
भैरहवा, रौतहट, कपिलवस्तु र नेपालगन्ज — रूपन्देहीको कोटहीमाई–५ मझगावाँका अलिम पठान बिहानै साइकल चढेर मलको खोजीमा गाउँ चहार्छन् । स्थानीय सहकारीमा मल नभएको जवाफ पाएपछि भारतीय मलको खोजीमा सीमा क्षेत्रतर्फ जान्छन् । कहिलेकाहीँ गाउँमा ल्याइएको भारतीय मल खरिद गर्छन् ।

पठानले १० कट्ठामा धान रोपेका छन् । अहिले मल छर्ने बेला हो, मल नछरे बाला राम्रो लाग्दैन । भारतबाट मल किन्दा महँगो पर्छ । पठानका अनुसार गाउँमा सहुलियतको युरिया प्रतिबोराको ९ सय रुपैयाँ पर्छ । भारतबाट ल्याउँदा एउटै बोराको १ हजार ५ सय रुपैयाँ पर्छ । ‘सीमा वारिपारिका सुरक्षाकर्मीलाई चिया खर्च दिनुपर्छ,’ उनले भने, ‘त्यसमा २/३ सय रुपैयाँ खर्च हुन्छ ।’ भारतबाट डीएपी मल ल्याउँदा प्रतिबोरा २ हजार ७ देखि ३ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको पठानले सुनाए । स्वदेशमै उपलब्ध भए डीएपीलाई किसानले २ हजार ३ सय ५० रुपैयाँभन्दा बढी तिर्नुपर्दैन

कोटहीमाई–५ कै सुवासचन्द्र यादव धान खेतीका बेला सधैं मल अभाव हुने गरेको बताउँछन् । ‘डीएपी मल चाहिएको बेला स्थानीय सहकारीमा युरिया उपलब्ध हुन्छ । युरिया चाहिएको बेला डीएपी आइपुग्छ,’ उनले भने, ‘तर कहिल्यै पर्याप्त आउँदैन ।’ सीमापारि पुगेर मल ल्याउन आफूहरू बाध्य बनेको यादवले बताए ।

उनका अनुसार जिल्लाका सीमावर्ती मात्र नभएर उत्तरी क्षेत्रका किसान पनि भारतीय मलमै निर्भर छन् । ‘तर सीमा पारि जाँदा भारतीय सीमा सुरक्षा बलले सताउँछ र वारि आफ्नै प्रहरीको निगरानीमा परिन्छ,’ उनले भने । कोटहीमाई–५ की सर्वदादेवी मौर्यले आफ्नो गाउँका कसैले पनि पर्याप्त मल नपाएको सुनाइन् । ‘यहाँ एक सय बोरा चाहिएको हुन्छ, सहकारीमा २० बोरा आउँछ,’ उनले भनिन् ।

किसानहरू मलको खोजीमा बिहानै सीमा क्षेत्र पुग्छन् । बिहान १०/११ बजेतिर उनीहरू साइकल र मोटरसाइकलमा मलका बोरा बाँधेर फर्किरहेका देखिन्छन् । स्थानीय प्रशासनको आँखा छल्नुपर्ने भएकाले उनीहरू ग्रामीण नाकाबाट ओहोरदोहोर गर्छन् ।










