२८ फेब्रुअरी शनिबारका दिन दक्षिणी इरानको मीनाब सहरमा रहेको शजारेह तैय्येबेह (सुन्दर वृक्ष) प्राथमिक विद्यालयमा अमेरिकाले स्थानीय समय अनुसार १० बजेर ४५ मिनेटमा बम हमला गर्यो ।
अमेरिकी बम हमलामा परी १७० बालिकाको ज्यान गयो भने झन्डै ९५ विद्यार्थी र शिक्षक घाइते भए । हमला भएसँगै उद्धारका लागि पुगेका स्थानीयवासी र उद्धारकर्ताहरूको टोलीले भग्नावशेषबाट घाइतेहरूलाई निकाल्दै गर्दा उद्धारकर्ताहरूमाथि फेरि अर्को बमबाट हमला गरियो ।
विद्यालयमा मारिने १७० बालिकामध्ये अधिकांश ७ देखि १२ वर्षका थिए ।
यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तपाईँहरूले इरानको प्राथमिक विद्यालयमा बम हमला किन गर्नु भयो भनी पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘त्यहाँ विद्यालय छ भन्नेबारे त हामीलाई थाह छैन, मसँग यस्ता प्रश्न नसोध्नुस् ।’
विद्यालय रहेको स्थानमा १० वर्ष पहिले इस्लामिक रेब्युलुशनरी गार्ड कोर (आईआरजीसी) को सैन्य हाता थियो । सैन्य हाताबाट विद्यालयलाई छुट्याएर विद्यालयले आफ्नै पर्खाल लगाउँदा पनि एआईको डेटा सिस्टममा पछिल्लो १० बर्षको विकासक्रमबारे कुनै अपडेट डेटा नहुँदा त्यहाँ पढ्ने बालिका र शिक्षकहरू ‘डिजिटल नरसंहार’ वा भन्नुस् ‘अल्गोरिदमिक वारफेयर’ को हत्याचक्रमा परे ।
इरानमाथि अमेरिका र इजरायलले थालेको युद्धले दुई हप्ता पुरा हुँदै गर्दा यो घटना त्यस्तो महत्त्वपूर्ण पानीढलो हो, जहाँबाट युद्धमा प्रयोग गरिएको एआईको प्रयोगले युद्धलाई झनै भयावह र त्रासद बनाउँदै लगेको स्पष्ट हुन्छ ।
प्यालेनटियरले मुलतः विश्वभरका डेटा एककृत गर्ने र विश्लेषण गर्ने काममा महारथ हासिल गरेको छ । तर यो कम्पनी अमेरिका एवं इजरायलका सैन्य एजेन्सीहरूसँग मिलेर उनीहरुको हितमा काम गर्छ । कम्पनीको अन्तिम उद्देश्य अमेरिकी सैन्य सञ्जाललाई बलियो बनाउनु र पैसा कमाउनु हो ।
मिनाबको त्यो स्कुलमाथि एआईद्धारा सञ्चालित ‘स्वार्म ड्रोन र ‘लोइटरिङ एम्युनेसन’ को प्रयोग गरिएको थियो । विशेषगरी अमेरिकामा निर्मित ‘स्वीचब्लेड ६००’ को उन्नत एआई संस्करण वा इजरायली ‘हार्पी’ सँग मिल्दो यो एआई हतियार मानवीय निर्देशन बिनै आफ्नो लक्ष्यको पहिचान गरी हमला गर्छ ।
वर्तमान समयका युद्धहरूमा एआईले नै लक्ष्य चुन्छ, लक गर्छ र हतियारको छनोट गरी बमबारी गर्छ । यो युद्धलाई नजिकबाट हेर्दा भिडियो गेमको कुनै क्लिप भन्दा बढी लाग्दैन । अमेरिका तथा इजरायलले इरान विरुद्धको युद्धमा ‘प्रोजेक्ट मेभन’ (एल्गोरिदमिक वारफेयर क्रस फङ्शनल टीम) तथा ‘टार्गेट फ्याक्ट्री’ प्रणाली अन्तर्गत युद्ध सञ्चालन गरिरहेका छन् ।
