Skip to main content

धनगढी न्यूज

सौर्यको आश्वासनपछि शव बुझ्दै परिवार

Advertisement
काठमाडौँ — सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव परिवारजनले बुझ्न थालेका छन् । बिमा र क्षतिपूर्ति रकम पहिले निर्धारण गर्नुपर्ने अडान राख्दै आएका परिवारजनले सौर्य एयरलाइन्सबाट सक्दो सहयोगको आश्वासन पाएपछि शव बुझ्न थालेका हुन् ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव बुझ्न शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेका भावविह्वल आफन्त ।

पोस्टमार्टम बिहीबार सकेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक विभागले शुक्रबार बिहान शव पहिचान थालेको थियो । पोस्टमार्टम टोलीका नेता फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीले बिहीबार बेलुका नै पोस्टमार्टम सकिएको जानकारी दिँदै शुक्रबार शव पहिचान गरेर आफन्तलाई हस्तान्तरण गर्ने बताएका थिए । त्यसैले शिक्षण अस्पतालको फोरेन्सिक विभाग रहेको भवन अगाडिको प्रांगणमा शुक्रबार बिहानै मृतकका आफन्त भेला हुन थालेका थिए । दिउँसो २ बजे सबै शवको पहिचान सकिएको थियो । परिवारले दिएको लुगा, बोकेका ग्याजेट, शरीरमा रहेको ट्याटु वा चोटपटकको विवरणबाट शव पहिचान गरिएको डा. चौधरीले बताए । उनका अनुसार धेरै जलेका चारवटा शवको पहिचान गर्न भने केही कठिन भएको थियो । ‘परिवारले दिएको विवरणकै आधारमा सबै शवको पहिचान सम्भव भयो । कसैको पनि डीएनए परीक्षण गर्नुपर्ने अवस्था आएन,’ डा. चौधरीले भने ।

अस्पतालले पहिचान सकिएको सुनाउँदै शव बुझेर लैजान मिल्ने बताउँदासम्म सौर्य एयरलाइन्सले बिमा र क्षतिपूर्तिबारे कुनै निर्णय सुनाएको थिएन । मृतकका आफन्तले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेका अगाडि सौर्य एयरलाइन्सले बिमाका साथै उचित क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान सुनाएका थिए । शवको पहिचान सकिएको जानकारी पाएपछि मृतकका आफन्त तथा एयरलाइन्सका तर्फबाट मार्केटिङ प्रमुख मुकेश खनाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाबीच पटक–पटक छलफल भयो ।

एयरलाइन्सका मार्केटिङ प्रमुख खनालका अनुसार कम्पनीले आफ्ना सहकर्मीप्रतिको दायित्व वहन गर्न पछाडि नहट्ने प्रतिबद्धता मृतकका परिवारसामु गरेका थिए । शुक्रबार नै सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले सम्पूर्ण मृतकका परिवारजनलाई समवेदना व्यक्त गर्दै कम्पनीका तर्फबाट हुन सक्नेसम्मको साथ, सहयोग र सद्भाव रहने प्रतिबद्धतासहित विज्ञप्ति जारी गरेका थिए । दुर्घटनापछि सौर्य एयरलाइन्सका कुनै पनि उच्च पदस्थ अधिकारीहरू आफूहरूलाई सान्त्वना दिन नआएको र कम्पनीका तर्फका समवेदना सन्देशसमेत ननिकालेको भन्दै बिहीबार आफन्तजनले रोष व्यक्त गरेका थिए । कम्पनीका तर्फबाट बिमा र उचित क्षतिपूर्तिको आश्वासन पाएपछि शव बुझेर लैजान केहीका आफन्त तयार भएका थिए । त्यसपछि ठोस निर्णयको अडान राखेका अन्यमाथि शव बुझ्न दबाब परेको थियो । ‘मृतकका आफन्तको जिज्ञासा र चासो बिमा तथा क्षतिपूर्तिमा थियो । एयरलाइन्सले बिमाको प्रक्रिया अगाडि बढिसकेको र कम्पनीका तर्फबाट वहन गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी लिन उच्च तह सकारात्मक भएको बताएपछि मृतकका आफन्त शव बुझ्न तयार भए,’ विमानस्थलका प्रवक्ता झाले भने ।

६ वटा शव परिवारजनले बुझिसकेको महाराजगन्ज वृत्तका प्रमुख डीएसपी अमर थापाले जानकारी दिए । उनका अनुसार को–पाइलट सुशान्त कटुवाल, प्राविधिक श्याम बिन्दुकार, क्यामो म्यानेजर अश्विन निरौला, क्वालिटी म्यानेजर दिलीप बर्मा तथा इन्जिनियरद्वय राजाराम आचार्य र उद्धव पुरीको शव आफन्तले शुक्रबार अस्पतालबाट बुझेका हुन् । ‘अन्यले पारिवारिक स्थिति हेरेर भोलि (शनिबार) सम्ममा शव लैजाने भनिएको छ,’ उनले भने । बुधबारको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये यमनी नागरिक अरिफ रेडाको शव भने आफन्तलाई हस्तान्तरण गर्न केही दिने लाग्ने प्रहरीले जनाएको छ ।

फरेन्सिक विज्ञ डा. चौधरीको नेतृत्वमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भक्तपुर जिल्ला अस्पतालसमेतका गरी २५ भन्दा बढी डाक्टर र स्वास्थ्यकर्मीको टोली बुधबारदेखि पोस्टमार्टममा खटिएको थियो । डा. चौधरीका अनुसार विमान दुर्घटनामा परेका शवहरू आफन्तलाई बुझाउनयोग्य बनाउन धेरै समय लागेको थियो । विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनामा परेको थियो । ‘फेरि फ्लाइट’ (गैरव्यावसायिक उडान) मा रहेको विमान दुर्घटना हुँदा क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । शाक्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...