काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार १० देखि १५ प्रतिशतभन्दा बढी शिशु शल्यक्रियाबाट जन्माउन आवश्यक पर्दैन । तर नेपालमा सरकारी अस्पतालमै झन्डै ५० प्रतिशतले शल्यक्रिया अर्थात् सिजेरियन गरी बच्चा जन्माउँछन् ।

यसबाट देखिन्छ पछिल्लो समय नेपालमा सिजेरियनबाट बच्चा जन्माउने क्रम ह्वात्तै बढेको छ । चिकित्सकका अनुसार स्वास्थ्यमा जटिल अवस्था नआएसम्म शल्यक्रियाबाट प्रसूति गराउनु उचित हुँदैन ।
काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल देशभरमै सबैभन्दा धेरै प्रसूति गराउने अस्पताल हो । यो अस्पतालमा पनि शल्यक्रियामार्फत प्रसूति गराउने दर बढेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार अझै सरकारी भन्दा निजी अस्पतालहरूले ९० प्रतिशत शल्यक्रियामार्फत प्रसूति गराउँदै आएका छन् भने सरकारी अस्पतालमा ५० प्रतिशत गराउँदै आएका छन् ।
शल्यक्रियामार्फत प्रसूति गराउनुको पछाडि सामाजिक, मनोवैज्ञानिक, चिकित्सकीय र संरचनागत कारणहरू जिम्मेवार रहेको प्रसूति तथा परोपकार अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी बताउँछन् ।
‘बदलिँदो जीवनशैली, ढिलो विवाह, गर्भवतीको बढ्दो चिन्ता, स्वास्थ्यकर्मीको अभाव र कानुनी झन्झट जस्ता धेरै पक्षले नर्मल डेलिभरीलाई छायामा पार्दै गएको देखिन्छ,’ उनी भन्छन् ।

आर्थिक वर्ष २०८१/८२ मा २० हजार जना सुत्केरी भए । जसमा ९ हजार ११० जनाले शल्यक्रियामार्फत सन्तान जन्माएका थिए भने भ्याकुममार्फत १ सय ९१ जनाले बच्चा जन्माएको अस्पतालले जनाएको छ ।
डा. अधिकारीका अनुसार सिजेरियन बढ्नुको प्रमुख कारण ढिलो विवाह र ढिलो गर्भधारण हो ।
‘पहिले १९–२० वर्षमा विवाह हुन्थ्यो, छिट्टै बच्चा जन्माउँथे । जसले गर्दा नर्मल डेलिभरीको सम्भावना बढी हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले ३० वर्षपछि विवाह गर्ने र एउटै सन्तान जन्माउने योजनाले बच्चा र सुत्केरीलाई केही तलमाथि हुन्छ कि भनेर अत्यधिक चिन्ता लिई शल्यक्रियामार्फत बच्चा जन्माइन्छ ।’
प्रसव पीडा सुरु हुनासाथ आत्तिने, दुखाइ सहन नसक्ने र शल्यक्रियाका लागि दबाब दिने प्रवृत्ति बढेको डा. अधिकारीको बुझाइ छ । शिक्षित र पहुँचवाला व्यक्तिले समेत प्रसव पीडाबाट बच्न शल्यक्रिया नै रोज्ने गरेको उनी बताउँछन् ।
प्रसूति रोग विशेषज्ञ डा. सुवेदीका अनुसार एक पटक शल्यक्रिया गरी जन्माएपछि अर्को पटक पनि शल्यक्रियामार्फत नै गर्नुपर्ने सम्भावना उच्च हुन्छ । जसकारण हरेक वर्ष शल्यक्रियामार्फत प्रसूति गराउनेको सङ्ख्या चक्रीय रूपमा बढ्दै जान्छ ।
‘चिकित्सकहरू पनि विभिन्न बाध्यताले सिजेरियनतर्फ धकेलिँदै गएका छन् । नर्मल डेलिभरीको १०० प्रतिशत ग्यारेन्टी कसैले दिन सक्दैन,’ उनी भन्छन्, ‘नर्मल डेलिभरीका लागि पर्खिँदा बच्चा वा आमालाई सानो समस्या आएमा सम्पूर्ण दोष चिकित्सकलाई दिने गरिन्छ । मुद्दा मामिलामा फसाउने डरका कारण पनि चिकित्सकहरूले जोखिम लिन नचाहेका हुन सक्छन् ।

