस्तारै रात गहिरिँदै गइरहेको छ। समुद्रबाट चिसो सिरेटो चल्न थालेको छ। ऊ आफ्ना दुवै हात ओभरकोटको खल्तीमा घुसार्छ। मनमनै भन्छ – ‘वर्षौंपछि आज मारियाले आफू जन्मेको माटोमा पाइला राख्नेछिन्, जीवनको अन्तिम सङ्घारतिर रहेका आफ्ना बा-आमालाई भेट्छिन्। आज मनका गुनासाहरू मेटिने छन्, भूगोलले छुट्ट्याएका मनहरू फेरि जोडिने छन्, खुसीका फूलहरू फेरि फुल्ने छन्। तर मेरा?  कहाँ होलान्  मेरा खुसीहरू!’

ऊ हिँड्दै जान्छ। मन्जानिता प्रजातिको सदाबहार रूखमा अडेस लगाएर उभिन्छ। खल्तीबाट चुरोट झिकेर सल्काउँछ। लामो सर्को लिएर छोड्छ। धुवाँ त हावामा बिलाउँछ । तर, उसको मन भने जन्मथलो सिन्धुपाल्चोकको कदमबास पुगेर अल्झिन्छ। बालापनका अनगन्ती यादहरूमा पोखिन्छ। क्युरेनी डाँडामा बाख्रा चराएको, स्कुलबाट भागेर खर्क खोलामा पौडी खेलेको, खेतका कुलाहरूमा माछा मारेको, बाँझा खेतहरूमा डन्डीबियो खेलेका सम्झनाहरूमा हराउँछ र मनमनै भन्छ –  ‘जीवन त आखिर सम्झना मात्रै पो रहेछ!’

रातको १० बजिसकेको छ। ऊ पार्किङ लटमा जान्छ। गाडी निकाल्छ। घरतिर लाग्छ। ऊ बेकर स्ट्रिटको एउटा पुरानो भवनमा बस्छ। आज उसलाई कोठामा गएर छिट्टै थुनिन मन छैन। त्यो बन्द कोठा र त्यहाँको भूगोलभन्दा पर, रातको निस्सिम आकाशमा आफ्ना निर्बन्धित स्मृतिहरूसँगै फैलिँदै जान मन छ। जीवनका हरेक भोगाइलाई उमेरसँगै गल्दै गएको संवेदनाले सुमसुम्याउन मन छ।

तर विडम्बना! न समय उसको वशमा छ, न त दूरी!

ऊ घर जान्छ। गाडी थन्क्याउँछ। कोठामा जान्छ। भित्तामा बुबाआमाका तस्बिरहरू छन् – रातको त्यो शून्यतामा पनि बोलिरहेजस्ता। भावुक नजरले तस्बिरहरू हेर्छ। बहकिँदै जान्छ। पन्ध्र वर्षअघिको दुःखद सम्झनामा पुग्छ। त्यति बेला आमाले विह्वल भएर भनेकी थिइन्  –

‘आइपुगिस् बाबु? मैले त भ्याउँदैनस् होला सोचेकी थिए…!’

हिक्का छोड्दै आमा बोल्दै थिइन् –

‘बुबालाई अमेरिकाको सपना देखाइस्। उनी मक्ख परेर बसे। गाउँभरि अमेरिका जाने भएँ भनेर फुटानी लगाएँ। तर, बाँचुन्जेल तँलाई लिन आउने फुर्सदै मिलेन! धन्न किरिया गर्न चाहिँ आइस्! मेरो पालामा त त्यति पनि भ्याउलास् कि नभ्याउलास्…!’

