Skip to main content

धनगढी न्यूज

प्रधानमन्त्रीलाई कुलपतिको भारी : भो धेरै नबोकाऊ

Advertisement

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालय सभामा एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने टिप्पणी गरिन् । उनको सार थियो- प्रधानमन्त्री कुलपति हुने प्रावधान ठिक छैन ।

‘एउटै प्रधानमन्त्रीले डोकोभरि भारी बोकेर हिँड्न सक्दैन । स्वायत्तताको कुरा आइरहेको छ, हुनुपर्छ भन्ने लागेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन् । कतिवटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति छ भन्ने स्वयं प्रधानमन्त्रीलाई नै थाहा नहुने अवस्था छ । प्रधानमन्त्रीलाई नभई प्राज्ञलाई नै कुलपतिको जिम्मेवारी बोकाउनुपर्ने धारणा प्रधानमन्त्री कार्कीको छ ।

‘१९ कि १७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने रहेछ । एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? कुलपति विज्ञमार्फत होस्, सभाले खोजोस्,’ उनले भनिन् ।

गत असार २६ मा बसेको त्रिवि सभाले नीति तथा कार्यक्रम पास गरेको थिएन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रम रोकेका थिए । राजनीतिक कारणले विश्वविद्यालयका कार्यक्रम रोकिन नहुने तर्क प्रधामन्त्री कार्कीको छ ।

विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नरहने कानुन ल्याउँदै सरकार

‘पोलिटिकल कारणले कहिले सभा नहुने । यो भएन । विश्वविद्यालयले आफ्नो कार्यक्रम आफैं बनाउन पाउनुपर्छ । आफैं आर्जन गर्नुपर्छ । अनुदानमा सरकारले मद्दत गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोक्न प्रधानमन्त्री कुलपति हुने प्रावधान हटाउन सरकार लागिपरेको छ ।

‘कानुन कसरी आउँछ, हेर्दैछौं । तर विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने गरी कानुन ल्याउने प्रयास हुँदैछ । अध्यादेशबाट हुन्छ कि के छ, सरसल्लाह हुँदैछ । हाम्रो पालामा यो हटाउने भनेर न्वारनदेखिको बल लगाउने भन्ने छ । अब न्वारनदेखिको बलले पुग्छ कि पुग्दैन, थाहा छैन,’ शिक्षामन्त्री महावीर पुनले त्रिविको सभापछि सञ्चारकर्मीसँग भने ।

भागबन्डा कसरी हटाउने ?

त्रिवि सभामा पदाधिकारी नियुक्तिमा हुने गरेको भागबन्डाको विषय पनि प्रवेश भयो । शिक्षामन्त्री पुनदेखि सभा सदस्यले यो विषय उठाएका थिए । विश्वविद्यालयहरूमा भागबन्डाको कुरा छ । राजनीतीकरण कसरी हटाउने ? महादेव आएर पनि हटाउन सक्दैन । महादेवलाई किन गुहार्ने ?,’ शिक्षा मन्त्री पुन बोलिरहेका थिए ।

बीचमै प्रधानमन्त्री कार्कीले थपिन्, ‘किन दुःख दिने ?’ महादेवलाई पनि दुःख दिन नहुने तर्क प्रधानमन्त्री कार्कीको थियो ।

भागबन्डा हटाउन सबै गम्भीर हुनुपर्ने पुनले बताए । ‘कसरी हटाउने सिरिसय हुन अनुरोध गर्छु । भागबन्डाले पढाइ बिथोलियो,’ मन्त्री पुनले भने । मन्त्री पुन बोलिरहँदा सभाले ताली बजाएर अनुमोदन गरिरहेको थियो ।

 

त्रिविको परीक्षा र नतिजाबारे सभामा प्रश्न उठ्यो । मन्त्री पुनले मन्त्रालयमा धेरै गुनासो परीक्षा र नतिजाबारे आउने गरेको जानकारी गराए । ‘एकेडेमिक क्यालेन्डर बनाएर मात्र भएन । काम हुन पर्‍यो । जाँच कहिले हुने ? नतिजा कहिले आउँछ ? गुनासो मन्त्रालयमा आउँछ । ट्रान्सक्रिप्ट लिन समय लाग्यो भन्ने छ,’ मन्त्री पुनले भने । मन्त्री पुनले विश्वविद्यालयको डाटा प्रणाली राम्रो बनाउन आग्रह गरे ।

उपकुलपति अर्यालले भने परीक्षाको प्रश्नपत्र अनलाइनबाट केन्द्रसम्म पुर्‍याउने बताए । ‘त्रिविबाट सञ्चालन हुने सबै तहका परीक्षाहरूको प्रश्नपत्र अनलाइन विधिबाट परीक्षा केन्द्रसम्म पुर्‍याउने प्रणाली अवलम्बन गरिने छ,’ उनले भने । परीक्षा र नतिजा समयमा सञ्चालन गर्ने उनले बताए ।

जगिर त्रिविको काम बाहिर किन ?

