यही सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौँ- ५ का उम्मेदवार कमल थापासँग चुनावी अभियान, क्षेत्र परिवर्तन, सम्भावित गठबन्धन, राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा तथा समसामयिक राजनीतिक अवस्थाबारे थाहाखबरकर्मी डाकमान राईले गरेको कुराकानीको सम्पादित अंश-
घरदैलो कार्यक्रम सकियो कि बाँकी छ?
घरदैलो करिब करिब सकिसकेको छ। भोलि राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाइने भएको हुनाले हामी तीव्र गतिले भेटघाटमा नै व्यस्त छौँ।
घरदैलो अब सक्दै गर्दा निष्कर्ष के रह्यो?
म अत्यन्तै उत्साहित छु। यसपटक जनताले परिवर्तन खोजेका छन्। परिवर्तन केवल व्यक्ति र दलको मात्र होइन, विचारको पनि परिवर्तन खोजिराखेका छन्।
राष्ट्र निर्माणको मार्गचित्रको पनि परिवर्तन खोजिराखेका छन्। त्यो परिवर्तनको एजेण्डा बोक्ने एक मात्र राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी भएको कारणले गर्दा जनताले अत्यन्तै सकारात्मक उत्साहजनक रेस्पोन्स दिएका छन्। म साह्रै उत्साहित छु।
यसअघिका सबै चुनाव मकवानपुरबाट लड्नुभएको मान्छे, यसपटक निर्वाचन क्षेत्र परिवर्तन किन गर्नुभयो?
मकवानपुरबाट गत चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंहले जित्नुभयो। उहाँ निर्वाचित भइसकेपछि संसदमा पनि राम्रो भूमिका खेल्नुभयो।
जिल्लाको विकास निर्माणमा पनि महत्त्वपूर्ण योगदान दिनुभएको कारणले गर्दाखेरि पार्टीले उहाँलाई मकवानपुर जिल्लाबाट उठाउने निर्णय गरेको हो।
म स्थायी बसोबास गर्दछु। त्यसको साथसाथै यस क्षेत्रबाट मैले पहिले पनि उम्मेदवारी दिइसकेको कारणले गर्दाखेरि यहाँबाट पार्टीले उम्मेदवार बनायो।
दीपक सिंहले जितेको स्थानमा स्वाभाविक रूपमा तपाईँका लागि सुरक्षित त मकवानपुर क्षेत्र हुन्थ्यो नि!
त्यसकारणले म क्षेत्र नम्बरबाट ५ बाट उठेको छु। म अहिलेसम्मको चुनावी प्रचार अभियानको आधारमा भन्न सक्छु कि यसपटक हामी अत्यधिक बहुमतले निर्वाचित हुँदैछौँ। अब मकवानपुरबाट, हेटौँडाबाट फेरि पनि दीपक सिंहले जित्नुहुनेछ र अर्को एउटा थप सिट काठमाडौंबाट पार्टीले प्राप्त गर्नेछ।
यसअघि त यहाँ नेकपा एमालेको सूर्य चिह्न लिएर पनि चुनाव लड्नुभयो। यसपटक आफ्नै चिह्नबाट चुनाव लड्दै हुनुहुन्छ। विगतमा जस्तो नेकपासँग कुनै ठाउँमा तालमेलको सम्भावना छ कि छैन?
अब पार्टीले यसपटक कोसिसँग पनि तालमेल गरेको छैन। काठमाडौं ५ नम्बर क्षेत्रमा रोचक कुरा के रहेको छ भने विगतमा जुनसुकै पार्टीलाई भोट हालेको भए तापनि ती मतदाताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी र व्यक्तिगत रूपमा कमल थापालाई भोट हाल्ने मनस्थिति बनाएका छन्।
त्यसको केही कारणहरू छ। पहिलो कारण यो चुनाव भ्रष्टाचार र कुशासनको विरुद्धमा हो। करिब पाँच दशक लामो राजनीतिक यात्राका बाबजुद जुन निष्कलंक र स्वच्छ छवि मैले कायम गर्न सकेको छु। दोस्रो, जनताले यसपटक हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा अत्यन्तै सकारात्मक धारणा बनाएका छन्। आम मतदाताले राजा खोजिराखेका छन्।
देशको अहिलेको जुन किसिमको मनपरितन्त्र रह्यो, केही राजनीतिक दलहरूले सिन्डिकेट खडा गरेर ब्रह्मलुट गर्ने काम गरे। यी सबै कारणले गर्दाखेरि जनताले अब अभिभावकको रूपमा राजसंस्था आवश्यक छ भन्ने मनस्थिति बनाएका छन्।
त्यो भूमिका मैले पहिले पनि निर्वाह गरिसकेको छु। नाकाबन्दी अन्त्य गर्नको लागि होस् वा अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको प्रतिष्ठा बढाउनु होस्, त्यस कारणले गर्दाखेरि पनि तपाईँलाई हामी सहयोग गर्छौँ भनेर मतदाताले भनिरहेका छन्।
जनता अब राज संस्थाको पक्षमा छन् अनि हिन्दू राष्ट्रको पक्षमा छन् भनेर तपाईँले दाबी गरिरहनु भएको छ। । यो दाबी विगतदेखि नै हो। तर यो दाबी ब्यालेटमा चैँ देखिँदैन। तपाईँहरूको दाबी ब्यालेटमा किन प्रकट हुँदैन?