युद्धको नयाँ व्याकरण
आधुनिक सैन्य इतिहासमा हामी जुन मोडमा उभिएका छौँ, त्यसलाई सामरिक विज्ञहरूले ‘अल्गोरिदमिक वारफेयर’ को संज्ञा दिएका छन् । यो त्यस्तो युद्धकला हो, जहाँ कृत्रिम बुद्धिमत्ता (एआई) ले केवल सूचना मात्रै दिँदैन, बरु कसलाई मार्ने र कहिले मार्ने भन्ने अन्तिम निर्णयसमेत लिन्छ ।
इरान युद्धमा अमेरिका र इजरायलले प्रयोग गरिरहेको यो प्रविधिको बीउ गाजा र युक्रेनका युद्ध भूमिहरूमा परीक्षण गरिएको थियो । र, यसमा अमेरिकी प्रौद्योगिकी कम्पनी प्यालेनटियर टेक्नोलोजीजको ठुलो भूमिका छ ।

प्यालेनटियरले मुलतः विश्वभरका डेटा एककृत गर्ने र विश्लेषण गर्ने काममा महारथ हासिल गरेको छ । तर यो कम्पनी अमेरिका एवं इजरायलका सैन्य एजेन्सीहरूसँग मिलेर उनीहरुको हितमा काम गर्छ । कम्पनीको अन्तिम उद्देश्य अमेरिकी सैन्य सञ्जाललाई बलियो बनाउनु र पैसा कमाउनु हो ।
नेचर पत्रिकाका अनुसार, युक्रेन युद्धमा एआईले पहिलो पटक ‘डिस्ट्रिब्युटेड इन्टेलिजेन्स’ को भूमिका निर्वाह गर्यो । त्यहाँ अमेरिकी कम्पनी प्यालेनटियरको सफ्टवेयरले रुसी सेनाको मुभमेन्टलाई भू–उपग्रहका तस्बिर र टेलिग्राम म्यासेजहरूबाट ट्रयाक गरेर युक्रेनी सेनालाई ‘रियल टाइम’ सूचना दिने काम गर्थ्यो ।
तर, यसको अझै क्रूर रूप इजरायलले गाजामा प्रयोग गर्यो । इजरायलको +९७२ म्यागजिन र बीबीसीको खोजमूलक रिपोर्टिङले गरेको खुलासा अनुसार, इजरायलले गाजामा ‘ल्याभेन्डर’ नामक एआई प्रणाली प्रयोग गर्यो । यसले ९० हजार भन्दा बढी प्यालेस्टिनीहरूलाई सम्भावित लडाकुका रूपमा सूचीकृत गरेको थियो ।
यो प्रणालीको त्रुटि दर १० प्रतिशतभन्दा बढी थियो, तैपनि यसलाई ‘किलिङ मेसिन’ का रूपमा प्रयोग गरियो ।
गाजामा अर्को प्रणाली ‘द गस्पेल’ प्रयोग गरियो । यसले पहिले मानिसले हप्तामा ५० वटा लक्ष्य पहिचान गर्ने ठाउँमा दिनमै एक सयवटा नयाँ लक्ष्यहरू पहिचान गर्न थाल्यो ।
द गार्डियन पत्रिकाले उल्लेख गरे अनुसार, गाजा र युक्रेनमा गरिएको यो सफल परीक्षण नै अहिले इरान युद्धमा अमेरिका र इजरायलको मुख्य सामरिक आधार बनेको छ । यसले युद्धलाई एउटा स्वचालित ‘टार्गेट फ्याक्ट्री’ मा परिणत गरिदिएको छ ।
‘स्पीड अफ थट’ र ‘हाइपरवार’
इरान विरुद्धको युद्धमा अहिले जुन प्रविधि प्रयोग भइरहेको छ, त्यसलाई सैन्य रणनीतिकारहरू ‘हाइपरवार’ भन्छन् । यो त्यस्तो अवस्था हो, जहाँ युद्धको गति मानवीय निर्णय लिने क्षमता भन्दा कयौँ गुणा तीव्र हुन्छ ।