बुबाको अकल्पनीय शोकले पहिले नै मर्माहत थियो। त्यसमाथि आमाका वेदनापूर्ण कटाक्षले छाती दुई चिरा पारिदिएको थियो। त्यस्तै पीडा अहिले फेरि बल्झिएको छ। ऊ आलमारी खोल्छ। रक्सीको एउटा बोतल निकाल्छ। रक्सीको रातो रङमा आफ्नै बुबाको छाया देख्छ। उसलाई प्रश्न गरेझैँ लाग्छ –

‘मलाई कहिले अमेरिका लिएर जान्छस् कान्छा?’

ऊ झसङ्ग हुन्छ। पीडाको रन्कोमा रक्सीको बोतलै रित्याउँछ। त्यत्तिकै निदाउँछ।

भोलिपल्ट बिहान उठ्छ। अघिल्लो दिनको रक्सीले राम्रोसँग धर्म निभाएको छ। मुख खङ्ग्रङ्ग सुकेको छ। टाउको पनि दुखेको छ।  तै पनि फ्रेस भएर कफी बनाउँछ। कप समातेर झ्यालमा बस्छ। बाहिरतिर हेर्छ। वरिपरिका देखिने स-साना पहाडहरू कुहिरोभित्रै हराएका छन्। सहर अँध्यारो सुरूङभित्र छिरेजस्तो छ। कतै पनि उल्लासको धर्सोसम्म छैन। गोल्डेन गेटका टुप्पाहरू कुनै डुब्दो जहाजका निरीह टावरहरूजस्ता देखिएका छन्। हेर्दै जान्छ। मनमा नजानिँदो उदासी पलाउँछ। र, झ्यालबाट उठेर सोफामा आएर बस्छ।

अगाडि बिछ्यौना छ। साइड टेबलमा श्रीमती मारियासँग हालसालै खिचेको युगल तस्बिर छ। तस्बिरमा परिपक्व उमेरका दुई प्राणीहरूमात्र छैनन्, अनगन्ती भोगाइहरू पनि प्रतिविम्बित छन्। अनुभूतिका पानाहरू पल्टाउँदै जान्छ। जिन्दगीको क्यानभासमा समयले कोरेका आफ्नै जीवनका विचित्र प्रतिविम्बहरू देखा पर्छ। कुनै खस्रा, कुनै मिहीन, कुनै विद्रूप, कुनै मनमोहक! नियतिको कारिगरी देखेर अचम्म मान्छ र आफैलाई प्रश्न गर्छ – ‘के मैले चाहेको जीवन पनि यस्तै थियो?’ अलमल्ल पर्छ। सम्झनाका भेलहरू अझै रोकिँदैन। त्यसैमा बग्दै जान्छ।

करिब तीन दशकअघि। चौताराबाट एसएलसी पास गरेपछि काठमाडौंमा डेरा लिएर कलेज पढ्न थालेको थियो। बुबा शिक्षक थिए। खेतीपातीबाट पनि आयस्ता आउँथ्यो। तै पनि खर्च पुग्दैनथ्यो। निकै अभावका बीच उसले बिकम पास गर्‍यो। जागिर खोज्न भौँतारिँदै थियो, भाग्यवश अमेरिकी डिभी पर्‍यो। त्यहीँबाट जीवनले नसोचेको बाटो समात्यो।

हिउँदको चिसो मौसम थियो। बिहानैदेखि बादल लागेको थियो। त्यही दिन ऊ अमेरिका जाँदै थियो। डिभी परेदेखि नै आमा सधैँ प्रसन्न हुन्थिन्। तर त्यस दिन बिहानैदेखि उद्विग्न थिइन्। बुबा भने सामान्यजस्तै देखिन्थे। उनले एउटा सानो जिप रिजर्भ गरेका थिए। त्यसैमा चढेर दिदी र भेनासमेत उसको बिदाइका लागि काठमाडौं एयरपोर्टसम्म आएका थिए।

