धनगढी न्यूज

गगन लडेको क्षेत्र पुगेर रविले भने- सर्लाहीबाट मलाई न्याय चाहियो

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने बुधबार सर्लाही-४ पुगेर सम्बोधन गरेका छन् । यही क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन्

यसअघि दुई पटक कांग्रेस र एकपटक स्वतन्त्र गरी तीनपटक जितेका अमरेशकुमार सिंहलाई रास्वपाले गगनविरुद्ध उतारेको छ । यही कारण सर्लाही-४ यसपटकको निर्वाचनको ‘हटसिट’ पनि हो ।

सर्लाही-४ मा पुगेर मतदातालाई सम्बोधन गर्दा रास्वपा सभापति लामिछानेले कांग्रेस सभापति थापामाथि आक्रोश पोखे । नामै नलिएर उनले थापालाई ‘मधेशको बेटा’ भन्दै सर्लाही आएको टिप्पणी पनि गरे ।

‘मलाई थाहा छ अमरेश जी जित्नुहुन्छ । तर, यदि यो ठाउँमा अमरेश जी नभएपनि एउटा मधेशको मान्छे जित्थ्यो, मधेशीले जित्थ्यो,’ लामिछानेले भने, ‘तर, काठमाडौंबाट कोही आएर मधेशको बेटा हुँ भन्दै एउटा ठाउँ लिने जुन प्रयास भएको छ, यसपटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको ।’

अब मधेश, देश, हिमाल, पहाड भनेर चुनावमा भोट माग्ने सटर बन्द गर्ने उनले बताए ।  ‘अब पहाडी र मधेशी भनेर, म यहाँको मान्छे, म त्यहाँको मान्छे भनेर होइन, एकैपटक देशलाई न्याय दिनेगरी नेपालको कुरा गर्ने हो, देशको कुरा गर्ने हो,’ लामिछानेले भने ।

पहिले आफूले पटकपटक सर्लाहीलाई न्याय दिएको दाबी गर्दै लामिछानेले यसपटक आफूलाई न्याय दिन आग्रह गरे । उनले अगाडि भने, ‘हिजो सर्लाहीलाई अन्याय पर्दा म उभिएको हुँ, यसपटक अलिकति न्याय मलाई चाहिएको छ । धेरै न्याय र सहयोग देशलाई चाहिएको छ ।’अन्लाईन खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×