Skip to main content

धनगढी न्यूज

‘जबसम्म स्पष्ट रूपमा संविधान लेख्नुहुन्न, तबसम्म समानुपातिक प्रणाली सुधार गर्न सक्नुहुन्न’

Advertisement

निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीलाई लिएर राजनीतिक दलहरूमा हलचल मच्चिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ११० जना उम्मेदवारको बन्दसूची दलहरूले पुस १४ गते आयोगमा बुझाएका थिए ।

बन्दसूचीमा पार्टीको विधि, विधान, भूगोल र समावेशीलाई बेवास्ता गरी नेताहरूका आफन्त, व्यवसायी घरानादेखि सेलिब्रेटीसम्म समेटिएपछि नयाँ तथा पुराना दलहरूमा रडाको मच्चिएको छ ।

सुशासन र सुसंस्कृत समाज निर्माण गर्ने भन्दै पुराना दलको विकल्पमा रजानीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको आन्तरिक निर्वाचनमा लोकप्रिय मत ल्याएकालाई लत्याएर बन्दसूची बुझाएपछि असन्तुष्टि बढेको छ ।

रास्वपाले पनि नातावाद, सेलिब्रेटीलाई समानुपातिकको बन्दसूचीमा राखेर पुरानै दलको बाटो पछ्याएको पार्टीकै नेताहरूले आरोप लगाएका छन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि समाजका हरेक वर्ग, समुदाय, लिङ्ग र भूगोलको प्रतिनिधित्व राज्यको हरेक नीति निर्माण तहमा होस् भन्ने उद्देश्यले संविधानमै समानुपातिक प्रणालीको व्यवस्था गरिएको थियो । यद्यपि यो प्रणालीको दुरुपयोग गर्दै प्रभावशाली नेताहरूले आफ्ना आसेपासे, नातेदारलाई व्यवस्थापन गरेको आरोप लाग्दै आएको छ । दलका नेताहरूकै कारण समानुपातिक निर्वाचन प्रणाली बदनाम भएको छ ।

यस प्रणालीमा कहाँ–कहाँ त्रुटि रहे ? सुधारका लागि के गर्न सकिन्छ ? प्रणालीमा खराबी हो कि नेताहरूको नियतमा हो ? यसै विषयमा संघीयताविद् डा. खिमलाल देवकोटासँग रातोपाटीका संवाददाता गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, देवकोटासँग गरिएको कुराकानीको सम्पादित अंशः

  • नेपालमा समानुपातिक निर्वाचन प्रणाली किन बदनाम भयो ? सुधार्न के गर्न सकिन्छ ?

समानुपातिक निर्वाचन प्रणालीमा व्यापक सुधार जरुरी छ । मैले संसदमा पनि धेरै पटक बोलेको हो । मिडियामा पनि बोलेको छु । यस विषयमा धेरै लेख पनि लेखेको छु । समानुपातिक निर्वाचन प्रणालीकै निरन्तरता गर्ने हो भने यसमा दुइटा पाटोबाट हेर्नुपर्छ । पहिलो, राजनीतिक दलले अघि सार्ने उम्मेदवारहरू पनि जनताबाट ‘टेस्ट’ हुनुपर्छ । दोस्रो कुरा, समानुपातिकबाट राजनीतिक दलले कति सिट प्राप्त गर्ने भन्ने कुराहरूमा, त्यो राजनीतिक दलले ल्याएको प्रतिशतको आधारमा मात्रै होइन, उम्मेदवारले ल्याएको मतभारको आधारमा पनि पार्टीले सांसद छान्नुपर्छ ।

जनताबाट जसले राम्रो मत ल्याउँछन्, त्यसमा पार्टीले प्राप्त गरेको मत थप गरेर सांसद छान्नुपर्छ ।  त्यसलाई हेरेर समानुपातिक प्रणालीमा सुधार गर्नुपर्छ । धेरै देशमा यो मोडल पनि छ ।