वास्तवमा के भने यो भन्दा अगाडिको एउटा भोटिङ ट्रेण्ड अलिकति फरक थियो। यसपटक त्यो अवस्था रहँदैन भन्ने हामीलाई लागेको छ। यसपटक हामीले पनि प्रष्ट रूपमा जनतालाई भनेका छौँ-तपाईँहरू भ्रष्टाचारको विरोध गर्नुहुन्छ, रातदिन देशमा बेरोजगारी समस्याबाट पिरोलिएको चिन्ता गर्नुहुन्छ। तर भोट हाल्ने दिन त्यो सबै कुरा बिर्सेर फेरि त्यही भ्रष्ट नेता र भ्रष्ट पार्टीलाई भोट हाल्नुहुन्छ।
तपाईँहरू सधैँ हिन्दू राष्ट्रको पक्षमा हामी छौँ भनेर भन्नुहुन्छ तर भोट हाल्ने बेलामा जसले हिन्दू राष्ट्रको पहिचान समाप्त पार्यो त्यसैलाई हाल्नुहुन्छ र राजा आवोस् भन्ने चाहना राख्नुहुन्छ तर जसले राज संस्थालाई पाखा लगायो त्यही शक्तिलाई फेरि-फेरि पनि भोट हाल्नुहुन्छ।
तर यो पटक कम से कम त्यो गल्ती नगरौँ भनेर हामीले भनेका छौँ। जनता यसपटक सचेत छन्। मलाई लाग्छ जनताको भावना भोटमा रूपान्तरण हुन्छ।
उन्नान्असीको निर्वाचनमा राप्रपाले ल्याएको जम्मा यो क्षेत्रको मत एकतिस सय थियो। तर विजयी उम्मेदवारले ल्याएको मतान्तर नै पन्ध्र सयभन्दा माथि थियो। तपाईँको जित्ने आधार प्रष्ट कसरी हुन्छ?
यो चाहिँ अब उम्मेदवारमा पनि भर पर्छ। प्रत्यक्ष जति भए पनि समानुपातिक मतको हकमा गत चुनावमा पनि करिब सात हजारभन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टीले यो क्षेत्रबाट प्राप्त गरेको छ।
अरू पार्टीहरूले ९-१० हजार मत प्राप्त गरेका हुन्। म आफैँ चाहिँ यो निर्वाचनमा खडा भएको कारणले गर्दा कांग्रेस र कम्युनिस्ट पार्टीहरू प्रतिरक्षात्मक अवस्थामा छन्। उनीहरूप्रति तीव्र रूपले वितृष्णा चाहिँ नै छ। यो क्षेत्रमा स्वतन्त्र र चेतनशील मतदाताहरूको बाहुल्य रहेको छ।
त्यसकारणले गर्दा २०६४ सालदेखि अहिलेसम्मको चाहिँ नै परिणामलाई हेर्ने हो भने कहिले माओवादीले जितेको छ, कहिले कांग्रेसले जितेको छ, कहिले एमालेले जितेको छ, फेरि त्यसपछि कङ्ग्रेसले जितेको। यसले के भन्छ भने यो क्षेत्रका जनता असल उम्मेदवार खोज्छन्। एउटै पार्टीलाई भोट हालेको कारणले गर्दाखेरि अर्को पटक पनि त्यसैलाई हाल्छन् भन्ने जरुरी छैन। त्यसकारण तपाईँले गत चुनावको चाहिँ मतको आधारमा आँकलन निकाल्न खोज्नुभयो भने त्यो गलत हुन्छ।
तपाईँले यो क्षेत्रका मतदाताले कसरी नेता फेरिरहन्छन् भन्नुभयो। यसपालि रास्वपाको अलि बढी व्हिम पनि छर। कसरी हेर्नुभएको छ?
