धनगढी न्यूज

ताइवानलाई अर्बौंको हतियार बेच्ने लागेपछि चीनले लगायो अमेरिकी कम्पनी र अधिकारीलाई प्रतिबन्ध

ताइवानलाई अर्बौं डलरको हतियार बिक्री गर्ने निर्णयपछि चीनले २० वटा अमेरिकी कम्पनी र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ।

चिनियाँ विदेश मन्त्रालयले शुक्रबार  विज्ञप्ती जारी गरी बोइङको सेन्ट लुइसस्थित रक्षा शाखासहित नर्थरोप ग्रुम्यान सिस्टम्स कर्पोरेसन र एल–३ह्यारिस म्यारिटाइम सर्भिसेसजस्ता कम्पनीहरूलाई प्रतिबन्ध सूचीमा राखिएको जनाएको छ।

प्रतिबन्धमा परेका व्यक्तिहरूमा एन्डुरिल इन्डस्ट्रिजका संस्थापकसहित ती कम्पनीका ९ जना वरिष्ठ अधिकारी रहेका छन्।

उनीहरूलाई चीन प्रवेशमा रोक लगाइएको छ भने सम्बन्धित कम्पनी तथा व्यक्तिका चीनभित्र रहेका सम्पत्ति रोक्का गरिने र चिनियाँ संस्था तथा व्यक्तिलाई उनीहरूसँग कारोबार गर्न निषेध गरिएको छ।

चीनको यो कदम प्रतीकात्मक रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।  किनकि अमेरिकी रक्षा कम्पनीहरूसँग चीनको प्रत्यक्ष कारोबार न्यून छ। यद्यपि बोइङसँग भने चीनले विमान खरिद गर्दै आएको छ।

गत साता वासिङ्टनले ताइवानलाई ११.१ अर्ब डलर बराबरको हतियार बिक्री घोषणा गरेपछि चीन आक्रोशित भएको थियो। यो ताइवानका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो अमेरिकी हतियार प्याकेज हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ताइवान मुद्दा चीनका मुख्य चासोको विषय रहेको र यस मुद्दामा  सीमा नाघ्ने कुनै पनि उत्तेजक कदमको चीनले कडा जवाफ दिने बताएका थिए।

चीनले लोकतान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो भू–भागको हिस्सा मान्दै आएको छ। तर ताइपेइले यो दाबी अस्वीकार गर्छ। अमेरिकी कानुनअनुसार वाशिङ्टन ताइवानलाई आत्मरक्षाका लागि आवश्यक साधन उपलब्ध गराउन बाध्य छ, यद्यपि यसले चीनसँगको सम्बन्धमा बारम्बार तनाव उत्पन्न गर्दै आएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले चिनियाँ कदमप्रति कडा आपत्ति जनाउँदै ताइवानको आत्मरक्षा क्षमतामा सहयोग गर्ने अमेरिकी कम्पनीहरूमाथि प्रतिशोध नलिन बेइजिङलाई आग्रह गरेका छन्।

उनले ताइवानमाथि सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गरी ताइपेइसँग अर्थपूर्ण संवाद गर्न चीनलाई आह्वान गरेका छन्।

यसैबीच, बोइङले चिनियाँ वायुसेवा कम्पनीहरूलाई ५०० वटासम्म नागरिक विमान बिक्री गर्ने सम्भावनाबारे वार्ता गरिरहेको सेप्टेम्बरमा सार्वजनिक भएको थियो।

यो सम्झौता भएमा अमेरिकी–चिनियाँ व्यापार तनावका बीच विश्वकै दोस्रो ठूलो उड्डयन बजारमा बोइङका लागि ठूलो उपलब्धि हुने बताइएको छ।सेतोपाटी बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×