धनगढी न्यूज

बैतडीमा दुई भाइ भण्डारी र दुई भाइ चन्द चुनाव लड्ने दौडमा

बैतडी: बैतडीमा दुई भाइ भण्डारी र चन्दबीच चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढेको छ। बैतडीबाट दामोदर भण्डारी र हरिमोहन भण्डारी तथा चतुरबहादुर चन्द र भुपेन्द्र चन्दले एक-आपसमा चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।

नेकपा एमाले बैतडीले आगामी निर्वाचनका लागि निवर्तमान मन्त्री तथा एमाले केन्द्रीय सदस्य दामोदर भण्डारीको एकल सिफारिस गरेको छ। जिल्ला कमिटीको नवौं पूर्ण बैठकले भण्डारीलाई प्रतिनिधी सभा सदस्यको निर्वाचनका लागि सिफारिस गरेको हो।

जेन्जी आन्दोलन अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेको भण्डारीले २०७० सालको संविधान सभाको निर्वाचन यता निरन्तर तीनवटा चुनावमा विजय हासिल गरेका उम्मेदवार हुन्। उनलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमालेका जिल्ला अध्यक्ष नरेश विकले बताए। जिल्ला कमिटिले भण्डारीलाइ सिफारिस गर्नुका साथै निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको उनले बताए।

दामोदर भण्डारीसँगै हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने सम्भावना बलियो छ। रास्वपाले उम्मेदवारको टुङ्गो नलगाएको भए पनि हरिमोहन रास्वपाको उम्मेदवार बन्ने लाइनमा छन्। रास्वपाले बैतडीमा हरिमोहन भण्डारी या नेपाली सेनाका पूर्व महासेनानी शिवराज पन्तलाई उम्मेदवार बनाउने छ। जिल्लामा भने पन्तको भन्दा भण्डारीकै उम्मेदवार बन्ने चर्चा बढी छ।

रास्वपाले हरिमोहन भण्डारीलाई उम्मेदवार बनाए फागुन २१ मा हुने निर्वाचनमा पाटन नगरपालिकाको एउटै गाउँका दाजुभाइ नाता पर्ने दामोदर भण्डारी र हरिमोहन भण्डारीले चुनावी प्रतिस्पर्धा गर्नेछन्।

यस्तै, नेपाली काँग्रेसबाट जिल्ला सभापति चतुरबहादुर चन्दलाई यसअघि नै उम्मेदवारका रुपमा पार्टीले सिफारिस गरेको छ । शिक्षक संघको राजनीतिबाट उदाएका चन्द नेपाल क्रिकेट एसोसिएसनका अध्यक्ष समेत हुन्। जिल्लामा पनि राम्रो प्रभाव रहेका चन्द र दुई भाइ भण्डारी निर्वाचनमा होमिदा रोचक भिडन्त हुने आँकलन गरिएको छ।

काँग्रेसबाट चतुरबहादुर चन्द उम्मेदवार बन्ने लगभग पक्का भएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन्द्र चन्दलाई उम्मेदवार सिफारिस गरेको राप्रपा बैतडीका प्रवक्ता देवेन्द्र बहादुर मालले बताए। उनले चन्दको नाम एकल सिफारिस गरिएको बताए।
एमालेले दामोदर भण्डारीलाई सिफारिस गरेसँगै रास्वपाबाट हरिमोहनले टिकट पाए  बैतडीमा दुई भाइ भण्डारी र दुई भाइ चन्दले प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गर्नेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी प्रचार प्रसारमा लागेका हरिमोहन भण्डारी पनि बलिया उम्मेदवार मानिन्छन्। २०७९ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा थोरै मतले उनी सुरेन्द्र पालसँग दोस्रो भएका थिए। रास्वपामा भने भण्डारीसँगै नेपाली सेनाका पूर्व महासेनानी शिवराज पन्त पनि उम्मेदवारका आकांक्षी छन्। पन्त र भण्डारी मध्ये कसलाई उम्मेदवार बनाउने टुङ्गो भने नलागेको रास्वपा बैतडीका एक नेताले बताए।

बैतडीमा आफ्नो पार्टीबाट उम्मेदवार सिफारिस गर्न नेपाली कम्युनिस्ट पार्टीको मङ्गलवार जिल्ला कमिटीको बैठक बस्ने भएको छ। मङ्गलवार बस्ने बैठकबाट उम्मेदवार सिफारिस गरिने नेकपाका केन्द्रीय सदस्य एवं पूर्व प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले बताए। उनले नेकपाबाट नरेन्द्रबहादुर कुँवर र परमानन्द भट्ट मध्ये एकजना उम्मेदवार बन्ने सम्भावना रहेको बताए।

बैतडीमा एमालेका दामोदर भण्डारी, काँग्रेसका चतुरबहादुर चन्द, राप्रपपाका भुपेन्द्र चन्द तथा रास्वपा र नेकपाका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने छ।दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×