यसो गर्दा जनतासँग त्यो प्रत्यक्ष जोडिन्छ । किनभने समानुपातिकका उम्मेदवारहरू जनतासँग प्रत्यक्ष जोडिँदैनन् । उसको पपुलारिटीको कुराहरू पनि आउँछ, जनतासँग उठबसका कुराहरू रहन्छन् । हरेक कुरा जनताका सुखदुःखसँग जोडिन्छन् । संसद् भनेको जनताको आवाज बोल्ने ठाउँ हो । जहाँसम्म सेलिब्रेटीका कुरा आएका छन्, तिनीहरूले जनताको आवाज बोल्दैनन्, उनीहरू जनतासँग घुलमिल छैनन् । त्यसकारण समानुपातिक उम्मेदवार पनि जनतामा जानुपर्छ, जनताबाट अनुमोदित भएर आउनुपर्छ ।

जनताबाट जसले राम्रो मत ल्याउँछन्, त्यसमा पार्टीले प्राप्त गरेको मत थप गरेर सांसद छान्नुपर्छ ।  त्यसलाई हेरेर समानुपातिक प्रणालीमा सुधार गर्नुपर्छ । धेरै देशमा यो मोडल पनि छ ।

दोस्रो कुरा, समानुपातिक निर्वाचन प्रणाली किन राखियो भने जो पछाडि परेको वर्ग, समुदाय, जो भाषिक रूपमा, लैङ्गिक रूपमा, जातीय रूपमा, वर्गीय रूपमा राज्यबाट पछाडि परेको छ र राज्यको मूल प्रवाहबाट अलग्गिएको छ, जसले काठमाडौँ देखेको छैन, सिंहदरबार देखेको छैन– त्यो वर्ग, समुदाय, नागरिकलाई पार्टीले अवसर दिनुपर्‍यो । किनभने त्यही व्यक्ति जो पटक–पटक प्रतिनिधि सभाबाट चुनाव लडेर आएको छ, जितेको छ, सांसद भएको छ, मन्त्री भएको छ, उपप्रधानमन्त्री भएको छ, प्रधानमन्त्री भएको छ– उसलाई यो सुविधा दिनु भएन ।

गिरिजाप्रसाद कोइराला पनि समानुपातिकबाट एक पटक सांसद बन्नुभएको थियो । त्यसकारण समानुपातिक प्रणाली नेताका लागि सजिलो बनाइयो । प्रत्यक्षमा निर्वाचन हार्छु भन्ने डरले नेताहरू समानुपातिकमा बस्ने भए । आफ्ना आसेपासेहरू, नातागोताहरूदेखि लिएर व्यापारीसम्म पैसाको लेनदेन भएको कुरा पनि बाहिर आइराखेको छ । त्यसकारण समानुपातिकमा कस्ता उम्मेदवार लानुपर्छ भन्ने कुरामा स्पष्ट कानुनमै लेखिदिनुपर्‍यो । राष्ट्रिय सभामा सांसद भइसकेको छ, उसलाई किन प्रतिनिधि सभामा लैजाने ? उनीहरू प्रतिनिधि सभामा जाने नै होइन । राष्ट्रिय सभा भनेको बौद्धिक वर्गको थलो हो, विज्ञहरूको थलो हो । नामै राष्ट्रिय सभा छ, राष्ट्रिय व्यक्तित्वको थलो । राष्ट्रिय सभामा सांसद भइसकेपछि त्यो समानुपातिक त कुरै छोड्नुस्, प्रतिनिधि सभाको पनि सांसद हुन पाइँदैन भनेर लेख्नुपर्‍यो संविधानमा ।

