
वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लगाएको बताएका छन्। उक्त गुफा कम्तीमा १०० मिटर गहिरो रहेको र मानिसहरूको लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको “भूमिगत संसार” मा सयौँ अन्य गुफाहरू हुन सक्छन् र यो तीमध्ये एउटामा पर्छ।

विभिन्न देशहरू अहिले चन्द्रमामा पुग्न र स्थायी रूपमा मानव जातिको उपस्थिति गराउन प्रतिस्पर्धा गर्दै छन्। यद्यपि चन्द्रमामा विकिरण, चरम तापक्रम, र अन्तरिक्षको प्रतिकूल मौसमबाट अन्तरिक्षयात्रीहरूलाई जोगाउनुपर्ने ठूलो चुनौती हुन्छ।
अहिले फेला परेको गुफा शिविर बनाउन उपयुक्त स्थल भएको जस्तो देखिएको प्रथम ब्रिटिश अन्तरिक्षयात्री हेलन शर्मनले बीबीसी न्यूजलाई बताइन्। उनका अनुसार मानिसहरू चन्द्रमामा भएका त्यस्ता खाडलमुनि २०-३० वर्षसम्म बस्न सक्नेछन्।

यद्यपि, यो गुफा निकै गहिरो भएकाले अन्तरिक्षयात्रीहरूले तल ओर्लिन र बाहिर निस्कन “जेट प्याक” वा “लिफ्ट” प्रयोग गर्नुपर्ने हुनसक्छ।
इटलीस्थित यूनिभर्सिटी अफ ट्रेन्टोका लोरेन्जो ब्रुजोने र लिओनार्दो कारेरले चट्टान भएको ‘मेअर ट्र्याङ्क्विलिटेटिस’ भनिने क्षेत्रमा रेडार प्रयोग गरेर एउटा खाडलभित्र उक्त गुफा पत्ता लगाएका हुन्।


पहिला समुद्र रहेको ठानिएको उक्त क्षेत्र पृथ्वीबाट खाली आँखाले नै देख्न सकिन्छ। सोही क्षेत्रमै सन् १९६९ मा अपोलो ११ यान अवतरण भएको थियो।
चन्द्रमाको सतहमा अवस्थित प्वालबाट उक्त गुफामा प्रकाश छिर्छ। गुफा ठाडो छ र गुफाको भुइँ निकै तलसम्म फैलिएको हुन सक्छ।
करोडौँ वा अर्बौँ वर्षअघि चन्द्रमामा लाभा बग्दा चट्टान भएको ठाउँमा सुरुङ बनेको र उक्त गुफाको निर्माण भएको ठानिएको छ।
स्पेनको लान्जारोतेमा ज्वालामुखीका कारण बनेका गुफाहरूसँग त्यसको तुलना गर्न सकिने प्राध्यापक कारेर बताउँछन्। चन्द्रमाको गुफाबारे अध्ययन गर्ने सिलसिलामा अनुसन्धानकर्ताहरू स्पेनस्थित ती गुफामा पनि पुगेको उनले बताए।

तस्बिर स्रोत,GERRY FLETCHER/ BBC
“यो निकै रोचक छ। यस्ता कुरा पत्ता लाग्दा र यी तस्बिरहरू हेर्दा आफू इतिहासमै पहिलो व्यक्ति भएको अनुभूति हुन्छ,” प्राध्यापक कारेरले भने।
उक्त गुफा निकै ठूलो भएको भेउ पाइसकेपछि इटलीका ती दुई प्राध्यापकले उक्त स्थान चन्द्रमामा मानिसका लागि आधारशिविर बन्न उपयुक्त भएको ठानेका हुन्।
“पृथ्वीमा गुफामै जीवन चल्थ्यो। मानिसहरू चन्द्रमामा पनि गुफामा बस्न सक्छन्,” प्राध्यापक कारेरले भने।
उक्त गुफाको पूरै अन्वेषण भइसकेको छैन।
तर अुनसन्धानकर्ताहरूले जमिन छेड्न सक्ने रेडार, क्यामरा रोबट प्रयोग गरेर उक्त गुफाको नक्साङ्कन गर्न सकिने ठानेका छन्।