अपराह्न जहाज चढ्ने सूचना बज्यो। आमा भावविह्वल भइन्। बुबाका आँखा पनि रसिला हुँदै गए। दिदी पनि सुँक्कसुँक्क गर्न थालिन्। भक्कानो त उसको छातीमा पनि परेको थियो। तर, उसलाई धैर्य गुमाउने छुट थिएन। बिदा हुनुअघि ऊ आमालाई ढोग्न निहुँरिएको मात्र थियो, आमाले च्याप्प समातेर अँगालोमा बाँधिन् र डाँको छोडेर रून थालिन्। बुबाले बल गरेर उसलाई छुटाइदिए। कुममा हात राखेर परसम्म लगेर व्यथित भावमा भने –
‘एउटै छोरो थिइस्, त्यही पनि छोडेर जान लागिस्! अब हाम्रो चिन्ता नगरेस्, फर्केर हेरिस् भने बाटो लाग्न सक्दैनस्, बलियो मन गरेर जा।’

उसले मुटुमा ढुंगा राखेर जहाज चढ्यो। अमेरिका पुगेर सम्पर्क गर्नु भनेर बुबाले एउटा कागज दिएका थिए। खल्तीबाट त्यो चिर्कटो निकालेर पढ्यो।

हिरण्य बडाल
३७५४७ स्ट्रिट
अपार्टमेन्ट २ बी, ज्याक्सन हाइट्स, क्वीन्स
न्यू योर्क, एनवाई ११३७५, फोन (३४७) ५५५ – ० ०५८

जहाजले एकैछिनमा जमिन छोड्यो। देश छोड्यो। तर, उसले आमा, बुबा र क्युरेनी डाँडा छोड्न सकेन। पीडाले आहत भएर जहाजमा बसिरह्यो। आठ घण्टापछि जहाज टर्कीको इस्तानबुल विमानस्थलमा रोकियो। एक घण्टाको ट्रान्जिट थियो। त्यहाँ भारतीय मूलका एक अमरिकी नागरिकसँग परिचय भयो। उनी पनि त्यही फ्लाइटमा न्यू योर्क जाँदै रहेछन्। उनले धेरै उपयोगी जानकारीहरू दिए। उसको उत्साह बढाए। ऊ टर्किस एयरलाइन्सको विमानबाट ११ घण्टापछि न्यू योर्कको जोन अफ केनेडी एयरपोर्टमा ओर्लियो। आफ्नो सपनाको देशमा पहिलो पाइला टेक्यो।

अमेरिका कल्पना गरेभन्दा निकै विशाल रहेछ। त्यो कुरा उसलाई एयरपोर्टदेखि नै अनुभूत भयो। ऊ अक्क न बक्क परेर बसेको थियो।  भारतीय मूलका तिनै व्यक्तिले लगेज सङ्कलनमा सहयोग गरे। हिरण्य बडालसँग फोन सम्पर्क पनि गराइदिए। बडाल सर एयरपोर्टमै आइपुगे। न्यानो आत्मीयता देखाए। आफ्नै घरमा लगेर केही दिन राखे। र, एउटा इन्डियन रेस्टुरेन्टमा काम लगाइदिए।

ऊ अमेरिकामा कठिन सङ्घर्ष गर्दै थियो। त्यहाँको भाषा, संस्कृति र जीवनशैलीमा भिज्ने कोसिस गर्दै थियो। यसै क्रममा एउटी फिलिपिनी महिला त्यही रेस्टुरेन्टमा काम गर्न आइपुगिन्। उनको नाम मरिया इलफानियो थियो। २५-२६ वर्षकी उनी निकै सुन्दर, मृदुभाषी र मिलनसार थिइन्। उनी पनि डिभी परेरै आएकी थिइन्। उनको अङ्ग्रेजी बुझ्न पनि सजिलो थियो। समस्याहरू पनि उस्तैउस्तै थिए। त्यही कारणले नजिकिँदै गए। त्यो नजदिकी प्रेममा बदलियो। बिस्तारै एपार्टमेन्ट, कोठा र बेड  शेयर हुन थाल्यो। केही महिनापछि उनी गर्भवती भइन्। विवाह गर्न दबाब दिन थालिन्। त्यहाँबाट फेरि जीवनको अर्को अध्याय सुरू भयो।