मतदाताको आधारमा हामीले स्पष्ट कानुनमा लेखेनौँ भने सन्तुलित हुनै सक्दैन ।

अर्को कुरा, यसमा अघिल्लो लटमा राजकीय पदमा प्रधानमन्त्री, मन्त्री, सांसद जुनसुकै ठाउँ जसरी भनेको भए पनि समानुपातिकबाट नलग्ने भन्ने लेख्नुपर्‍यो । जबसम्म स्पष्ट रूपमा संविधान लेख्नुहुन्न, तबसम्म सुधार गर्न सक्नुहुन्न । अहिले नयाँ आएका छन्, सेलिब्रेटीहरू छन्, त्यसलाई कन्ट्रोल गर्न सक्नुहुन्न । यो उनीहरूकै विवेकको कुरा भयो । त्यस्ता व्यक्तिहरू चुनाव लडेर पनि आउन सक्छन् । उनीहरूलाई सांसद हुन मन छ, रहर छ भने पार्टीसँग जोडिएर, स्वतन्त्र रूपमा पनि जोडिएर आउन सक्छन् । संविधानमै हामीले भौगोलिक रूपमा सन्तुलित पनि लेख्नुपर्‍यो ।

हिमाल, पहाड, तराई, सात वटा प्रदेश र ७७ वटै जिल्ला समेट्नुपर्छ । दलहरूले बुझाएको बन्दसूचीमा कुनै जिल्लामा सबै थुप्रेको छ, कुनै प्रदेश शून्य छ । राष्ट्रिय स्वतन्त्र पार्टीको पनि धेरै चितवनतिर भयो, सुदूरपश्चिम शून्य भयो भन्ने समाचार आइराखेका छन् । त्यसले पार्टीहरूले प्रदेशगत रूपमा सन्तुलन बनाउनुपर्‍यो । प्रदेशको जनसंख्या र मतदाताको आधारमा सन्तुलित बनाउनुपर्‍यो । कुन प्रदेशमा कति मतदाता छन् अथवा त्यसलाई जिल्ला तहमै लगे पनि मतदाताहरूको अनुपातको आधारमा सन्तुलन हुनुपर्छ । त्यसपछि जातीय, भाषिक, लैङ्गिक, अल्पसंख्यक, मुस्लिम सबैको क्लस्टर बनाउनुपर्छ । मधेसमा मधेसी फिगरहरू बढी चाहिएला । पूर्वतिर राई, लिम्बू बढी चाहिएला । पश्चिमतिर थारु फिगरहरू चाहिएला । त्यसकारण मतदाताको आधारमा हामीले स्पष्ट कानुनमा लेखेनौँ भने सन्तुलित हुनै सक्दैन ।

  • मानौँ, फागुन २१ गते निर्वाचन भयो भने प्रत्यक्षसँगै समानुपातिक ती उम्मेदवारहरू पनि जनतामा जानुपर्छ भन्ने हो तपाईंको तर्क हो ?

हैन, त्यो अलिकति झन्झटिलो छ । यसको अर्थ के हो भने पार्टीले अगाडि सारेका उनीहरू पनि निर्वाचनमा जानुपर्‍यो । अहिले समानुपातिकमा गरेको क्लस्टर भनेको देशभरिको क्लस्टर हो । देशभरिको यो क्लस्टर पनि ठिक छैन । यसलाई प्रदेशगत रूपमा क्लस्टर गरेर अथवा उसलाई जिल्ला–जिल्लाकै गरेर भोटिङमा जान सकिन्छ । आफ्नो कुन जिल्ला, कुन निर्वाचन क्षेत्र हो, त्यहाँ जान्छ । त्यसलाई प्रदेशगत रूपमा विधि–पद्धति बनाउन सकिन्छ, तर ऊ कुनै न कुनै रूपमा जनतामा जानुपर्‍यो ।

जेनजी आन्दोलन भएको कारण के हो, त्यो पनि जोड्नुपर्‍यो नि । यी सबै विकृतिको विरुद्धमा भएको आन्दोलन हो ।

  • सरकार, संसद् भनेको देश र समाजको प्रतिबिम्ब देखिने थलो हो नि तर नयाँ पुराना सबै दलहरूले भागबन्डाको राजनीति गर्दा देश नै असफलतातिर जाने डर देखियो नि होइन ?