चिकित्सकको सुरक्षाका लागि बलियो कानुन नहुँदा सामान्य समस्यामा पनि शल्यक्रिया रोज्नुपर्ने बाध्यता बनेको डा. अधिकारी बताउँछन् ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी दूरदराजका गर्भवती महिला भने सकेसम्म शल्यक्रिया गर्नु नपरोस् भन्ने चाहने बताउँछन् ।
सहरी क्षेत्रमा शिक्षितहरूको सङ्ख्या धेरै भए पनि दिन हेराएर स्वयं आमाले शल्यक्रियाका लागि समय तोक्ने प्रवृत्ति बढेको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् ।
प्रसूति गृहमा आर्थिक वर्ष २०७८/७९ मा २४ हजार ३७९ जना सुत्केरी भएका थिए । जसमा ९ हजार ११८ शल्यक्रियामार्फत प्रसूति गराइएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा २४ हजार ६७२ जना सुत्केरी भएका ९ हजार ८२१ जनाले शल्यक्रियाबाट बच्चा जन्माएका थिए ।
परोपकार प्रसूति अस्पतालमा आर्थिक वर्ष २०८०/८२ मा २४ हजार जना सुत्केरी भएका थिए । झन्डै ५० प्रतिशतले शल्यक्रियामार्फत बच्चालाई जन्म दिएका थिए ।
प्रसूति रोग विशेषज्ञ डा. सुवेदीका अनुसार एक पटक शल्यक्रिया गरी जन्माएपछि अर्को पटक पनि शल्यक्रियामार्फत नै गर्नुपर्ने सम्भावना उच्च हुन्छ । जसकारण हरेक वर्ष शल्यक्रियामार्फत प्रसूति गराउनेको सङ्ख्या चक्रीय रूपमा बढ्दै जान्छ ।
आईभीएफ प्रविधिबाट गर्भधारण गरेका महिला झनै जोखिम लिन चाहँदैनन् । आईभीएफबाट गर्भधारण गर्नेको संख्यासँगै सिजेरियन पनि बढेको छ ।
कुन अवस्थामा शल्यक्रिया गर्नैपर्छ ?
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुवेदी आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कतिपय परिस्थितिमा सिजेरियन सेक्सन अनिवार्य हुने बताउँछन् । बच्चालाई तुरुन्तै जन्माउनुपर्ने कुनै पनि अवस्था सिर्जना भएमा शल्यक्रियाको निर्णय लिइन्छ ।
आमाको रक्तचाप (ब्लड प्रेसर) धेरै बढेमा, मुटुसम्बन्धी कुनै पुरानो रोग भएमा, सामान्य सुत्केरीको दुखाइ सहन नसक्ने भएमा पहिल्यै शल्यक्रिया गरिएको भए पुनः शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।
‘बच्चाको धड्कन तलमाथि भएमा, बच्चाले गर्भमै दिसा गरेमा, बच्चा उल्टो वा तेर्सो बसेको अवस्थामा सामान्य सुत्केरी गराउन जोखिम हुन्छ,’ डा. सुवेदी भन्छन्, ‘बच्चाको तौल सामान्यभन्दा धेरै भएमा पनि शल्यक्रियाको विकल्प रोज्नुपर्ने हुन्छ ।‘
आमाको स्वास्थ्य अवस्थाले पनि शल्यक्रियाको बाध्यात्मक अवस्था आउनसक्छ ।
आमाको रक्तचाप (ब्लड प्रेसर) धेरै बढेमा, मुटुसम्बन्धी कुनै पुरानो रोग भएमा, सामान्य सुत्केरीको दुखाइ सहन नसक्ने भएमा पहिल्यै शल्यक्रिया गरिएको भए पुनः शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।
नर्मल डेलिभरी किन ठिक ?
परोपकार प्रसूति अस्पतालका निर्देशक डा. अधिकारी शल्यक्रियामार्फत बच्चा जन्माउनु सुरक्षित भएपनि नर्मल डेलिभरीका धेरै फाइदा हुने बताउँछन् ।
आमा नर्मल डेलिभरीपछि छिट्टै हिँडडुल गर्न सक्ने, बच्चालाई सजिलै स्तनपान गराउन सक्ने, घाउ पाक्ने, पेट दुखिरहने वा भित्री अंग टाँसिने जस्ता दीर्घकालीन समस्या हुँदैन ।
‘नर्मल डेलिभेरीमार्फत बच्चा जन्मिने प्रक्रियामा बच्चाको फोक्सोमा भएको तरल पदार्थ निख्रिन्छ । जसले गर्दा बच्चालाई बाहिरी वातावरणमा घुलमिल हुन सजिलो हुन्छ,’ डा. अधिकारी भन्छन् ।
सिजेरियन अर्थात् शल्यक्रियामार्फत जन्मेका केही बच्चामा तत्काल श्वासप्रश्वास छिटोछिटो हुने समस्या देखिन सक्छ । जसकारण एनआईसीयूमा राख्नुपर्ने अवस्था आउनसक्छ ।
नर्मल डेलिभरीपछि आमाले तत्काल स्तनपान गराउँदा बच्चाले रोगप्रतिरोधात्मक क्षमता बढाउने तत्त्व पाउने भएकाले स्वस्थ र तन्दुरुस्त रहन मद्दत गर्छ ।
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती सिजेरियन सेक्सनको बढ्दो दरलाई रोक्न जनचेतना फैलाउनु जरुरी भएको बताउँछिन् ।
‘नर्मल डेलिभरीका फाइदा र प्रसव पीडा स्वाभाविक प्रक्रिया रहेको बुझाउनुपर्छ,’ उनी भन्छिन्, ‘आमा र बच्चाको दीर्घकालीन स्वास्थ्यका लागि नर्मल डेलिभरीलाई प्रोत्साहन गर्नुको कुनै विकल्प छैन ।’ राटो पाटी बाट साभार