प्राध्यापकले जागिर त्रिविमा खाएर काम बाहिर गर्ने गरेको विषय पनि सभामा उठ्यो । ‘जागिर यहाँ छ । काम बाहिर छ । कलेज खोलेर पढाउनुहुन्छ । पेन्सन यहाँ पकाउनुहुन्छ । अनि यहाँको पढाइ कसरी राम्रो हुन्छ त ? व्यवसाय बाहिर गर्ने, यसलाई हटाउन सहयोग चाहिन्छ,’ त्रिवि पदाधिकारीलाई मन्त्री पुनले भने । विदेशी विद्यार्थी ल्याउन र रिसर्चको वातवरण बनाउन पनि मन्त्री पुनले आग्रह गरे ।

अध्ययन बिदामा गएर नफर्किनेलाई कारबाही

त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

 

उपकुलपति अर्यालले नीति तथा कार्यक्रम पेस गर्दै भने, ‘त्रिवि मातहतका विभिन्न निकायबाट अध्ययन बिदा उपभोग गरी विश्वविद्यालयमा नफर्केका र बिदा उपभोग गरी तोकिएको उपाधि हासिल नगरेका शिक्षक तथा कर्मचारीको लगत विवरण तयार गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।’

न्यून विद्यार्थी भएका शैक्षिक कार्यक्रम गाभिने, नीति- कमाउँदै पढ्दै

त्रिविले न्यून विद्यार्थी भएका क्याम्पसका शैक्षि कार्यक्रम गाभ्ने नीति लिएको छ । ‘त्रिविका काठमाडौं भित्र र बाहिर रहेका आङ्गिक क्याम्पसहरूमा विगत दुई शैक्षिक सत्रदेखि न्यून विद्यार्थी संङ्ख्या भएका क्याम्पसका कार्यक्रमहरू आगामी शैक्षिक सत्रदेखि गाभिने प्रक्रिया अगाडि बढाइने छ,’ उपकुलपति अर्यालले भने ।

त्रिविको ५ अध्ययन संस्थान, ४ सङ्काय, ४ अनुसन्धान केन्द्र, ६४ आङ्गिक क्याम्पस, ४४ केन्द्रीय विभाग र १०४८ सम्बन्धन प्राप्त (निजी र सामुदायिक) क्याम्पस/कलेज छन् ।

विश्वविद्यालय अनुदान आयोगका अनुसार उच्चशिक्षामा अध्ययनरत कूल ६ लाख ३३ हजार ५३ जना विद्यार्थीमध्ये ४ लाख ९१ हजार २९९ जना विद्यार्थी त्रिविमा अध्ययनरत छन् । यो सङ्ख्या उच्चशिक्षा अध्ययनरत कूल विद्यार्थी सङ्ख्याको ७७.६० प्रतिशत हो ।

त्रिविले कमाउँदै पढ्दै कार्यक्रमलाई अगाडि बढाएको छ ।

सरकारको आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम को बुँदा ६७ को ‘कमाउँदै पढ्दै’ भन्ने नीति अनुरूप कक्षा कार्ययोजना बनाई कार्यान्वयन गर्न पहल गरिने अर्यालले बताए ।

‘कृषि र पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा यो कार्यक्रम लागु गरिने छ । अन्य अध्ययन संस्थान र संकायहरूमा पनि क्रमशः यो अवधारणा लागु गरिने छ,’ उपकुलपति अर्यालले भने ।

करार शिक्षक, कर्मचारीलाई वार्षिक थपग्रेड रकम नदिने

त्रिभुवन विश्वविद्यालयका करार सेवामा कार्यरत शिक्षक, कर्मचारीलाई वार्षिक थपग्रेड रकम भुक्तानी नगर्ने भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ देखि त्यस्ता प्रकारको सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई थपग्रेड उपलब्ध नगराउने निर्णय गरी सम्बन्धित निकायहरूमा जानकारी गराउने निर्णय गरिएको उपकुलपति अर्यालले बताए । यसमा सभाका केही सदस्यहरूले असन्तुष्टि जनाएका थिए ।

सभाका सदस्यहरूले विश्वविद्यालयको प्राङ्गणमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला हुँदा पठनपाठनमा असर परेको विष्या सभामा उठाए । दैनिक क्रिकेट प्रतियोगिता हुँदा विश्वविद्यालयको अध्ययन अनुसन्धानको काममा असर पर्ने सभा सदस्य वसन्त ढकालले बताए ।

‘विद्यार्थी खेल्नसम्म ठिकै हो । तर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुँदा प्रभावित भयो । भीसी, रेक्टर, रजिस्ट्रार, विभाग, छात्रबास नजिकै छ,’ उनले भने ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...