Skip to main content

धनगढी न्यूज

हमास आक्रमणमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई इजरायलको आजीवन सहयोग

Advertisement

धनगढीः विपिन जोशीसँगै इजरायलमा हमासको आक्रमणबाट मारिएका दस जना नेपाली विद्यार्थीको परिवारलाई इजरायल सरकारले आर्थिक सहयोग गर्दै आएको छ।२०८० असोज २० गते हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सो घटनामा बन्धक बनाइएका विपिन जोशीको हमासकै नियन्त्रणमा रहदा मृत्यु भएको थियो। सूदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययन गरिरहेका ती विद्यार्थीहरू ११ महिने “लर्न एण्ड अर्न“ कार्यक्रम अन्तर्गत घटना हुनुभन्दा केही दिन अगाडि मात्रै इजरायल पुगेका थिए।

हमासको आक्रमणमा परेर मृत्यु हुनेमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जोशीपुर–५ का आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाको लेकम–५ का दीपेशराज विष्ट, मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी रहेका थिए।
हमासको अपहरणमा परेका विपिन जोशीको ज्यान गएको विवरण गत असोज २८ गते इजरायली सेनाले सार्वजनिक गरेको थियो। उनको कात्तिक २ गते अन्त्येष्टि गरिएको छ।

विपिनको परिवारलाई इजरायल सरकारले आर्थिक सहयोग गर्ने बताए झै अन्य विद्यार्थीको परिवारलाई पनि आर्थिक सहयोग गर्दै आएको छ। घटनामा परेर ज्यान गुमाएका विद्यार्थीका केही आफन्तसँगको कुराकानीमा उनीहरूले इजरायल सरकारले आर्थिक सहयोग गरिरहेको बताएका छन्।

कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपानेका दाजु धर्मराज न्यौपानेले इजरायल सरकारले हरेक महिना आर्थिक सहयोग गरिरहेको बताए। उनले इजरायली सरकारको तर्फबाट राजदूतसहितको टोली घरमै आएर भाइलाई बचाउन नसकेको भन्दै माफीसमेत मागेको बताए।

उनले भने, “हामीलाई नेपाल सरकारले त केही सहयोग गरेन तर इजरायल सरकारले सहयोग गरिरहेको छ। भाइ गुमाउनुको पीडा त छ, त्यहाँको सरकारले देखाएको उदारताले हामीलाई ठूलो राहत मिलेको छ। “न्यौपानेले पनि इजरायल सरकारले आफूहरूलाई इजरायल लैजाने भनेको बताए। “भ्रमणका लागि हामीहरूलाई इजरायल लग्ने भनिएको छ। उताको सरकारले राम्रो सहयोग गरेको छ। यता हाम्रो सरकारले सन्चो बिसन्चो सोध्नसमेत कोही आएनन्,“ न्यौपानेले गुनासो गरे।

घटनामा कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ का वेदुलाल डगौरा र मञ्जुदेवी डगौराका एक्ला छोरा आशिष चौधरीले पनि ज्यान गुमाएका थिए। छोरा गुमाएको पीडामा सहानुभूति दिन इजरायली राजदूतसहितको तीन जनाको टोली तीन पटक घरमै आएर सान्त्वना दिएको वेदुलालले दिनेशखबरसँग भने। “इजरायली राजदूत, जुन कलेजमा छोरा अध्ययन गर्न गएको थियो, त्यसको प्रमुख र अर्को एकजना इजरायली अधिकारी हाम्रो घरमा तीन पटक आए। “उहाँहरूले सान्त्वना दिनुभयो, छोरालाई आफ्नो देशको सहिद मान्नु भएको छ” उनले भने, “इजरायली सरकारले हामीलाई जीवनभर आर्थिक सहयोग गर्ने भनेको छ। इजरायल घुम्न पासपोर्ट पनि बनाउनु भन्ने फोन आएको छ।”

डगौरा दम्पतीले इजरायल सरकारले आफूहरूको संयुक्त खातामा हरेक महिना रकम जम्मा गर्दै आएको बताएका छन्। उनले बुढेसकालको सहारा छोरो गुमाउनुको पीडामा इजरायल सरकारले उदार मनले सहानुभूति देखाएको बताए।

हमासको आक्रमणमा परेर ज्यान गुमाएका दार्चुलाको लेकम गाउँपालिका–५ का दिपेशराज बिष्टको परिवारलाई पनि इजरायल सरकारले आर्थिक सहयोग गर्दै आएको बिष्टका मामा नाता पर्ने लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीले बताए।  बिष्टको घरमा पनि इजरायली राजदूत पुगेर परिवारलाई सान्त्वना दिएका थिए।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामीको घरमा पनि इजरायली राजदूतसहितको टोली पुगेको वडा अध्यक्ष एवं मृतक धामीका दाजु नाता पर्ने धनसिंह धामीले बताए। मृतक धामीको श्रीमती र आमाबुबालाई इजरायली सरकारले आर्थिक सहयोग गरिरहेको उनले बताए।

मृतक धामीका एक छोरा र एक छोरी छन्। उनीहरूलाई पनि १८ वर्ष पूरा नहुँदासम्म आर्थिक सहयोग गर्ने राजदूतले बताएको र सोहीअनुसार सहयोग आइरहेको धामीले बताए। लोकेन्द्रकी पत्नीलाई भने गाउँपालिकाले वडा कार्यालयमा जागीर लगाएको छ।

घटनामा ज्यान गुमाएका अन्य विद्यार्थीका परिवारसँग कुराकानी हुन नसके पनि नारायणप्रसाद न्यौपानेका दाजु धर्मराज न्यौपानेले इजरायलमा ज्यान गुमाउन पुगेका सबै विद्यार्थीका परिवारलाई समान किसिमको आर्थिक सहयोग प्राप्त भइरहेको बताएका छन्।

इजरायल सरकारले मृतक नेपाली विद्यार्थीहरूलाई इजरायली नागरिक झै व्यवहार गरेको अनुभूति भएको मृतकका आफन्तहरूले बताएका छन्। उनीहरूले इजरायली सरकारले देखाएको सद्भाव र उदारताको प्रसंशा गरेका छन्।

नेपाल सरकारले सहानुभूतिसम्म देखाएन 

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीका आफन्तहरूले नेपाल सरकार र प्रदेश सरकारले कुनै सहयोग नगरेको गुनासो गरेका छन्। इजरायली सरकारका प्रतिनिधि तीन/तीन पटक घरमै आएर माफी मागेको, सहानुभूति देखाएको भए पनि संघ र प्रदेश सरकारको तर्फबाट सान्त्वना दिन आफूहरूको घरमा कुनै पनि प्रतिनिधि नआएको उनीहरूले गुनासो गरेका छन्।

नारायणप्रसाद न्यौपानेका दाजु धर्मराज न्यौपानेले आफ्नो सरकारले कुनै वास्ता नगरेकोमा आफूहरू चित्त दुखेको बताएका छन्। यस्तै, आशिष चौधरीका बुवा वेदुलाल डागौराले पनि नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारले कुनै सहयोग नगरेको बताए। उनले दुःखमा सहानुभूति देखाउनसमेत कुनै अधिकारी नआएकोमा दुःख लागेको बताए। तर कृषि क्याम्पस टीकापुरका प्रमुख सञ्जयकुमार रावतले भने कृषि क्याम्पस टीकापुरका प्राध्यापकहरूले मृतक विद्यार्थीको घरमै पुगेर सहानुभूति दिएको बताएका छन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...