काठमाडौं : नेपाली कांग्रेस औपचारिक विभाजन उन्मुख भएको छ। 
१४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि नेपाली कांग्रेस औपचारिक फुटको संघारमा पुगेको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय समिति र १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति आमनेसामने भएको छ।
पूर्वसभापति देउवा पक्षले आज १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएको छ।
बैठकमा तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका देउवा पक्षीय पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ।
तत्कालीन मुख्यसचिव कृष्ण पौडेलले बैठकमा उपस्थित हुन सबैलाई टेलिफोन गरेर बोलाएका हुन्। बैठक मंगलबार र बुधबार दुई दिनसम्म चल्ने छ।
देउवा पक्षीय नेता रामहरि खतिवडाका अनुसार टेलिफोनबाट बैठकमा उपस्थित हुन भनिएको छ। तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक, अर्का पूर्वमन्त्री दीपक खड्का पक्राउ र २१ फागुनमा सम्पन्न निर्वाचनमा भएको हारको समीक्षा गर्ने उल्लेख छ।
ओली र लेखक पक्राउको विषयमा पार्टी संस्थापन र देउवा पक्षले अलग–अलग विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेका थिए। संस्थापन पक्षले गत २३ र २४ भदौका दुवै घटनाका दोषीउपर विधि र पक्रियासम्मत तरिकाले हुने कारबाहीमा पार्टीको साथ रहने विज्ञप्तिमा उल्लेख छ।
तर, देउवा पक्षले ओली र लेखक पक्राउ राजनीतिक प्रतिशोध भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ। देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेस संस्थापन पक्षले बुधबार केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। देउवा पक्षको बैठकको भोलिपल्टै अर्थात् बुधबार दिउँसो १ बजे बस्ने बैठकमा देउवा पक्षबाट भएको गतिविधि र निर्वाचनमा भएको अन्तर्घातबारे छलफल केन्द्रित हुने सूचनामा उल्लेख छ।
पार्टी केन्द्रीय कार्यसमितिले १६–१९ असोजमा काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय लिइसकेको अवस्थामा देउवा पक्ष अदालतको फैसला नआएसम्म प्रक्रियामा सहभागी नहुने बताउँदै आएको छ।
विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिने निर्णयविरुद्ध पूर्वसभापति देउवा र तत्कालीन कार्यबाहक सभापति खड्काले अदालतमा रिट दायर गरेका छन्।
उक्त रिटको पेसी यही २२ चैतमा तोकिएको छ। पूर्वसभापति देउवा हाल सिंगापुरमा छन्। देउवा निर्वाचनअघि १३ फागुनमा सिंगापुर गएका हुन्।
यस्तै असन्तुष्ट समूहले जिल्ला सभापतिहरूको भेला पनि बोलाएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा आफूलाई उभ्याउँदै जिल्ला सभापतिहरूको भेला बोलाएका हुन््। १९ चैतमा धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बस्नेगरी बैठक बोलाइएको छ।
बैठकमा २७ देखि ३० पुसम्म सम्पन्न भएको विशेष महाधिवेशनमा उपस्थित नभएका जिल्ला सभापतिहरू सहभागी हुने बताइएको छ। थाहा खबर बाट साभार