जेनजी आन्दोलन भएको कारण के हो, त्यो पनि जोड्नुपर्‍यो नि । यी सबै विकृतिको विरुद्धमा भएको आन्दोलन हो । नेताहरू पारदर्शी भएनन्, जबाफदेही, उत्तरदायी भएनन् । नेताहरूको जीवनशैली पुँजीपतिको भन्दा कुनै कम भएन, आम्दानीको कुनै स्रोत पनि छैन भनेर उनीहरूले सुशासन अभिवृद्धिको लागि आन्दोलन गरे । अहिले पनि पुरानालाई त छोडिदिनुस्, नयाँ पनि त्यस्तै देखियो । पुराना त सुध्रिएनन्, यिनीहरू कहिल्यै सुध्रिँदैनन् भनेर मैले संसदमै पटक–पटक बोलेको हो । कहिल्यै पनि सुध्रिँदैनन् । ढिलो–चाँडो मुलुकमा उथलपुथल हुन्छ, आन्दोलन हुन्छ भनेर सबैले भनेकै थिए ।

यति हुँदा पनि हामीले कानुनमा सुधार गर्नुपर्छ । निराश पनि हुने होइन । अघिल्ला निर्वाचनहरू भन्दा अलि प्रोग्रेसिभ छ, तर पनि अझै धेरै सुधार गर्नु छ ।

चिन्ता के हो भने– यिनीहरूले नै हो संविधान बनाउने, कानुन बनाउने । कानुन बनाउने त संसदले हो । संसदमा कानुन बनाउनुपर्दा फेरि यिनीहरूले नै कानुन बन्नै दिँदैनन् । मेरो अनुभव पनि छ संसदमा । नागरिकको पक्षमा, सुशासनको पक्षमा, विकास समृद्धिको पक्षमा, लोकतन्त्र र विधिको शासनको पक्षमा राम्रो कानुन बनाउनुपर्छ । सुशासन अभिवृद्धि गर्न राम्रो कानुन बनाउँदा यिनीहरूकहाँ गएर गडबडिन्छन् । कानुन, विधेयक बनाउने ठाउँमा पनि बिचौलियाहरू हाबी छन् । यस्तै व्यक्तिहरू संसदमा पुग्छन् । उनीहरूले राम्रो कानुन बनाउन दिँदैनन् । बिचौलियाहरूको दौडधुप सुरु भइहाल्छ । त्यसकारण ठुलो आन्दोलन भयो । यो आन्दोलनको कारण उनीहरूले अलि बुझ्नुपर्ने हो ।

यति हुँदा पनि हामीले कानुनमा सुधार गर्नुपर्छ । निराश पनि हुने होइन । अघिल्ला निर्वाचनहरू भन्दा अलि प्रोग्रेसिभ छ, तर पनि अझै धेरै सुधार गर्नु छ । यसका लागि राज्यको चौथो अङ्ग मिडिया, सामाजिक सञ्जाल, नागरिकहरूबाट पनि प्रेसर जानुपर्‍यो । बेलाबेलामा खबरदारी गरियो भने कानुन बनाउनेले पनि स्पष्ट दुई पटकभन्दा प्रधानमन्त्री बन्न पाइँदैन भनेर लेख्न सक्छ । सांसद किन पटक–पटक बन्नुपर्‍यो ? सांसद बन्न निकै खर्चिलो छ । कतिपयले किनेकै छन् भन्ने पनि छ । सांसदको टिकट लिन सिधै नेतालाई लगेर पैसा दिएको कुरा पनि आएका छन् । सांसद भइसकेपछि त्यो नेतालाई दिएको पैसा उठाउनुपर्ला । त्यसपछि मन्त्रीमा दौडधुप गर्छ, अर्को खर्च गर्छ । त्यहाँ गएर उसले भ्रष्टाचार गर्छ । सांसद भइसकेपछि योजना ल्याउँछ, बिचौलियाको काम गर्न थाल्छ । किनभने उसलाई पैसा उठाउनु छ । त्यसकारण सांसद भएको व्यक्ति मन्त्री बन्न पाइँदैन, हुँदैन भन्ने खालको संविधानमै लेख्नुपर्‍यो । अमेरिका, स्विजरल्याण्ड, कोरिया लगायतका देशहरूमा पनि यस्तो व्यवस्था छ ।