उनीहरूले म्यानहटनस्थित सिटी क्लर्कको कार्यालयमा सिभिल सेरेमोनी (विवाह) गरे। त्यतिबेला उसलाई सात गाउँ थर्काउने गरी बाजा बजाएर बुहारी भित्र्याउने बुबा-आमाको सपनाले नपोलेको पनि होइन। तर नियतिलाई त्यो मन्जुर थिएन। उसले अनन्त प्रेम र समर्पणको प्रतीकका रूपमा मारियालाई ‘वेडिङ् रिङ’ लगाइदियो। तर विडम्बना! बुबा-आमालाई विवाहको कुरा भन्न सकेन। फरक देश, भाषा र संस्कृतिकी महिलासँग विवाहको कुरा सुन्दा उनीहरूमाथि के गुज्रला भन्ने गहिरो चिन्ताले सताइरह्यो। उनीहरूमाथि घात गरेँ भन्ने कुराको पनि पछुतो भइरह्यो। यसका बारेमा उसले मारियालाई पनि बताएन। कुण्ठा बोकेर चुपचाप बाँचिरह्यो।

दिनहरू बितिरहेका थिए। बुबाले अवकाश पाएपछि एक दिन फोन गरेर भने –

‘जीवनभरी अमेरिकाका बारेमा पढाइयो। अमरिकै नदेखी त के मर्नु ! एकपटक मलाई लैजा न छोरा।’

विवाह रहस्य खुल्ला भन्ने डरले बुबाको कुरा एक वर्ष लघार्‍यो। पछि जे त होला भन्ने सोचेर भिसाको प्रक्रिया सुरू गर्न लगायो। तर, बुबा प्रेसर र सुगरका बिरामी थिए, अचानक मृत्यु वरण गरे। उसलाई जीवनभरी निको नहुने घाउ लगाएर गए।

गौरव र मारियाले सुरूआतका केही वर्ष न्यू योर्कको त्यही रेस्टुरेन्टमै काम गरे। तरक्की हुँदै गएपछि डालास गएर आफ्नै ग्रोसरी व्यवसाय सुरू गरे। जिन्दगी सुखद तरिकाले बित्दै गयो। आमासँग फोनमा कुरा हुन्थ्यो। उनी बिहेकै बारेमा कुरा गर्थिन्। ऊ अनेक बिङ्गा लगाएर टारिदिन्थ्यो। यता  छोरी जन्मिसकेकी थिई। हुर्किंदै गई। कहिलेकाहीँ छोरीका बारेमा सोच्थ्यो र भावुक हुन्थ्यो। आमा फिलिपिनी, बाबु नेपाली। छोरी न फिलिपिनी भई, न त नेपाली। यही कुराले ऊ निकै दुःखी हुन्थ्यो। नेपालबाट आफ्नो जरो-मुरै उखेलिन लागेको महसुस गर्थ्यो।

केही वर्षपछि उनीहरूले ड्यालसको ग्रोसरी पनि बेचे।  सानफ्रान्सिकोमा गएर अझ ठूलो स्टोर खोले। व्यवसाय त सफल हुँदै गयो। दाम्पत्य जीवन भने त्यति सुखद भएन। उनीहरू जन्मेका, हुर्केका सामाजिक दर्शन,  संस्कृति, मूल्य-मान्यता र जीवनपद्धति फरक थियो। तिनले एक किसिमको प्रभाव पारिरहे। तर पनि सम्बन्ध चल्दै गयो। त्यति धेरै आहा! भन्ने हुन सकेन।

