धनगढी न्यूज

बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ

महिला सांसद

गौरी कुमारी यादवकी आमा उनलाई डाक्टर बनाउन चाहन्थिन्।

आमाले देखेको सपना गौरीले पूरा गर्न सकिनन्। तर डाक्टरी पढ्ने नीति निर्माणको तहमा उनी आइपुगेकी छन्।

फागुन २१ को प्रतिनिधिसभा चुनावमा महोत्तरी–४ बाट ३० हजार भोट ल्याएर गौरी निर्वाचित भएकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव उठेकी थिइन्।

गौरीले सानैदेखि भारतको सीतामढी बसेर पढिन्। उनको गाउँमा माध्यमिक विद्यालय थिएन। जनकपुर पनि जान सकिन्थ्यो, तर उनीहरूका लागि जनकपुरभन्दा सीमा जोडिएको सीतामढी नै सहज भयो।

सीतामढीमै आइएससी पढेर सकेपछि गौरीको बिहेको कुरा चल्यो।

बिहेको कुरा अघि बढाउँदा उनकी आमाको एउटै सर्त थियो — जसले मेरी छोरीलाई डाक्टरी पढाउँछ, उसैसँग बिहे गरिदिने!

महोत्तरीकै अर्को गाउँका शिवजी यादवले यो शर्त पूरा गर्ने वाचा गरे।

त्यो बेला शिवजी रूसमा पढिरहेका थिए। उतै व्यवसाय पनि गर्थे।

सर्त स्वीकार गरेपछि शिवजीसँग गौरीको बिहे भयो।

सर्त अनुसार गौरीले डाक्टरी पढ्न त थालिन्, तर पढाइ पूरा गर्न सकिनन्।

‘घरपरिवारको जिम्मेवारीले पढाइ पूरा गर्ने अवस्थै भएन,’ ५४ वर्षीया गौरीले भनिन्, ‘आफूले पढ्न नसके पनि मैले बहिनीलाई एमबिबिएस पढाएँ।’

अहिले गौरीकी कान्छी छोरी पनि एमडी पढ्दै छिन्। आमाले आफ्नो लागि देखेको सपना बहिनी र कान्छी छोरीमार्फत् पूरा भइरहेकोमा गौरी खुसी मान्छिन्।

आमाको सपना पूरा गर्न नसके पनि गौरी आज यस्तो ठाउँमा आइपुगेकी छन्, जसको सपना कसैले देखेका थिएनन्। उनी स्वयंले पनि यो सपना देखेकी थिइनन्।

सांसद बन्ने सपना नदेखे पनि राजनीतिक वातावरण उनको लागि नयाँ भने होइन।

उनका ससुरा प्रधानपञ्च थिए। रूसबाट फर्केपछि उनका श्रीमान पनि राजनीतिमा लागेर मधेसवादी दल जनता समाजवादी पार्टी (जसपा) का नेता भए।

श्रीमान जसपाबाटै चुनाव उठेका बेला गौरी पनि भोट माग्न घरदैलो जान्थिन्। त्यसले राजनीतिक अनुभव हासिल हुनुका साथै राजनीतिमा लाग्ने आकांक्षा जागेको उनी बताउँछिन्।

‘मलाई जसपाबाटै समानुपातिकमा बस भन्ने कुरा आएको थियो। तर खोई किन हो, त्यो पार्टीमा मलाई रूचि नै लागेन,’ उनले भनिन्, ‘बरू गृहिणी भएरै बस्न मन भयो।’

गृहिणी भएर बसे पनि राजनीतिक आकांक्षा हराएन। उनी ५४ वर्ष उमेरमा रास्वपामा आबद्ध भइन्।

रास्वपासँग कसरी जोडिनुभयो भन्ने जिज्ञासामा गौरीले भनिन्, ‘बालेन शाह जोडिएपछि।’

‘पार्टीमा लाग्नुअघि बालेनजीसँग मेरो प्रत्यक्ष देखभेट थिएन। पारिवारिक चिनजान भने थियो। जब बालेनजी रास्वपामा जानुभयो, त्यसपछि म पनि गएँ,’ उनले भनिन्, ‘उहाँको परिवारसँग हाम्रो पहिलेदेखि नै सम्बन्ध छ। उहाँका चार जना काका हुनुहुन्छ, उहाँहरूसँग पारिवारिक सम्बन्ध छ हाम्रो।’