द वाल स्ट्रीट जर्नलको विशेष रिपोर्ट ‘हाउ एआई इज टर्बोचार्जिङ द वार इन इरान’ का अनुसार, अहिलेको युद्धमा अमेरिकाको ‘प्रोजेक्ट मेभन’ र इजरायलको ‘एड्भान्स्ड एआई इन्टिग्रेशन’ ले युद्धलाई ‘सोचको गति’ भन्दा पनि छिटो बनाएको छ ।

जब एआईले इरानका भूमिगत मिसाइल अखडाहरू वा सैन्य नेतृत्वलाई ट्रयाक गर्छ, त्यसले सेकेन्डभरमै हजारौँ डेटा पोइन्ट्सहरू प्रशोधन गर्छ ।
अल जजिराकोको रिपोर्ट भन्छ, अमेरिकी सैन्य अधिकारीहरूले पुष्टि गरे अनुसार इरानमा एआईले नै लक्ष्य पहिचान गर्छ र त्यसलाई ध्वस्त पार्न कुन हतियार उपयुक्त हुन्छ भन्ने निर्णय पनि आफैँ लिन्छ । यो प्रक्रियामा सैन्य अधिकारी ‘पर्यवेक्षक’ को भूमिकामा सीमित हुन्छ ।
द एआई इनोभेटरको विश्लेषणले के देखाउँछ भने एआईले इरानको ‘डिजिटल फुटप्रिन्ट’ लाई यति गहिराइमा अध्ययन गरेको छ कि कसैले फोन अन गर्नासाथ वा कार चलाउनासाथ एआईले त्यसलाई ‘थ्रेट’ का रूपमा वर्गीकृत गर्न सक्छ ।
नेचरमामा प्रकाशित शोधपत्र र इन्टरनेशनल कमिटी अफ द रेडक्रसका अनुसार, एआईलाई प्रोग्रामिङ गर्दा नै निश्चित संख्यामा सर्वसाधारणको मृत्युलाई ‘स्वीकार्य’ मान्न सकिन्छ भनी सिकाइएको हुन्छ । उदाहरणका लागि, यदि कुनै उच्च तहको इरानी कमान्डरलाई मार्नु छ भने एआईले त्यसको वरिपरि रहेका एक सय जनासम्म निर्दोष नागरिकलाई मार्ने अनुमति पाउँछ ।
यसले युद्धलाई मानवजातिमै नसोचिएको तीव्रतम गति दिएको छ । युद्धमा प्रविधिको प्रयोग कति तीव्र छ भने विरोधी सेनाले प्रतिक्रिया जनाउनु अघि नै ड्रोन र मिसाइलहरू लक्ष्यलाई भग्नावशेषमा परिणत गर्न सक्षम छन् ।
तर, युद्धमा देखिएको यो गतिको सबैभन्दा ठुलो मूल्य सर्वसाधारणले चुकाइरहेका छन् । किनभने मेसिनले गर्ने निर्णयमा ‘विवेक’ र ‘दया’ का लागि कुनै स्थान हुँदैन । यसका साथै यसले मानवीयताका न्यूनतम मूल्यहरूको पनि पालना गर्दैन । यी सबै हमला एआई अर्थात मेसिनबाट गरिन्छन् ।
गणितीय नरसंहार
एआईद्धारा लडिने युद्धको सबैभन्दा डरलाग्दो पक्ष भनेको नागरिक मृत्युको ‘गणितीय वैज्ञानिकीकरण’ हो । द गार्डियन र बीबीसीले गाजाको उदाहरण दिँदै इरानमा भइरहेको त्रासदीलाई व्याख्या गरेका छन् ।
एआई प्रणालीहरूमा ‘ह्वेर इज ड्याडी ?’ जस्ता शब्दहरु तथा सफ्टवेयर प्रयोग गरिन्छ, जसले कुनै सैन्य लक्ष्य आफ्नो घरमा परिवारसँग भएको बेला मात्र आक्रमण गर्ने संकेत गर्छ । यसको अर्थ, एआईले जानीजानी आवासीय भवनहरूलाई निशाना बनाउँछ ताकि लक्ष्य भाग्न नसकोस् ।