यो काठमाडौंको पाँच नम्बर क्षेत्रमा त्यो लहरले खासै असर गरेको देख्दिनँ। गत निर्वाचनलाई आधार मान्ने हो भने पनि त्यति धेरै सशक्त चाहिँ नै देखिँदैन।
सबैभन्दा महत्त्वपूर्ण कुरा जनताले मत हाल्ने क्रममा परिवर्तन खोजेका छन्। तर नयाँले अनुहार मात्रै फेर्ने कुरा गरेका छन्। विचार र बाटो परिवर्तन गर्ने एजेण्डा उहाँहरूसँग छैन।
विचार र बाटो परिवर्तन गर्ने एजेण्डा हामीले मात्र बोकेका छौँ। त्यसको पनि मुख्य सम्भाक स्वयं म कमल थापा यो क्षेत्रबाट उम्मेदवार भएको कारणले गर्दाखेरि यसपटक मत परिवर्तन हुँदैछ। त्यो मतको परिवर्तन विचार र बाटोको पक्षमा हाम्रो पक्षमा चाहिँ हुन्छ ।
त्यसको म स्वागत नै गर्न चाहन्छु। तर नयाँ भनेको केवल अनुहार परिवर्तन होइन, दल परिवर्तन होइन, विचार र बाटोको कुरा हो। राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ अनुहारहरू छन्। तर उहाँहरूले बोक्नुभएको विचार र बाटो पनि विगत २० वर्षदेखि कांग्रेस र कम्युनिस्टहरूले बोक्दै आएको असफल विचार र बाटो नै हो। त्यसबाट गन्तव्यमा पुग्न सकिन्न। सकारात्मक परिणाम आउन सक्दैन।
जेन्जी आन्दोलनपछि हुन लागेको यो विषम परिस्थिति पछिकै निर्वाचन भनौँ। यो निर्वाचनले देशलाई निकास दिन्छ?
जनताले अपेक्षा गरेअनुसारको निकास दिँदैन। वास्तवमा भदौको जुन युवाहरूको आन्दोलन भएको थियो, त्यो आन्दोलनको मुख्य माग भनेको भ्रष्टाचार र कुशासनको अन्त्य थियो।
भ्रष्टाचार र कुशासनको अन्त्यको निमित्त व्यक्ति मात्र फेरेर पुग्दैन। व्यक्तिको साथसाथै संरचनागत, नीतिगत र प्रणालीगत सुधारको समेत आवश्यकता पर्दछ। तर दुर्भाग्यवस जेनजी युवाको आन्दोलन सकिएको केही दिन पनि बित्न नपाउँदै त्यो आन्दोलनको म्यान्डेट नै हाइज्याक भयो।
देशी विदेशी शक्तिहरूले यथास्थितिलाई नै निरन्तरता दिने प्रयास गरे। जसको परिणामस्वरूप यो फागुन २१ गते चुनाव हुँदैछ। सबै कुरा यथास्थितिमा राखेर हुने चुनावले जनताले सोचेअनुसारको जुन आमूल परिवर्तन छ, त्यो परिवर्तन चाहिँ सम्भव छैन। किनभने कुनै पनि पार्टीको पूर्ण बहुमत प्राप्त हुँदैन। त्यो अवस्थामा फेरि गठबन्धन गर्नुपर्छ र उही पुरानो भ्रष्ट मानसिकता, भ्रष्ट प्रवृत्ति, गठबन्धनको चाहिँ अपवित्र गठबन्धनको चाहिँ संस्कार यो चुनावपछि पनि फेरि दोहोरिने छ।
तथापि हामी चुनावमा यसकारण भाग लिइरहेका छौँ। यही कुरा पनि हामी चुनावमा पनि जनतालाई सुनाउन चाहन्छौँ र चुनावमा जितेर गएर फेरि एउटा आमूल परिवर्तनको निमित्त हामी सशक्त रूपले जवाब दिन चाहन्छौँ।थाहा खबर बाट साभार






