Skip to main content

धनगढी न्यूज

बाघ गणना पनि यसै वर्ष, आवश्यक २ करोड, सरकारले छुट्टायो २० लाख

Advertisement

१० भदौ, चितवन । राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागले यही वर्ष बाघ गणना पनि गर्ने भएको छ । गैंडा गणना गर्ने तयारी गरिरहेको विभागले बाघ गणना पनि यसै वर्ष गर्ने तयारी अगाडि बढाएको हो ।

बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले २० लाख रकम विनियोजन गरेको छ । तर, बाघ गणनाका लागि झण्डै २ करोड रकम खर्च लाग्ने विभागका अधिकारीहरु बताउँछन् ।

‘सरकारले छुट्याएको रकमले एक छेउ पनि नपुग्ने भएपछि विभिन्न विदेशी दातृ निकाय तथा देशभित्रका विभिन्न निजी क्षेत्रसँग सहकार्य गरेर बाघ गणनाको काम अगाडि बढाउने तयारी छ,’ विभाग स्रोतले भन्यो ।

सरकारले हरेक चार चार बर्षमा बाघ गणना गर्दै आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले २०८२ सालभित्र गैंडा र बाघ गणना दुवै हुने जानकारी दिए ।

बाघको गणना आगामी मंसिर–पुसतिर गर्ने गरी तयारी थालिएको विभागका महानिर्देशक डा.कँडेलको भनाइ छ । चितवन, बर्दिया, पर्सा, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका साथै विभिन्न राष्ट्रिय वन तथा मध्यवर्ती क्षेत्रमा पनि बाघको गणना हुँदै आएको छ ।

बाघ गणना गर्दा बाघको संख्याका आधारमा उनीहरुको आहारा प्रजातिको अवस्था के कस्तो छ भनेर पनि अध्ययन हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले बताए ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्यांक थियो ।

गणनाको बेला बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेराहरु राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघहरुको फोटो हेरेर तिनीहरुको शरीरमा भएको पाटाको आधारमा संख्या छुट्टाउने गरिन्छ ।

हरेक बाघको पाटा (शरीरमा भएका धर्का) फरक–फरक हुने बाघ विज्ञहरु बताउँछन् ।

तीन महिनासम्म बाघ हिँड्ने क्षेत्रमा राखिएका स्वचालित क्यामेराले खिचेका सबै फोटाहरु हेरेर संख्या निर्धारण गरिने महानिर्देशक डा.कँडेलले बताए ।

गैंडा गणना भने हात्ती माथि चढेर रियल टाइममा गरिन्छ । बाघ गणनामा मानिसको भौतिक उपस्थित नहुने भए पनि क्यामेराहरु महंगो पर्ने भएकाले गैंडा गणनामा भन्दा बढी खर्च लाग्ने अधिकारीहरु बताउँछन् ।

सन् २०२२ को गणनामा १ हजार क्यामेराहरु प्रयोग गरिएका थिए भने २ सय जना प्राविधिकलाई परिचालन गरिएको थियो ।

बाघ गणना गर्दा क्यामेराबाट खिचिएका थुप्रै फोटाहरु सफ्टवेयरमा राखेर विश्लेषण गर्नुपर्ने भएकाले समय पनि धेरै लाग्ने महानिर्देशक डा.कँडेलले बताए । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना भएको थियो ।

सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए ।

वैज्ञानिक र व्यवस्थित रूपमा बाघ गणना सुरु गरेको पनि १६ वर्ष भएको छ ।

लक्ष्यभन्दा बढी बाघ

विश्वमा बाघको संख्या तीव्र गतिमा घट्न थालेपछि सन् २०१० मा रुसमा भएको बाघ पाइने देशहरुको सम्मेलनले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । नेपालमा सन् २००९ मा जम्मा १२१ बटामा झरेको बाघको संख्या बढाएर २५० जति बनाउने लक्ष्य लिइएको थियो । तर, सन् २०२२ को गणनामा दोब्बरभन्दा पनि बढी बाघ (३५५) देखिएको थियो ।

अहिले विश्वमा १३ देशमा मात्रै बाघ पाइन्छन् । अहिले नेपालमा बाघको संख्या बढेको भनेर आलोचनासमेत हुँदै आएको छ । बाघको संख्या बढ्दा आहार प्रजाति घटेको र बाघले मानव बस्तीमा छिरेर आक्रमण गर्न थालेको भन्दै बाघको संख्या घटाउनुपर्ने आवाज पनि उठ्न थालेको छ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...