नेचरमामा प्रकाशित शोधपत्र र इन्टरनेशनल कमिटी अफ द रेडक्रसका अनुसार, एआईलाई प्रोग्रामिङ गर्दा नै निश्चित संख्यामा सर्वसाधारणको मृत्युलाई ‘स्वीकार्य’ मान्न सकिन्छ भनी सिकाइएको हुन्छ । उदाहरणका लागि, यदि कुनै उच्च तहको इरानी कमान्डरलाई मार्नु छ भने एआईले त्यसको वरिपरि रहेका एक सय जनासम्म निर्दोष नागरिकलाई मार्ने अनुमति पाउँछ ।
यो दुर्घटना होइन, यो एआईले गर्ने ‘कोल्याटरल ड्यामेज’ को गणितीय हिसाब हो ।
_t6xpdv6JCE.jpg)
युएस न्युजले उल्लेख गरे अनुसार, इरानमा प्रयोग भइरहेका सस्ता ड्रोन र स्वायत्त हतियारहरू (अटोनोमस वेपन्स) ले भीडभाड भएका सहरी इलाकाहरूमा आक्रमण गर्दा मेसिनले सैनिक र सर्वसाधारणबिचको भिन्नता छुट्याउन सक्दैन । जब एआईले ‘अप्टिमाइज्ड पाथ’ खोज्छ, त्यति बेला उसले केवल आफ्नो सफलताको प्रतिशत मात्र हेर्छ ।
मारिने मानिसको जीवनको मूल्य उसको अल्गोरिदममा कतै समावेश हुँदैन । यसले गर्दा इरानी सहरहरू आज अमेरिकी एआई सैन्य प्रयोगशालाका एआई वधशालामा परिणत भएका छन् । मानिसलाई रगतको मूल्यबोध होला तर मेसिनलाई रगतको मूल्यबोध हुँदैन ।
‘अटोमेसन बायस’ र नैतिक पतन
सैन्य मनोविज्ञानमा एउटा ठुलो समस्या देखिएको छ, जसलाई ‘अटोमेसन बायस’ भनिन्छ । ज्याकोबिन र अल जजिराका रिपोर्टहरूले इरान युद्धमा संलग्न अमेरिकी र इजरायली कमान्डरहरूले एआईको निर्णयलाई चुनौती दिने साहस नै गर्दैनन् भन्ने देखाएको छ ।
एआईले कुनै भवनलाई ‘शत्रुको अड्डा’ भनेर चिन्ह्ति गरेपछि कमान्डरले त्यसलाई सदर गर्न जम्मा २० देखि ३० सेकेन्ड समय खर्च गर्छन् । अर्थात इरानी भूमिमा मारिने नागरिकको मृत्युको निर्णय ड्यास बोर्डमा बसेका अमेरिकी सैन्य अधिकारीले जम्मा २० सेकेन्डमा गर्छन् ।
यति छोटो समयमा मेसिनको विश्लेषणलाई गलत रहेको सुपरिवेक्षण गर्नका लागि कुनै पनि सैन्य अधिकारीले प्रयत्न नै गर्दैन । यस विपरित कयौँ लक्ष्यहरु सैन्य कमाण्डरले निर्णय दिनै नपर्ने बनाइएका छन्, ती लक्ष्यहरूलाई एआई आफैले चिन्ह्ति गरेर नष्ट गर्ने गर्छ ।
स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्युटको शोधका अनुसार, एआईले कसरी र कुन आधारमा ‘दुश्मन’ को छनोट गर्छ भन्ने कुरा स्वयं ती एआई बनाउने इन्जिनियरहरूलाई पनि थाहा हुँदैन । यसलाई ‘ब्ल्याक बक्स’ त्रुटि भन्ने गरिन्छ ।
