मतपत्र छपाइको काम पनि अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। अब काठमाडौं उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ।
अब दुई दिनमा मतपत्र छपाइ सक्ने आयोगको तयारी छ। छापिएका जति जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको छ। हाल दैनिक ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
यता,निर्वाचनमा होमिएका उम्मेदवारहरू पनि यतिखेर जनताको घरदैलोमा भोट मागिरहेका छन्। निर्वाचन घोषणापत्र सार्वजनिक हुने क्रम पनि जारी छ। राजनीतिक दलहरू निर्वाचन प्रचारप्रसारमा व्यस्त छन्।
अब निर्वाचनको बेला कति दिन विद्यालय बन्द हुन्छन् भन्ने पनि जिज्ञासा बढेको छ। यसअघि हुने निर्वाचनमा पनि विद्यालय बन्द गरिएको थियो। सरकारले २०७९ मा भएको स्थानीय तह निर्वाचनका लागि ६ दिनसम्म विद्यालयहरू बन्द गरेको थियो।
अर्कातर्फ सामुदायिक स्कुल नै ‘मतदान केन्द्र’ राखिएको कारण पनि विद्यालय बन्द गर्नेुपर्ने बाध्यता छ। यसपाली १६५ निर्वाचन क्षेत्र र देशभर २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएका छन्।
निर्वाचनको बेला कति दिन विद्यालय बन्द हुन्छ भन्नेमा प्रश्नमा अहिले केही जानकारी नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘निर्वाचनमा कति दिन विद्यालय बन्द हुन्छ भन्ने अहिले यकिन जानकारी छैन, अब निर्वाचन आयोगले के कस्तो तालिका बनाएको छ, योजना बनाएको छ, तदनुसार विद्यालय बन्द हुन्छन्।’
आयोग भन्छ : तीन दिन विद्यालय बन्द गर्ने तयारी छ
निर्वाचन आयोगले निर्वाचनको लागि तीन दिनसम्म विद्यालय बन्द गर्ने योजना बनाएको छ तर अहिले नै कुनै निर्णय भने नभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनले थाहाखबरसँग भने, ‘पहिलादेखि नै निर्वाचनको बेला विद्यालय बन्द गरिदै आएको छ,अब यसपालीको निर्वाचनका लागि ३ दिन विद्यालय बन्द गर्ने भन्ने छ, निर्णय नै भने भइसकेको छैन, अब यसबारे छलफल हुन्छ अनि निर्णय गरेर जानकारी दिन्छौँ।’
कहिलेबाट विद्यालय बन्द गर्ने भन्ने पनि छलफलपछि निर्णय लिइने उनले बताए।
जनशक्ति अपुग भएमा शिक्षक खटाइने
निर्वाचन आयोगका अनुसार निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन हुँदै छन। निर्वाचनमा आयोग, संघ, प्रदेश र स्थानीय तह गरी तिनै तहका निजामती कर्मचारी लगायत गरेर कुल २ लाख १३ हजार १६१ जनशक्ति परिचालन हुँदै छन्।
आवश्यकतानुसार खटाएर त्यसबाट पनि अपुग भएमा शिक्षकसमेतलाई निर्वाचनमा खटाउने आयोगको तयारी छ। यसअघिका निर्वाचनमा शिक्षकहरूलाई पनि खटाइएको थियो।
निर्वाचन अवधिभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी गरी ३ लाख ३७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ। याे निर्वाचनमा शिक्षकहरूलाई खटाएमा पठनपाठन पनि प्रभावित हुने देखिन्छ।थाहाखबर बाट साभार






