Skip to main content

धनगढी न्यूज

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई भनेका पाँच कुरा

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन पुगेकै दिन त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरे।

शांघाइ सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन गएका प्रधानमन्त्री ओलीले थियानमिन स्टेट गेष्ट हाउसमा राष्ट्रपति सीसँग भेटवार्ता गरे।

त्यसलगत्तै दुवै देशको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

भेटवार्तामा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र परराष्ट्र मन्त्रालयका सचिव  अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली लगायत सहभागी थिए।

द्विपक्षीय छलफलका क्रममा प्रधानमन्त्री ओलीले तीनवटा कुरा राखे।

पहिलो, लिपुलेक मार्ग भएर भारत र चीनले गरेको व्यापार सहमतिबारे।

बैठकमा सहभागी भएका परराष्ट्र सचिव राईका अनुसार नेपालको भूमीलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा नेपालको स्पष्ट रूपमा आपत्ति रहेको प्रधानमन्त्री ओलीले बताएका थिए।

‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्र सचिव राईले भने, ‘नेपाल जसरी आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा स्पष्ट छ, त्यसैगरी आफ्नो भूमिका विषयमा अरू मुलुकले गर्ने सहमतिमा पनि उत्तिकै असहमति व्यक्त गर्दछ।’

प्रधानमन्त्री ओलीले दोस्रो विषय नेपाल र चीनको नाकाबारे राखेका थिए।

बैठकमै सहभागी रहेका पूर्वअर्थमन्त्री एवम् प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाका अनुसार प्रधानमन्त्री ओलीले अहिले अवरूद्ध भएका चीन-नेपाल नाका छिटो खोल्नका लागि चीनले सहयोग गर्ने अपेक्षा रहेको बताएका थिए।

‘चिनियाँ  सहयोगले नेपालको विकासमा जुन योगदान गरेको छ, त्यसको प्रशंसा गर्छु। अहिले  अवरूद्ध भएका व्यापारिक नाकाहरू छिटो खोल्नका लागि चिनियाँ सहयोगको अपेक्षा गरेको छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै खतिवडाले भनेका छन्।

प्रधानमन्त्री ओलीले राखेको तेस्रो कुरा, बिआरआईबारे थियो। उनले बिआरआईलाई छिटो अघि बढाउनुपर्ने कुरा राखेको खतिवडाले बताए।

प्रधानमन्त्री ओलीले राखेका विषयहरूको सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सीले पाँच वटा कुरा भनेका थिए।

पहिलो, लिपुलेकबारे।

लिपुलेकबारे नेपालले आफ्नो कुरा राखेपछि चिनियाँ राष्ट्रपति सीले नेपालको अडानप्रति फरक मत नरहेको बताएका थिए। यद्यपि नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् चाहना रहेको उनले बताएको परराष्ट्रसचिव राईले जानकारी दिएका छन्।

दोस्रो, अवरूद्ध नाका खुलाउनेबारे।

राष्ट्रपति सीले व्यापारिक नाका खुलाउने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार खतिवडाले जानकारी दिए।

तेस्रो, सीमा व्यापारबारे।

दुई देशबीचको आर्थिक सम्बन्धलाई अघि बढाउन संयन्त्र नै बनाउने विषय राष्ट्रपति सीले राखेका थिए।

‘सीमा व्यापारको सन्दर्भमा कुरा उठ्दा अहिलेको अवरोध हटाउन चीन तयार रहेको भन्ने कुरा राख्नुभएको छ। बहुपक्षीय रूपमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई अघि बढाउने कुरामा नेपालको पनि सहयोग रहनेछ भनेपछि नेपाल-चीनबीचको आर्थिक सम्बन्धलाई संस्थागत रूपमा अघि बढाउन संयन्त्रहरू बनाउने भन्नुभएको छ,’ खतिवडाले भने।

राष्ट्रपति सीले नेपाललाई भुपरिवेष्ठितबाट ल्याण्ड लिंक्ड राष्ट्रका रूपमा हेर्ने चाहना रहेको बताए।

‘उहाँले नेपाललाई भूपरिवेष्ठितबाट ल्यान्ड लिंक्ड अथवा जमिनको माध्यमबाट ठूला बजारहरूमा आबद्ध  हुने देशको रूपमा विकास भएको हेर्न चाहन्छौं भन्नुभएको छ,’

चौथो विषय नेपालको औद्योगि विकासका लागि चिनियाँ सहयोगबारे।

‘खासगरी चीनमा नेपालको तर्फबाट ठूलो मात्रामा निर्यात बढाउनका लागि गुणस्तरीय कृषीयोग्य वस्तुहरूको कुरा गर्नुभएको छ। नेपालमा औद्योगिक विकासका लागि चीनको सहयोग रहनेछ भन्नुभएको छ,’ खतिवडाले भने।

पाँचौं विषय सूचना र प्रविधिबारे।

‘खासगरी अहिलेको एआइ प्रविधि र सूचना प्रविधिमा चीनले सहयोग गर्छ भन्नुभएको छ। आबद्धताका धेरै विषयमा चीनको सहयोग रहनेछ भनेर चिनियाँ राष्ट्रपतिले आफ्नो भनाइमा राख्नुभएको छ,’ खतिवडाले भिडिओ सन्देशमा भनेका छन्। सेतो पाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...