हामीले गौरीसँग उनको निर्वाचन क्षेत्रको समस्यादेखि सांसदका रूपमा के–कस्ता नीतिमा काम गर्ने सोचेकी छन् भन्ने पनि सोधेका छौं।

छोरीहरू हुर्किसकेपछि राजनीतिको मैदानमा ओर्लिएकी गौरीले मधेसमा मौलाएको दाइजो प्रथा अन्त्यका लागि काम गर्न मन भएको बताइन्।

‘सबभन्दा पहिला दाइजो प्रथा हटाउनुपर्छ। मेरो भनाइ के छ भने दाइजो नदिनुस्, बरू दाइजो दिने पैसा बराबरको जग्गा छोरीको नाममा गरिदिनुस्,’ उनले भनिन्, ‘भोलि छोरीले अपमान र घरेलु हिंसा सहनुपर्‍यो भने पनि उसको भविष्य सुरक्षित हुन्छ।’

पैतृक सम्पत्तिमा छोरीलाई अधिकार हुने भनेर संविधान र कानुनले लेखे पनि प्रभावकारी कार्यान्वयन नभएकाले दाइजो प्रथा मौलाएको उनको भनाइ छ।

विकास निर्माणमा हुने भ्रष्टाचार पनि मधेस लगायत सिंगो देशलाई पछाडि पार्ने कारण रहेको उनको बुझाइ छ। मधेस क्षेत्रमा त राज्यले गरिबका लागि छुट्याएको बजेट पनि आम जनतासम्म नपुगेको अनुभव उनले भोगेकी छन्।

‘मैले घरदैलो गर्दा के देखेँ भने — जसको १० बिघा जग्गा छ, उसैले अनुदानको १०-२० वटा कल (धारा) पाएको छ। उसलाई त्यसको जरूरत नै छैन। कलधाराको अनुदान त विपन्न वर्गलाई दिएको हो नि,’ उनले भनिन्, ‘त्यस्तो अनुदान वा ऋण सुविधा पनि गरिबका नाममा धनीहरूले नै लिइरहेका छन्।’

उनले देखेको अर्को विकृति हो — विकास निर्माणको ठेक्का पाउने व्यक्तिले पनि सरकारी कर्मचारीहरूलाई दिनुपर्ने घुस।

स्थानीय निकायमा मौलाएको यो विकृतिले साना साना ठेक्कापट्टा गर्ने ठेकेदारहरू मर्कामा परेको उनी बताउँछिन्।

यस्ता विकृतिका अतिरिक्त मधेसमा शिक्षा र स्वास्थ्य सेवा सुधारको मुद्दा पनि प्रमुखतासाथ उठाउने गौरीको योजना छ।

‘संसदमा गएर सबभन्दा पहिला म गाउँका स्कुल, स्वास्थ्य चौकी सुधार गर्नुपर्छ भनेर आवाज उठाउँछु,’ उनले भनिन्, ‘गाउँका स्कुलहरू नेताहरूका आफन्तको भर्ती केन्द्र बनेका छन्। त्यो जालो तोडेर योग्य शिक्षक भर्ना गर्नुपर्छ।’

‘सामुदायिक स्कुल राम्रा भए महोत्तरीका ग्रामीण किसानले जनकपुर जस्ता सहरमा लगेर बच्चाबच्चा पढाउनुपर्दैन,’ गौरीले अगाडि भनिन्।

त्यस्तै, ग्रामीण स्वास्थ्य सेवाको नाजुक अवस्थाले सानोतिनो रोग लाग्दा पनि जनकपुर जानुपर्ने बाध्यता रहेको औंल्याउँदै उनले यसबारे पनि संसदमा आवाज उठाउने बताइन्।

सार्वजनिक सरोकारका यिनै मुद्दामा बालेन सरकारले काम गर्छ भन्ने आफूलाई विश्वास भएको उनको भनाइ छ।

‘मलाई बालेन सरकारले यी मुद्दा सुन्छ र काम गर्छ भन्ने विश्वास छ। त्यही विश्वासले पनि म राजनीतिमा आएको हुँ,’ गौरीले भनिन्।सेतोपाटी बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×