कति जना दलित चाहिएको हो, उनीहरूको ठाउँ छुट्ट्याइदिने । निर्वाचन आयोगले रोटेसनको आधारमा दलितको निर्वाचन क्षेत्र सुरक्षित गरिदिने ।

  • दुषित राजनीतिको मुहान सफा गर्न भनेर आएका नयाँ दल र पात्रहरू पनि पुरानै पार्टी तथा नेताहरूको पथ पछ्याइरहेका छन् । नयाँ भनिएकाबाट पनि ढुक्क देखिएन नि ?

राम्रो संकेत देखाएनन् । ‘मर्निङ सोज द डेज’ भन्छ नि, त्यस्तै भएको छ ।

  • राज्यको प्रणाली खराब हो कि नीति निर्णय गर्ने ठाउँमा पुगेका व्यक्तिहरूको नियत खराब हो ?

नेताहरूको, पार्टीहरूको नियतमा खराब छ । नियतमै खोट छ । पैसा कमाउने सत्तामा गइरहने, सत्तामा रमाउने समस्या छ । पार्टीमा सभापति भइरहनुपर्छ भन्ने खालको मानसिकता छ । दुई पटकभन्दा पार्टीको नेतृत्वमा पनि पुग्न नपाइने, दुई पटकभन्दा प्रधानमन्त्री, सांसद, मन्त्री बन्न नपाउने भनेर संविधानमै व्यवस्था गरियो भने धेरै कन्ट्रोल हुन्छ । पार्टीमा पनि सन्तुलन हुन्छ । बल्ल हाम्रो संविधान, विधिको शासन, लोकतन्त्रले अलि गति लिन्छ । नत्र त्यही व्यक्ति, निर्वाचन प्रणालीका कुनै सुधार आउँदैन ।

कति जना दलित चाहिएको हो, उनीहरूको ठाउँ छुट्ट्याइदिने । निर्वाचन आयोगले रोटेसनको आधारमा दलितको निर्वाचन क्षेत्र सुरक्षित गरिदिने । दलित–दलितबिच प्रतिस्पर्धा गराइदिने । यस्तै महिला–महिलाबिच प्रतिस्पर्धा गराइदिने । अल्पसंख्यक–अल्पसंख्यकबिच प्रतिस्पर्धा गराइदिने । त्यसरी पनि लान सकिन्छ । यसो भएमा खर्चिलो हुँदैन ।

समानुपातिक सांसदलाई हेर्ने दृष्टिकोण पनि राज्यको अलि खराब छ । उनीहरू अलि हेपिएका, दबिएका महसुस पनि गर्छन् । हेर्ने दृष्टिकोण पनि नेगेटिभ छ । उनीहरूलाई कतिपयले नेताको खल्तीबाट आएको भन्छन् । त्यसकारण समानुपातिकलाई मैले भनेको जस्तै प्रत्यक्षमा बनाउन सकिन्छ । संघीयता महँगो भनेका छन्, खर्चिलो भयो भनेका छन् । त्यसलाई कम गर्न सकिन्छ । २७५ जनाको संसद् किन चाहियो ? १६५ जनामात्रै गरे हुन्न ? त्यही १६५ जनाभित्रै दलित, जनजाति, महिला, आदिवासी, अल्पसंख्यक, मधेसी, मुस्लिमको कोटा छुट्ट्याइदिने र उनीहरूबिच प्रतिस्पर्धा गरे भइहाल्छ । किन चाहियो धेरै सांसद ?रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...