बुबा बितेपछि आमा दिदीसँग बस्न थालेकी थिइन्। केही वर्षमै उनलाई अल्जाइमर भयो। त्यो सुनेपछि ऊ हुर्दुराउँदै आमालाई भेट्न नेपाल गयो। साथमा श्रीमती र छोरीलाई पनि लगेको थियो। उनीहरूलाई आमाको सामुन्ने उभ्यायो। परिचय दियो। तर, आमाको चेतनाहीन मुहारमा न कुनै खुसी देखियो, न त गुनासो नै। वर्षौंदेखिको एउटा ठूलो रहस्य गहिरो पीडादायी सन्नाटामा बिलायो।  नियतिले उसलाई अर्को संवेदनाहीन प्रहार गर्‍यो।
दिनहरू बित्दै गए। छोरी फरक-फरक धर्म र  संस्कृतिको चेपुवामा परेकी थिई। ऊ अमेरिकी समाजअनुसार हुर्किंदै गई। मारियालाई त सुरूदेखि नै नेपालप्रति लगाव थिएन। छोरी पनि त्यस्तै भई। दोस्रोपटक उनीहरूले नेपाल आउन मन गरेनन्। तर, ऊ भावनात्मक रूपले आफ्नो माटो, आफन्त र  रनवनसँग गाँसिइरह्यो। आमा जीवित रहँदासम्म हरेक वर्ष नेपाल आउने जाने पनि गर्‍यो। आमा बितेपछि भने फर्किने कुनै बहाना भएन।

मारिया महिनादिनपछि फिलिपिन्सबाट फर्किइन्। काममा सघाउन थालिन्। स्टोर राम्रोसँग चल्दै गयो। दिन, महिना, वर्षहरू बितेर गए। छोरीले युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट कम्प्युटर साइन्समा ग्र्याजुएसन गरी। सङ्घीय सेवामा काम पाई। त्यसपछि ऊ आफ्नो जमैकन ब्वायफ्रेन्ड जर्ज स्टेफेनसँग ओकल्यान्डमा बस्न थाली। कहिलेकाहीँ सम्पर्क गर्छे। पछिल्लो पटक उसले फोन गरेर भनेकी थिई –

‘जर्ज र म भ्याकेसन मनाउन बेल्जियम जाँदै छौँ, तपाईंहरू आफ्नो ख्याल गर्नुहोला।’

छोरीले सफलता र स्वतन्त्रताको उल्लासमय उडान भरिसकेकी छ । ऊ आफ्नै दुनियाँमा रमाउँदै छे। यता गौरव र मारिया एक्लै छन्। गौरवको जीवनका ६५ वर्ष बितेर गइसकेका छन्। मारिया पनि उमेरको उस्तै पडावमा छिन्। उनीहरूका प्राथमिकता, रूचि र खुसी हुने तरिका फेरिएका छन्। कहिले आपसमै रमाउँछन्, कहिले एकअर्कासँगै दिक्क मान्छन्। दुवै जनाको मन टाढिन खोज्दा पहिला छोरीले जोड्ने प्रयास गर्थी। अब त्यो गुन्जायस बाँकी छैन। त्यसले उनीहरू अन्तर्मुखी र भावनात्मक हुँदै गएका छन्।

अमेरिकामा जीवनको सबैभन्दा उर्वर समय बितिसकेको छ। यसैबीच, उनीहरूले आर्थिक समृद्धि हासिल गरेका छन्। तर खुसीको मानक भौतिक सफलता र वैभव मात्र होइन रहेछ। भावनात्मक सन्तुष्टि रहेछ। मनको शान्ति रहेछ। पछिल्ला दिनहरूमा उनीहरूलाई यही कुरा खड्किन थालेको छ  यहाँको यान्त्रिक व्यस्तता र भावहीन औपचारिकताबाट विरक्तिँदैं गएका छन्। एक दिन कुरैकुरामा मारियाले भनेकी थिई –

‘गौरव हामी यहीँ मर्‍यौँ भने हाम्रो ग्रेभयार्डमा  एक थुँगा  फूल चढाउने पनि कोही हुँदैन होला, हगि?’