इरान, गाजा र युक्रेनमा देखिएको ‘अल्गोरिदमको शासन’ ले एआईका अघिल्तिर सैन्य अधिकारीहरू, यसका कोड तयार गर्ने इन्जिनियरहरू तथा युद्ध मच्चाउन हरघडी उत्सुक शासकहरू निरीह छन् भन्ने देखाएको छ । विवेकलाई बन्धक राखेर लड्दै गरिएको युद्धले मानवतालाई नै अप्ठेरोमा पुर्याउँदै छ ।
इरानमा कयौँ घटनाहरूमा एआईले किसानले बोकेको औजारलाई रकेट लन्चर वा बच्चाको खेलौनालाई विस्फोटक पदार्थ मानेर आक्रमण गरेको पाइएको छ ।
यसका साथै, एआई युद्धले मानवीयता पतनको स्थिति सृजना गरेको छ । यसलाई अर्को भाषामा ‘अकान्टीविलिटी ग्याप’ भन्ने गरिन्छ । ह्युमन राईट वाच र संयुक्त राष्ट्र संघका विज्ञहरूका अनुसार, एआईले गल्ती गरेर विद्यालय वा अस्पताल ध्वस्त पार्छ भने त्यसको दोषी को हुने ? एआईका लागि कोड बनाउने इन्जिनियर ? त्यो बटन थिच्ने सैनिक ? वा स्वयं त्यो निर्जीव मेसिन ? वा युद्धका लागि आदेश दिने राष्ट्रप्रमुख ?
इरान युद्धमा देखिएको नागरिक हताहतीको भयावह दृश्य यही कानुनी र नैतिक शून्यताको परिणाम हो । मेसिनले हजारौँ मानवीय शरीरको हत्या गर्छ तर जिम्मेवारी कसैले लिँदैन ।
भविष्यको भयावह ऐना
युक्रेन, गाजा र इरान युद्धमा एआईको प्रयोगले विश्वलाई यस्तो युगमा पुर्याएको छ, जहाँ युद्धको मर्यादा पूर्णतः समाप्त भएको छ ।
द गार्डियनले यसलाई ‘मानवीय संवेदनाको अन्त्य’ भनेको छ । एआईले युद्धलाई यति धेरै यान्त्रिक र मानवीय चेतना शून्य बनाइदिएको छ, लाग्छ अब शक्ति सम्पन्न राष्ट्रहरूलाई युद्ध मैदानमा ढल्ने एउटा जीवनको मूल्य अंक बाहेक केही लाग्दैन ।
_QjgBnuzcX3.jpg)
वाल स्ट्रीट जर्नलका अनुसार, इरानको सम्पूर्ण सैन्य संरचनालाई एआईले एउटा विशाल ‘डेटा पोइन्ट’ मा बदलिदिएको छ, जहाँ मानिसको जीवनको मूल्य एउटा बिट र बाइट भन्दा बढी छैन ।
यो युद्ध केवल इरान र अमेरिका–इजरायलबिचको शक्ति सङ्घर्ष मात्र होइन, यो भविष्यको यस्तो भयावह चित्र हो, जहाँ एआईले मानिसको अस्तित्वको फैसला गर्दै गरेको देख्न सकिन्छ ।
अन्तर्राष्ट्रिय समुदायले ‘किलर रोबोट्स’ र एआई हतियारमाथि प्रतिबन्ध लगाइएन भने, आगामी दिनमा युद्धहरू केवल दुई सेनाबिच मात्र नभई मेसिनहरूबिच हुने र त्यसमा मानिस पिल्सिएर मारिने चेतावनी दिएका छन् ।
इरान, गाजा र युक्रेनमा देखिएको ‘अल्गोरिदमको शासन’ ले एआईका अघिल्तिर सैन्य अधिकारीहरू, यसका कोड तयार गर्ने इन्जिनियरहरू तथा युद्ध मच्चाउन हरघडी उत्सुक शासकहरू निरीह छन् भन्ने देखाएको छ । विवेकलाई बन्धक राखेर लड्दै गरिएको युद्धले मानवतालाई नै अप्ठेरोमा पुर्याउँदै छ । रातोपाटी बाट साभार






