Skip to main content

धनगढी न्यूज

इशानको शव १९ दिनदेखि अस्पतालमै, किन बुझ्न मानेनन् परिवारले? भगवती पाण्डे भगवती पाण्डे बुटवल, पुस २१

Advertisement

रूपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षीय इशान शर्माको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा रहेको १९ दिन पुग्यो।

रूपन्देही प्रहरीले इशानको मृत्यु गाडीको ठक्करबाट भएको भनेको छ। तर इशानको परिवारले भने इशानको हत्या भएको दाबी गर्दै आएको छ।

इशानलाई ठक्कर दिने गाडी, त्यसका चालक र गाडी भगाउन सहयोग गर्ने व्यक्तिलाई समेत पक्राउ गरी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। तर आफन्त र परिवारले हत्या भएको भन्ने दाबी नछाडेपछि घटना थप पेचिलो बनेको छ।

कञ्चन गाउँपालिका-३ धौलागिरि टोलका इशान गत पुस २ गते विद्यालयमा तेक्वान्दो सिकाएर घर फर्किएका थिए।

घर फर्किएपछि उनी साँझ साढे ५ बजेतिर साथीहरूसँग जिम जाने भन्दै घरबाट थकाली चोकतिर गएका थिए। त्यसपछि साँझ करिब साढे ७ बजे इशान रूद्रपुरकै सुनगाभा चोकबाट साथीसँग बिदा भएर हातमा जुत्ता लिएर घरतर्फ हिँडेको सिसिटिभी फुटेजमा देखिएको छ।

साथीहरूसँग घर जाने भन्दै बिदा भएका इशान रातभर घर फर्किएनन्।

घर परिवारले साथीहरूको घरमै बसेको अनुमान गर्दै त्यो रात खोजी गरेनन्। भोलिपल्ट पुस ३ गते बिहान पनि इशान घर फर्किएनन्। इशान दिउँसो स्कुल समेत नगएपछि बल्ल परिवारले उनको खोजी सुरू गरेको थियो। खोजी गर्दै जाँदा उनी पुस ३ गते घर नजिकैको नालीमा चोटपटक लागेको अवस्थामा फेला परेका थिए।

इशानको शव पुस ३ गते बिहीबार घर नजिकैको नालीमा चोटपटक लागेको अवस्थामा भेटिएको थियो। प्रहरीले इशानलाई आफन्तहरूको समेत उपस्थितिमा नालीबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएपछि चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

देब्रे खुट्टा भाँच्चिएको, टाउकोको पछाडि गम्भीर चोट र आँखाको नानीमा पनि गम्भीर चोट भेटिएकाले परिवार र आफन्तले उनको मृत्यु नभई हत्या भएको आशंका गर्दै आएका छन्। मृतकका बुवा, आमा र स्थानीय संघर्ष समितिले यसलाई नियोजित हत्या भनिरहेका छन्।

रूपन्देही प्रहरीले भने घटना र घटनापछिको विवरणका आधारमा अनुसन्धान गर्दा हत्या भएको कुनै आधार नदेखिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिएर इशानको मृत्यु भएको अनुसन्धानमा देखिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन नै गरी इशानलाई ठक्कर दिने गाडी, चालक र अन्य २ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवल प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाले घटनास्थलको प्रकृति र घटनास्थल वरपरका सिसिटिभी फुटेजको आधारमा इशानलाई लु २ ख ४९४८ नं. को गाडीलाई ठक्कर दिएर फरार भएको र गाडीले ठक्कर दिएपछि उनी उछिट्टिएर नालीमा खस्न पुग्दा मृत्यु भएको बताएका छन्।

प्रहरी नायब उपरीक्षक रानाका अनुसार घटनापछि उक्त गाडीका चालक बागलुङ बरेङ गाउँपालिका छिसा घर भई हाल कञ्चन गाउँपालिका वडा नं ४ थकाली चोक बस्ने सन्तोष क्षेत्री तथा दुर्घटनापछि सवारीसाधन भगाउन सहयोग गर्ने रूपन्देही सैनामैना नगरपालिका वडा नं. ५ बस्ने दीपेन्द्र भण्डारी क्षेत्री र सन्देश क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

पक्राउ परेका तिनैजनाले इशानलाई गाडीले ठक्कर दिएको प्रहरी सामु स्वीकार गरेका छन्। प्रहरीका अनुसार पुस २ गते राती इशानलाई ठक्कर दिएपछि फरार भएको गाडीलाई बुटवल उपमहानगरपालिका वडा नं. २ मैना बगरमा लुकाई छिपाई राखेको र मर्मत गरी पुनः सञ्चालन गरेको अवस्थामा चालक र गाडी लुकाउन सहयोग गर्ने अन्य दुई जनालाई पुस ७ गते मात्र नियन्त्रणमा लिइएको थियो।

610459653_1210101537949959_7154894872520876560_n-1767589653.jpg
तर इशानका परिवार, आफन्त र स्थानीयले भने इशानको शव ढक्कनले ढाकिएको नालीभित्र फेला परेको भन्दै सवारीसाधनले ठक्कर दिएर मृत्यु भएको प्रहरीको भनाई अस्वीकार गर्दै आएका छन्।

उनीहरूले इशानको शरीरमा लागेको चोटपटक र उनको शव फेला परेको घटनास्थलको अवस्था हेर्दा नियोजित रूपमा उनको हत्या गरी नालीमा शव फालिएको हुन सक्ने भन्दै सोही अनुरूप अनुसन्धान गर्न प्रहरीसामु माग गर्दै जाहेरी दिएका छन्।

मृतकका परिवार र आफन्तले पुस ४ गतेदेखि नै प्रहरी कार्यालय, जिल्ला प्रशासन घटनास्थल लगायतमा प्रदर्शन र धर्ना दिँदै आएका छन्। इशानकी आमा रमा शर्माले आफ्नो बुढेसकालको सहाराको लट्ठी भाँचिएको भन्दै निष्पक्ष अनुसन्धान गरी न्याय दिन माग गरेकी छन्। उनले घटनालाई सामसुम पार्ने नभई सत्य तथ्य सार्वजनिक गर्न माग गरेकी छन्।

अनुसन्धानमा पक्राउ परेका सवारी चालक, गाडीमा सवार यात्रू र गाडी लुकाउन सहयोग गर्ने व्यक्तिहरूले गाडीकै ठक्करबाट इशानको मृत्यु भएको प्रहरी सामु बयान दिए पनि मृतकका परिवारले त्यसलाई अस्वीकार गर्दा २१ दिनसम्म उनको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...