उनका शब्दहरूले गौरवको संवेदनालाई हल्लाइदियो। मानिसले जति नै ऐश्वर्य हासिल गरे पनि आफ्नो देश गुमाउनुको पीडा कम हुँदो रहेनछ, आफ्नो मरण आफ्नै माटोमा आफ्नैहरूका बीचमा होस् भन्ने चाहना कहिले पनि मर्दोरहेनछ भन्ने उसको अनुभूति सही रहेछ भन्ने लागिरह्यो।
दिनहरू बित्दै गए। उनीहरू अझै भावुक र आध्यात्मिक हुँदै गए। एक वर्षपछि उनीहरूले आफ्नो स्टोर बेचे। पैसा छोरी युरिकाको खातामा राखिदिए। धेरै दिनको गहन छलफलपछि आ-आफ्नो देश फर्किने  सहमति गरे। त्यही कुरा छोरीलाई सुनाए। पहिला त उसले विश्वासै गरिन, पछि आश्चर्य मान्दै भनी –

‘के भन्नुभएको? यो उमेरमा आएर  तपाईंहरू छुट्टिने ? एकपटक सोच्नूस्। तर तपाईंहरूको खुसी त्यसैमा छ भने मेरो आपत्ति छैन…।’
अन्ततः छोरीले पनि सहमति दिई। त्यसपछि  उनीहरूले जहाजको टिकट काटे। एयरपोर्ट पनि सँगै गए। आपसमा कुनै वैरभाव थिएन। गुनासो थिएन। फेरि फर्किने–नफर्किने, भेट्ने–नभेट्ने  बाचाबन्धन पनि थिएन। केवल आत्माको आह्वान थियो।  माटोको माया थियो। शान्तिको आत्मीय कामना थियो, तलास थियो। देश एउटै हुँदो हो त शायद उनीहरूको बाटो अलग हुने थिएन।

छुट्टिने बेला एकपटक उनीहरू एकअर्कोको कसिलो अँगालोमा बाँधिए। लामो दाम्पत्य यात्राका लागि कृतज्ञ भए। बोर्डिङ हुने बेला मारियाले भावुक भएर भनी –

‘हुन सक्छ! जीवनको डोरी चुँडिनुअघि हामी फेरि भेटिने छौँ, गौरव।’

गौरवले अझै विह्वल भएर भन्यो –

‘अवश्य पनि! पृथ्वीमा मात्रै हो मारिया, अनन्तमा भाषा, धर्म र भूगोलको कुनै बन्देज हुँदैन। निसर्त मिलन हुन्छ। निर्विकार शान्ति हुन्छ।  शायद हामी अब त्यही भेटिने छौँ  प्रिय।’

उनी आँसु पुछ्दै नर्थदेन एयरलाइन्सको जहाजमा मनिला उडिन्, गौरव इत्तेहाद एयरलाइन्सको विमान चढेर काठमाडौँ। जहाजले जमिन छोड्यो। उसले आँखा चिम्लियो। मारिया र छोरीलाई प्रेमिल भावले स्पर्श गर्‍यो। जमिनतिर हेर्‍यो। चारैतिर बाक्लो कुहिरोले ढाकेको थियो –  तीस वर्षअगाडि ऊ यहाँ आउँदाको जस्तै गरी। भावविभोर भएर बडबडायोः

‘सरी अमेरिका! तिमीले धेरै दियौ, धेरै पायौँ। तै पनि हामीले जीवनका आखिरी दिनहरू तिमीसँग बिताउन सकेनौँ। आज हामी उस्तै अन्यौलपूर्ण आगत पछ्याउँदै आफ्नै माटोमा फर्किंदै छौँ –  जस्तो मनस्थितिमा तीस वर्षअघि यहाँ आएका थियौं।  बिदा अमेरिका ! सायद अब सदाका लागि !! सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...